मर्कूस 10:32-52
मर्कूस 10:32-52 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँहरू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो, र येशू तिनीहरूका अगिअगि हिँड़िरहनुभएको थियो। चेलाहरू अचम्मित थिए, र अरू पछिपछि आउनेहरू भयभीत थिए। तब उहाँले बाह्रै चेलाहरूलाई फेरि एकातिर लगेर आफूमाथि परिआउने कुराहरू तिनीहरूलाई सुनाउनुभयो। उहाँले भन्नुभयो, “हेर, हामी यरूशलेमतिर जाँदैछौं। त्यहाँ मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र शास्त्रीहरूकहाँ सुम्पिदिइनेछ, र तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन्, र अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्। अनि तिनीहरूले उसलाई गिल्ला गर्नेछन् र उसलाई थुक्नेछन्, उसलाई कोर्रा लगाउनेछन् र उसलाई मार्नेछन्। तर तीन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ।” जब्दियाका दुई छोराहरू, याकूब र यूहन्ना उहाँकहाँ आएर भने, “गुरुज्यू, हामी तपाईंसँग जे माग्छौं तपाईंले हाम्रा निम्ति गरिदिनुहोस् भन्ने हाम्रो इच्छा छ।” उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूका निम्ति म के गरिदिऊँ भन्ने तिमीहरूको इच्छा छ?” तिनीहरूले उहाँलाई भने, “तपाईंको महिमामा हामीमध्ये एक जना तपाईंको दाहिनेपट्टि र अर्को तपाईंको देब्रेपट्टि बस्न पाउने मन्जूरी हामीलाई दिनुहोस्।” तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू के माग्दछौ सो तिमीहरू जान्दैनौ। के जुन कचौरा म पिउँछु, त्यो तिमीहरू पिउन सक्छौ? अथवा जुन बप्तिस्मा मैले लिएको छु, त्यो बप्तिस्मा तिमीहरू लिन सक्छौ?” तिनीहरूले उहाँलाई भने, “हामी सक्छौं।” येशूले तिनीहरूलाई भन्नुभयो, “जुन कचौरा म पिउँछु त्यो तिमीहरू पिउनेछौ, र जुन बप्तिस्मा मैले लिएको छु त्यो बप्तिस्मा तिमीहरू लिनेछौ। तर मेरो दाहिनेपट्टि र मेरो देब्रेपट्टि बस्न दिनुचाहिँ मैले दिने होइन, यो त जस-जसको निम्ति तयार भइराखेको छ, तिनीहरूकै निम्ति हो।” यो सुनेर दशै जना चेलाहरू याकूब र यूहन्नासँग रिसाए। तब येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “तिमीहरू जान्दछौ कि अन्यजातिहरूमाथि शासन गर्नेहरूले तिनीहरूमाथि अख्तियार चलाउँछन्। अनि तिनीहरूका ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्। तिमीहरूमा चाहिँ त्यसो हुनुहुँदैन। तर तिमीहरूमा जसले ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्दछ। अनि तिमीहरूमा जसले पहिलो हुने इच्छा गर्दछ, त्यो सबैको दास हुनैपर्दछ। किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो।” त्यसपछि उहाँहरू यरीहोमा आउनुभयो, र उहाँ आफ्ना चेलाहरू र ठूलो भीड़सहित यरीहोबाट निस्कनुहुँदा तिमैको छोरो बारतिमै, एक जना अन्धो भिखारी, बाटोको किनारमा बसिरहेको थियो। जब त्यसले उहाँ नासरतका येशू हुनुहुन्छ भन्ने सुन्यो, तब कराएर त्यसले भन्न लाग्यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्।” तब धेरैले त्यसलाई चूप लागोस् भनेर हप्काए। तर त्यो झन् चर्को गरी कराउन लाग्यो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्।” तब येशू टक्क अड़िनुभयो र भन्नुभयो, “त्यसलाई बोलाओ।” अनि तिनीहरूले त्यस अन्धालाई यसो भनेर बोलाए, “ढाड़स गर्, उठ्, उहाँले तँलाई बोलाउँदैहुनुहुन्छ।” अनि आफ्नो खास्टो फालेर त्यो जुरुक्क उठ्यो र येशूकहाँ आयो। येशूले त्यसलाई भन्नुभयो, “तिमी के चाहन्छौ, म तिम्रो निम्ति के गरूँ?” त्यस अन्धो मानिसले उहाँलाई भन्यो, “रब्बी, म दृष्टि पाऊँ।” अनि येशूले त्यसलाई भन्नुभयो, “तिम्रो बाटो लाग। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” तब तुरुन्तै त्यसले दृष्टि पायो, र बाटोमा येशूको पछिपछि लाग्यो।
मर्कूस 10:32-52 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँहरू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो। येशू तिनीहरूका अगि-अगि हिँड्दैहुनुहुन्थ्यो; र चेलाहरू छक्क परेका थिए; अनि अरू पछि-पछि आउनेहरूचाहिँ डराएका थिए। उहाँले फेरि बाह्र जनालाई एकातिर लैजानुभयो र उहाँमाथि के हुनेछ, सो बताउनुभयो। उहाँले भन्नुभयो, “हामी यरूशलेमतर्फ जाँदैछौँ; अनि मानिसको पुत्रलाई मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मृत्युको दोषी ठहराउनेछन्, अनि गैरयहूदीहरूको हातमा सुम्पिदिनेछन्; जसले उसलाई गिल्ला गर्नेछन्, थुक्नेछन्, कोर्रा लगाउनेछन् र अन्तमा मार्नेछन्। अनि तीन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ।” तब जब्दीका छोराहरू, याकोब र यूहन्ना, उहाँकहाँ आएर भने, “हे गुरु, हामी तपाईंसँग जे माग्छौँ, त्यो तपाईंले हाम्रा निम्ति गर्नुभएको हामी चाहन्छौँ।” उहाँले सोध्नुभयो, “म तिमीहरूका लागि के गरूँ भनी तिमीहरू चाहन्छौ?” तिनीहरूले जवाफ दिए, “तपाईं महिमामा आउँदा हामीमध्ये एक जना तपाईंको दाहिनेतिर र अर्कोचाहिँ देब्रेतिर बस्न चाहन्छौँ।” तर येशूले भन्नुभयो, “तिमीहरूले के मागिरहेका छौ, त्यो जान्दैनौ। के मैले पिउने कष्टको कचौरा तिमीहरू पिउन सक्छौ? अथवा जुन कष्टको बप्तिस्मा म लिनेछु, त्यो तिमीहरूले लिन सक्छौ?” तिनीहरूले जवाफ दिए, “हामी सक्छौँ।” येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले मैले पिउने कचौरा पिउनेछौ र मैले लिने बप्तिस्मा लिनेछौ, तर मेरो दाहिने अथवा देब्रेतिर बस्नदिने अधिकारचाहिँ मेरो होइन। यी ठाउँहरू त तिनीहरूका निम्ति हुन्, जसका लागि ती तयार पारिएका छन्।” जब ती दश जनाले यस विषयमा सुने, तिनीहरू याकोब र यूहन्नासित रिसाए। येशूले ती सबैलाई एकसाथ बोलाएर भन्नुभयो, “तिमीहरू जान्दछौ कि यस संसारले ठहराइएका शासकहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्। अनि तिनीहरूका उच्च अधिकारीहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्। तिमीहरूमा चाहिँ यस्तो हुनुहुँदैन; बरु तिमीहरूमध्ये जो ठूलो हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ। अनि तिमीहरूमध्ये जो श्रेष्ठ हुन चाहन्छ, त्यो सबैको सेवक हुनैपर्छ। किनकि मानिसको पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिनको लागि आएको हो।” तब उहाँहरू यरीहोमा आउनुभयो। येशू र उहाँका चेलाहरू एउटा ठूलो भीडको साथमा सहरदेखि बाहिर आउँदैगर्नुहुँदा एक जना दृष्टिविहीन मानिस तिमैको छोरा बारतिमै बाटोको छेउमा माग्दै बसिरहेको थियो। जब उसले नासरतको येशू हुनुहुन्छ भन्ने सुन्यो, तब त्यो यसो भन्दै चिच्याउन थाल्यो, “हे येशू, दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!” धेरैले त्यसलाई हप्काएर चुप लाग् भने, तर त्यो त झन् चर्को सोरमा करायो, “हे दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!” येशू अडिनुभयो, र भन्नुभयो, “त्यसलाई बोलाओ।” यसकारण तिनीहरूले त्यस दृष्टिविहीन मानिसलाई भने, “ढाडस गर्! उठ्, उहाँले तँलाई बोलाउँदैहुनुहुन्छ।” आफ्नो वस्त्र एकातिर फ्याँकेर त्यो जुरुक्क उठेर आफ्नो खुट्टामा उभियो र येशूकहाँ आयो। येशूले त्यसलाई सोध्नुभयो, “मैले तिम्रा लागि के गरूँ भनी तिमी चाहन्छौ?” त्यस दृष्टिविहीन मानिसले भन्यो, “हे गुरु, म फेरि दृष्टि पाउन चाहन्छु!” येशूले भन्नुभयो, “जाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” तुरुन्तै त्यसले आफ्नो दृष्टि पायो, र बाटोभरि येशूको पछि-पछि लाग्यो।
मर्कूस 10:32-52 पवित्र बाइबल (NERV)
येशू साथमा भएका अरू मानिसहरूसँग यरूशलेम गइरहनु भएको थियो। उहाँले मानिसहरूको अगुवाई गरिरहनु भएको थियो। येशूका चेलाहरू चकित भइरहेका थिए। अनि जुन मानिसहरू तिनीहरूका पछि-पछि थिए तिनीहरू भने डराइरहेका थिए। उहाँले बाह्रजना प्रेरितहरूलाई फेरि भेला गर्नुभयो, अनि तिनीहरूलाई भन्न लाग्नु भयो उहाँलाई के हुनेवाला छ? येशूले भन्नुभयो, “हामीहरू यरूशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र शास्त्रीहरूका अघि सुम्पिइने छन्। तिनीहरूले मानिसको पुत्रलाई गैर यहूदीहरूलाई सुम्पनेछन्। तिनीहरूले उहाँलाई थुक्नेछन् कोर्रा लाउने छन् अनि उहाँलाई मार्नेछन्। तर उहाँको मृत्युको तीन दिनपछि, फेरि उहाँ बौरी उठनुहुनेछ।” त्यसपछि जब्दीका छोराहरू, याकूब र यूहन्ना उहाँ कहाँ आए। तिनीहरूले भने, “गुरुज्यु तपाईले हाम्रो निम्ति हामी जे चाहन्छौ सो गरिदिनुहोस्।” येशूले भन्नुभयो, “मैले तिमीहरूलाई के गरेको तिमीहरू चाहन्छौ?” तिनीहरूले भने, “जब हामी तपाईंको महिमामा आउँछौं हामी एक जनालाई तपाईंको दाहिनेतिर अनि अर्कोलाई तपईंको देब्रेतिर बस्ने अनुमति दिनुहोस्।” येशूले भन्नुभयो, “तिमहरूले बुझ्दैनौ कि तिमीहरू के मागिरहेका छौ। के मैले भोग्नु पर्ने जस्तै कष्टहरू तिमीहरूले सहन गर्नसक्छौ? अथवा जुन बप्तिस्मा मैले लिएको छु, त्यो बप्तिस्मा तिमीहरू लिन सक्छौ?” छोराहरूले जवाफ दिए, “अवश्य, हामी सक्छौं।” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चैनै तिमीहरूले पनि मैले सहनुपर्ने जस्तै कष्टहरू सहन्छौ, मैले लिए जस्तै बप्तिस्तमा तिमीहरूले पनि लिन्छौ। तर म मेरो दाहिने वा देब्रेपटी कसलाई बसाउनु पर्ने हो त्यो चुन्न सक्तिनँ। यी स्थानहरू अरूका निम्ति हुन्। तिनीहरूकै निम्ति ती ठाउँहरू तयार पारिएका हुन्।” अरू दशजना चेलाहरूले यी सबै सुने। तिनीहरू याकूब र यूहन्नासँग रिसाए। येशूले सबै चेलाहरूलाई उपस्थित हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर, यहूदीहरूको पनि आफ्ना मानिसहरू छन् तिनीहरूलाई शासकहरू भनिन्छ। तिमीहरूले जान्दछौ कि तिनीहरूले आफ्ना शक्तिको प्रभाव देखाऊँछन्। अनि तिनीहरूका प्रमुखहरूले आफ्नो समपूर्ण शक्तिहरू मानिसहरूमा प्रयोग गर्न मन पराऊँछन्। तर तिमीहरूसँग यस्तै अभ्यास चाँहि हुन हुँदैन। यदि तिमीहरू मध्ये कोही महान पुरुष हुन चाहन्छौ भने तब उ तिमीहरूको नोकर हुनुपर्छ। यदि तिमीहरूमध्ये कोही प्रमुख बन्न चाहन्छौ भने उ सबैको कमारो हुनुपर्छ। त्यसरी नै, मानिसको पुत्र सेवा लिनु होइन, तर सेवा गर्नु आएको हो। मानिसको पुत्र उनको आफ्नै जीवन दिन अनि अरू धेरै मानिसलाई बचाउँन आएको हो।” उनीहरू यरीहो शहरमा आईपुगे। तब येशू आफ्ना चेलाहरू र अरू धेरै मानिसहरूसँग त्यो शहर छोड्दै हुनु हुन्थ्यो। एउटा अन्धो मानिस, बारतिमै (“तिमैको छोरो”) नाम गरेको सडकको एक छेउमा बसिरहेको थियो। त्यसले सधैँ पैसा मगिरहन्थ्यो। त्यस अन्धो मानिसले नासरतदेखि येशू त्यत्तैतिर आउनु हुँदैछ भन्ने सुन्यो। त्यो चिच्याउन लाग्यो, “हे येशू, दाऊदका पुत्र, कृपया मलाई मद्दत गर्नुहोस्।” धेरै मानसहरूले त्यस अन्धो मानिसलाई हकारे अनि चूप लाग्नु भनेर निन्दा गरे। तीनीहरूले त्यसलाई केही नबोल्नु भनि हुकूम गरे। तर त्यो अन्धो मानिस झन्-झन् चिच्याइनै रह्यो, “हे दाऊदका पुत्र मलाई मद्दत गर्नुहोस्।” येशू त्यँही रोकिनु भयो अनि भन्नुभयो, “त्यस मानिसलाई मकहाँ आउनु भन।” अनि तिनीहरूले त्यस अन्धो मानिसलाई बोलाए। तिनीहरूले भने, “खुशी होऊ उठ येशूले तिमीलाई बोलाउनु हुँदैछ।” त्यो अन्धो मानिस जुरुक्क उठ्यो। उसले आफ्नो वस्त्र त्यहीं फ्याँकेर, उफ्रँदै येशूकहाँ गयो। येशूले त्यस मानिसलाई भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?” त्यो अन्धो मानसले जवाफ दियो, “हे गुरूज्यू म फेरि मेरो दृष्टि चाहन्छु।” येशूले भन्नुभयो, “जाऊ, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ।” त्सपछि त्यस अन्धो मानिसले फेरि दृष्टि प्राप्त गर्यो, र त्यसले येशूलाई नै पछ्यायो।
मर्कूस 10:32-52 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू र उहाँका चेलाहरू यरूशलेम जाँदै थिए। येशू चेलाहरूका अघि-अघि हिंड्दै हुनुहुन्थ्यो। चेलाहरू छक्क परेका थिए र पछि-पछि आउने मानिसहरूचाहिँ डराएका थिए। फेरि पनि येशूले आफ्ना बाह्र जना चेलाहरूलाई एकातिर बोलाएर आफूमाथि आइपर्ने दु:खको बारेमा भन्नुभयो, “सुन, हामी यरूशलेम जाँदै छौं। त्यहाँ पुगेर मानव पुत्र मुख्य पूजाहारी र धर्म-गुरुहरूका हातमा पक्रेर सुम्पिइनेछ। तिनीहरूले उसलाई मृत्यु दण्ड दिनुपर्छ भनेर अरू जातिका मानिसहरूको जिम्मा लगाउनेछन्। तिनीहरूले उसलाई गिल्ला गर्नेछन्, थुक्नेछन्, कोर्रा लगाउनेछन् र आखिरमा मार्नेछन्। तर तेस्रो दिनमा ऊ मरेकोबाट बिउँतनेछ।” त्यसपछि जब्दियाका दुई छोरा याकूब र यूहन्ना येशूकहाँ आएर उहाँलाई भने, “गुरु, हाम्रो मनको इच्छा पूरा गरिदिनुहोस् भनेर हामी बिन्ती चढाउन आएका हौं।” “भन त के चाहियो?” येशूले सोध्नुभयो। तिनीहरूले जवाफ दिए, “हजुरको महिमित राज्यमा हामी दाजुभाइ हजुरको दाहिने र देब्रेपट्टि बस्न पाऔं।” येशूले भन्नुभयो, “तिमीहरूले के माग्दै छौ, तिमीहरूलाई थाहै छैन। के मैले पिउनुपर्ने दु:खको घुड्को तिमीहरूले पनि पिउन सक्छौ? मैले लिनुपर्ने बप्तिस्मा के तिमीहरूले पनि लिन सक्छौ?” तिनीहरूले सक्छौं भनेर जवाफ दिए। तब येशूले तिनीहरूलाई भन्नुभयो, “हो, मैले पिउनुपर्ने घुड्को तिमीहरूले पनि पिउनेछौ र मैले लिनुपर्ने बप्तिस्मा तिमीहरूले पनि लिनेछौ। तर मेरो दाहिने र देब्रेपट्टि बस्नचाहिँ मैले दिने कुरा होइन। यी ठाउँहरू त परमेश्वर आफैंले जसको लागि ठीक पार्नुभएको छ, उसैलाई दिनुहुनेछ।” यी कुरा सुनेर अरू दश जना चेलाहरूचाहिँ याकूब र यूहन्नासँग रिसाए। अनि येशूले तिनीहरू सबैलाई एउटै ठाउँमा बोलाएर भन्नुभयो, “तिमीहरूलाई थाहै छ, संसारमा राज्य गर्नेहरूले प्रजामाथि आफूखुसी गरेर हक चलाउँछन् अनि ठूला मानिसले अरूहरूमाथि अधिकार जमाउँछन्। तर तिमीहरूमा चाहिँ त्यस्तो हुनुहुँदैन। तिमीहरूमध्ये ठूलो हुन खोज्नेले सबैको सेवा गर्नुपर्छ। सबैभन्दा ठूलो हुन चाहने चाहिँ सबैको नोकर हुनुपर्छ किनभने म मानव पुत्र पनि अरूबाट सेवा पाउन होइन, तर अरूको सेवा गर्न र धेरै जनालाई छुटकारा दिन भनेर आफ्नै प्राण त्यागिदिन आएको हुँ।” येशू चेलाहरूसँग यरीहो सहरमा आइपुग्नुभयो। त्यो सहर छोडेर जाँदा धेरै मानिसहरू उहाँहरू सँगसँगै आए। बाटोको छेउमा तिमैको छोरो बारतिमै भन्ने एक जना अन्धो माग्ने बसिरहेको थियो। नासरतका येशू आउनुभएको थाहा पाएर उसले कराउँदै भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस्!” धेरै जनाले उसलाई चुप लाग् भनेर हप्काए। तर उसले झन् साह्रो गरी चिच्च्याएर भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस्!” हिंड्दाहिंड्दै येशूले टक्क अडिएर भन्नुभयो, “उसलाई यता बोलाओ!” तिनीहरूले त्यस अन्धोलाई बोलाएर भने, “तिमी खुसी होऊ, उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ, छिटो आऊ!” ऊ आफ्नो खास्टो फ्याँक्दै उठ्यो र येशूकहाँ आयो। येशूले उसलाई सोध्नुभयो, “तिम्रो लागि मैले के गरूँ?” “गुरु, मैले आँखा देख्न पाऊँ!” अन्धोले बिन्ती चढायो। येशूले भन्नुभयो, “जाऊ, तिम्रो विश्वासले गर्दा अब तिमी आँखा देख्ने भयौ।” त्यति नै खेर ऊ आँखा देख्ने भयो र येशूको पछि लाग्यो।