मीका 6:3-8
मीका 6:3-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हे मेरा प्रजा, मैले तिमीहरूलाई के गरें? मैले कसरी तिमीहरूलाई बोझ बोकाएको छु र? मलाई जवाफ देओ। मैले त तिमीहरूलाई मिश्रदेशदेखि माथि ल्याएँ र तिमीहरूलाई दासत्वको देशबाट मोल तिरेर छुटाएँ। तिमीहरूका अगुवा हुनलाई मोशा, हारून र मिरियमलाई पनि मैले पठाएँ। हे मेरा प्रजा, मोआबको राजा बालाकले के सल्लाह गरेको थियो, र बओरको छोरा बालामले त्यसलाई के जवाफ दियो, त्यो स्मरण गर। शित्तीमदेखि गिलगालसम्मैको यात्रालाई सम्झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरूलाई जान्न सक।” के लिएर म परमप्रभुको सामु आऊँ, र उच्च भएका परमेश्वरको सामु निहुरूँ? के एक वर्षे बाछाहरू लिएर होमबलि चढ़ाउनलाई म उहाँको सामु आऊँ? के परमप्रभु हजारौँ भेड़ाहरू र तेलका दश हजार नदीसित प्रसन्न हुनुहुन्छ र? के म आफ्नो अपराधको लागि मेरो जेठो छोरालाई र मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई चढ़ाऊँ? ए मानिस, जे असल छ, त्यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्वरसित विनम्र भएर हिँड्नू।
मीका 6:3-8 पवित्र बाइबल (NERV)
परमप्रभु भन्नुहुन्छ, “हे मेरा मानिसहरू! के मैले कुनै दिन तिमीहरूलाई नराम्रो गरें? मैले कसरी तिम्रो जीवन कठिन बनाइदिएँ? मलाई भन मैले तिमीहरूलाई के गरें? म तिमीलाई भन्दैछु, “मैले तिमीलाई जे गरें, मैले तिमीलाई मिश्रदेशबाट निकालेर ल्याएँ! मैले तिमीलाई तिम्रो दासत्वको जीवनबाट मुक्त गराएँ। मैले तिम्रो अगुवाको निम्ति, मोशा, हारून अनि मरियमलाई पठाएँ।” हे मेरा मानिसहरू, मोआबको राजा बालाकको दुष्ट योजनालाई याद गर। ती कुरा याद गर जो अबोरको छोरा बिलामले बालाकलाई भनेको थियो। ती कुरा स्मरण गर जो सित्तीमबाट गिलगाल सम्म घटेको थियो। तब मात्र बुझ्नेछौ परमप्रभुमा उद्धार छ।” जब म परमप्रभुको छेउमा जान्छु अनि प्रमाण गर्छु, तब परमेश्वरको छेउमा आफूसँग के लिएर जाऊँ? के परमप्रभुलाई एक बर्षको बाछो, होमबलि चढाउन लिएर जाऊँ? के परमप्रभु एक हजार भेंडा़ र तेलका दश हजार नदीसित प्रशन्न हुनुहुन्छ? के म आफ्नो अपराधको निम्ति आफ्नो जेठो छोरा जो आफ्नो शरिरको अंग हो, त्यो अर्पण गरूँ? हे मानिस! परमप्रभुले तिमीहरूलाई के असल छ त्यो भन्नु भएकोछ। परमप्रभुले तिमीहरूलाई उहाँ के चाहानु हुन्छ, त्यो बताउनु भएको छ। मानिसहरूसँग तिमी साँच्चो बन, अरूसँग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।
मीका 6:3-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु भन्नुहुन्छ, “मेरा प्रजा हो! मैले तिमीहरूलाई के गरें? कसरी म तिमीहरूमाथि भार भएँ? उत्तर देओ। मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ। मैले तिमीहरूलाई कमाराको अवस्थाबाट छुटाएँ। तिमीहरूलाई अगुवाइ गर्न मैले मोशा, हारून र मिरियमलाई पठाएँ। हे मेरा प्रजा! मोआबको बालाक राजाले तिमीहरूलाई के गर्ने युक्ति गर्दै थियो र तिनलाई कसरी बओरको छोरो बालामले जवाफ दिए, ती कुरा याद गर। शित्तीमको छाउनीदेखि गिलगालसम्म बाटोमा के-के भयो, ती सम्झ। यी कुराहरू याद गर्यौ भने मैले तिमीहरूलाई बचाउन के-के गरें, त्यो कुरा तिमीहरूले बुझ्नेछौ।” परमप्रभु स्वर्गका परमेश्वरलाई पुज्न आउँदा म उहाँकहाँ के लिएर आऊँ? के असल बाछाहरू बलि चढाउन लिएर आऊँ? मैले हजारौं भेडाहरू वा बगेर नसकिने खोलाझैँ जैतुनको तेल ल्याएँ भने परमप्रभु खुसी हुनुहुन्छ? के म उहाँलाई मेरो पापको लागि जेठो छोरो चढाऊँ? अँहँ, होइन! के कुरो असल छ, प्रभुले हामीलाई बताउनुभएको छ। हामीबाट उहाँले यी कुरा चाहनुहुन्छ; जे कुरा न्यायसङ्गत छ, त्यो गर्नू, निरन्तर प्रेम गर्नू र आफ्ना परमेश्वरअघि नम्रतासाथ जीवन बिताउनू।