YouVersion लोगो
खोज आइकन

मत्ती 6:7-15

मत्ती 6:7-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

र प्रार्थना गर्दा अन्‍यजातिहरूजस्‍ता व्‍यर्थै नबरबराओ। किनभने धेरै शब्‍दमा बोल्‍दा तिनीहरूको सुनाइ हुन्‍छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌। यसकारण तिनीहरूजस्‍ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्‍नभन्‍दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्‍नुहुन्‍छ। “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ, तपाईंको नाउँ पवित्र होस्‌। तपाईंको राज्‍य आओस्‌। तपाईंको इच्‍छा स्‍वर्गमा जस्‍तो छ, त्‍यस्‍तै यस पृथ्‍वीमा पूरा होस्‌। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्‌। हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्‍ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्‍टबाट छुटाउनुहोस्‌ किनभने राज्‍य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’ किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्‍यौ भने तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।

शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्

मत्ती 6:7-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अनि तिमीहरूले प्रार्थना गर्दा गैरयहूदीहरूझैँ नबरबराओ। किनकि तिनीहरूका धेरै शब्दहरूको कारण तिनीहरूका सुनुवाइ हुन्छ भनी सम्झन्छन्। तिनीहरूजस्ता नहोओ; किनकि तिमीहरूले माग्नुभन्दा पहिले नै तिमीहरूलाई के चाहिन्छ भन्‍ने कुरा तिमीहरूका पिताले जान्‍नुहुन्छ। “तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्नू: “ ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाम पवित्र गरियोस्। तपाईंको राज्य आओस्, तपाईंको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पूरा होस्। आज हामीलाई हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्‍टदेखि छुटाउनुहोस्। किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्।’ किनकि तिमीहरूको विरुद्धमा पाप गर्नेहरूलाई तिमीहरूले क्षमा दियौ भने तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदिनुहुनेछ। तर तिमीहरूले मानिसहरूका पाप क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन।

शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्

मत्ती 6:7-15 पवित्र बाइबल (NERV)

“जब तिमी प्रार्थना गर्दछौ, तब परमेश्वरलाई नजान्ने अरू मानिसहरूले जस्तो व्यवहार नगर्। तिनीहरू अर्थहीन कुरा गर्छन्। तिमीले त्यसप्रकारले प्रार्थना गर्नु हुँदैन। तिनीहरूले सोंचेका हुन्छन् परमेश्वरले तिनीहरूका कुरा सुन्नुहुनेछ भनी। त्यस्ता मानिसहरू जस्तो नहोऊ। तिमीहरूले पितासँग माग्नुभन्दा अघि नै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिताले जान्नुहुन्छ। यसैले जतिबेला तिमी प्रार्थना गर्दछौ त्यसबेला यसरी प्रार्थना गर: ‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, हामी प्रार्थना गर्दछौं तपाईंको नाउँ सधैँ पवित्र रहोस्। हामी प्रार्थना गर्दछौं, तपाईंको राज्य आओस्, अनि तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्। आज दिनभरिको भोजन हामीलाई दिनुहोस्। हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्। जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर हामीलाई दुष्टहरूबाट बँचाउनु होस्।’ यदि, तिमीहरूले तिनीहरूको कसुर क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा बस्नुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। यदि तिमीहरूले मानिसहरूका दोष क्षमा गरेनौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका पिताले पनि तिमीहरूका दोष क्षमा गर्नुहुनेछैन।

शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्

मत्ती 6:7-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“परमेश्‍वरलाई नचिन्‍ने अन्‍यजातिहरूले गरेजस्‍तो नचाहिँदोसँग बरबराएर प्रार्थना नगर। तिनीहरू त लामो-लामो प्रार्थना गरेदेखि पो उत्तर पाइन्‍छ भन्‍ने विचार गर्छन्। तर तिमीहरूचाहिँ तिनीहरूजस्‍ता नहोओ किनभने माग्‍नुभन्दा पहिले नै तिमीहरूलाई के कुराको खाँचो परेको छ भन्‍ने कुरा स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिताले जान्‍नुहुन्‍छ। तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्ने गर– “हे स्‍वर्गमा हुनुहुने हाम्रा परमेश्‍वर पिता, तपाईंको नाउँ पवित्र गरियोस्। तपाईंको राज्‍य आओस्, तपाईंको इच्‍छा स्‍वर्गमा पूरा भएजस्‍तै यस पृथ्‍वीमा पनि पूरा होस्। दिनहुँ चाहिने खानेकुरा हामीलाई आज पनि दिनुहोस्, हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं। हामीलाई ठूलो जाँचमा नपार्नुहोस्। तर हामीलाई दुष्‍टबाट जोगाउनुहोस्। [किनभने राज्‍य, पराक्रम र महिमा सधैँको लागि तपाईंकै हुन्। आमेन।] “तिम्रो विरुद्धमा पाप गर्नेलाई क्षमा गर्‍यौ भने स्‍वर्गमा हुनुहुने तिम्रा परमेश्‍वर पिताले पनि तिमीलाई क्षमा गर्नुहुनेछ। तर यदि तिमीहरूले अरूलाई क्षमा गरेनौ भने परमेश्‍वर पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछैन।

शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्

मत्ती 6:7-15

मत्ती 6:7-15 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्