मत्ती 6:1-24
मत्ती 6:1-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर। नत्रता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउनेछैनौ। “यसकारण जब तिमीहरू दान दिन्छौ, तब आफ्ना सामु तुरही नबजाओ, जस्तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर जब तिमी दान दिँदछौ, तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्। तिम्रो दान गुप्तमा होस्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। “जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून् भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। र प्रार्थना गर्दा अन्यजातिहरूजस्ता व्यर्थै नबरबराओ। किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्। यसकारण तिनीहरूजस्ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्नभन्दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्नुहुन्छ। “तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्। तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस् किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’ किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन। “जब तिमीहरू उपवास बस्तछौ, तब ढोंगीहरूजस्ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्ना मोहड़ा अँध्यारा पार्छन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर तिमीचाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ, र आफ्नो मुख धोऊ। र तिम्रो उपवास मानिसहरूले होइन, तर गुप्तमा हुनुहुने तिम्रा पिताले देखून्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्। तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, र चोरले पनि चोर्दैन। किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन पनि हुन्छ। “आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने, तिम्रो सारा शरीर उज्यालो हुनेछ। तर तिम्रा आँखा खराब छन् भने, तिम्रो सारा शरीर अँध्यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्यालोचाहिँ अँध्यारो भयो भने, त्यो अँध्यारो कस्तो घोर हुन्छ! “कसैले दुई मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ।
मत्ती 6:1-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“होसियार रहो, मानिसहरूलाई देखाउनका लागि तिनीहरूका सामु तिमीहरूका धर्मकार्यहरू नगर। त्यसो गर्यौ भने तिमीहरूले आफ्ना स्वर्गीय पिताबाट कुनै इनाम पाउनेछैनौ। “यसकारण तिमीहरू जब खाँचोमा परेकाहरूलाई दिन्छौ, तब फरिसीहरूले सभाघर र सडकहरूमा मानिसहरूद्वारा सम्मान पाउनलाई गरेझैँ तुरही फुकेर घोषणा नगर। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्नो इनाम पूरा पाइसकेका छन्। जब तिमीले खाँचोमा परेकाहरूलाई दिन्छौ, तब तिम्रो दाहिने हातले जे गर्दैछ, त्यो तिम्रो देब्रे हातले थाहा नपाओस्। अनि तिम्रो दान गुप्तमा होस्; ताकि गुप्तमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ। “अनि जब तिमीहरू प्रार्थना गर्दछौ, ती कपटीहरूजस्ता नहोओ; किनकि तिनीहरू अरू मानिसहरूले देखून् भनेर सभाघर र सडकहरूमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्ना प्रतिफल पाइसकेका छन्। तर जब तिमीहरू प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका बन्द गरेर तिमीहरूका गुप्तमा हुनुहुने पितालाई प्रार्थना गर; तब गुप्त रूपमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई खुल्लमखुल्ला प्रतिफल दिनुहुनेछ। अनि तिमीहरूले प्रार्थना गर्दा गैरयहूदीहरूझैँ नबरबराओ। किनकि तिनीहरूका धेरै शब्दहरूको कारण तिनीहरूका सुनुवाइ हुन्छ भनी सम्झन्छन्। तिनीहरूजस्ता नहोओ; किनकि तिमीहरूले माग्नुभन्दा पहिले नै तिमीहरूलाई के चाहिन्छ भन्ने कुरा तिमीहरूका पिताले जान्नुहुन्छ। “तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्नू: “ ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाम पवित्र गरियोस्। तपाईंको राज्य आओस्, तपाईंको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पूरा होस्। आज हामीलाई हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टदेखि छुटाउनुहोस्। किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्।’ किनकि तिमीहरूको विरुद्धमा पाप गर्नेहरूलाई तिमीहरूले क्षमा दियौ भने तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदिनुहुनेछ। तर तिमीहरूले मानिसहरूका पाप क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन। “जब तिमीहरू उपवास बस्दछौ, कपटीहरूजस्ता उदास भएर नबस। किनकि मानिसहरूलाई देखाउनलाई तिनीहरूले आफ्ना अनुहार बिगार्दछन्। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्ना सम्पूर्ण प्रतिफल पाइसकेका छन्। तर जब तिमीहरू उपवास बस्दछौ, तब शिरमा तेल लगाओ र आफ्नो मुख धोओ। अनि तिमीहरू उपवास बसेका छौ भन्ने कुरा कुनै मानिसले होइन, तर तिमीहरूका अदृश्य पिताले मात्र देखून्। अनि गुप्तमा गरिएका काम देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई प्रतिफल दिनुहुनेछ। “आफ्ना निम्ति पृथ्वीमा धनसम्पत्ति नथुपार, जहाँ किरा र खियाले नष्ट पार्छ, र चोरले फोरेर चोरिदिन्छ। तर आफ्ना निम्ति धनसम्पत्ति स्वर्गमा थुपार, जहाँ किरा र खियाले नष्ट पार्दैन; अनि चोरले फोरेर चोर्दैन। किनकि जहाँ तिमीहरूको धनसम्पत्ति हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुनेछ। “शरीरको बत्ती आँखा हो। यदि तिमीहरूका आँखा स्वस्थ छ भने तिमीहरूको सम्पूर्ण शरीर ज्योतिले पूर्ण हुन्छ। तर यदि तिमीहरूका आँखा नै अस्वस्थ छन् भने तिमीहरूका सम्पूर्ण शरीर नै अत्यन्त अँध्यारोमा हुन्छ। यसकारण यदि तिमीहरूभित्र भएको उज्यालो नै अँध्यारो छ भने त्यो अँध्यारो कति बढी होला! “कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। कि त त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि त त्यसले एउटाप्रति भक्त बनेर अर्कालाई तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनसम्पत्ति दुवैको सेवा गर्न सक्दैनौ।
मत्ती 6:1-24 पवित्र बाइबल (NERV)
“होशियार बस, जब तिमीहरू राम्रो काम गर्छौ, अरू मानिसहरूका उपस्थितिमा त्यस्ता देखावटीका निम्ति काम नगर। यदि त्यसो गर्यौ भने स्वर्गमा भएका तिम्रा पिताबाट तिमीहरूलाई केही इनाम मिल्नेछैन। “जब तिमी दरीद्रहरूलाई सहायता दिन्छौ त्यसको विज्ञापन नगर कपटीहरूले जस्तो काम नगर। तिनीहरूले अरूले देखुन भनेर दरीद्रलाई सहायता गर्न अघिबाटै आफ्ना तुरही बजाउँछन्। तिनीहरूले सभाघरहरू र गल्लीहरूमा यसो गर्छन्। मानिसहरूबाट प्रशंसा पाउनलाई तिनीहरू यसो गर्दछन्। म तिमीहरूलाई साँच्चो भन्छु, यो नै ती सबै इनामहरू हुन् जो तिनीहरूले पाउने छन्। तर जब तिमी दरीद्रका निम्ति दान-पुण्य गर्दछौ, एकदमै गुप्त रुपले गर। तिमीले के गर्न लागि रहेका छौ भनेर कसैले चाल नपाओस्। तिम्रो दान-पुण्य गुप्त रूपमा होस्। गुप्त रुपमा गरेका तिम्रो दान-पुण्य तिम्रा पिताले अवश्यै देख्नु हुनेछ। तब तिम्रा पिताले, जसले गुप्तहरूपमा के गरिएको छ देखनुभएको छ र उहाँले तिमीलाई इनाम दिनुहुनेछ। “जब तिमी प्रार्थना गर्दछौ, तब कपटीहरूले जस्तो नगर। कपटीहरू सभाघरहरूमा र गल्लीहरूमा उभिएर अरूले देखून् भनी प्रार्थना गर्दछन्। म तिमीहरूलाई साँच्चो भन्दछु, यी सबैको इनाम तिनीहरूले पाइसकेका छन्। जब तिमी प्रार्थना गर्दछौ, तिमी आफ्नो भित्री कोठामा पसी ढोका बन्द गर। त्यसपछि तिमी आफ्ना पितासित गुप्तमा प्रार्थना गर। गुप्तरूपमा गरेको सबै कुरा तिम्रा पिताले देख्नुहुनेछ, र तिमीलाई उहाँले इनाम दिनुहुनेछ। “जब तिमी प्रार्थना गर्दछौ, तब परमेश्वरलाई नजान्ने अरू मानिसहरूले जस्तो व्यवहार नगर्। तिनीहरू अर्थहीन कुरा गर्छन्। तिमीले त्यसप्रकारले प्रार्थना गर्नु हुँदैन। तिनीहरूले सोंचेका हुन्छन् परमेश्वरले तिनीहरूका कुरा सुन्नुहुनेछ भनी। त्यस्ता मानिसहरू जस्तो नहोऊ। तिमीहरूले पितासँग माग्नुभन्दा अघि नै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिताले जान्नुहुन्छ। यसैले जतिबेला तिमी प्रार्थना गर्दछौ त्यसबेला यसरी प्रार्थना गर: ‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, हामी प्रार्थना गर्दछौं तपाईंको नाउँ सधैँ पवित्र रहोस्। हामी प्रार्थना गर्दछौं, तपाईंको राज्य आओस्, अनि तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्। आज दिनभरिको भोजन हामीलाई दिनुहोस्। हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्। जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर हामीलाई दुष्टहरूबाट बँचाउनु होस्।’ यदि, तिमीहरूले तिनीहरूको कसुर क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा बस्नुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। यदि तिमीहरूले मानिसहरूका दोष क्षमा गरेनौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका पिताले पनि तिमीहरूका दोष क्षमा गर्नुहुनेछैन। “जब तिमीहरू उपवास बस्छौ, तब कपटीहरू जस्ता उदासी नबन। कपटीहरूले जस्तो आचरण नगर। आफू उपवास बसेको कुरा मानिसहरूलाई देखाउन तिनीहरू आफ्नो मुखलाई अनौठो देखिने पार्छौ। म तिमीहरूलाई साँच्चो भन्दछु, ती कपटीहरूले पाउने सबै इनाम यही हो। तिमीहरूले इनाम पाइसकेकाछन्। यसर्थ जब तिमीहरू उपवास बस्छौ, आफू राम्रो र असल भएर बस। आफ्नो मुख धोऊ। तब मानिसहरूले तिमीहरू उपवास बसिरहेकाछौ भन्ने कुरा थाहा नपाऊन तर गुप्तमा भएका तिम्रा पिताले सबै कुराहरू देख्नुहुनेछ। अनि उहाँले नै इनाम दिनुहुनेछ। “आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार। जहाँ खीया र किराहरूले सम्पत्ति ध्वंस पारिदिनेछ। अनि चोरहरूले पनि तिम्रो घर फोरेर त्यहाँको सम्पत्ति चोर्छन्। तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार। स्वर्गमा भएको धन-सम्पत्ति खीया र किराहरूले नष्ट पार्न सक्दैन। चोरले पनि त्यहाँ पसेर चोर्न सक्दैन। कारण जहाँ तिम्रो धन हुन्छ, त्यहीं तिम्रो मन पनि हुनेछ। “तिम्रो शरीरको ज्योति आँखा हो। यदि तिम्रा आँखाहरू निर्मल छन् भने, तिम्रा सारा शरीर उज्यालो रहनेछ। तर यदि तिम्रा आँखा खराब छन् भने, तिम्रो सम्पूर्ण शरीर अँध्यारो हुनेछ। यदि तिम्रो उज्यालो चाहिं अँध्यारो भयो भने, त्यो घनघोर अँध्यारो हुनेछ। “कसैले पनि दुइ मालिकको सेवा एकै समयमा गर्न सक्दैन। उसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ। अथवा त्यो एउटासित झुक्नेछ, र अर्कोलाई तुच्छ गन्नेछ। यसैले एउटै समयमा एकै साथमा तिमीहरूले परमेश्वर र धनको चाकरी गर्न सक्दैनौ।
मत्ती 6:1-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले अझै भन्दै जानुभयो, “धर्म-कर्म गर्दाखेरि होश राख। यी काम मानिसहरूले देखून् भनेर नगर। नत्रभने तिमीहरूले स्वर्गमा हुनुहुने तिमीहरूको परमेश्वर पिताबाट केही पनि इनाम पाउनेछैनौ। “जस्तै, तिमीले कसैलाई केही दिँदा झ्याली नपिट। यस्तो त कपटीहरूले पो मानिसबाट प्रशंसा पाउन सभाघर र बाटाहुँदो गर्छन्। साँच्चै म तिमीहरूलाई भन्छु, तिनीहरूले पाउनुपर्ने जति आफ्नो इनाम पाइसकेका हुन्छन्। त्यसैले कसैलाई दिँदा तिम्रो दाहिने हातले दिएको देब्रे हातले समेत थाहा नपाओस्। दिँदा सुटुक्क देओ अनि सुटुक्क दिँदा देख्नुहुने परमेश्वर पिताले तिमीलाई इनाम दिनुहुनेछ। “तिमीहरू प्रार्थना गर्दा कपटीले जस्तो प्रार्थना नगर। तिनीहरू त अरू मानिसले देखून् भनेर सभाघर र बाटोको छेउछाउमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। साँच्चै म तिमीहरूलाई भन्छु, तिनीहरूले पाउनुपर्ने जति आफ्नो इनाम पाइसकेका हुन्छन्। तिमीचाहिँ प्रार्थना गर्ने बेलामा कोठाभित्र पसी ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा परमेश्वर पितासँग प्रार्थना गर अनि गुप्तमा गरेको काम देख्नुहुने पिताले तिमीलाई इनाम दिनुहुनेछ। “परमेश्वरलाई नचिन्ने अन्यजातिहरूले गरेजस्तो नचाहिँदोसँग बरबराएर प्रार्थना नगर। तिनीहरू त लामो-लामो प्रार्थना गरेदेखि पो उत्तर पाइन्छ भन्ने विचार गर्छन्। तर तिमीहरूचाहिँ तिनीहरूजस्ता नहोओ किनभने माग्नुभन्दा पहिले नै तिमीहरूलाई के कुराको खाँचो परेको छ भन्ने कुरा स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले जान्नुहुन्छ। तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्ने गर– “हे स्वर्गमा हुनुहुने हाम्रा परमेश्वर पिता, तपाईंको नाउँ पवित्र गरियोस्। तपाईंको राज्य आओस्, तपाईंको इच्छा स्वर्गमा पूरा भएजस्तै यस पृथ्वीमा पनि पूरा होस्। दिनहुँ चाहिने खानेकुरा हामीलाई आज पनि दिनुहोस्, हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं। हामीलाई ठूलो जाँचमा नपार्नुहोस्। तर हामीलाई दुष्टबाट जोगाउनुहोस्। [किनभने राज्य, पराक्रम र महिमा सधैँको लागि तपाईंकै हुन्। आमेन।] “तिम्रो विरुद्धमा पाप गर्नेलाई क्षमा गर्यौ भने स्वर्गमा हुनुहुने तिम्रा परमेश्वर पिताले पनि तिमीलाई क्षमा गर्नुहुनेछ। तर यदि तिमीहरूले अरूलाई क्षमा गरेनौ भने परमेश्वर पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछैन। “नखाईकन उपवास बस्दा कपटीहरूले जस्तो न्याउरो मुख लगाएर नबस। कपटीहरू त उपवास बसेका छौं भनेर अरूलाई देखाउन न्याउरो मुख लाएर बस्छन्। साँच्चै म तिमीहरूलाई भन्छु, तिनीहरूले पाउनुपर्ने पूरै इनाम पाइसकेका हुन्छन्। तिमीचाहिँ उपवास बस्ने बेलामा सधैँजस्तै टाउकोमा तेल लगाई मुख धोएर बस। त्यसो गर्दा मानिसले होइन, तर गुप्तमा हुनुहुने परमेश्वर पिताले मात्रै तिमी उपवास बसेको देख्नुहुनेछ र तिमीलाई इनाम दिनुहुनेछ। “आफ्नो लागि पृथ्वीमा धन-सम्पत्ति नथुपार। यहाँ थुपारेको सम्पत्तिमा त किरा लाग्छ, खियाले खान्छ र चोरले चोर्छ। आफ्नो लागि स्वर्गमा नै धन-सम्पत्ति जम्मा गर। त्यहाँ न किरा लाग्छ न खियाले खान्छ न ता चोरले नै चोर्छ किनभने जहाँ तिमीहरूको धन हुन्छ, त्यहीँ नै तिमीहरूको मन पनि रहनेछ। “शरीरको बत्तीचाहिँ आँखा हो। आँखा सफा छ भने पूरै शरीरमा उज्यालो हुन्छ। तर यदि तिम्रो आँखा धमिलो छ भने पूरै शरीर अँध्यारो हुन्छ। त्यसरी नै तिम्रो हृदयमा भएको उज्यालोचाहिँ अँध्यारो भयो भने त्यो झन् कति बढी अँध्यारो होला! “कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। नत्रता उसले एउटालाई हेला र अर्कोलाई चाहिँ माया गर्नेछ कि त एउटाले भनेको मान्छ र अर्कोको वास्तै गर्दैन। त्यसै गरी तिमीहरूले पनि परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।