मत्ती 5:17-30
मत्ती 5:17-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“म व्यवस्था र अगमवक्ताहरूलाई रद्द गर्न आएको हुँ भनी नसम्झ: म तिनीहरूलाई रद्द गर्न होइनँ, तर ती पूरा गर्न आएको हुँ। म तिमीहरूलाई साँच्चै भन्दछु, जबसम्म आकाश र पृथ्वी बितेर जाँदैनन्, तबसम्म व्यवस्थाबाट एउटा सानो अक्षर अथवा बिन्दुसम्म पनि सबै पूरा नभई कुनै रीतिले बित्नेछैन। कसैले यी आज्ञाहरूमध्ये सबैभन्दा सानो आज्ञालाई उल्लङ्घन गर्छ र अरूलाई पनि उल्लङ्घन गर्न सिकाउँछ भने उही नै स्वर्गको राज्यमा सबैभन्दा सानो हुनेछ। तर जसले यी आज्ञाहरू पालन गर्छ र अरूलाई सिकाउँछ, त्यो स्वर्गको राज्यमा महान् भनिनेछ। किनकि म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता फरिसी र व्यवस्थाका शिक्षकहरूको भन्दा बढी भएन भने तिमीहरू कदापि स्वर्गको राज्यमा पस्न पाउनेछैनौ। “तिमीहरूले सुनेका छौ, मानिसहरूलाई धेरै अगि के भनिएको थियो, ‘हत्या नगर्नू, अनि जसले हत्या गर्छ, त्यो दण्डको योग्य हुनेछ।’ तर म भन्दछु, जो आफ्नो भाइसित रिसाउँछ त्यो न्यायमा पर्छ। अनि जसले आफ्नो भाइलाई ‘ए मूर्ख’ भन्छ, त्यो महासभामा लगिने योग्यको हुन्छ। तर जसले ‘तँ मूर्ख!’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुन्छ। “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदैगर्दा यदि तिम्रो विरुद्धमा तिम्रो भाइको केही कुरा छ भन्ने सम्झना आयो भने, तिम्रो भेटी त्यही वेदीकै सामु छोड। पहिले जाऊ र तिम्रो भाइसित मिलाप गर: अनि आएर बल्ल आफ्नो भेटी चढाऊ। “तिमीलाई अदालतमा लैजाने विरोधीसित झट्टै कुरा मिलाइहाल। यो काम तिमी ऊसँग बाटोमा हुँदै गरिहाल। नत्रता उसले तिमीलाई न्यायाधीशकहाँ सुम्पिदेला, र न्यायाधीशले तिमीलाई अधिकारीकहाँ सुम्पिदेलान्। अनि तिमी झ्यालखानामा परौला। म तिमीलाई साँच्चै भन्छु, एक-एक पैसा नतिरुन्जेल तिमी त्यहाँबाट बाहिर निस्कन पाउनेछैनौ। “तिमीहरूले ‘व्यभिचार नगर्नू’ भनेको सुनेका छौ। तर म तिमीहरूलाई भन्दछु, जसले कुनै स्त्रीलाई कुदृष्टि लगाउँछ, उसले आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फ्याँकिदेऊ। किनकि तिम्रो सम्पूर्ण शरीर नरकको आगोमा फालिनुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिम्रो लागि असल हुन्छ। अनि यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनकि तिम्रो सम्पूर्ण शरीर नरकको आगोमा जानुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिम्रो लागि असल हुन्छ।
मत्ती 5:17-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ। किनभने साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्नेछैन। यसैकारण जसले यी आज्ञाहरूमध्ये सबैभन्दा सानोलाई उल्लङ्घन गर्ला, र मानिसहरूलाई त्यसै गर्न सिकाउला, स्वर्गको राज्यमा त्यो सबैभन्दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्वर्गको राज्यमा त्यो ठूलो कहलाइनेछ। किनभने म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढ़ी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ। “तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, ‘तैंले हत्या नगर्नू, र जसले हत्या गर्छ त्यो दण्डको योग्य हुनेछ।’ तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ, त्यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्नो भाइलाई ‘तँ मूर्ख’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ। “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढ़ाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो भने, तिम्रो भेटी त्यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर, र त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ। “तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्रता वादीले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला र न्यायाधीशले अधिकृतको हातमा सुम्पिदेलान्, र तिमी झ्यालखानमा पर्नेछौ। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीले एक-एक पैसा चुक्ता नगरुञ्जेल तिमी त्यहाँबाट उम्कनेछैनौ। “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर्।’ तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ।
मत्ती 5:17-30 पवित्र बाइबल (NERV)
“म मोशाको व्यवस्था अथवा अगमवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसम्झ, रद्द गर्न होइन, तर पूरा गर्न म आएको हुँ। म साँच्चो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितेर जाँदैन, व्यवस्थाको हरेक कुरा पूरा हुनेछ सबै कुरा पूरा नहोउन्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु पनि हटाइने छैन। “हरेक मानिसले प्रत्येक आदेश पालन गर्नैपर्छ चाहे त्यो आदेश सामान्य नै किन नहोस्। यदि कुनै मानिसले एउटा पनि आदेश पालन गर्न चाँहदैन अनि अरूलाई पनि आदेश पालन नगर्नु भनी सिकाउँछ भने स्वर्गको राज्यमा त्यो सबैभन्दा तुच्छ ठहरिनेछ। तर जसले आदेश पालन गर्छ अनि अरूलाई पनि आदेश पालन गर्न सिकाउँछ, त्यो नै स्वर्गको राज्यमा ठूलो कहलाइनेछ। म भन्दछु धर्मशास्त्री र फरिसीहरूको भन्दा तिमीहरूले राम्रो काम गर्नु पर्छ। यदि तिमीहरूले तिमीहरूलाई उछिन्न सकेनौ भने तिमीहरूले स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनौ। “तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘कसैको हत्या नगर्। जसले हत्या गर्छ, त्यो व्यवस्था समक्ष उभिनु पर्नेछ।’ तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खड़ा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहूदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुर्ख’ भन्छौ भने तिमी नरकको आगोमा फालिइनु पर्नेछ। “जब तिमीले परमेश्वरलाई भेटी चढाउँछौ त्यसबेला तिमी अरूहरूलाई पनि सम्झ। यदि तिमीले वेदीमा भेटी चढाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भन्ने सम्झ्यौ भने, त्यही वेदीको छेउमा तिम्रो भेटी छोड। पहिला तिमी फर्केर जाऊ अनि त्यो मानिससित मिलाप गर। त्यसपछि आफ्नो भेटी वेदीमा चढाऊ। “यदि तिम्रो विरोधीले तिमीलाई न्यायालयमा लाँदैछ भने उसित मिलाप गरिहाल। न्यायलय पुग्नु अघिनै तिमीले यसो गर। यदि तिमी उसको साथी बन्न असफल भयौ भने उसले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला, न्यायाधीशले तिमीलाई प्रहरीको हातमा सुम्पिदेलान् अनि तिमीलाई झ्यालखानामा थुनिदिनेछ। म तिमीलाई भन्दछु कि तिमीले ऋणको अन्तिम पैसा नतिरुन्जेल तिमी त्यहाँबाट कुनै तरिकाले उम्कने छैनौ। “तिमीहरूले यसो भनेको सुनेकाछौ, ‘व्यभिचारको पापबाट अलग बस।’ तर म तिमीहरूलाई भन्दछु, जसले स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै उसित त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पुर्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा पर्नु भन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ। यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गराउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानु भन्दा बरू तिम्रो अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ।
मत्ती 5:17-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“मोशाले दिएको व्यवस्था र अगमवक्ताहरूले भनेका कुरा रद्द गर्न म आएको हुँ भन्ने नसम्झ। म रद्द गर्न होइनँ, तर पूरा गर्न आएको हुँ। साँच्चै म तिमीहरूलाई भन्छु, आकाश र पृथ्वी बितेर नगएसम्म परमेश्वरको व्यवस्थाको सानोभन्दा सानो कुरा पनि पूरा नभई छोड्नेछैन। व्यवस्थाको सानोभन्दा सानो कुरालाई मिच्ने र मिच्न सिकाउने मानिस परमेश्वरको राज्यमा सबैभन्दा सानो ठहरिनेछ। तर व्यवस्था आफू पनि मान्ने र अरूलाई पनि मान्न लगाउनेचाहिँ परमेश्वरको राज्यमा ठूलो ठहरिनेछ। यसैकारण म तिमीहरूलाई भन्छु, व्यवस्थाका आज्ञाहरूलाई धर्म-गुरु र फरिसीहरूले भन्दा राम्ररी पालन गरेनौ भने तिमीहरू परमेश्वरको राज्यमा पस्न पाउनेछैनौ। “उहिलेका मानिसहरूलाई ‘मान्छे नमार्नू, मार्यौ भने दण्ड पाउनेछौ’ भनिन्थ्यो। यो त तिमीहरूलाई थाहै छ। तर म तिमीहरूलाई भन्छु, [कारणबिना नै] भाइसँग रिसाउनेले पनि दण्ड पाउनेछ। कसैले आफ्नो भाइलाई मूर्ख भन्यो भने त्यसले सभामा जवाफ दिनुपर्छ। आफ्नो भाइलाई सराप्ने त झन् नरकको आगोमैपर्नेछ। “यसकारण परमेश्वरलाई भेटी चढाउनुभन्दा अघि तिम्रो भाइ तिमीसँग रिसाएको थाहा पायौ भने आफ्नो भेटी वेदीकै अघि छोडी तुरुन्तै गएर आफ्नो भाइसँग मिलाप गर। त्यसपछि मात्रै आएर आफ्नो भेटी चढाऊ। “अदालतमा पुग्नुभन्दा अघि, मौका हुँदै आफ्नो झगडियासँग मेलमिलाप गरिहाल। नत्रता उसले तिम्रो विरुद्धमा न्यायाधीशकहाँ उजुर गर्नेछ अनि न्यायाधीशले तिमीलाई सिपाहीको जिम्मा लाउनेछ र तिमी थुनामापर्नेछौ। साँच्चै म तिमीलाई भन्छु, त्यस बेला जरिमानाको एक-एक पैसा नतिरेसम्म तिमी त्यहाँबाट उम्कन पाउनेछैनौ। “ ‘व्यभिचार गर्नुहुँदैन’ भनेको कुरा त तिमीहरूले सुनेका छौ। तर म भन्छु, कसैले कुनै स्त्रीलाई नराम्रो विचारले हेर्यो भने पनि त्यसले मनमा व्यभिचार गरिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई पापमा पार्छ भने त्यसलाई झिकेर फालिदेओ। तिम्रो पूरै शरीर नरकमा फालिनुभन्दा त शरीरको कुनै अङ्ग नहुनु नै तिम्रो लागि धेरै राम्रो हो। त्यसरी नै तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। तिम्रो पूरै शरीर नरकमा पर्नुभन्दा त त्यो हात नहुनु नै तिम्रो लागि धेरै राम्रो हो।