मत्ती 5:13-37
मत्ती 5:13-37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तिमीहरू पृथ्वीका नून हौ, तर नूनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र? त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन। “तिमीहरू संसारका ज्योति हौ। डाँड़ामा बसालिएको सहर लुक्न सक्दैन। मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन्, र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ। यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। “व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ। किनभने साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्नेछैन। यसैकारण जसले यी आज्ञाहरूमध्ये सबैभन्दा सानोलाई उल्लङ्घन गर्ला, र मानिसहरूलाई त्यसै गर्न सिकाउला, स्वर्गको राज्यमा त्यो सबैभन्दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्वर्गको राज्यमा त्यो ठूलो कहलाइनेछ। किनभने म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढ़ी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ। “तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, ‘तैंले हत्या नगर्नू, र जसले हत्या गर्छ त्यो दण्डको योग्य हुनेछ।’ तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ, त्यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्नो भाइलाई ‘तँ मूर्ख’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ। “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढ़ाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो भने, तिम्रो भेटी त्यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर, र त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ। “तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्रता वादीले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला र न्यायाधीशले अधिकृतको हातमा सुम्पिदेलान्, र तिमी झ्यालखानमा पर्नेछौ। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीले एक-एक पैसा चुक्ता नगरुञ्जेल तिमी त्यहाँबाट उम्कनेछैनौ। “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर्।’ तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। “यसो पनि भनिएको छ, कि ‘जसले आफ्नी पत्नीलाई त्याग गर्छ, त्यसले तिनलाई त्यागपत्र लेखिदेओस्।’ तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अरू कारणले त्याग गर्ला, त्यसले तिनलाई व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकी स्त्रीसँग विवाह गर्ला, त्यसले व्यभिचार गर्नेछ। “फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, ‘तैंले झूटो शपथ नखा, तर परमप्रभुको निम्ति गरिएको शपथ तैंले पूरा गर्।’ तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाओ। स्वर्गको नाउँमा शपथ नखाओ, किनकि त्यो परमेश्वरको सिंहासन हो, न त पृथ्वीको, किनकि त्यो उहाँको पाउदान हो, न त यरूशलेमको, किनकि त्यो महाराजाको सहर हो। आफ्नो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटा केशलाई सेतो कि कालो बनाउन सक्दैनौ। तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ मात्र होस्। यीभन्दा बढ़ीचाहिँ दुष्टताबाट आउँदछ।
मत्ती 5:13-37 नेपाली समकालीन संस्करण (NCV)
“तिमीहरू पृथ्वीका नुन हौ। तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? यो ता बाहिर फालिन र मानिसहरूद्वारा कुल्चन बाहेक अरू कुनै काम लाग्दैन। “तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसेको शहर लुक्न सक्दैन। न ता मानिसहरूले बत्ती बालेर भाँडोमुनि राख्छन्। तर तिनीहरूले त्यसलाई सामदानमाथि राख्छन्, अनि त्यसले घरभित्र भएका सबैलाई उज्यालो दिन्छ। यस्तै किसिमले, तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्, ताकि तिनीहरूले तिमीहरूका असल कामहरू देखेर स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। “म व्यवस्था र अगमवक्ताहरूलाई रद्द गर्न आएको हुँ भनी नसम्झ: म तिनीहरूलाई रद्द गर्न होइन, तर ती पूरा गर्न आएको हुँ। म तिमीहरूलाई यो साँच्चै भन्दछु, जबसम्म आकाश र पृथ्वी बितेर जाँदैनन्, तबसम्म व्यवस्थाबाट एउटा सानो अक्षर अथवा बिन्दुसम्म पनि सबै पूरा नभई कुनै रीतिले बित्नेछैन। कसैले यी आज्ञाहरूमध्ये एउटा सबैभन्दा सानोलाई उलङ्घन गर्छ अनि अरूलाई पनि त्यसै गर्न सिकाउँछ भने, ऊ स्वर्गको राज्यमा सबैभन्दा सानो हुनेछ, तर जसले यी आज्ञाहरू पालन गर्छ अनि अरूलाई सिकाउँछ, त्यो स्वर्गको राज्यमा महान् भनिनेछ। किनकि म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता फरिसी र व्यवस्थाका शिक्षकहरूको भन्दा बढी भएन भने तिमीहरू कदापि स्वर्गको राज्यमा पस्न पाउनेछैनौ। “तिमीहरूले सुनेका छौ, मानिसहरूलाई धेरै अघि के भनिएको थियो, ‘हत्या नगर, अनि जसले हत्या गर्छ त्यसको न्याय गरिनेछ।’ तर म भन्दछु, जो आफ्नो भाइसित रिसाउँछ त्यो न्यायमा पर्छ। अनि जसले आफ्नो भाइलाई ‘ए बेवकुफ’ भन्छ, त्यो महासभामा लगिने योग्यको हुन्छ। तर जसले ‘तँ मूर्ख!’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुन्छ। “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो विरुद्धमा तिम्रो भाइको केही कुरा छ भन्ने सम्झना आयो भने, तिम्रो भेटी त्यही वेदीकै सामुन्ने छोड। पहिले जाऊ अनि तिम्रो भाइसित मिलाप गर: अनि आएर आफ्नो भेटी चढाऊ। “तिमीलाई अदालतमा लैजाने विरोधीसित झट्टै कुरा मिलाइहाल। यो काम तिमी ऊसित बाटोमा हुँदै गरिहाल। नत्र ता उसले तिमीलाई न्यायाधीशकहाँ सुम्पिदेलान्, अनि न्यायाधीशले तिमीलाई अधिकारीकहाँ सुम्पिदेलान्, अनि तिमी झ्यालखानामा परौला। म तिमीलाई यो साँच्चै भन्छु, तिमीले एक-एक पैसा नतिरून्जेल तिमी त्यहाँबाट बाहिर निस्कन पाउनेछैनौ। “तिमीहरूले ‘व्यभिचार नगर्नू’ भनेको सुनेका छौ। तर म तिमीहरूलाई भन्दछु, जसले कुनै स्त्रीलाई कुदृष्टि लगाउँछ, उसले आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुनेछ। यदि तिमीहरूका दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फ्याँकिदेओ। किनकि तिमीहरूको सम्पूर्ण शरीर नरकको आगोमा फालिनुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिमीहरूको लागि असल हुन्छ। अनि यदि तिमीहरूको दाहिने हातले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। किनकि तिमीहरूको सम्पूर्ण शरीर नरकको आगोमा जानुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिमीहरूको लागि असल हुन्छ। “यसो भनिएको छ, ‘यदि कसैले आफ्नी पत्नीलाई त्याग्छ भने, त्यसले उसलाई त्यागपत्र देओस्।’ तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई वैवाहिक व्यभिचारको कारणबाहेक अरू कारणले विवाह-विच्छेद गर्छ, त्यसले उसलाई व्यभिचारिणी बनाउँछ, अनि जसले विवाह-विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ, उसले पनि व्यभिचार गर्छ। “फेरि मानिसहरूलाई धेरै अघि यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘तिमीहरूले शपथ भङ्ग नगर, तर तिमीहरूले प्रभुसित गरेको शपथ पूरा गर।’ तर म तिमीहरूलाई भन्दछु शपथ खाँदै नखाओ: न ता स्वर्गको नाउँमा, किनकि यो ता परमेश्वरको सिंहासन हो: न ता पृथ्वीको नाउँमा, किनकि यो उहाँको पाउदान हो: न ता यरूशलेमको नाउँमा, किनकि यो महान् राजाको शहर हो। अनि तिम्रो शिरको शपथ नखाओ, किनकि तिमीले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ। खाली तिम्रो ‘हो’ चाहिँ ‘हो’ होस्, अनि ‘होइन’ चाहिँ ‘होइन’ नै होस्: यसभन्दा बढ्ताचाहिँ सबै दुष्टबाट आउँछ।
मत्ती 5:13-37 पवित्र बाइबल (NERV)
“तिमीहरू पृथ्वीका नून हौ। यदि नूनको स्वाद नै छैन भने, फेरि त्यसलाई नुनिलो के-ले पार्ने र? यदि नूनमा नूनको स्वाद नै छैन भने त्यो ता-फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन। “तिमीहरू संसारका ज्योति हौ जसले संसारलाई उज्यालो पार्छ। डाँडामा बसालिएको नगर अदृष्य रहन सक्तैन। त्यसरीनै मानिसहरूले बत्ती बालेर पाथीमुनि राख्दैनन्। त्यसको सट्टामा तिनीहरूले त्यसलाई सामदानमा राख्छन्। यसरी घरमा भएका सबै मानिसहरूले उज्यालो पाउने छन्। त्यसै गिरी, अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिहरूले देख्नेछन् र स्वर्गमा बस्नु हुने तिमीहरूका पिताका महिमा गर्नेछन्। “म मोशाको व्यवस्था अथवा अगमवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसम्झ, रद्द गर्न होइन, तर पूरा गर्न म आएको हुँ। म साँच्चो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितेर जाँदैन, व्यवस्थाको हरेक कुरा पूरा हुनेछ सबै कुरा पूरा नहोउन्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु पनि हटाइने छैन। “हरेक मानिसले प्रत्येक आदेश पालन गर्नैपर्छ चाहे त्यो आदेश सामान्य नै किन नहोस्। यदि कुनै मानिसले एउटा पनि आदेश पालन गर्न चाँहदैन अनि अरूलाई पनि आदेश पालन नगर्नु भनी सिकाउँछ भने स्वर्गको राज्यमा त्यो सबैभन्दा तुच्छ ठहरिनेछ। तर जसले आदेश पालन गर्छ अनि अरूलाई पनि आदेश पालन गर्न सिकाउँछ, त्यो नै स्वर्गको राज्यमा ठूलो कहलाइनेछ। म भन्दछु धर्मशास्त्री र फरिसीहरूको भन्दा तिमीहरूले राम्रो काम गर्नु पर्छ। यदि तिमीहरूले तिमीहरूलाई उछिन्न सकेनौ भने तिमीहरूले स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनौ। “तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘कसैको हत्या नगर्। जसले हत्या गर्छ, त्यो व्यवस्था समक्ष उभिनु पर्नेछ।’ तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खड़ा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहूदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुर्ख’ भन्छौ भने तिमी नरकको आगोमा फालिइनु पर्नेछ। “जब तिमीले परमेश्वरलाई भेटी चढाउँछौ त्यसबेला तिमी अरूहरूलाई पनि सम्झ। यदि तिमीले वेदीमा भेटी चढाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भन्ने सम्झ्यौ भने, त्यही वेदीको छेउमा तिम्रो भेटी छोड। पहिला तिमी फर्केर जाऊ अनि त्यो मानिससित मिलाप गर। त्यसपछि आफ्नो भेटी वेदीमा चढाऊ। “यदि तिम्रो विरोधीले तिमीलाई न्यायालयमा लाँदैछ भने उसित मिलाप गरिहाल। न्यायलय पुग्नु अघिनै तिमीले यसो गर। यदि तिमी उसको साथी बन्न असफल भयौ भने उसले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला, न्यायाधीशले तिमीलाई प्रहरीको हातमा सुम्पिदेलान् अनि तिमीलाई झ्यालखानामा थुनिदिनेछ। म तिमीलाई भन्दछु कि तिमीले ऋणको अन्तिम पैसा नतिरुन्जेल तिमी त्यहाँबाट कुनै तरिकाले उम्कने छैनौ। “तिमीहरूले यसो भनेको सुनेकाछौ, ‘व्यभिचारको पापबाट अलग बस।’ तर म तिमीहरूलाई भन्दछु, जसले स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै उसित त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पुर्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा पर्नु भन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ। यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गराउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानु भन्दा बरू तिम्रो अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ। “यसलाई यसप्रकारले भनिएको छ, ‘जसले आफ्नी पत्नीलाई त्याग गर्ला, त्यसले उसलाई त्यागपत्र लेखी देओस्।’ तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अन्य कारणले त्याग गर्ला, उसलाई त्यसले व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकोसित विवाह गर्ला, त्यसले पनि व्यभिचार गर्नेछ। “फेरि तिमीहरूले सुनेकाछौ, कि हाम्रा प्राचीन समयका पुर्खाहरूलाई यसो भनिएको थियो, ‘जब तिमी शपथ खान्छौ, त्यो प्रतिज्ञा नतोड। परमेश्वरको निम्ति आफ्नो प्रतिज्ञा पूरा गर।’ तर म तिमीहरूलाई भन्दछु, स्वर्गको नाउँमा कसम वा प्रतिज्ञा खाँदै नखाऊ, किनभने स्वर्ग परमेश्वरको सिंहासन हो। पृथ्वीको नाममा पनि कसम नखाऊ, किनभने पृथ्वी परमेश्वरको पाउदान हो। यरूशलेमको नाउँमा कसम नखाऊ, किनभने त्यो महाराजाको शहर हो। अनि आफ्नो शिरको कसम पनि नखाऊ, किनभने तिमी आफ्नो शिरको एउटा केशलाई पनि सेतो वा कालो तुल्याउन सक्दैनौ। यदि तिमी ‘हो’ भने ‘हो’ भन ‘होइन’ भने ‘होइन’ भन। यस भन्दा बढ्ता चाहिं दुष्ट-तर्फबाट भएको हो।
मत्ती 5:13-37 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“तिमीहरू त पृथ्वीका नुन हौ। तर नुन नै अलिनो भयो भने फेरि केले नुनिलो पार्ने? त्यो त कामै नलाग्ने भई फ्याँकिनेछ र मानिसले कुल्चनेछन्। “तिमीहरूचाहिँ संसारका ज्योति हौ। डाँडामाथि बसालिएको सहर त लुक्न सक्दैन अनि कसैले पनि बत्ती बालेर पाथीले छोप्दैन। बरु घरभरि उज्यालो होस् भनेर बत्तीचाहिँ अग्लो ठाउँमा राखिन्छ। त्यसरी नै तिमीहरूको उज्यालो पनि अरू मानिसहरूको अगाडि चम्कोस् अनि अरूहरूले तिमीहरूले गरेका राम्रा काम देख्नेछन् र स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताको महिमा गर्नेछन्। “मोशाले दिएको व्यवस्था र अगमवक्ताहरूले भनेका कुरा रद्द गर्न म आएको हुँ भन्ने नसम्झ। म रद्द गर्न होइनँ, तर पूरा गर्न आएको हुँ। साँच्चै म तिमीहरूलाई भन्छु, आकाश र पृथ्वी बितेर नगएसम्म परमेश्वरको व्यवस्थाको सानोभन्दा सानो कुरा पनि पूरा नभई छोड्नेछैन। व्यवस्थाको सानोभन्दा सानो कुरालाई मिच्ने र मिच्न सिकाउने मानिस परमेश्वरको राज्यमा सबैभन्दा सानो ठहरिनेछ। तर व्यवस्था आफू पनि मान्ने र अरूलाई पनि मान्न लगाउनेचाहिँ परमेश्वरको राज्यमा ठूलो ठहरिनेछ। यसैकारण म तिमीहरूलाई भन्छु, व्यवस्थाका आज्ञाहरूलाई धर्म-गुरु र फरिसीहरूले भन्दा राम्ररी पालन गरेनौ भने तिमीहरू परमेश्वरको राज्यमा पस्न पाउनेछैनौ। “उहिलेका मानिसहरूलाई ‘मान्छे नमार्नू, मार्यौ भने दण्ड पाउनेछौ’ भनिन्थ्यो। यो त तिमीहरूलाई थाहै छ। तर म तिमीहरूलाई भन्छु, [कारणबिना नै] भाइसँग रिसाउनेले पनि दण्ड पाउनेछ। कसैले आफ्नो भाइलाई मूर्ख भन्यो भने त्यसले सभामा जवाफ दिनुपर्छ। आफ्नो भाइलाई सराप्ने त झन् नरकको आगोमैपर्नेछ। “यसकारण परमेश्वरलाई भेटी चढाउनुभन्दा अघि तिम्रो भाइ तिमीसँग रिसाएको थाहा पायौ भने आफ्नो भेटी वेदीकै अघि छोडी तुरुन्तै गएर आफ्नो भाइसँग मिलाप गर। त्यसपछि मात्रै आएर आफ्नो भेटी चढाऊ। “अदालतमा पुग्नुभन्दा अघि, मौका हुँदै आफ्नो झगडियासँग मेलमिलाप गरिहाल। नत्रता उसले तिम्रो विरुद्धमा न्यायाधीशकहाँ उजुर गर्नेछ अनि न्यायाधीशले तिमीलाई सिपाहीको जिम्मा लाउनेछ र तिमी थुनामापर्नेछौ। साँच्चै म तिमीलाई भन्छु, त्यस बेला जरिमानाको एक-एक पैसा नतिरेसम्म तिमी त्यहाँबाट उम्कन पाउनेछैनौ। “ ‘व्यभिचार गर्नुहुँदैन’ भनेको कुरा त तिमीहरूले सुनेका छौ। तर म भन्छु, कसैले कुनै स्त्रीलाई नराम्रो विचारले हेर्यो भने पनि त्यसले मनमा व्यभिचार गरिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई पापमा पार्छ भने त्यसलाई झिकेर फालिदेओ। तिम्रो पूरै शरीर नरकमा फालिनुभन्दा त शरीरको कुनै अङ्ग नहुनु नै तिम्रो लागि धेरै राम्रो हो। त्यसरी नै तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। तिम्रो पूरै शरीर नरकमा पर्नुभन्दा त त्यो हात नहुनु नै तिम्रो लागि धेरै राम्रो हो। “ ‘स्वास्नी त्याग्नेले त्यागपत्र लेखेर त्यागोस्’ भनिएको छ। तर म भन्छु, व्यभिचारको दोषबिना स्वास्नी त्याग्नेले उसलाई व्यभिचार गर्न लगाउँछ र यसरी त्यागेकीलाई विवाह गर्नेले पनि व्यभिचार गर्छ। “उहिलेका मानिसहरूलाई ‘झूटो शपथ नखानू र परमप्रभुलाई गरेको वाचा पूरा गर्नू’ भनेको तिमीहरूलाई थाहै छ। तर म तिमीहरूलाई भन्छु, कुनै कुरामा पनि शपथ खाँदै नखाओ। स्वर्गको नाउँ लिएर शपथ खानुहुँदैन किनभने यो परमेश्वरको सिंहासन हो। पृथ्वीको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्यो त परमेश्वरको पाउदान हो अनि यरूशलेमको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्यो त स्वर्गमा हुनुहुने महाराजाको सहर हो। आफ्नो टाउको छोएर पनि शपथ खानुहुँदैन किनभने तिमीहरू आफ्नो टाउकोको एउटै केश पनि सेतो वा कालो पार्न सक्दैनौ। जे कुरा भन्नु छ, हो भने हो, होइन भने होइन भन। त्योभन्दा बढी भन्नुचाहिँ दुष्टका कुरा हुन्।