YouVersion लोगो
खोज आइकन

मत्ती 5:1-48

मत्ती 5:1-48 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

भीड़लाई देखेर उहाँ डाँड़ामा उक्‍लनुभयो, र उहाँ बस्‍नुभएपछि चेलाहरू उहाँकहाँ आए। उहाँले मुख खोल्‍नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्‍नुभयो: “धन्‍य आत्‍मामा दीन हुनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो। धन्‍य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्‍त्‍वना पाउनेछन्‌। धन्‍य नम्रहरू, किनभने तिनीहरूले पृथ्‍वीको अधिकार पाउनेछन्‌। धन्‍य धार्मिकताको निम्‍ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त हुनेछन्‌। धन्‍य दयावन्‍तहरू, किनभने तिनीहरूले दया पाउनेछन्‌। धन्‍य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्‌। धन्‍य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌। धन्‍य धार्मिकताको निम्‍ति सताइनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो। “धन्‍य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्‍दा गर्नेछन्‌ र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्‍नेछन्‌। तब रमाओ, र अत्‍यन्‍त खुसी होओ, किनभने स्‍वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्‍दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए। “तिमीहरू पृथ्‍वीका नून हौ, तर नूनको स्‍वाद गयो भने त्‍यो केले फेरि नुनिलो पारिने र? त्‍यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्‍चनबाहेक अरू केही कामको हुँदैन। “तिमीहरू संसारका ज्‍योति हौ। डाँड़ामा बसालिएको सहर लुक्‍न सक्‍दैन। मानिसहरूले बत्ती बालेर पाथीले त छोप्‍दैनन्, तर सामदानमा राख्‍दछन्, र घरमा हुने सबैको निम्‍ति त्‍यसले उज्‍यालो दिन्‍छ। यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌। “व्‍यवस्‍था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्‍ने नसम्‍झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ। किनभने साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जबसम्‍म स्‍वर्ग र पृथ्‍वी टलेर जाँदैन तबसम्‍म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्‍यवस्‍थाबाट एउटा मात्रा वा एउटा बिन्‍दु टल्‍नेछैन। यसैकारण जसले यी आज्ञाहरूमध्‍ये सबैभन्‍दा सानोलाई उल्‍लङ्घन गर्ला, र मानिसहरूलाई त्‍यसै गर्न सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो सबैभन्‍दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो ठूलो कहलाइनेछ। किनभने म तिमीहरूलाई भन्‍दछु, तिमीहरूको धार्मिकता शास्‍त्री र फरिसीहरूको भन्‍दा बढ़ी भएन भने तिमीहरू कुनै रीतिले स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनौ। “तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, ‘तैंले हत्‍या नगर्नू, र जसले हत्‍या गर्छ त्‍यो दण्‍डको योग्‍य हुनेछ।’ तर म तिमीहरूलाई भन्‍दछु, जो कोही आफ्‍नो भाइसँग क्रोध गर्दछ त्‍यो दण्‍डको योग्‍य हुनेछ, र जसले आफ्‍नो भाइको अपमान गर्दछ, त्‍यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्‍नो भाइलाई ‘तँ मूर्ख’ भन्‍छ, त्‍यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ। “यसकारण तिमीले वेदीमा आफ्‍नो भेटी चढ़ाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्‍ने तिमीलाई याद भयो भने, तिम्रो भेटी त्‍यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्‍नो भाइसँग मिलाप गर, र त्‍यसपछि आएर आफ्‍नो भेटी चढ़ाऊ। “तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्रता वादीले तिमीलाई न्‍यायाधीशको हातमा सुम्‍पिदेला र न्‍यायाधीशले अधिकृतको हातमा सुम्‍पिदेलान्, र तिमी झ्‍यालखानमा पर्नेछौ। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीले एक-एक पैसा चुक्ता नगरुञ्‍जेल तिमी त्‍यहाँबाट उम्‍कनेछैनौ। “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्‍यभिचार नगर्‌।’ तर म तिमीहरूलाई भन्‍दछु, जसले कोही स्‍त्रीलाई कामवासनाको इच्‍छाले हेर्दछ, त्‍यसले अघिबाटै आफ्‍नो हृदयमा त्‍यससँग व्‍यभिचार गरिसकेको हुन्‍छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्‍पूर्ण शरीर नरकमा फालिनुभन्‍दा बरु तिम्रा अङ्गहरूमध्‍ये एउटा गुमाउनु तिम्रो निम्‍ति हितकारी हुन्‍छ। तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्‍पूर्ण शरीर नरकमा जानुभन्‍दा बरु तिम्रा अङ्गहरूमध्‍ये एउटा गुमाउनु तिम्रो निम्‍ति हितकारी हुन्‍छ। “यसो पनि भनिएको छ, कि ‘जसले आफ्‍नी पत्‍नीलाई त्‍याग गर्छ, त्‍यसले तिनलाई त्‍यागपत्र लेखिदेओस्‌।’ तर म तिमीहरूलाई भन्‍दछु, जसले आफ्‍नी पत्‍नीलाई व्‍यभिचारको कारणबाहेक अरू कारणले त्‍याग गर्ला, त्‍यसले तिनलाई व्‍यभिचारिणी तुल्‍याउँछ, र जसले त्‍याग गरिएकी स्‍त्रीसँग विवाह गर्ला, त्‍यसले व्‍यभिचार गर्नेछ। “फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, ‘तैंले झूटो शपथ नखा, तर परमप्रभुको निम्‍ति गरिएको शपथ तैंले पूरा गर्‌।’ तर म तिमीहरूलाई भन्‍दछु, शपथ खाँदै नखाओ। स्‍वर्गको नाउँमा शपथ नखाओ, किनकि त्‍यो परमेश्‍वरको सिंहासन हो, न त पृथ्‍वीको, किनकि त्‍यो उहाँको पाउदान हो, न त यरूशलेमको, किनकि त्‍यो महाराजाको सहर हो। आफ्‍नो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटा केशलाई सेतो कि कालो बनाउन सक्‍दैनौ। तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ मात्र होस्‌। यीभन्‍दा बढ़ीचाहिँ दुष्‍टताबाट आउँदछ। “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत।’ तर म तिमीहरूलाई भन्‍दछु, दुष्‍टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्‌काउला, त्‍यसलाई अर्को गाला पनि थापिदेऊ। यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दाबी गर्छ भने, त्‍यसलाई तिम्रो खास्‍टो पनि दिइहाल। यदि कसैले तिमीलाई एक किलोमिटर जान बाध्‍य गर्छ भने, ऊसँग दुई किलोमिटर गइदेऊ। तिमीसँग माग्‍नेलाई देऊ, र तिमीसँग कर्जा लिन चाहनेलाई इन्‍कार नगर। “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’ तर म तिमीहरूलाई भन्‍दछु, आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्‍ति प्रार्थना गर, र तिमीहरू स्‍वर्गमा हुनुहुने आफ्‍ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्‍ट र सज्‍जन दुवैलाई सूर्यको ताप दिनुहुन्‍छ, र धर्मी र पापी दुवैलाई वृष्‍टि दिनुहुन्‍छ। किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसूल उठाउनेहरूले पनि त्‍यसै गर्दैनन्‌ र? तिमीहरूले आफ्‍ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्‍दा बढ़ी के गर्‍यौ र? के अन्‍यजातिहरूले पनि त्‍यसै गर्दैनन्‌ र? यसकारण जस्‍तो तिमीहरूका स्‍वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्‍छ, तिमीहरू पनि त्‍यस्‍तै सिद्ध हुनुपर्दछ।”

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्

मत्ती 5:1-48 नेपाली समकालीन संस्करण (NCV)

उहाँले जब भीडलाई देख्नुभयो, उहाँ डाँडामा उक्लनुभयो र बस्‍नुभयो। उहाँका चेलाहरू उहाँकहाँ आए। अनि उहाँले तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो: उहाँले भन्‍नुभयो: “धन्य आत्मामा दीन हुनेहरू, किनकि स्वर्गको राज्य तिनीहरूकै हो। धन्य शोक गर्नेहरू, किनकि तिनीहरूले सान्त्वना पाउनेछन्। धन्य नम्रहरू, किनकि तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनकि तिनीहरू तृप्‍त हुनेछन्। धन्य दयावान्‌हरू, किनकि तिनीहरूले दया पाउनेछन्। धन्य हृदयमा शुद्ध हुनेहरू, किनकि तिनीहरूले परमेश्‍वरलाई देख्नेछन्। धन्य मेलमिलाप गराउनेहरू, किनकि तिनीहरू परमेश्‍वरका सन्तान कहलाइनेछन्। धन्य धार्मिकताको निम्ति सतावटमा पर्नेहरू, किनकि स्वर्गको राज्य तिनीहरूकै हो। “तिमीहरू धन्यका हौ जब मानिसहरूले तिमीहरूलाई मेरो कारणले अपमान गर्छन्, खेदो गर्छन् अनि तिमीहरूको विरुद्धमा झूटो बोलेर सबै किसिमका दुष्‍ट कुराहरू गर्छन्। तब आनन्द मनाओ र खुशी होओ, किनकि स्वर्गमा तिमीहरूको लागि ठूलो प्रतिफल छ। तिमीहरूभन्दा अघिका अगमवक्‍ताहरूलाई यसरी नै तिनीहरूले सताएका थिए। “तिमीहरू पृथ्वीका नुन हौ। तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? यो ता बाहिर फालिन र मानिसहरूद्वारा कुल्चन बाहेक अरू कुनै काम लाग्दैन। “तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसेको शहर लुक्न सक्दैन। न ता मानिसहरूले बत्ती बालेर भाँडोमुनि राख्छन्। तर तिनीहरूले त्यसलाई सामदानमाथि राख्छन्, अनि त्यसले घरभित्र भएका सबैलाई उज्यालो दिन्छ। यस्तै किसिमले, तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्, ताकि तिनीहरूले तिमीहरूका असल कामहरू देखेर स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। “म व्यवस्था र अगमवक्‍ताहरूलाई रद्द गर्न आएको हुँ भनी नसम्झ: म तिनीहरूलाई रद्द गर्न होइन, तर ती पूरा गर्न आएको हुँ। म तिमीहरूलाई यो साँच्‍चै भन्दछु, जबसम्म आकाश र पृथ्वी बितेर जाँदैनन्, तबसम्म व्यवस्थाबाट एउटा सानो अक्षर अथवा बिन्दुसम्म पनि सबै पूरा नभई कुनै रीतिले बित्नेछैन। कसैले यी आज्ञाहरूमध्ये एउटा सबैभन्दा सानोलाई उलङ्घन गर्छ अनि अरूलाई पनि त्यसै गर्न सिकाउँछ भने, ऊ स्वर्गको राज्यमा सबैभन्दा सानो हुनेछ, तर जसले यी आज्ञाहरू पालन गर्छ अनि अरूलाई सिकाउँछ, त्यो स्वर्गको राज्यमा महान् भनिनेछ। किनकि म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता फरिसी र व्यवस्थाका शिक्षकहरूको भन्दा बढी भएन भने तिमीहरू कदापि स्वर्गको राज्यमा पस्‍न पाउनेछैनौ। “तिमीहरूले सुनेका छौ, मानिसहरूलाई धेरै अघि के भनिएको थियो, ‘हत्या नगर, अनि जसले हत्या गर्छ त्यसको न्याय गरिनेछ।’ तर म भन्दछु, जो आफ्नो भाइसित रिसाउँछ त्यो न्यायमा पर्छ। अनि जसले आफ्नो भाइलाई ‘ए बेवकुफ’ भन्छ, त्यो महासभामा लगिने योग्यको हुन्छ। तर जसले ‘तँ मूर्ख!’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुन्छ। “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो विरुद्धमा तिम्रो भाइको केही कुरा छ भन्‍ने सम्झना आयो भने, तिम्रो भेटी त्यही वेदीकै सामुन्‍ने छोड। पहिले जाऊ अनि तिम्रो भाइसित मिलाप गर: अनि आएर आफ्नो भेटी चढाऊ। “तिमीलाई अदालतमा लैजाने विरोधीसित झट्टै कुरा मिलाइहाल। यो काम तिमी ऊसित बाटोमा हुँदै गरिहाल। नत्र ता उसले तिमीलाई न्यायाधीशकहाँ सुम्पिदेलान्, अनि न्यायाधीशले तिमीलाई अधिकारीकहाँ सुम्पिदेलान्, अनि तिमी झ्यालखानामा परौला। म तिमीलाई यो साँच्‍चै भन्छु, तिमीले एक-एक पैसा नतिरून्जेल तिमी त्यहाँबाट बाहिर निस्कन पाउनेछैनौ। “तिमीहरूले ‘व्यभिचार नगर्नू’ भनेको सुनेका छौ। तर म तिमीहरूलाई भन्दछु, जसले कुनै स्त्रीलाई कुदृष्‍टि लगाउँछ, उसले आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुनेछ। यदि तिमीहरूका दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फ्याँकिदेओ। किनकि तिमीहरूको सम्पूर्ण शरीर नरकको आगोमा फालिनुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिमीहरूको लागि असल हुन्छ। अनि यदि तिमीहरूको दाहिने हातले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। किनकि तिमीहरूको सम्पूर्ण शरीर नरकको आगोमा जानुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिमीहरूको लागि असल हुन्छ। “यसो भनिएको छ, ‘यदि कसैले आफ्नी पत्नीलाई त्याग्छ भने, त्यसले उसलाई त्यागपत्र देओस्।’ तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई वैवाहिक व्यभिचारको कारणबाहेक अरू कारणले विवाह-विच्छेद गर्छ, त्यसले उसलाई व्यभिचारिणी बनाउँछ, अनि जसले विवाह-विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ, उसले पनि व्यभिचार गर्छ। “फेरि मानिसहरूलाई धेरै अघि यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘तिमीहरूले शपथ भङ्ग नगर, तर तिमीहरूले प्रभुसित गरेको शपथ पूरा गर।’ तर म तिमीहरूलाई भन्दछु शपथ खाँदै नखाओ: न ता स्वर्गको नाउँमा, किनकि यो ता परमेश्‍वरको सिंहासन हो: न ता पृथ्वीको नाउँमा, किनकि यो उहाँको पाउदान हो: न ता यरूशलेमको नाउँमा, किनकि यो महान् राजाको शहर हो। अनि तिम्रो शिरको शपथ नखाओ, किनकि तिमीले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ। खाली तिम्रो ‘हो’ चाहिँ ‘हो’ होस्, अनि ‘होइन’ चाहिँ ‘होइन’ नै होस्: यसभन्दा बढ्ताचाहिँ सबै दुष्‍टबाट आउँछ। “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘आँखाको बदला आँखा अनि दाँतको बदला दाँत।’ तर म तिमीहरूलाई भन्दछु, दुष्‍ट मानिसको प्रतिरोध नगर। यदि कसैले तिमीहरूको दाहिने गालामा हिर्कायो भने, उसलाई अर्को गाला पनि थापिदेओ। अनि यदि कसैले मुद्दा चलाएर तिमीहरूको दौरा लिन खोज्छ भने, त्यसलाई तिमीहरूको खास्टो पनि दिइहाल। यदि कसैले तिमीहरूलाई कर लगाएर एक किलोमिटर जाऔं भन्छ भने, ऊसित दुई किलोमिटर गइदेओ। तिमीहरूसँग माग्नेलाई देओ, अनि तिमीहरूसित ऋण माग्नेलाई नाइँ नभन। “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर अनि तिम्रो शत्रुलाई घृणा गर।’ तर म तिमीहरूलाई भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर अनि तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर, र तिमीहरू स्वर्गमा हुनुभएको तिमीहरूका पिताका सन्तान बन्‍नेछौ। उहाँले दुष्‍ट र असल दुवैको निम्ति सूर्य उदाइदिनुहुन्छ, अनि धार्मिक र अधार्मिक दुवैको निम्ति पानी पठाउनुहुन्छ। यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र तिमीहरू प्रेम गर्छौ भने, तिमीहरूले के प्रतिफल पाउनेछौ? त्यो त के कर उठाउनेहरूले पनि गरिरहेका छैनन् र? अनि यदि तिमीहरू आफ्ना मानिसहरूलाई मात्र अभिवादन गर्छौ भने, तिमीहरूले अरूले भन्दा के बढी गर्दैछौ? त्यो त गैरयहूदीहरूले पनि गर्दैनन् र? तिमीहरूका स्वर्गीय पिता जस्तो सर्वगुणी हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सर्वगुणी होओ।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्

मत्ती 5:1-48 पवित्र बाइबल (NERV)

येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो, “ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। अहिले शोक गर्नेहरू धन्यकाहुन्, किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ। धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ। धन्य अरू प्रति दया देखाउनेहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेल-मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ। धन्य धार्मिकताको निम्ति सताइएकाहरू, किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ। “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झूटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ। सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठूलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए। “तिमीहरू पृथ्वीका नून हौ। यदि नूनको स्वाद नै छैन भने, फेरि त्यसलाई नुनिलो के-ले पार्ने र? यदि नूनमा नूनको स्वाद नै छैन भने त्यो ता-फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन। “तिमीहरू संसारका ज्योति हौ जसले संसारलाई उज्यालो पार्छ। डाँडामा बसालिएको नगर अदृष्य रहन सक्तैन। त्यसरीनै मानिसहरूले बत्ती बालेर पाथीमुनि राख्दैनन्। त्यसको सट्टामा तिनीहरूले त्यसलाई सामदानमा राख्छन्। यसरी घरमा भएका सबै मानिसहरूले उज्यालो पाउने छन्। त्यसै गिरी, अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिहरूले देख्नेछन् र स्वर्गमा बस्नु हुने तिमीहरूका पिताका महिमा गर्नेछन्। “म मोशाको व्यवस्था अथवा अगमवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसम्झ, रद्द गर्न होइन, तर पूरा गर्न म आएको हुँ। म साँच्चो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितेर जाँदैन, व्यवस्थाको हरेक कुरा पूरा हुनेछ सबै कुरा पूरा नहोउन्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु पनि हटाइने छैन। “हरेक मानिसले प्रत्येक आदेश पालन गर्नैपर्छ चाहे त्यो आदेश सामान्य नै किन नहोस्। यदि कुनै मानिसले एउटा पनि आदेश पालन गर्न चाँहदैन अनि अरूलाई पनि आदेश पालन नगर्नु भनी सिकाउँछ भने स्वर्गको राज्यमा त्यो सबैभन्दा तुच्छ ठहरिनेछ। तर जसले आदेश पालन गर्छ अनि अरूलाई पनि आदेश पालन गर्न सिकाउँछ, त्यो नै स्वर्गको राज्यमा ठूलो कहलाइनेछ। म भन्दछु धर्मशास्त्री र फरिसीहरूको भन्दा तिमीहरूले राम्रो काम गर्नु पर्छ। यदि तिमीहरूले तिमीहरूलाई उछिन्न सकेनौ भने तिमीहरूले स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनौ। “तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘कसैको हत्या नगर्। जसले हत्या गर्छ, त्यो व्यवस्था समक्ष उभिनु पर्नेछ।’ तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खड़ा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहूदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुर्ख’ भन्छौ भने तिमी नरकको आगोमा फालिइनु पर्नेछ। “जब तिमीले परमेश्वरलाई भेटी चढाउँछौ त्यसबेला तिमी अरूहरूलाई पनि सम्झ। यदि तिमीले वेदीमा भेटी चढाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भन्ने सम्झ्यौ भने, त्यही वेदीको छेउमा तिम्रो भेटी छोड। पहिला तिमी फर्केर जाऊ अनि त्यो मानिससित मिलाप गर। त्यसपछि आफ्नो भेटी वेदीमा चढाऊ। “यदि तिम्रो विरोधीले तिमीलाई न्यायालयमा लाँदैछ भने उसित मिलाप गरिहाल। न्यायलय पुग्नु अघिनै तिमीले यसो गर। यदि तिमी उसको साथी बन्न असफल भयौ भने उसले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला, न्यायाधीशले तिमीलाई प्रहरीको हातमा सुम्पिदेलान् अनि तिमीलाई झ्यालखानामा थुनिदिनेछ। म तिमीलाई भन्दछु कि तिमीले ऋणको अन्तिम पैसा नतिरुन्जेल तिमी त्यहाँबाट कुनै तरिकाले उम्कने छैनौ। “तिमीहरूले यसो भनेको सुनेकाछौ, ‘व्यभिचारको पापबाट अलग बस।’ तर म तिमीहरूलाई भन्दछु, जसले स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै उसित त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पुर्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा पर्नु भन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ। यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गराउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानु भन्दा बरू तिम्रो अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ। “यसलाई यसप्रकारले भनिएको छ, ‘जसले आफ्नी पत्नीलाई त्याग गर्ला, त्यसले उसलाई त्यागपत्र लेखी देओस्।’ तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अन्य कारणले त्याग गर्ला, उसलाई त्यसले व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकोसित विवाह गर्ला, त्यसले पनि व्यभिचार गर्नेछ। “फेरि तिमीहरूले सुनेकाछौ, कि हाम्रा प्राचीन समयका पुर्खाहरूलाई यसो भनिएको थियो, ‘जब तिमी शपथ खान्छौ, त्यो प्रतिज्ञा नतोड। परमेश्वरको निम्ति आफ्नो प्रतिज्ञा पूरा गर।’ तर म तिमीहरूलाई भन्दछु, स्वर्गको नाउँमा कसम वा प्रतिज्ञा खाँदै नखाऊ, किनभने स्वर्ग परमेश्वरको सिंहासन हो। पृथ्वीको नाममा पनि कसम नखाऊ, किनभने पृथ्वी परमेश्वरको पाउदान हो। यरूशलेमको नाउँमा कसम नखाऊ, किनभने त्यो महाराजाको शहर हो। अनि आफ्नो शिरको कसम पनि नखाऊ, किनभने तिमी आफ्नो शिरको एउटा केशलाई पनि सेतो वा कालो तुल्याउन सक्दैनौ। यदि तिमी ‘हो’ भने ‘हो’ भन ‘होइन’ भने ‘होइन’ भन। यस भन्दा बढ्ता चाहिं दुष्ट-तर्फबाट भएको हो। “तिमीहरूले सुनेकाछौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बद्ला दाँत।’ तर म तिमीहरूलाई भन्दछु, दुष्टको सामना नगर्। यदि कसैले तिम्रो दाहिने गालामा चट्काइदियो भने त्यसलाई देब्रे गाला पनि फर्काइदेउ। यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लीने दाबी गर्छ भने, त्यसलाई तिम्रो खाष्टो पनि दिइहाल। यदि कसैले तिमीलाई एक माइलसम्म जबरजस्त हिंड्न लगाउँछ भने उसित दुइमाइलसम्म जाऊ। यदि कसैले तिमीसित केही माग्छ भने त्यो दिइहाल। कुनै व्यक्तिले कर्जा लिन चाहेमा पनि केही दिन अस्वीकार नगर। “तिमीहरूले यसो भनिएको सुनेकाछौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर।’ तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर। यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँच्चो पुत्र हुनेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ। अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ। यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूले कनै इनाम पाउने छैनौ। महसूल उठाउनेहरूले पनि त्यसै गर्छन्। अनि यदि तिमीहरू आफ्ना साथी-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरू मानिसहरूसँग असल ठहर्नेछैनौ। अरू परमेश्वरलाई नजान्ने मानिसहरू पनि आफ्ना साथीभाइहरूसँग असल नै हुन्छन्। यसैकारणले तिमीहरू सिद्ध होऊ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्

मत्ती 5:1-48 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मानिसहरूको ठूलो धुइरो लागेको देखेर येशू डाँडामाथि गई बस्‍नुभयो र चेलाहरू पनि आएर उहाँका वरिपरि बसे। अनि उहाँले तिनीहरूलाई शिक्षा दिँदै यसो भन्‍नुभयो– “आफूलाई आत्‍मामा गरीब ठान्‍नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरको राज्‍य तिनीहरूकै हो। शोक गर्नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरले तिनीहरूलाई मनमा शान्‍ति दिनुहुनेछ। नम्र हुनेहरू कति धन्‍य हुन्! किनभने तिनीहरूले पृथ्‍वीमा अधिकार गर्न पाउनेछन्। परमेश्‍वरको हरेक आज्ञा र इच्‍छा पूरा होस् भनेर सम्‍पूर्ण हृदयले तिर्सना गर्नेहरू कति धन्‍य हुन्! किनभने तिनीहरूको तिर्सना पूरा गरिनेछ। दया गर्नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरले पनि तिनीहरूलाई दया गर्नुहुनेछ। शुद्ध मन हुनेहरू कति धन्‍य हुन्! किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्। मेलमिलाप गराउनेहरू कति धन्‍य हुन्! किनभने तिनीहरू परमेश्‍वरका सन्‍तान कहलिनेछन्। परमेश्‍वरको आज्ञाहरू पालन गर्दा खेदोमा पर्नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरको राज्‍य तिनीहरूकै हो। “मलाई विश्‍वास गरेकोले मानिसहरूले तिमीहरूलाई दु:ख दिए, निन्‍दा गरे र तिमीहरूको विरुद्धमा सबै किसिमका नराम्रा कुराहरू बोले भने तिमीहरू धन्‍य हौ! त्‍यति बेला तिमीहरू खुसी र आनन्‍दित होओ किनभने तिमीहरूको लागि स्‍वर्गमा ठूलो इनाम राखिएको छ। उहिलेका अगमवक्ताहरूलाई पनि मानिसहरूले त्‍यसरी नै दु:ख दिएर सताएका थिए। “तिमीहरू त पृथ्‍वीका नुन हौ। तर नुन नै अलिनो भयो भने फेरि केले नुनिलो पार्ने? त्‍यो त कामै नलाग्‍ने भई फ्‍याँकिनेछ र मानिसले कुल्‍चनेछन्। “तिमीहरूचाहिँ संसारका ज्‍योति हौ। डाँडामाथि बसालिएको सहर त लुक्‍न सक्‍दैन अनि कसैले पनि बत्ती बालेर पाथीले छोप्‍दैन। बरु घरभरि उज्‍यालो होस् भनेर बत्तीचाहिँ अग्‍लो ठाउँमा राखिन्‍छ। त्‍यसरी नै तिमीहरूको उज्‍यालो पनि अरू मानिसहरूको अगाडि चम्‍कोस् अनि अरूहरूले तिमीहरूले गरेका राम्रा काम देख्‍नेछन् र स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिताको महिमा गर्नेछन्। “मोशाले दिएको व्यवस्था र अगमवक्ताहरूले भनेका कुरा रद्द गर्न म आएको हुँ भन्‍ने नसम्‍झ। म रद्द गर्न होइनँ, तर पूरा गर्न आएको हुँ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, आकाश र पृथ्‍वी बितेर नगएसम्‍म परमेश्‍वरको व्यवस्थाको सानोभन्दा सानो कुरा पनि पूरा नभई छोड्‍नेछैन। व्यवस्थाको सानोभन्दा सानो कुरालाई मिच्‍ने र मिच्‍न सिकाउने मानिस परमेश्‍वरको राज्‍यमा सबैभन्दा सानो ठहरिनेछ। तर व्यवस्था आफू पनि मान्‍ने र अरूलाई पनि मान्‍न लगाउनेचाहिँ परमेश्‍वरको राज्‍यमा ठूलो ठहरिनेछ। यसैकारण म तिमीहरूलाई भन्‍छु, व्यवस्थाका आज्ञाहरूलाई धर्म-गुरु र फरिसीहरूले भन्दा राम्ररी पालन गरेनौ भने तिमीहरू परमेश्‍वरको राज्‍यमा पस्‍न पाउनेछैनौ। “उहिलेका मानिसहरूलाई ‘मान्‍छे नमार्नू, मार्‍यौ भने दण्‍ड पाउनेछौ’ भनिन्‍थ्‍यो। यो त तिमीहरूलाई थाहै छ। तर म तिमीहरूलाई भन्‍छु, [कारणबिना नै] भाइसँग रिसाउनेले पनि दण्‍ड पाउनेछ। कसैले आफ्‍नो भाइलाई मूर्ख भन्‍यो भने त्‍यसले सभामा जवाफ दिनुपर्छ। आफ्‍नो भाइलाई सराप्‍ने त झन् नरकको आगोमैपर्नेछ। “यसकारण परमेश्‍वरलाई भेटी चढाउनुभन्दा अघि तिम्रो भाइ तिमीसँग रिसाएको थाहा पायौ भने आफ्‍नो भेटी वेदीकै अघि छोडी तुरुन्‍तै गएर आफ्‍नो भाइसँग मिलाप गर। त्‍यसपछि मात्रै आएर आफ्‍नो भेटी चढाऊ। “अदालतमा पुग्‍नुभन्दा अघि, मौका हुँदै आफ्‍नो झगडियासँग मेलमिलाप गरिहाल। नत्रता उसले तिम्रो विरुद्धमा न्‍यायाधीशकहाँ उजुर गर्नेछ अनि न्‍यायाधीशले तिमीलाई सिपाहीको जिम्‍मा लाउनेछ र तिमी थुनामापर्नेछौ। साँच्‍चै म तिमीलाई भन्‍छु, त्‍यस बेला जरिमानाको एक-एक पैसा नतिरेसम्‍म तिमी त्‍यहाँबाट उम्‍कन पाउनेछैनौ। “ ‘व्‍यभिचार गर्नुहुँदैन’ भनेको कुरा त तिमीहरूले सुनेका छौ। तर म भन्‍छु, कसैले कुनै स्‍त्रीलाई नराम्रो विचारले हेर्‍यो भने पनि त्‍यसले मनमा व्‍यभिचार गरिसकेको हुन्‍छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई पापमा पार्छ भने त्‍यसलाई झिकेर फालिदेओ। तिम्रो पूरै शरीर नरकमा फालिनुभन्दा त शरीरको कुनै अङ्ग नहुनु नै तिम्रो लागि धेरै राम्रो हो। त्‍यसरी नै तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लगाउँछ भने त्‍यसलाई काटेर फालिदेओ। तिम्रो पूरै शरीर नरकमा पर्नुभन्दा त त्‍यो हात नहुनु नै तिम्रो लागि धेरै राम्रो हो। “ ‘स्‍वास्‍नी त्‍याग्‍नेले त्‍यागपत्र लेखेर त्‍यागोस्’ भनिएको छ। तर म भन्‍छु, व्‍यभिचारको दोषबिना स्‍वास्‍नी त्‍याग्‍नेले उसलाई व्‍यभिचार गर्न लगाउँछ र यसरी त्‍यागेकीलाई विवाह गर्नेले पनि व्‍यभिचार गर्छ। “उहिलेका मानिसहरूलाई ‘झूटो शपथ नखानू र परमप्रभुलाई गरेको वाचा पूरा गर्नू’ भनेको तिमीहरूलाई थाहै छ। तर म तिमीहरूलाई भन्‍छु, कुनै कुरामा पनि शपथ खाँदै नखाओ। स्‍वर्गको नाउँ लिएर शपथ खानुहुँदैन किनभने यो परमेश्‍वरको सिंहासन हो। पृथ्‍वीको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्‍यो त परमेश्‍वरको पाउदान हो अनि यरूशलेमको नाउँ लिएर पनि शपथ खानुहुँदैन, त्‍यो त स्‍वर्गमा हुनुहुने महाराजाको सहर हो। आफ्‍नो टाउको छोएर पनि शपथ खानुहुँदैन किनभने तिमीहरू आफ्‍नो टाउकोको एउटै केश पनि सेतो वा कालो पार्न सक्‍दैनौ। जे कुरा भन्‍नु छ, हो भने हो, होइन भने होइन भन। त्‍योभन्दा बढी भन्‍नुचाहिँ दुष्‍टका कुरा हुन्। “ ‘आँखाको बदला आँखा, दाँतको बदला दाँत’ भनेको तिमीहरूलाई थाहा छ। तर म भन्‍छु, तिमीहरूले कसैसँग बदला नलिनू। यदि कसैले तिम्रो दाहिने गालामा हिर्काउँछ भने देब्रे गाला पनि थापिदेओ। कसैले मुद्दा चलाएर तिम्रो दौरा लान खोज्‍छ भने उसलाई तिम्रो कोट पनि देओ। तिमीलाई जबरजस्‍तीसँग आधा कोस लान खोज्‍नेसँग एक कोससम्‍मै गइदेओ अनि तिमीसँग माग्‍नेलाई देओ र ऋण माग्‍नेलाई पनि ऋण देओ। “ ‘छिमेकीलाई प्रेम गर, शत्रुलाई चाहिँ घृणा गर’ भनेको तिमीहरूलाई थाहै छ। तर म तिमीहरूलाई भन्‍छु, शत्रुहरूलाई पनि प्रेम गर। आफूलाई खेदो गर्नेहरूका निम्‍ति प्रार्थना गर। सो गर्‍यौ भने तिमीहरू स्‍वर्गमा हुनुहुने परमेश्‍वर पिताका छोरा-छोरी हुनेछौ किनभने परमेश्‍वरले पनि दुष्‍ट र असल दुवैलाई घाम लगाइदिनुहुन्‍छ अनि पापी र धर्मात्‍मा दुवैका लागि नै पानी बर्साइदिनुहुन्‍छ। आफूलाई माया गर्नेलाई मात्रै माया गर्छौ भने तिमीहरूले के इनाम पाउन सक्‍छौ र? त्‍यस्‍तो माया त कर उठाउनेहरूले पनि गर्छन् नि! तिमीहरू खालि आफ्‍नाहरूलाई मात्रै स्‍वागत-सत्‍कार गर्छौ भने अरूभन्दा कुन ठूलो काम गरेका हुन्‍छौ र? परमेश्‍वरलाई नचिन्‍नेहरूले पनि त त्‍यस्‍तो काम गर्छन्! स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिता सबै कुरामा ठीक हुनुभएजस्‍तै तिमीहरू पनि सबै कुरामा ठीक होओ।”

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्