YouVersion लोगो
खोज आइकन

मत्ती 3:1-12

मत्ती 3:1-12 नेपाली समकालीन संस्करण (NCV)

ती दिनहरूमा यहूदियाको उजाडस्थानमा बप्‍तिस्मा दिने यूहन्‍ना प्रचार गर्दै यसो भन्दै आए, “पश्‍चात्ताप गर, किनकि स्वर्गको राज्य नजिकै आइपुगेको छ।” यी तिनी नै हुन्, जसको बारेमा यशैया अगमवक्‍ताले यसो भनेका थिए: “उजाडस्थानमा कराउने एकजनाको आवाज, ‘प्रभुको बाटो तयार पार, उहाँको निम्ति मार्ग सीधा बनाओ।’ ” यूहन्‍नाको लुगा ऊँटको रौँले बनेको थियो, अनि तिनले कम्मरमा छालाको पटुका बाँधेका थिए। तिनको भोजन सलह र वनमह थियो। यरूशलेम, सबै यहूदिया अनि यर्दनका सम्पूर्ण इलाकाबाट मानिसहरू तिनीकहाँ गए। आफ्ना पापहरू स्वीकार गर्दै तिनीहरूले तिनीद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिए। तर जब तिनले आफूले बप्‍तिस्मा दिइरहेको ठाउँमा फरिसी र सदुकीहरूलाई आइरहेका देखे, तिनले भने: “हे सर्पका सन्तानहो! तिमीहरूलाई आउन लागेको क्रोधबाट भाग्न कसले चेतावनी दियो? पश्‍चात्तापअनुसारको फल फलाओ। अनि आफै ‘हामी अब्राहामका वंशज हौं’ भन्‍ने नठान। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका सन्तान उत्पन्‍न गर्न सक्नुहुन्छ। रूखको जरामा बन्चरो परिसकेको छ। अनि असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ। “म ता तिमीहरूलाई पश्‍चात्तापको लागि पानीको बप्‍तिस्मा दिन्छु। तर मपछि मभन्दा शक्‍तिशाली एकजना आउनुहुनेछ, जसको जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ। उहाँको निफन्‍ने नाङ्लो उहाँकै हातमा छ, अनि उहाँले आफ्नो खला सफा गर्नुहुनेछ र गहुँ धनसारमा जम्मा गर्नुहुनेछ, तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ।”

शेयर गर्नुहोस्
मत्ती 3 पढ्नुहोस्

मत्ती 3:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यस समयमा बप्‍तिस्‍मा दिने यूहन्‍नाले यहूदियाका उजाड-स्थानहरूमा मानिसहरूलाई यसो भन्‍दै प्रचार गर्न लागे, “आ-आफ्‍नो पाप मानिलेऊ र त्‍यो छोड किनभने परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ।” अब यशैया अगमवक्ताले पनि यिनै यूहन्‍नाको बारेमा अघिबाट नै यसरी भनेका थिए– “सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोर निकालेर यस्‍तो भन्‍दै छन्, ‘परमप्रभु आउनुहुने बाटो ठीक पार, उहाँ हिँड्‍नुहुने गोरेटाहरू सोझ्‍याओ’!” यूहन्‍नाले ऊँटको रौंले बुनेको लुगा लगाउँथे, कम्‍मरमा छालाको पेटी बाँध्‍थे अनि सलह र बन-मह खान्‍थे। यरूशलेम सहर, यहूदियाका सबै गाउँ र यर्दन नदीका चारैतिरबाट मानिसहरू उनीकहाँ आउन थाले अनि आ-आफ्‍ना पाप मानिलिने जतिलाई यूहन्‍नाले यर्दन नदीमा बप्‍तिस्‍मा दिए। फरिसी र सदुकी भन्‍ने दुईवटा धार्मिक समूहका धेरै मानिसहरू पनि बप्‍तिस्‍मा लिन यूहन्‍नाकहाँ आए। तिनीहरूलाई आइरहेका देखेर यूहन्‍नाले भने, “ए विषालु सर्पका सन्‍तान हो, परमेश्‍वरले गर्नुहुने न्‍यायबाट उम्‍कन तिमीहरूलाई कसले सिकायो? तिमीहरूले आ-आफ्‍ना पापलाई मानिलिएर आफ्‍नो मन परमेश्‍वरतिर फर्काएका हौ भने त्‍यहीअनुसार चल्‍ने गर। ‘हामी अब्राहामका सन्‍तान हौं’ भन्‍दैमा तिमीहरू उम्‍कन्‍छौ भन्‍ने नसम्‍झ। म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरले यी ढुङ्गाबाट पनि अब्राहामका सन्‍तान जन्‍माउन सक्‍नुहुन्‍छ। रूखको फेदमा बन्‍चरो परिसकेको छ। असल फल नफलाउने सबै रूखलाई ढालेर आगोमा फालिनेछ। “साँच्‍चै, तिमीहरूले आ-आफ्‍नो पाप मानिलिएर त्‍यसलाई छोड्‍न तयार भएका हौ भनेर देखाउन म तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिँदै छु, तर मपछि आउनुहुनेले चाहिँ तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ। उहाँ त मभन्दा धेरै महान् हुनुहुन्‍छ। म त उहाँको जुत्ता बोक्‍ने लायकको पनि छैनँ। अन्‍न निफन्‍नलाई उहाँले हातमा नाङ्लो लिइसक्‍नुभएको छ। निफनेर अन्‍नचाहिँ भकारीमा थन्‍क्‍याउनुहुनेछ, तर भुसचाहिँ कहिल्‍यै ननिभ्‍ने आगोमा डढाउनुहुनेछ।”

शेयर गर्नुहोस्
मत्ती 3 पढ्नुहोस्

मत्ती 3:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यही समय बप्‍तिस्‍मा-दिने यूहन्‍ना यहूदियाको उजाड-स्‍थानमा आए, र यसो भन्‍दै प्रचार गर्न लागे, “पश्‍चात्ताप गर, किनभने स्‍वर्गको राज्‍य नजिक आएको छ।” किनभने यी तिनै हुन्, जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो: “उजाड-स्‍थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’।” यूहन्‍नाले ऊँटका रौँको वस्‍त्र लाउँथे, र कम्‍मरमा छालाको पटुका बाँध्‍थे। तिनको खानेकुरा सलह र वन-मह थियो। यरूशलेम र सबै यहूदिया, र यर्दन वरिपरिका इलाकाका सबै मानिसहरू तिनीकहाँ गए, र आफ्‍ना पाप स्‍वीकार गर्दै यर्दन नदीमा तिनीबाट बप्‍तिस्‍मा लिन लागे। तर फरिसीहरू र सदुकीहरूमध्‍ये धेरै जनालाई बप्‍तिस्‍मा लिन आइरहेका देखेर तिनले उनीहरूलाई भने, “सर्पका बच्‍चा हो, आउन लागेको क्रोधबाट भाग्‍न कसले तिमीहरूलाई चेताउनी दियो? यसकारण पश्‍चात्ताप सुहाउँदो फल फलाओ। अब्राहाम नै हाम्रा पिता हुनुहुन्‍छ भनी आपसमा भन्‍ने नगर। किनभने म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट अब्राहामको लागि सन्‍तान उत्‍पन्‍न गर्न सक्‍नुहुन्‍छ। अहिले नै रूखको फेदमा बन्‍चरो परिसकेको छ। यसकारण असल फल नफलाउने हरेक रूख काटी ढालिन्‍छ, र आगोमा फालिन्‍छ। “मचाहिँ त तिमीहरूलाई पश्‍चात्तापको लागि पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर मपछि आउनुहुने मभन्‍दा अझ शक्तिशाली हुनुहुन्‍छ, जसका जुत्ता बोक्‍ने योग्‍यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्‍मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ। उहाँको निफन्‍ने नाङ्‌लो उहाँकै हातमा छ, र उहाँले आफ्‍ना खलालाई पूरै सफा पार्नुहुनेछ, र आफ्‍नो गहूँ धनसारमा जम्‍मा गर्नुहुनेछ, तर भुसजति चाहिँ ननिभ्‍ने आगोमा जलाउनुहुनेछ।”

शेयर गर्नुहोस्
मत्ती 3 पढ्नुहोस्

मत्ती 3:1-12 पवित्र बाइबल (NERV)

त्यही समयमा बप्तिस्मा दिने यूहन्ना देखापरे। अनि यहूदियाको मरूभूमिमा प्रचार गर्न थाले। तिनले भने, “पश्चाताप गर, आफ्नो हृदय र रहन-सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य चाँडै आउन लागेको छ।” बप्तिस्मा दिने यूहन्ना उही हुन् जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो। यशैयाले भनेका थिए, “मरुभूमिमा एकजना कराइरहेछन्: ‘परमप्रभुको बाटो तयार पार। उहाँका मार्गहरू सोझोबनाऊ।’” यूहन्नाको लुगा ऊँटको रौको थियो। तिनको कम्मरमा छालाको पेटी थियो। तिनको आहार सलह र वन-मह थियो। यूहन्नाको सन्देश सुन्न मानिसहरू एकत्र भए। यरूशलेम र सारा यहूदिया र यर्दन नदी वरिपरि सबै भागका मानिसहरू तिनीहरूकहाँ गए। आफ्नो पाप स्वीकार गरे पछि मानिसहरू आए अनि यूहन्नाद्वारा यर्दन नदीमा बप्तिस्मा लिए। धेरै फरिसीहरू र सदुकीहरू यूहन्नाकहाँ बप्तिस्मा लिनका निम्ति आए। जब यूहन्नाले तिनीहरूलाई देखे तिनले भने, “हे सर्पका सन्तान हो, आउन लागेको परमेश्वरको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो? तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ। अनि ‘अब्राहामनै हाम्रा पिता हुनुहुन्छ’ भन्ने कुरा आपसामा विचार नगर। म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाबाट अब्राहामका लागि सन्तान प्रदान गर्न सक्नुहुन्छ। अनि अहिलेनै रूखहरूको फेदमा बञ्चरो परेको छ। असल फल नफलाउने सबै रूखहरूलाई काटेर ढालिनेछ अनि आगोमा फालिनेछ। “म चाहिं तिमीहरूले पश्चाताप गर्यौ भनी देखाउनका निम्ति पानीद्वारा बप्तिस्मा गरिदिन्छु। तर मपछि आउने एक जना मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गलो आफ्नो हातमा लिनु भएकोछ, उहाँले गहूँ संग्रह गरी आफ्नो गहूँको भकारीमा जम्मा गर्नुहुनेछ। अनि भूस जति ननिभ्ने आगोमा जलाउनुहुनेछ।”

शेयर गर्नुहोस्
मत्ती 3 पढ्नुहोस्