मत्ती 27:57-66
मत्ती 27:57-66 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
साँझ परेपछि अरिमाथियाका योसेफ नाउँ भएका एक जना धनी मानिस आए। तिनी स्वयम् येशूका चेला थिए। तिनले पिलातसकहाँ गएर येशूको मृत शरीर मागे, र पिलातसले सो तिनलाई दिने हुकुम गरे। योसेफले मृत शरीर लिएर सफा मलमलको कपड़ाले बेह्रे, र तिनले चट्टानमा खोपेर बनाएका आफ्नै नयाँ चिहानमा त्यो राखे, र चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड़ाइदिए, र तिनी गए। चिहानको सामुन्ने मरियम मग्दलिनी र अर्की मरियम पनि बसिरहेका थिए। भोलिपल्ट, अर्थात् तयारीको दिनको भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ भेला भए, र भने, “हजूर, हामीलाई याद छ, कि त्यस ठगाहाले जिउँदो छँदा, ‘तीन दिनपछि म फेरि उठ्नेछु’ भनेको थियो। यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्नलाई हुकुम गर्नुहोस्, नत्रता त्यसका चेलाहरूले आएर त्यो चोरेर लैजालान्, र ‘त्यो त मरेकोबाट जीवित भई उठ्यो’ भनेर मानिसहरूलाई भन्नेछन्, र त्यो पछिल्लो धोका पहिलोभन्दा अझ नराम्रो हुनेछ।” पिलातसले तिनीहरूलाई भने, “तिमीहरूको आफ्नै पहरा छँदैछ। जाओ, तिमीहरूले सकेसम्म सुरक्षित राख।” तब तिनीहरूले गएर ढुङ्गामा मोहोर लाए, र पहरादारहरू खटाएर चिहान सुरक्षित राखे।
मत्ती 27:57-66 नेपाली समकालीन संस्करण (NCV)
साँझ परेपछि, अरिमथियाका योसेफ नाउँ भएका धनी मानिस आए, जो स्वयम् येशूका चेला भएका थिए। तिनले पिलातसकहाँ गएर येशूको शव मागे र पिलातसले तिनलाई त्यो दिइयोस् भन्ने हुकुम गरे। अनि योसेफले शव लगे, र सफा मलमलको लुगाले बेह्रे, अनि आफ्नै नयाँ चिहानमा राखे जुन चट्टान खोपेर बनाइएको थियो। तिनले चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड्याइदिए र गए। त्यहाँ चिहानको सामुन्ने मरियम मग्दलिनी र अर्की मरियम बसिरहेका थिए। अर्को दिन, अर्थात् विश्रामदिनको तयारीको भोलिपल्ट मुख्य पूजाहारीहरू अनि फरिसीहरू पिलातसकहाँ गए। तिनीहरूले भने, “हजुर, त्यस ठगले जिउँदो हुँदा ‘म तीन दिनपछि फेरि जीवित भई उठ्नेछु’ भनेको कुरा हामीलाई याद छ। यसकारण तेस्रो दिनसम्म चिहानलाई सुरक्षित राख्ने हुकुम दिनुहोस्। नत्र ता त्यसका चेलाहरूले आएर उसको शरीर चोरेर लैजालान्, अनि मानिसहरूलाई ऊ जीवित भई उठेको छ भन्लान्। यो अन्तिम धोका पहिलोभन्दा अझ नराम्रो हुनेछ।” पिलातसले जवाफ दिए, “केही पहरादारहरू लेओ र चिहानलाई तिमीहरूले जानेअनुसार सुरक्षित राख।” यसकारण तिनीहरू गए, अनि ढुङ्गामा छाप लगाएर एउटा पहरादारहरूलाई त्यहाँ राखेर चिहानलाई सुरक्षित पारे।
मत्ती 27:57-66 पवित्र बाइबल (NERV)
त्यसै बेलूकी यूसुफ नाम गरेको एकजना धनी मानिस यरूशलेममा आए। अरिमिथिया नगरमा बस्ने उनी येशूकै एकजना चेला भएका थिए। यूसफ पिलातसको सामु आए अनि येशूको लाशको निम्ति तिनलाई विन्ती गरे। पिलातसले आफ्ना सैनिकहरूलाई यूसुफलाई त्यो लाश दिनु भन्ने आदेश गरे। त्यसपछि यूसुफले त्यो लाश लगरे त्यसलाई कात्रोले बेह्रे। यूसुफले येशूको त्यो लाशलाई एउटा नयाँ चिहानमा राखे जसलाई उनी आफैंले भर्खरै चट्टानमा खोपी बनाएका थिए। तब उनले एकदमै ठूलो ढुङ्गा लडाउँदै ल्याएर चिहानको ढोका बन्द गरिदिए। यति गरेपछि यूसुफ आफ्नो बाटो लगे। मरियम मग्दलिनी, अनि मरियम नाम गरेकी अर्को आईमाई पनि चिहानको अर्को पट्टि बसिरहेका थिए। त्यस दिनलाई तयारीको दिन भनिन्थ्यो। भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ पुगे। तिनीहरूले भने, “स्वामी, हामीलाई थाहा छ त्यस ठगाहाले त्यो जिउँदो छँदा ‘तीन दिनपछि म फेरि बौरी उठ्नेछु’ भनेको थियो। यसकारण तीन दिनसम्म त्यो चिहानमा पहरा दिने आदेश पालेहरूलाई दिनुहोस्। उसका चेलाहरू आएर त्यहाँबाट उसको लाश चोरेर लैजान सक्छन्। अनि तिनीहरूले मानिसहरूलाई ‘तिनी मरेकोबाट जागे’ भन्नसक्छन्। यसपल्टको त्यो आफवाह पहिलेकौ भन्दा धेरै भयानक भएर फैलिनसक्छ।” पिलातसले भने, “केही सैनिकहरूलाई लिएर जाउ अनि सकेसम्म चिहानलाई सुरक्षित राख।” यसकारण तिनीहरू त्यहाँ गए र त्यस चिहानको मुखमा गतिलो ढुङ्गाले बन्द गरेर मोहर लगाए अनि पालेहरू खटाएर चिहानलाई सुरक्षित बनाए।
मत्ती 27:57-66 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
साँझमा योसेफ नाउँ गरेका एक जना अरिमाथिया सहरका धनी मानिस आए। उनी पनि येशूकै चेला भएका थिए। अब उनले पिलातसकहाँ गएर येशूको लाश मागे। पिलातसले पनि उनलाई लाश लाने अनुमति दिए। योसेफले लाश लगेर एउटा नयाँ असल सुती कपडामा बेरे र त्यो लाशलाई भर्खरै मात्र पहरा खोपेर आफ्नो लागि बनाइराखेको नयाँ चिहानमा राखे अनि एउटा ठूलो ढुङ्गो गुडाएर चिहानको मुख बन्द गरी उनी त्यहाँबाट गए। मरियम मग्दलिनी र अर्की मरियमचाहिँ चिहानको अगाडि नै बसिरहे। भोलिपल्ट विश्रामको दिनमा मुख्य पूजाहारी र फरिसीहरू मिलेर पिलातसकहाँ गएर भने, “हजुर, हामीले सम्झिराखेका छौं, त्यस ठगले जिउँदो छँदा ‘म मरेर तेस्रो दिनमा फेरि बिउँतनेछु’ भन्दै हिँड्थ्यो। यसकारण तीन दिन नबितेसम्म त्यो चिहान राम्ररी कुर्न लगाइदिनुहोस्। कहीँ उसका चेलाहरूले आएर उसको लाश चोरेर लगी ‘उहाँ त मरेकोबाट बिउँतनुभएको छ’ भनेर मानिसहरूलाई छल्न नपाऊन्! नत्रता पहिलेको छलभन्दा पनि त्यो नराम्रो हुनेछ।” त्यसो हुँदा पिलातसले तिनीहरूलाई भने, “सिपाहीहरूलाई लगेर जतिसक्दो राम्ररी चिहानको पहरा दिन लगाउनुहोस्।” अनि उनीहरूले गएर चिहान सुरक्षित राख्न चिहानको मुख छोप्ने ढुङ्गामा छाप मारे र सिपाहीहरूलाई कुर्न लगाए।