मत्ती 27:27-31
मत्ती 27:27-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे, र जम्मै पल्टनलाई उहाँको सामुन्ने भेला गराए। तिनीहरूले उहाँको वस्त्र फुकालेर उहाँलाई लाल वस्त्र लगाइदिए। तिनीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा निगालो दिए, र उहाँको सामु घुँड़ा टेकेर उहाँलाई यसो भन्दै उहाँको गिल्ला गरे, “हे यहूदीहरूका राजा, प्रणाम।” तब तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा हिर्काए। उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकालिदिए, र उहाँको आफ्नै वस्त्र पहिराएर उहाँलाई क्रूसमा झुण्ड्याउन लगे।
मत्ती 27:27-31 नेपाली समकालीन संस्करण (NCV)
तब राज्यपालका सिपाहीहरूले येशूलाई महलमा लगे अनि जम्मै पल्टनलाई उहाँको चारैतिर भेला गराए। तिनीहरूले उहाँको वस्त्र फुकालेर सिन्दूरे रङ्गका वस्त्रहरू लगाइदिए। अनि तिनीहरूले काँडाहरू बटारेर एउटा मुकुट बनाएर उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँको दाहिने हातमा एउटा निगालो राखिदिए; अनि उहाँको अघि घुँडा टेकेर उहाँलाई अपमान गरेर भने, “यहूदीहरूका राजाको जय!” तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा बारम्बार हिर्काए। उहाँलाई अपमान गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकालिदिए, र उहाँलाई उहाँकै वस्त्र लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे।
मत्ती 27:27-31 पवित्र बाइबल (NERV)
त्यसपछि पिलातसका सैनिकहरूले येशूलाई बडाहाकिमको महलमा ल्याई पुर्याए। सबै सैनिकहरू येशू वरिपरि भेला भए। तिनीहरूले येशूको लुगाफाटा उतारिदिए अनि रातो वस्त्र लगाइदिए। तब तिनीहरूले काँडाको मुकुट बनाए र येशूको टाउकोमा पहिरयाइदिए। अनि तिनीहरूले उहाँको दाहिने हातमा एउटा लठ्ठी थमाइदिए। त्यसपछि ती सैनिकहरूले येशूको सामन्ने घुँडा टेकेर खिल्ली उडाउन थाले। तिनीहरूले भन्न लागे, “हे यहूदीहरूको राजा हामी तिमीलाई सलाम गर्छौ।” सैनिकहरूले येशूलाई थुकिदिए। अनि उहाँ को लठ्ठीले उहँ कै टाउकामा हिर्काए। जब तिनीहरूले येशूको खिल्ली उडाइसके तब तिनीहरूले उनको वस्त्र उतारिदिए अनि फेरि उहाँकै वस्त्र लगाइदिए त्यसपछि येशूलाई झुण्डयाएर मार्नलाई लिएर गए।
मत्ती 27:27-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि पिलातसका सिपाहीहरूले येशूलाई दरबारभित्र लगे अनि अरू सबै सिपाहीहरूलाई बोलाएर ल्याए। तिनीहरूले येशूको लुगा फुकालेर उहाँलाई राजाको जस्तै रातो पोशाक पहिराइदिए। काँडाको मुकुट बनाएर उहाँको शिरमा लगाइदिए र उहाँको दाहिने हातले निगालो लिन लगाएर उहाँको अगाडि झुकेर गिल्ला गर्दै भने, “यहूदीहरूका राजाको जय होस्!” त्यसपछि सिपाहीहरूले उहाँलाई थुके अनि निगालो खोसेर उहाँकै टाउकोमा हिर्काए। तिनीहरूले उहाँलाई यसरी गिल्ला गरिसकेपछि रातो पोशाक फुकालेर उहाँको आफ्नै लुगा लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा झुण्ड्याउन लगे।