मत्ती 26:21-25
मत्ती 26:21-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँहरूले खाइरहनुभएको बेला उहाँले भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई पक्राइदिनेछ।” तब तिनीहरू साह्रै दुःखित भएर प्रत्येकले उहाँलाई सोध्न लागे, “प्रभु, के त्यो म हुँ?” अनि उहाँले भन्नुभयो, “जसले मसँगै थालमा रोटी चोपेको छ, त्यसैले मलाई पक्राइदिनेछ। मानिसको पुत्र त उसको विषयमा धर्मशास्त्रमा लेखेबमोजिम जानेछ। तर धिक्कार त्यस मानिसलाई, जसद्वारा मानिसको पुत्र पक्राइनेछ। त्यो मानिस त नजन्मिएकै भए त्यसको निम्ति असल हुनेथियो।” तब उहाँलाई पक्राइदिने यहूदाले सोध्यो, “गुरुज्यू, के त्यो म हुँ?” उहाँले त्यसलाई भन्नुभयो, “तिमी आफैले भन्यौ।”
मत्ती 26:21-25 नेपाली समकालीन संस्करण (NCV)
अनि उहाँहरूले खाइरहनुहुँदा उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूमध्येकै एक जनाले मलाई धोका दिनेछ।” तिनीहरू अति दुःखी भए अनि एकपछि अर्को गर्दै तिनीहरूले उहाँलाई भने, “प्रभु, त्यो निश्चय म ता होइन?” अनि येशूले जवाफ दिनुभयो, “जसले आफ्नो हात मसित कचौरामा चोपेको छ, त्यसैले मलाई धोका दिनेछ। मानिसको पुत्र त मेरो विषयमा लेखिएअनुसार नै जानेछु। तर धिक्कार त्यस मानिसलाई जसले, मानिसका पुत्रलाई धोका दिनेछ! त्यो ता नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।” तब उहाँलाई धोका दिने यहूदाले भन्यो, “हे गुरु, त्यो निश्चय म ता होइन?” येशूले जवाफ दिनुभयो, “तिमी नै हौ।”
मत्ती 26:21-25 पवित्र बाइबल (NERV)
तिनीहरू सबैले भोजन खाइरहेका थिए। येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीहरूमध्ये कुनै एकजनाले मलाई विश्वासघात गर्नेछौ।” चेलाहरू यो सुनेर दुःखी भए। प्रत्येकले उहाँलाई सोधे, “प्रभु अवश्य पनि मचाहिं होइन ठीक हो?” येशूले जवाफ दिनुभयो, “जसले मेरो कचौरामा मसित हात चोब्यो त्यसैले मलाई विश्वासघात गर्नेछ। मानिसको पुत्रले धर्मशास्त्रमा लेखिए अनुसार जानुपर्छ र उसले मर्नेपर्छ। तर मानिसको पुत्रलाई मार्नका निम्ति सुम्पने त्यस मानिसले नराम्रो परिणाम भोग्नु पर्नेछ। यस्तो हुनुभन्दा त त्यो मानिस नजन्मिएको भए बेस हुने थियो।” त्यसपछि येशूलाई विश्वासघात गर्न यहूदाले येशूलाई भने, “गुरूज्यू, निश्चय नै म त्यो एकजना होइन ठीक हो?” येशूले भन्नुभयो, “हो, यो तिमी नै हौ।”
मत्ती 26:21-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
खाइरहँदा येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूकै बीचबाट एक जनाले मलाई पक्राइदिनेछ।” यो सुनेर चेलाहरूलाई ज्यादै दु:ख लाग्यो र एक-एक जनाले “साँच्चै मलाई त भन्नुभएको होइन प्रभु?” भनी सोधे। येशूले तिनीहरूलाई भन्नुभयो, “अहिले कचौरामा मसँगै रोटी चोप्नेले मलाई पक्राइदिनेछ। धर्मशास्त्रमा लेखिएजस्तै मानव पुत्र त जानु नै पर्छ। तर धिक्कार त्यस मानिसलाई, जसले मानव पुत्रलाई पक्राइदिनेछ। त्यसले त बरु जन्मै नलिएको भए बेस हुने थियो!” पक्राइदिने यहूदाले पनि भन्यो, “साँच्चै मलाई त भन्नुभएको होइन, गुरु?” येशूले जवाफ दिनुभयो, “त्यो त तिमी आफैंले नै भन्दै छौ।”