मत्ती 26:1-75
मत्ती 26:1-75 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले यी सबै कुरा भनिसक्नुभएपछि आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूलाई थाहा छ, अबको दुई दिनपछि निस्तार-चाड आउँछ, अनि मानिसको पुत्र क्रूसमा टाँगिनलाई पक्राइनेछ।” तब कैयाफा नामक प्रधान पूजाहारीको दरबारमा मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू भेला भए। र तिनीहरूले येशूलाई कसरी छलसित पक्रने र मार्ने भनी मतो गरे। तर तिनीहरूले भने, “चाड़को बेलामा होइन। नत्रता मानिसहरूमा खैलाबैला हुनेछ।” येशू बेथानियामा सिमोन कुष्ठरोगीको घरमा हुनुहुँदा, एउटी स्त्री सिङ्गमरमरको एउटा शीशीमा बहुमूल्य अत्तर लिएर उहाँकहाँ आई, र उहाँ खान बस्नुहुँदा तिनले त्यो उहाँको शिरमा खन्याई। यो देखेर चेलाहरूलाई रीस उठ्यो, र तिनीहरूले भने, “केको निम्ति यत्रो नोक्सानी? किनकि यो अत्तर धेरै दाममा बिक्री गरेर त्यो पैसा गरीबहरूलाई दिन सकिन्थ्यो।” तर येशूले यो थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यस नारीलाई किन दुःख दिन्छौ? तिनले त मेरो निम्ति एउटा असल काम गरेकी छिन्। किनकि गरीबहरू तिमीहरूसँग सधैँ हुन्छन्। तर म तिमीहरूसँग सधैँ हुन्नँ। तिनले यो अत्तर मेरो शरीरमा खन्याएर दफनको निम्ति मलाई तयार गरेकी हुन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, सारा संसारमा जहाँ यो सुसमाचार प्रचार गरिन्छ, यस नारीले जे गरिन् त्यसको चर्चा तिनको सम्झनाको लागि गरिनेछ।” तब बाह्रमध्ये एक जना यहूदा इस्करियोत भन्नेचाहिँ मुख्य पूजाहारीहरूकहाँ गयो, र भन्यो, “यदि मैले उहाँलाई तपाईंहरूका हातमा पक्राइदिएँ भने, मलाई के दिनुहुन्छ?” तिनीहरूले त्यसलाई चाँदीका तीस सिक्का दिए। त्यसै बखतदेखि यहूदाले उहाँलाई पक्राइदिने मौका खोज्न थाल्यो। अब अखमिरी रोटीको चाड़को पहिलो दिन चेलाहरूले येशूकहाँ आएर भने, “तपाईंको निम्ति निस्तार-चाड़को भोज खाने प्रबन्ध हामी कहाँ गरौं?” उहाँले भन्नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ, र तिनलाई भन, ‘गुरुज्यू भन्नुहुन्छ, मेरो बेला नजिक आएको छ। म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाड मान्नेछु’।” तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाड़को प्रबन्ध मिलाए। साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खान बस्नुभयो। उहाँहरूले खाइरहनुभएको बेला उहाँले भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई पक्राइदिनेछ।” तब तिनीहरू साह्रै दुःखित भएर प्रत्येकले उहाँलाई सोध्न लागे, “प्रभु, के त्यो म हुँ?” अनि उहाँले भन्नुभयो, “जसले मसँगै थालमा रोटी चोपेको छ, त्यसैले मलाई पक्राइदिनेछ। मानिसको पुत्र त उसको विषयमा धर्मशास्त्रमा लेखेबमोजिम जानेछ। तर धिक्कार त्यस मानिसलाई, जसद्वारा मानिसको पुत्र पक्राइनेछ। त्यो मानिस त नजन्मिएकै भए त्यसको निम्ति असल हुनेथियो।” तब उहाँलाई पक्राइदिने यहूदाले सोध्यो, “गुरुज्यू, के त्यो म हुँ?” उहाँले त्यसलाई भन्नुभयो, “तिमी आफैले भन्यौ।” तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ। किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ। तर म तिमीहरूलाई भन्दछु, कि दाखको यस फलबाट म तबसम्म पिउनेछैनँ, जबसम्म आफ्ना पिताको राज्यमा तिमीहरूसँग नयाँ गरी पिउँदिनँ।” एउटा भजन गाएपछि उहाँहरू जैतून डाँड़ातिर निस्केर जानुभयो। तब येशूले तिनीहरूलाई भन्नुभयो, “आज राती मेरो कारणले तिमीहरू पछि हटिजानेछौ। किनभने यसो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र बगालका भेड़ाहरू जताततै छरपष्ट हुनेछन्।’ तर म मृत्युबाट जीवित भएपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।” पत्रुसले उहाँलाई जवाफ दिए, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्यै पछि हट्नेछैनँ।” येशूले तिनलाई भन्नुभयो, “साँच्चै, म तिमीलाई भन्दछु, आजै राती भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” पत्रुसले उहाँलाई भने, “मैले तपाईंसँग मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ।” अरू सबै चेलाहरूले पनि त्यसै भने। तब येशू गेतसमनी भन्ने ठाउँमा तिनीहरूसँग जानुभयो, र चेलाहरूलाई भन्नुभयो, “तिमीहरू यहीँ बस, मचाहिँ अलि पर गएर प्रार्थना गर्छु।” र आफूसँग पत्रुस र जब्दियाका दुई छोराहरूलाई लिएर उहाँ शोकित र व्याकुल हुन लाग्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण गहिरो शोकले मरेतुल्य भएको छ। तिमीहरू यहीँ बस, र मसँग जागा रहो।” अनि उहाँले अलि अगाडि गएर लम्पसार परी प्रार्थना गर्नुभयो, “हे मेरा पिता, हुन सक्छ भने, यो कचौरा मबाट हटोस्। तरै पनि मैले इच्छा गरेबमोजिम होइन, तर तपाईंले इच्छा गर्नुभएबमोजिम होस्।” तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, र पत्रुसलाई भन्नुभयो, “के तिमीहरू मसँग एक घण्टा पनि जागा बस्न सकेनौ? जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ, तर शरीर दुर्बल छ।” फेरि दोस्रो पल्ट गएर उहाँले प्रार्थना गर्नुभयो, “मेरा पिता, मैले यो नपिई हुँदैन भने तपाईंकै इच्छा पूरा होस्।” उहाँ फेरि आएर तिनीहरूलाई निदाइरहेकै भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। यसकारण उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो, र गएर फेरि उही शब्दहरू दोहोर्याई तेस्रो पल्ट प्रार्थना गर्नुभयो। तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय नजिक आइपुगेको छ। मानिसको पुत्र पापीहरूका हातमा पर्न लागेको छ। उठ, जाऔं। हेर, पक्राइदिने नजिकै छ।” उहाँ बोल्दाबोल्दै, बाह्रमध्येको एक जना, अर्थात् यहूदा आयो। त्यससँग मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले पठाएका एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो। उहाँलाई पक्राइदिनेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जुन मानिसलाई म म्वाइँ खान्छु, तिनी नै हुन्, तिनैलाई समात।” तुरुन्तै येशूकहाँ गएर त्यसले भन्यो, “हे गुरु, प्रणाम!” र त्यसले उहाँलाई म्वाइँ खायो। येशूले त्यसलाई भन्नुभयो, “मित्र, तिमी जे गर्न आएका छौ, त्यो गरिहाल।” तब तिनीहरूले अगि आएर येशूलाई समाती गिरफ्तारी गरे। येशूको साथमा हुनेहरूमध्ये एउटाले हात बढ़ाएर आफ्नो तरवार झिक्यो, र मुख्य पूजाहारीको दासलाई प्रहार गर्यो, र त्यसको कान छिनाइदियो। तब येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्ट हुनेछन्। तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्न सक्दिनँ, र उहाँले तुरुन्तै स्वर्गदूतहरूका बाह्र पल्टनभन्दा बढ़ी मेरो निम्ति पठाइदिनुहुन्न र? तर त्यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्त्रमा लेखिएको कुरा कसरी पूरा हुने?” त्यसै बेला येशूले भीड़लाई भन्नुभयो, “डाँकूको विरुद्धमा आएझैँ मलाई पक्रन तरवार र लाठाहरू लिएर तिमीहरू किन आयौ? म दिनहुँ मन्दिरमा शिक्षा दिँदै बस्थें, र तिमीहरूले मलाई पक्रेनौ। तर अगमवक्ताहरूका धर्मशास्त्रहरू पूरा होऊन् भनी यी सबै हुन आएका हुन्।” तब सबै चेलाहरू उहाँलाई छोड़ेर भागे। येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगे। त्यहाँ शास्त्रीहरू र धर्म-गुरुहरू भेला भएका थिए। तर पत्रुस टाढ़ैबाट प्रधान पूजाहारीका भवनको आँगनसम्मै उहाँको पछिपछि लागे, र अन्त्यमा के हुने हो, सो हेर्नलाई भित्र पसेर पालेहरूसँग बसे। अब मुख्य पूजाहारी र जम्मै महासभाले येशूलाई मृत्युदण्ड दिनलाई उहाँको विरुद्धमा झूटो गवाही खोज्न लागे। धेरै झूटो गवाही दिनेहरू आए, तर तिनीहरूले कुनै प्रमाण पाएनन्। आखिरमा दुई जना अगि आए, र भने, “यस मानिसले ‘म परमेश्वरको मन्दिर भत्काएर तीन दिनमा यसलाई निर्माण गर्न सक्छु’ भन्यो।” तब प्रधान पूजाहारीले उठेर उहाँलाई भने, “के तँ केही जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको गवाही के हो?” तर येशू चूप रहनुभयो। प्रधान पूजाहारीले उहाँलाई भने, “जीवित परमेश्वरको शपथ खाएर भन्दछु, हामीलाई बता, के तँ परमेश्वरको पुत्र ख्रीष्ट होस्?” येशूले तिनलाई भन्नुभयो, “तपाईंले नै भनिहाल्नुभयो। तापनि म तपाईंहरूलाई भन्दछु, अब उप्रान्त तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्नुहुनेछ।” तब प्रधान पूजाहारीले आफ्ना वस्त्र च्याते र भने, “यसले त ईश्वर-निन्दा बोल्यो। हामीलाई अब अरू साक्षीहरूको के दरकार पर्यो र? तपाईंहरूले अहिले यसले बोलेको ईश्वर-निन्दा सुनिहाल्नुभयो। तपाईंहरूको के राय छ?” तिनीहरूले जवाफ दिए, “यो प्राणदण्डको योग्य छ।” तब तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्का लगाए, र कसै-कसैले यसो भन्दै थप्पड़ लाए, “हे ख्रीष्ट, लौ, अगमवाणी भन्! तँलाई हिर्काउने को हो?” पत्रुस बाहिर आँगनमा बसिरहेका थिए। एउटी नोकर्नीले तिनीकहाँ आएर भनी, “तिमी पनि गालील-निवासी येशूसँग थियौ?” तर तिनले उनीहरू सबैका सामुन्ने इन्कार गरेर भने, “तैंले के भन्दैछस्, म जान्दिनँ।” तिनी बाहिर दलानमा निस्केपछि अर्कीले तिनलाई देखी, र त्यहाँ भएकाहरूलाई भनी, “यो मानिस पनि येशू नासरीसँगै थियो।” तिनले फेरि शपथ खाएर इन्कार गरे, “म ती मानिसलाई चिन्दिनँ।” अलि बेरपछि त्यहाँ भएकाहरूले पनि नजिक आएर पत्रुसलाई भने, “साँच्चै, तिमी पनि तिनीहरूमध्येका एक हौ, किनकि तिम्रो बोलीले नै तिमीलाई जाहेर गर्दछ।” तब पत्रुसले आफैलाई सराप्दै शपथ खान लागे “म ती मानिसलाई चिन्दैचिन्दिनँ।” अनि तुरुन्तै भाले बास्यो। तब पत्रुसलाई येशूले भन्नुभएको यो कुरा याद भयो, “भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” तब तिनी बाहिर गएर धुरुधुरु रोए।
मत्ती 26:1-75 पवित्र बाइबल (NERV)
येशूले यी सबैकुरा भनिसकेपछि आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूलाई थाहै छ दुइ दिनपछि निस्तार-चाड शुरू हुनेछ। त्यसै दिन मानिको पुत्रलाई क्रूसमा टाग्नलाई शत्रुहरू कहाँ सुम्पिइनेछ।” तब मुख्य पूजाहारीहरू र यहूदी प्रधान, अगुवाहरू पूजाहारीको ठाउँमा भेला भए। प्रधान पूजाहारीको नाम कैयाफा थियो। त्यस सभामा येशूलाई कसरी पक्रिने भन्ने उपाय तिनीहरूले निकाले। तिनीहरूले केही झूटो निहुँ गरेर येशूलाई पक्रिने र मार्ने निश्चय गरे। तिनीहरूले भने, “निस्तार-चाडको दिनमा हामी येशूलाई पक्रन सक्दैनौ। हामी मानिसहरू रिसाएको र दङ्गा गरेको चाहँदैनौ।” येशू बेथानीमा हुनुहुन्थ्यो। उहाँ कुष्टरोगी शिमोनको घरमा हुनुहुन्थ्यो। जतिबेला येशू त्यहाँ हुनुहुन्थ्यो, एउटी आईमाई उहाँ कहाँ आइन्। उनीसँग बहुमूल्य अत्तर भरिएको एउटा सङ्गमर्मरको भुँडुल्को थियो। येशूले खाँदैगर्नु भएको बेला तिनले येशूको शिरमा त्यो सुगन्धित अत्तर खन्याइन्। चेलाहरूले त्यो देखे र आईमाईसँग रिसाए। चेलाहरूले सोधे, “यो अत्तर किन नष्ट गरेको? यसलाई धेरै दाममा बेचेर गरीबहरूलाई दिन सकिन्थ्यो।” येशूले यी सब थाहा पाउनुभयो। येशूले भन्नुभयो, “तिमीहरूले यिनलाई किन दिक्दारी दिन्छौ? यिनले मेरो निम्ति असल कार्य गरेकी छिन्। ती गरीब मानिसहरू सदा तिमीहरू साथ छन्। तर म सधैँ तिमीहरूको साथ रहिरहने छैन। यिनले मेरो शरीरभरि अत्तर छरिदिइन् यिनले मलाई म मरे पछि मृत-संस्कारको निम्ति तयार पारेकी हुन्। म तिमीहरूलाई साँच्चो भन्दछु। यो सुसमाचार सारा संसारमा प्रचार गरिनेछ। अनि प्रत्येक ठाउँमा यी स्त्रीले गरेको सु-कार्यहरूलाई पनि बताइन्छ। अनि मानिसहरूले यिनलाई सधैँ सम्झने छन्।” त्यसपछि बाह्रजना चेलाहरूमध्ये एकजना मुख्य पुजाहारीहरूकहाँ गयो। त्यो चेलाको नाउँ यहूदा इस्करयोती थियो। यहूदाले भन्यो, “म तिमीहरूको हातमा येशूलाई सुम्पनेछु। यसको लागि मलाई कति पैस दिन्छौ?” पूजाहारीहरूले त्यसलाई चाँदीका तीस वटा सिक्का दिए। त्यसबेलादेखि यहूदाले येशूलाई सुम्पिदिने मौका खोज्न लाग्यो। अखमिरी रोटीको पहिले दिन, चेलाहरू येशूकहाँ आए। चेलाहरूले भने, “निस्तार-चाडको भोजन गर्न हामी तपाईंलाई तयार पारिदिन्छौ। हामीले कहाँ खान तयार गरेका तपाईं चाहनु हुन्छ?” येशूले भन्नुभयो, “शहरतिर जाऊ। मैले चिनेको मानिसको घरमा जाऊ। उसलाई गुरूले यसो भन्नु भएको छ भनेर भन, ‘मेरो तोकिएको समय अति नजिक आएको छ। म निस्तार चाडको भोजन मेरो सबै चेलाहरूसित तिम्रो घरमा खानेछु।’” चेलाहरूले येशूको आज्ञा अनुसार सबैकाम गरिदए। तिनीहरूले निस्तार-चाडको भोज तयार पारे। जब साँझ भयो, येशू आफ्ना चेलाहरूसाथ खानामा बस्नु भएको थियो। तिनीहरू सबैले भोजन खाइरहेका थिए। येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीहरूमध्ये कुनै एकजनाले मलाई विश्वासघात गर्नेछौ।” चेलाहरू यो सुनेर दुःखी भए। प्रत्येकले उहाँलाई सोधे, “प्रभु अवश्य पनि मचाहिं होइन ठीक हो?” येशूले जवाफ दिनुभयो, “जसले मेरो कचौरामा मसित हात चोब्यो त्यसैले मलाई विश्वासघात गर्नेछ। मानिसको पुत्रले धर्मशास्त्रमा लेखिए अनुसार जानुपर्छ र उसले मर्नेपर्छ। तर मानिसको पुत्रलाई मार्नका निम्ति सुम्पने त्यस मानिसले नराम्रो परिणाम भोग्नु पर्नेछ। यस्तो हुनुभन्दा त त्यो मानिस नजन्मिएको भए बेस हुने थियो।” त्यसपछि येशूलाई विश्वासघात गर्न यहूदाले येशूलाई भने, “गुरूज्यू, निश्चय नै म त्यो एकजना होइन ठीक हो?” येशूले भन्नुभयो, “हो, यो तिमी नै हौ।” खाँदै गर्दा येशूले रोटी लिनुभयो। येशूले रोटीको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो र त्यसलाई टुक्रा पार्नुभयो। येशूले आफ्ना चेलाहरूलाई रोटी दिनुभयो। र भन्नुभयो, “यो रोटीहरू लेओ र खाओ। यो रोटी नै मेरो शरीर हो।” त्यसपछि येशूले एक प्याला दाखरस लिनुभयो। येशूले त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो अनि त्यो चेलाहरूलाई दिनुभयो। येशूले भन्नुभयो, “तिमीहरू प्रत्येकले यसबाट पिओ। यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूकालागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ। म तिमीहरूलाई भन्दछु म यो दाखरस फेरि पिउँदिन जबसम्म मेरो पिताको राज्यमा नयाँ जस्तै भएर हामीहरू एकै पिउँदैनौं।” तिनीहरू सबैले एउटा भजन गाए। त्यसपछि उनीहरू “जैतून डाँडामा” गाए। येशूले चेलाहरूलाई भन्नुभयो, “आज मध्यरातमा मेरो कारणले तिमीहरूले आफ्नो विश्वास हराउनेछौ। किनभने यो धर्मशास्त्रहरूमा लेखिएको छ; ‘म गोठलोलाई प्रहार गर्नेछु, अनि बथानका भेंडा़हरू छरपष्ट हुनेछन्।’ तर म मरेपछि, म मृत्युदेखि बौरी उठ्नेछु। त्यसपछि म गालील जानेछु। तिमीहरू पुग्नुअघिनै म त्यहाँ जानेछु।” पत्रुसले भने, “सबै चेलाहरूले तपाईंको कारणले विश्वास हराउन सक्नेछन्। तर म मेरो विश्वास कहिल्यै हराउँदिन।” येशूले भन्नुभयो, “म तिमीलाई साँच्चो भन्दछु। आजै राती भाले बास्नु अघि तिमीले मलाई तिनपल्ट इन्कार गरिसकेका हुनेछौ।” तर पत्रुसले जवाफ दिए, “म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैन तपाईं साथै मर्नु परेता पनि म तपाईंलाई इन्कार गर्ने छैन।” अनि सबै चेलाहरूले यही कुरा दोहोर्याए। त्यसपछि येशू आफ्ना चेलाहरूसाथ गेत्समनी भन्ने ठाउँमा जानुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ बस, म चाहिं त्यहाँ गएर प्रार्थना गर्छु।” येशूले पत्रुस र जब्दीको दुइ छोराहरूलाई आफ्नो साथमा लानुभयो। अनि येशू खूबै दुःखी र विचलित हुनुभयो। येशूले पत्रुस र जब्दीका दुइ छोराहरूलाई भन्नुभयो, “मेरो आत्मा दु:खै दु:खले भरिएको छ। मेरो प्राण गहिरो शोकले मरे तुल्य भएको छ। तिमीहरू यहाँ मसँग बस अनि पर्ख।” अनि येशू तिनीहरू देखि केही पर जानुभयो। येशू भूईमा घोप्टो परेर प्रार्थना गर्न लाग्नुभयो, “मेरा पिता, सम्भव भए मलाई यातनाको यो प्याला नदिनुहोस्। तर यो मैले ईच्छा गरे अनुसार होइन तपाईंको ईच्छा अनुसार होस्।” त्यसपछि येशू आफ्ना चेलाहरू भएकहाँ फर्किनुभयो। येशूले तिनीहरूलाई मस्त निदाइरहेको पाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो निम्ति एक घण्टा पनि जागा बस्न सक्दैनौ? जागा बस अनि प्रार्थना गर, जसद्वारा तिमी परीक्षामा पर्ने छैनौ। तिम्रो आत्मा तयार छ तर तिम्रो शरीर कमजोर छ।” त्यसपछि येशू फेरि दोस्रोपटक जानुभयो अनि प्रार्थना गर्न लाग्नु भयो, “मेरो पिता, यदि मैले यसलाई नपिएसम्म यो यातनाको प्याला मबाट हटाइन सम्भव नभए तपाईंले चाहनु भए जस्तै हुन दिनु होस्।” येशू फेरि आफ्ना चेलाहरू भएको ठाउँमा आउनु भयो यसपल्ट पनि येशूले तिनीहरूलाई मस्त सुतिरहेका पाउनुभयो किनभने तिनीहरूको आँखाहरू भारी थिए। यसकारण तिनीहरूलाई छाडेर येशू केहीपर जानु भयो। अनि फेरि प्रार्थना गर्न लाग्नुभयो। तेस्रो पटकको प्रार्थनामा पनि उहाँले त्यही याचना गर्नुभयो। तब येशू चेलाहरूकहाँ आएर भन्नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरीरहेकै छौ? मानिसको पुत्रलाई पापीहरूको हातमा सुम्पिने समय नजिक आइसकेको छ। उठ! हामी गइहाल्नु पर्छ। यहाँ मलाई विश्वासधात गर्ने आउँदैछ।” जतिबेला येशू बातचीत गर्दै हुनुहुन्थ्यो, यहूदा त्यहाँ आइपुग्यो। यहूदा बाह्रजना चेलाहरूमध्येका एकजना थिए। यहूदासँग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू र जनताका बूढा-प्रधानहरूलाई पठाएका थिए। यहूदाका ती मानिसहरू तरवार र भालाहरू लिएर आएका थिए। यहूदाले येशूलाई चिनाउन भनेर तिनीहरूलाई यो संकेत दिएको थियो। यहूदाले भन्यो, “म जसलाई चुम्बन गर्छु उही नै येशू हो। उसैलाई पक्रनु।” अनि यहूदा सिधै येशूकहाँ आएर भन्यो, “हे गुरूज्यू!” त्यसपछि यहूदाले येशूलाई चुम्बन खाए। येशूले भन्नुयो, “हे मित्र, तिमी जे गर्न आएका छौ त्यो गर।” त्यत्तिनै बेला मानिसहरू आए र येशूलाई हात हाले। अनि उहाँलाई पक्रिए। जब यस्तो भयो, तब येशूको साथमा भएका एकजना चेलाले तरवार झिक्यो। उसले प्रधान पूजाहारीको नोकरलाई हान्यो अनि कान च्वाट्ट छिनाइदियो। येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार त्यसकै ठाउँमा हाल। जसले तरवार चलाउँछ उसलाई तरवारले नै मार्दछ। तिमीलाई थाहा छ, मैले मेरा पितासँग मलाई सहायता गर्नु होस् भनी विन्ती गर्ने हो भने। उहाँले स्वर्गदूताहरूका बाह्र पल्टन झट्टै पठाउनु हुन्न? तर मैले गरे भने धर्मशास्त्रहरूमा लेखिएको कुरा कसरी पूरा हुनेछ? धर्मशास्त्रले यो यस्तै हुनुपर्छ भन्छ।” तब येशूले सबै मानिसहरूलाई भन्नुभयो, “तिमीहरू मकहाँ तरवार र भालाहरू लिएर आयौ, मानौं म एक अपराधी हूँ। म प्रत्येक दिन मन्दिरमा बसेर सिकाइरहेको हुन्थे। अनि तिमीहरूले मलाई त्यहाँ पक्रेनौ। तर यी सबै कुराहरू अगमवक्ताहरूले लेखेअनुसार पूरा होऊन् भनेर यस्तो भयो।” त्यसपछि येशूको सबै चेलाहरू उहाँलाई एक्लो छोडेर भागे। येशूलाई पक्रनेहरूले उहाँलाई प्रमुख पुजाहारी कैयाफाको घरमा पुर्याए। शास्त्रीहरू र बूडा यहूदी अग्रजहरू त्यहाँ भेला भएका थिए। पत्रुसले परमेश्वरबाट येशूलाई पछ्याए। जब येशूलाई प्रघान पूजाहारी कहाँ लगिंदै थियो पत्रुस प्रधान पूजाहारीको घरको आँगनसम्म आए। उनी त्यहाँ गएर पालेहरूको नजिकै बसे। अब के हुने हो भनी पत्रुस हेर्न चाहन्थे। प्रघान पूजाहारीहरू र यहूदी नेताहरूको सम्पूर्ण महासभाले येशूको विरुद्धमा कुनै न कुनै झूटो खोट देखाउने कोशिस गरे जसद्वारा तिनीहरू येशूलाई मार्न सक्थे। धेरै मानिसहरू आए र येशूको विरुद्ध झूटा अभियोगहरू लगाए। तर महासभाले येशूलाई मार्नसकिने त्यस्तो कुनै अभियोग पाउन सकेन। तब दुइजना मानिस आएर भन्न लागे, “यो मानिसले ‘म परमेश्वरको मन्दिर भत्काउन सक्छु अनि तीन दिनभित्र फेरि म यसलाई बनाइदिन सक्छु भनेको छ।’” अनि प्रधान पूजाहरीले उठेर येशूलाई भन्नलागे, “यी मानिसहरूले तपाईंको विरुद्धमा अभियोग लगाएका छन्। के आफूमाथि लगाइएका आरोपहरूप्रति तपाईंको केही जवाफ छैन? के तिनीहरूले ठीकै भनेका हुन्?” येशूले केही भन्नु भएन। तब प्रधान पूजाहरीले येशूलाई भने, “अहिले जीवित परमेश्वरको नाउँमा शपथ लिएर तपाईंले भन्नुहोस्, जीवित परमेश्वरको नाउँमा हामीलाई सत्य कुरा भन्नु होस् भनी म तपाईंलाई आदेश गर्छु। हामीलाई भन्नुहोस् के तपाईं नै ख्रीष्ट, परमेश्वरको पुत्र हुनुहुन्छ?” येशूले भन्नुभयो, “हो, म नै हुँ। तर म भन्दछु भविष्यमा तपाईंले मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि बसिरहेको र स्वर्गको बादलमा आउँदै गरेको देख्नु हुनेछ।” प्रधान पूजाहारीले जब यो कुरा सुने उनी खुबै क्रोधित भए। आफ्नै वस्त्र च्यात्दै उनले भन्न लागे, “यो मानिसले परमेश्वरको निन्दा गरेको हो! हामीलाई अरू धेरै प्रमाणको के खाँचो छ? तिमीहरू सबैले यिनले परमेश्वरको विरुद्धमा निन्दा गरेका सुन्यौ। तिमीहरूको के राय छ?” यहूदीहरूले जवाफ दिए, “उनी दोषी छन् उनी मृत्यु दण्डको योग्यछन्।” त्यसपछि मानिसहरूले येशूको मुखमा थुकिदिए। तिनीहरूले उहाँलाई मुक्काले हिर्काए। कसै-कसैले येशूलाई झापट दिए। तिनीहरूले भने, “तँ अगमवक्ता ख्रीष्ट हो भन्ने प्रमाण देखाऊ! तँलाई पिट्ने को हो?” त्यसबेला, पत्रुस आँगन बाहिर बसिरहेका थिए। एउटी नोकर्नीले आएर भनी, “तिमी पनि गालील निवासी येशूसँग थियौ।” तर पत्रुसले त्यहाँ उपस्थित भएका सबै मानिसहरूको अघाडी यो कुरालाई अस्वीकार गरे। उनले भने, “तिमीहरू के कुरा गरिरहेको छौ मैले केही बुझिन?” त्यसपछि पत्रुसले त्यो ठाउँ छोडे। ढोकामा अर्को स्त्रीले तिनीलाई देखी। त्यसले त्यहाँ भएका मानिसहरूलाई भनि, “यो मानिस पनि नासरतको येशूसँग थियो।” पत्रुसले फेरि अस्वीकार गरे। उनले भने, “परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु यो मानिस को हो म चिन्दिन!” केहीसमयपछि केही उभिरहेका मानिसहरू पत्रुसकहाँ गए र भने, “हामी जान्दछौ एक येशूको चेलाहरू मध्ये तिमी पनि हौ। तिम्रो कुरा गराईले त्यो प्रमाण दिन्छ।” तब पत्रुसले धिक्कार्न लागे। दृढ भएर उनले भने, “म परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु कि यो मानिसको हो म चिन्दिनँ।” पत्रुसले यसो भन्ने बित्तिकै भाले बास्यो। तब पत्रुसलाई येशूले भनेका कुराहरूको सम्झना भयो “भाले बास्न अघिनै मलाई तिमीले तीनपल्ट अस्वीकार गर्नेछौ।” त्यसपछि पत्रुस बाहिर गएर धुरूधुरू रोए।
मत्ती 26:1-75 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यी सबै कुरा सिकाइसक्नुभएपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूलाई थाहै छ, दुई दिनपछि निस्तार चाड आउनेछ। त्यतिखेर क्रूसमा झुण्ड्याएर मार्नलाई मानव पुत्र सुम्पिइनेछ।” त्यसै बेला कैयाफा प्रधान पूजाहारीका आँगनमा मुख्य पूजाहारी र अरू अगुवाहरू मिलेर सभा गरे। त्यस सभामा तिनीहरूले येशूलाई सुटुक्क पक्रेर मार्ने मतो गरे। तर तिनीहरूले यस्तो विचार गरे, “चाडको बेलामा चाहिँ हामीले यो काम गर्नुहुँदैन, नत्रता मानिसहरूमा ठूलो गोल-माल मच्चिनेछ।” येशू बेथानियामा सिमोन कुष्ठरोगीको घरमा जानुभयो। एउटी स्त्री सिङ्गमरमरको भाँडामा धेरै महँगो अत्तर लिएर येशूकहाँ आइन्। उहाँले खाना खान लाग्नुभएको बेला उहाँको टाउकोमा सबै अत्तर खन्याइदिइन्। उनले यसो गरेको सहन नसकेर चेलाहरूले भने, “यति धेरै अत्तर किन त्यसै खेर फालेको? बरु यसलाई धेरै पैसामा बेचेर गरीबहरूलाई बाँडिदिएको भए हुन्थ्यो नि!” तिनीहरूले यस्तो कुरा भनेको सुनेर येशूले भन्नुभयो, “किन तिमीहरू यिनलाई कचकच गर्छौ? यिनले मेरो लागि एउटा असल काम गरेकी छिन्। गरीबहरू त तिमीहरूसँग जहिले पनि हुन्छन्, तर म त हुन्न! यो अत्तर खन्याएर यिनले मेरो शरीरलाई गाड्नको लागि तयार पारेकी हुन्। साँच्चै म तिमीहरूलाई भन्छु, संसारभरिमा यो सुसमाचार जहाँ-जहाँ सुनाइनेछ, त्यहाँ-त्यहाँ यिनले गरेको यस कामको पनि सम्झना गरिनेछ।” त्यसपछि बाह्र जना चेलाहरूमध्ये यहूदा इस्करियोत भन्नेचाहिँ मुख्य पूजाहारीहरूकहाँ गएर भन्यो, “यदि मैले येशूलाई पक्राइदिएँ भने मलाई के दिनुहुन्छ?” अनि तिनीहरूले त्यसलाई यस कामको लागि चाँदीका तीस वटा सिक्का दिए। त्यस बेलादेखि यहूदाले येशूलाई पक्राइदिने मौका खोज्न लाग्यो। खमिर नहालेको रोटी खाने निस्तार चाडको पहिलो दिन चेलाहरू येशूकहाँ आए र सोधे, “तपाईंको लागि चाडको भोज हामी कहाँ ठीक पारौं?” उहाँले तिनीहरूलाई भन्नुभयो, “सहरमा एक विशेष मानिसकहाँ जाओ र भनिदेओ: गुरुले यसो भन्नुभएको छ, ‘मेरो बेला भयो। म आफ्ना चेलाहरूसँग तपाईंको घरमा निस्तार चाडको भोज खान चाहन्छु’।” चेलाहरूले गएर येशूले अह्राउनुभएजस्तै गरे अनि त्यहीँ नै चाडको भोज ठीक पारे। येशू बेलुका बाह्र जना चेलाहरूसँगै खान बस्नुभयो। खाइरहँदा येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूकै बीचबाट एक जनाले मलाई पक्राइदिनेछ।” यो सुनेर चेलाहरूलाई ज्यादै दु:ख लाग्यो र एक-एक जनाले “साँच्चै मलाई त भन्नुभएको होइन प्रभु?” भनी सोधे। येशूले तिनीहरूलाई भन्नुभयो, “अहिले कचौरामा मसँगै रोटी चोप्नेले मलाई पक्राइदिनेछ। धर्मशास्त्रमा लेखिएजस्तै मानव पुत्र त जानु नै पर्छ। तर धिक्कार त्यस मानिसलाई, जसले मानव पुत्रलाई पक्राइदिनेछ। त्यसले त बरु जन्मै नलिएको भए बेस हुने थियो!” पक्राइदिने यहूदाले पनि भन्यो, “साँच्चै मलाई त भन्नुभएको होइन, गुरु?” येशूले जवाफ दिनुभयो, “त्यो त तिमी आफैंले नै भन्दै छौ।” खाइरहनुभएको बेलामा येशूले रोटी लिएर परमेश्वरसँग आशीर्वाद मागी टुक्र्याउनुभयो अनि चेलाहरूलाई बाँडिदिँदै भन्नुभयो, “यो लिएर खाओ, यो मेरो शरीर हो।” त्यसपछि उहाँले कचौरा पनि लिनुभयो अनि परमेश्वरलाई धन्यवाद चढाएर चेलाहरूलाई दिँदै भन्नुभयो, “यो तिमीहरू सबैले पिउनू। यो नयाँ करार जोड्ने मेरो रगत हो, जो धेरै मानिसको पाप मेट्नलाई बगाइनेछ। म तिमीहरूलाई भन्छु, मेरो पिताको राज्यमा तिमीहरूसँग नयाँ गरी नपिउञ्जेलसम्म म फेरि यो दाखमद्य पिउनेछैन।” अनि एउटा भजन गाउनुभएपछि येशू चेलाहरूसँग जैतुन डाँडातिर लाग्नुभयो। त्यस बेला येशूले चेलाहरूलाई भन्नुभयो, “आज राती तिमीहरू सबै जना मलाई छोडेर भाग्नेछौ। किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ– म गोठालालाई मार्नेछु र भेडाहरू तितरबितर हुनेछन्। तर मरेकोबाट बिउँतेपछि म तिमीहरूभन्दा अघि गालीलमा जानेछु।” यत्तिकैमा पत्रुसले येशूलाई भने, “सबैले छोडेर भागे पनि मचाहिँ तपाईंलाई कहिल्यै छोड्नेछैन।” येशूले भन्नुभयो, “साँच्चै म तिमीलाई भन्छु, भोलि बिहान भाले बास्नुभन्दा अघि नै मलाई चिन्दैचिन्दिनँ भनेर तिमीले तीनपल्टसम्म इन्कार गर्नेछौ।” “तपाईंसँग मर्नुपरे पनि म तपाईंलाई चिन्दिनँ भनेर कहिल्यै पनि भन्नेछैन!” पत्रुसले जवाफ दिए। अरू सबै चेलाहरूले पनि त्यसै भने। त्यसपछि येशू आफ्ना चेलाहरूसँग गेतसमनी भन्ने बगैँचामा जानुभयो। त्यहाँ पुगेर उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू यहीँ बसिराख है, म अलि पर गएर प्रार्थना गर्छु।” तर पत्रुस र जब्दियाका दुई छोरालाई चाहिँ उहाँले आफूसँगै लानुभयो अनि येशू असाध्यै दु:ख र पीडामा पर्नुभयो। उहाँले चेलाहरूलाई भन्नुभयो, “मेरो मन दु:खले छटपटाएर मुटु नै फुट्लाजस्तो भइरहेछ। तिमीहरूचाहिँ जागा भई यहाँ बसेर मलाई साथ देओ।” उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्टो परी यसो भन्दै प्रार्थना गर्न लाग्नुभयो, “हे मेरा पिता, हुन सक्छ भने यो दु:खको घुट्को मबाट हटाइदिनुहोस्। तरै पनि मेरो इच्छा त होइन, तपाईंकै इच्छा पूरा होस्।” येशू उठेर तीन जना चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू निदाइरहेका भेट्टाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “के तिमीहरू एक घण्टा पनि मेरो लागि जागै बस्न सक्दैनौ? तिमीहरू ‘आइपर्ने जाँचको बेला पापमा नफसौं’ भनी जागै बसेर प्रार्थना गर। साँच्चै आत्माचाहिँ तयार छ, तर शरीर भने कमजोर छ।” फेरि गएर येशूले दोस्रोपल्ट यसो भनेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यो दु:खको घुट्को मैले नलिई नहुने भए, तपाईंकै इच्छा पूरा होस्।” अनि फेरि चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू फेरि पनि निदाइरहेका भेट्टाउनुभयो। तिनीहरूले आँखा उघार्न नै सकेनन्। अनि येशूले तिनीहरूलाई त्यत्तिकै छोडेर गई तेस्रोपल्ट फेरि अघिजस्तै प्रार्थना गर्नुभयो। त्यसपछि उहाँ चेलाहरू भएको ठाउँमा फर्की आएर भन्नुभयो, “के तिमीहरू अझै सुतेर आराम लिंदै छौ? सुन, म मानव पुत्र पापी मानिसको हातमा सुम्पिने बेला भइसक्यो। अब उठ, जाऔं! हेर, मलाई पक्राइदिने मानिस पनि आइसकेछ।” येशूले यो कुरा भनिरहँदा बाह्र जनामध्ये यहूदा भन्ने एक जना चेलाचाहिँ आइपुग्यो। यहूदासँग लाठो र तरवार लिएका मानिसहरूको ठूलो दल थियो। तिनीहरूलाई मुख्य पूजाहारी र अरू अगुवाहरूले पठाएका थिए। पक्राइदिने यहूदाले ती मानिसहरूलाई ‘जसलाई म म्वाइँ खान्छु, त्यही येशू हो, त्यसलाई नै पक्रिनू’ भनेको थियो। अब यहूदाले सरासर येशूकहाँ गएर “अभिवादन गुरु” भनेर म्वाइँ खायो। येशूले भन्नुभयो, “ए साथी! जे गर्न आएका हौ, त्यो गरिहाल।” त्यत्तिकैमा तिनीहरूले येशूलाई पक्रे। यो देखेर येशूको एक जना चेलाले आफ्नो तरवार थुते र हानेर प्रधान पूजाहारीका नोकरको कान काटिदिए। तर येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख। तरवार चलाउनेहरू तरवारले नै मारिनेछन्। मैले मागेको भए मेरा पिताले मलाई झट्टै बाह्र पल्टनभन्दा पनि धेरै स्वर्गदूतहरू पठाइहाल्नुहुन्थ्यो। के तिमी यो हुन नसक्ने सम्झन्छौ? तर यदि मैले मागे भने त धर्मशास्त्रमा यस्तो हुनुपर्छ भनी लेखिएका कुरा कसरी पूरा हुन सक्छ र?” त्यसपछि येशूले आफूलाई पक्रन आएका मानिसहरूलाई भन्नुभयो, “के म डाकु हुँ र तिमीहरू लाठो र तरवार लिएर मलाई पक्रन आयौ? मैले दिनहुँ मन्दिरमा बसेर शिक्षा दिँदा त खै मलाई पक्रने आँट नै गरेनौ! तैपनि अगमवक्ताहरूले धर्मशास्त्रमा लेखेका कुरा पूरा होऊन् भनेर नै यो सबै हुन आएको हो।” त्यति नै खेर चेलाहरू जति सबै येशूलाई छोडेर भागे। तिनीहरूले येशूलाई प्रधान पूजाहारी कैयाफाको घरमा लगे। त्यहाँ धर्म-गुरु र अरू अगुवाहरू जम्मा भएका थिए। पत्रुसचाहिँ येशूलाई परपरैबाट पछ्याउँदै प्रधान पूजाहारीको घरको आँगनमा पुगे। अनि त्यहाँ के हुने हो भनी हेर्न उनी गएर पालेहरूसँग बसे। मुख्य पूजाहारी र सभाका अरू सबै सदस्यहरूले येशूलाई ज्यान सजाय दिनु नै पर्छ भनेर झूटो गवाही खोज्न लागे। धेरै झूटो गवाही दिनेहरू आएर उहाँलाई दोष लगाए, तर एउटै प्रमाण पनि फेला पारेनन्। आखिरमा दुई जना मानिसले अघि सरेर भने, “यस मानिसले त ‘म परमेश्वरको मन्दिर भत्काएर तीन दिनमा नै फेरि बनाउन सक्छु’ भन्थ्यो।” अनि प्रधान पूजाहारीले उठेर येशूलाई सोधे, “ए, किन जवाफ दिँदैनस्? तेरो विरोधमा यिनीहरूले दिएको साक्षीको बारेमा तँलाई केही भन्नु छैन?” तर येशू चुपै लाग्नुभयो। फेरि प्रधान पूजाहारीले भने, “जिउँदो परमेश्वरको नाउँमा शपथ हालेर भन्, के तँ परमेश्वरको पुत्र ख्रीष्ट होस् त?” येशूले जवाफ दिएर भन्नुभयो, “त्यो त तपाईं आफैंले नै भन्दै हुनुहुन्छ अनि म तपाईंहरूलाई भन्छु, अबदेखि उसो तपाईंहरूले मानव पुत्रलाई सर्वशक्तिमान् परमेश्वरको दाहिनेपट्टि सिंहासनमा बसिरहेको अनि स्वर्गबाट बादलमा आउँदैगरेको देख्नुहुनेछ।” यो सुनेर प्रधान पूजाहारीले विरक्त भएर आफ्नो लुगा च्यात्दै भने, “लौ हेर, यसले परमेश्वरको निन्दा गरेको तिमीहरूले सुनिहाल्यौ, अब हामीलाई अरू के प्रमाण चाहियो र? लौ भन, तिमीहरूको के विचार छ?” “यो अपराधी हो, यसले ज्यान सजाय पाउनैपर्छ,” भन्दै तिनीहरूले येशूको मुखमा थुके, चुटे अनि कति जनाले उहाँलाई थप्पड लाउँदै भने, “लौ भन् त, तँ मुक्ति दिने राजा ख्रीष्ट र अगमवक्तालाई कसले पिट्यो?” त्यस बेलासम्म पत्रुस बाहिर आँगनमा नै बसिरहेका थिए। एउटी नोकर्नी आएर तिनलाई भनी, “तिमी पनि त गालीलका येशूसँगै थियौ नि, होइन र?” तर पत्रुसले सबैको अगाडि, “होइन, तिमीले गरेको यो कुरा मैले बुझिनँ!” भनेर आँगनको ढोकातिर गए। ढोकानेर अर्की एउटी नोकर्नीले त्यहाँ भएका मानिसहरूलाई भनी, “यी मानिस पनि त नासरतका येशूसँगै थिए नि!” फेरि पत्रुसले शपथ हालेर भने, “म त त्यस मानिसलाई चिन्दै चिन्दिनँ!” केही बेरपछि त्यहाँका मानिसहरूले पत्रुसकहाँ आएर भने, “साँच्चै तिमी पनि ऊसँगै थियौ, तिम्रो बोलीले नै यो कुरा थाहा हुन्छ नि!” अनि फेरि पनि पत्रुसले शपथ हालेर भने, “मैले ढाँटेको हो भने परमेश्वरको दण्ड ममाथि नै परोस्, म त त्यस मानिसलाई चिन्दै चिन्दिनँ!” त्यसो भन्नेबित्तिकै भाले बासिहाल्यो र “भाले बास्नुभन्दा अघि मलाई तीनपल्टसम्म चिन्दै चिन्दिनँ भनेर इन्कार गर्नेछौ,” भनी येशूले भन्नुभएको कुरा पत्रुसले सम्झे। उनी बाहिर गएर धुरुधरु रोए।
मत्ती 26:1-75 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब येशूले यी सबै कुराहरू बोलिसक्नुभयो, तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूलाई थाहा भएझैँ निस्तार चाड आउन अब दुई दिन मात्र छ, र मानिसको पुत्रलाई क्रूसमा चढाइनको लागि सुम्पिइनेछ।” तब मुख्य पुजारीहरू र जनताका प्रधानहरू, कैयाफा नाम भएका प्रधान पुजारीको महलमा भेला भए। तिनीहरूले येशूलाई छल गरेर पक्रने र मार्ने षड्यन्त्र गरे। तिनीहरूले भने, “तर चाडको समयमा होइन, नत्रता मानिसहरूमा दङ्गा मच्चिन्छ।” येशू बेथानीमा सिमोन नाम भएका कुष्ठरोगीको घरमा हुनुहुँदा, एउटी स्त्री सिङ्गमरमरको एउटा भाँडोमा अति मूल्यवान् अत्तर लिएर आइन्, र उहाँ खान बस्नुभएको बेला उहाँको शिरमाथि खन्याइन्। जब चेलाहरूले यो देखे, तिनीहरू रिसाए। तिनीहरूले भने, “यसलाई किन खेर फालेको? यो अत्तर धेरै दाममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।” त्यो थाहा पाएर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यस स्त्रीलाई किन सताउँछौ? त्यसले मेरो लागि एउटा असल काम गरेकी छिन्। गरिबहरू त सधैँ तिमीहरूसित हुनेछन्, तर तिमीहरूले मलाई त सधैँ पाउनेछैनौ। जबकि यसले यो अत्तर मेरो शरीरमा खन्याएर मलाई गाड्नका निम्ति तयारी गरिन्। म तिमीहरूलाई साँच्चै भन्दछु, संसारभरि जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिन्छ; यस स्त्रीले जे कुरा गरेकी छिन्, त्यो कुरा पनि उसको सम्झनाका निम्ति बताइनेछ।” त्यसपछि बाह्र जनामध्येको एक जना, जसलाई यहूदा इस्करियोत पनि भनिन्छ, ऊ मुख्य पुजारीहरूकहाँ गयो, र सोध्यो, “यदि मैले येशूलाई तपाईंहरूका हातमा सुम्पिदिएँ भने तपाईंहरूले मलाई के दिनुहुन्छ?” तब तिनीहरूले उसको लागि तीस वटा चाँदीका सिक्काहरू दिए। त्यस बेलादेखि यहूदाले उहाँलाई पक्राइदिनलाई मौका खोज्न लाग्यो। अखमिरी रोटीको चाडको पहिलो दिन चेलाहरू येशूकहाँ आएर सोधे, “हामी कहाँ गएर तपाईंका निम्ति निस्तार चाडको भोज तयार पारौँ भन्ने तपाईं चाहनुहुन्छ?” उहाँले जवाफ दिनुभयो, “सहरमा कुनै मानिसकहाँ जाओ र उनलाई भन, ‘गुरुले यसो भन्नुभएको छ: मेरो तोकिएको समय नजिकै छ। म मेरा चेलाहरूसित तिम्रो घरमा निस्तार चाड मान्नेछु।’ ” चेलाहरूले येशूले तिनीहरूलाई आज्ञा गर्नुभएबमोजिम गरे; र निस्तार चाडको भोज तयार गरे। 53 जब साँझ पर्यो, येशू बाह्रै जनासित टेबुलमा खाइरहनुभएको थियो। उहाँहरूले खाइरहनुभएको बेला उहाँले यसो भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।” तिनीहरू अति दुःखी भए, र एकपछि अर्को गर्दै तिनीहरूले उहाँलाई भने, “प्रभु, कतै त्यो म त होइनँ?” येशूले जवाफ दिनुभयो, “जसले आफ्नो हात मसित कचौरामा चोपेको छ, त्यसले मलाई धोका दिनेछ। मानिसको पुत्र त उसको विषयमा लेखिएअनुसार जानु नै पर्छ, तर धिक्कार त्यस मानिसलाई, जसले मानिसको पुत्रलाई धोका दिनेछ! त्यो मानिस नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।” तब उहाँलाई धोका दिने यहूदाले भन्यो, “हे गुरु, कतै त्यो म त होइनँ?” येशूले जवाफ दिनुभयो, “तिमी आफैँले भन्यौ।” जब उहाँहरू खाइरहनुभएको थियो, तब येशूले रोटी लिएर धन्यवाद दिनुभयो; अनि भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ र खाओ; यो मेरो शरीर हो।” त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिएर यसो भन्दै तिनीहरूलाई दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ। यो करारको मेरो रगत हो, जो धेरैको पापहरूको क्षमाका लागि बहाइन्छ। म तिमीहरूलाई भन्दछु, जुन दिन म तिमीहरूसित मेरा पिताको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ, तबसम्म म यस दाखको रसबाट पिउनेछैनँ।” एउटा भजन गाइसक्नुभएपछि उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो। तब येशूले तिनीहरूलाई भन्नुभयो, “आजै राति मेरो कारणले तिमीहरू सबै जना पछि हट्नेछौ; किनकि यसरी लेखिएको छ: “ ‘म गोठालोलाई प्रहार गर्नेछु, र बगालका भेडाहरू तितरबितर हुनेछन्।’ तर म जीवित भएर उठेपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।” पत्रुसले जवाफ दिए, “यदि तपाईंको कारण सबैले त्यागे तापनि मचाहिँ कहिल्यै त्याग्नेछैनँ।” येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चै भन्दछु, आज राति नै भाले बास्नुअगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” तर पत्रुसले भने, “म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबै चेलाहरूले पनि त्यही प्रकारले भने। तब येशू आफ्ना चेलाहरूसित गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, “म अलि पर गएर प्रार्थना गर्नेछु। तिमीहरू यहीँ बस!” उहाँले पत्रुस र जब्दीका दुई छोराहरूलाई आफूसित लानुभयो, र उहाँ दुःखित र व्याकुल हुन थाल्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ; तिमीहरू यहीँ बस, र मसित जागा रहो!” अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि सम्भव भए यो कचौरा मदेखि हटाइयोस्; तरै पनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।” तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई सोध्नुभयो, “के तिमीहरू मसित एक घण्टा पनि जागा रहन सकेनौ? जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।” उहाँ दोस्रो पल्ट पर जानुभयो र प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि मैले नपिई यो कचौरा मबाट हटाइनु सम्भव छैन भने तपाईंको इच्छा पूरा होस्।” जब उहाँ फर्केर आउनुभयो, उहाँले फेरि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो; किनकि तिनीहरूका आँखा लोलाएका थिए। यसकारण उहाँले तिनीहरूलाई छोडेर एक पल्ट फेरि गएर उही शब्दहरू दोहोर्याउँदै प्रार्थना गर्नुभयो। तब उहाँ चेलाहरूकहाँ फर्किआएर तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय आइपुगेको छ, अब मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ। उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!” उहाँ बोलिरहनुभएकै बेला, बाह्र जनामध्ये एक जना यहूदा आइपुग्यो। ऊसँग मुख्य पुजारीहरू र जनताका प्रधानहरूद्वारा पठाइएका ठूलो भीड तरवार र लाठाहरू लिएर आएको थियो। त्यस विश्वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्रनू।” यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू, अभिवादन!” भनेर उहाँलाई म्वाइँ खायो। येशूले त्यसलाई भन्नुभयो, “मित्र, तिमी जे गर्न आएका हौ, त्यो गरिहाल।” तब ती मानिसहरू अगि बढेर येशूलाई पक्रे, र हिरासतमा लिए। यो देखेर येशूसित हुनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुत्यो, र प्रधान पुजारीको सेवकलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो। येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार फेरि म्यानमै राख; किनकि जसले तरवार चलाउँछ, त्यो तरवारद्वारा नै नष्ट हुनेछ। तिमीलाई कस्तो लाग्छ, के म आफ्ना पितासित बिन्ती गर्दा, उहाँले मलाई झट्टै बाह्र पल्टनभन्दा बढी दूतहरू पठाइदिन सक्नुहुन्न र? तर यदि मैले त्यसो गरेँ भने धर्मशास्त्रमा यस्तै हुनुपर्छ भन्ने कुरा कसरी पूरा हुने त?” त्यस बेला येशूले त्यस भीडलाई भन्नुभयो, “के म एउटा राजद्रोहको अगुवाइ गरिरहेको छु र? अनि तपाईंहरू मलाई पक्रन तरवार र लाठाहरू लिएर आउनुभयो? म त दिनहुँ मन्दिरको चोकमा सिकाउँदै बस्थेँ, र तपाईंहरूले मलाई पक्रनुभएन। तर अगमवक्ताहरूले लेखेका कुराहरू पूरा हुनलाई नै यी सबै भएका हुन्।” तब सबै चेलाहरू उहाँलाई छोडेर भागे। येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे, जहाँ व्यवस्थाका शिक्षकहरू र प्रधानहरू भेला भएका थिए। तर पत्रुसचाहिँ उहाँलाई टाढैबाट पछ्याउँदै प्रधान पुजारीको चोकसम्मै गए। तिनी भित्र पसेर के हुँदोरहेछ भनी हेर्नलाई सिपाहीहरूसित बसे। मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका लागि उहाँको विरुद्धमा झूटा प्रमाणहरू खोजिरहेका थिए। तर धेरै झूटा साक्षीहरू अगि सरेर आए, तापनि तिनीहरूले कुनै प्रमाण पाएनन्। आखिरमा दुई जनाले अगि सरेर घोषणा गरे, “यस मानिसले भन्यो, ‘म परमेश्वरको मन्दिरलाई भत्काएर यसलाई तीन दिनमा फेरि बनाउन सक्छु।’ ” तब प्रधान पुजारी उठेर येशूलाई भने, “के तँ जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको साक्षी के हो?” तर येशू चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, “म जीवित परमेश्वरको नाममा भन्दछु: तँ परमेश्वरको पुत्र ख्रीष्ट होस् भने हामीलाई भन्।” येशूले जवाफ दिनुभयो, “हो, तपाईं आफैँले भन्नुभयो, तर म तपाईंहरू सबैलाई भन्दछु: भविष्यमा तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने हातपट्टि बसिरहेको, र आकाशका बादलहरूमा आइरहेको देख्नुहुनेछ।” तब प्रधान पुजारीले आफ्नो वस्त्रहरू च्यातेर भने, “यसले ईश्वरनिन्दा गरेको छ! अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो? हेर्नुहोस्, अहिले तपाईंहरूले ईश्वरनिन्दा सुनिहाल्नुभयो। तपाईंहरू के विचार गर्नुहुन्छ?” तब तिनीहरूले जवाफ दिए, “यो मृत्युदण्डको योग्य छ।” तब तिनीहरूले उहाँको अनुहारमा थुके, मुक्का लगाए। अरूले थप्पड लगाएर भने, “हे ख्रीष्ट, हामीलाई अगमवाणी गरेर भन्, तँलाई हिर्काउने को हो?” अब पत्रुस बाहिर चोकमा बसिरहेका थिए। अनि एउटी सेविका तिनी भएको ठाउँमा आई, र भनी, “गालीलका येशूसित तिमी पनि थियौ।” तर तिनले सबैको सामु यो कुरा इन्कार गरे। तिनले भने, “तिमी के कुरा गरिरहेकी छौ, म केही जान्दिनँ।” तब तिनी ढोकाबाहिर गए, जहाँ तिनलाई अर्की सेविकाले देखी र त्यसले त्यहाँ भएका मानिसहरूलाई भनी, “यो मानिस पनि नासरतको येशूसित थियो।” तिनले शपथ खाएर फेरि इन्कार गरे, “म यस मानिसलाई चिन्दिनँ।” केही बेरपछि त्यहाँ उभिनेहरूले पत्रुसकहाँ गएर भने, “निश्चय नै तिमी तिनीहरूमध्येका एक हौ, किनकि तिम्रो बोलीचालीले त्यही भन्छ।” तब तिनले आफूलाई धिक्कार्दै शपथ खाएर तिनीहरूलाई भने, “म यस मानिसलाई चिन्दै चिन्दिनँ।” तब तत्कालै भाले बास्यो। अनि पत्रुसले तिनलाई येशूले यसो भन्नुभएको यो वचन सम्झे, “भाले बास्नुभन्दा अगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” तब तिनी बाहिर गएर धुरुधुरु रोए।