मत्ती 25:21-23
मत्ती 25:21-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“मालिकले त्यसलाई भने, ‘स्याबास, असल र विश्वासी नोकर! तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्ना मालिकको खुसीमा सहभागी हो।’ “दुई सिक्का पाउनेले पनि आएर भन्यो, ‘हजूर, तपाईंले मलाई दुई सिक्का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई सिक्का कमाएको छु।’ “त्यसका मालिकले त्यसलाई भने, ‘स्याबास, असल र विश्वासी नोकर, तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्ना मालिकको खुसीमा सहभागी हो।’
मत्ती 25:21-23 नेपाली समकालीन संस्करण (NCV)
“त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्वासी सेवक! तँ थोरै कुरामा विश्वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको रमाहटमा सहभागी बन्!’ “दुई झोला सुनका सिक्का पाउने मानिस पनि आयो। त्यसले भन्यो, ‘हजुर, तपाईंले मलाई दुई झोला सुनका सिक्का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई कमाएँ।’ “त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्वासी सेवक! तँ थोरै कुरामा विश्वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको रमाहटमा सहभागी बन्!’
मत्ती 25:21-23 पवित्र बाइबल (NERV)
“मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यति धेरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिन सक्छु। आऊ र मसित खुशी मनाऊ।’ “त्यसपछि दुइ तोडा पाउने नोकर मालिक कहाँ गयो। त्यसले भन्यो, ‘महाशय तपाईंले मलाई दुइ तोडा जिम्मा दिनुभएको थियो। यसकारण मैले त्यो पैसा उपयाग गरें र अरू दुइ तोडा कमाएँ।’ “मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यति थोरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिनेछु। आऊ र म सित खुशी मनाऊ।’
मत्ती 25:21-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मालिकले भने, ‘स्याबास! तिमी असल र भरपर्दो नोकर रहेछौ। तिमी थोरै कुरामा पनि भरपर्दो भएकोले म तिमीलाई अरू धेरै कुराको जिम्मा दिन्छु। तिमी आएर मसँग रमाऊ।’ त्यसपछि दुई वटा सुनको सिक्का पाउनेले आएर भन्यो, ‘हजुर, तपाईंले मलाई दुई वटा सुनको सिक्का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई वटा कमाएर ल्याएको छु।’ मालिकले भने, ‘स्याबास! तिमी असल र भरपर्दो नोकर रहेछौ। तिमी सानै कुरामा भरपर्दो भएकोले म तिमीलाई अरू धेरै कुराको जिम्मा दिन्छु। तिमी पनि आएर मसँगै रमाऊ।’