YouVersion लोगो
खोज आइकन

मत्ती 24:36-44

मत्ती 24:36-44 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“तर त्‍यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्‍दैन, न त स्‍वर्गका दूतहरूले, न पुत्रले। मानिसको पुत्रको आगमन नोआको दिनहरूजस्‍तै हुनेछ। किनकि जसरी जलप्रलयभन्‍दा अगाडि नोआ जहाजभित्र पस्‍ने दिनसम्‍म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए, अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्‍वात्तै बगाइ नलगेसम्‍म तिनीहरूले थाहा पाएनन्‌। मानिसको पुत्रको आगमन पनि त्‍यस्‍तै हुनेछ। त्‍यस बेला दुई जना खेतबारीमा हुनेछन्, एक जना लगिनेछ, अर्को छोडिनेछ। दुई स्‍त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्, एउटी लगिनेछ, अर्की छोडिनेछ। “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्‍दैनौ। तर यो जान, कि घरको मालिकले चोर रातको कुन पहरमा आउँछ भनी जानेको भए, ऊ जागो रहनेथियो, र आफ्‍नो घर फोर्न दिनेथिएन। यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।

शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्

मत्ती 24:36-44 नेपाली समकालीन संस्करण (NCV)

“त्यस दिन र समयको विषयमा कसैले जान्दैन, न स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र जान्‍नुहुन्छ। जसरी नूहको दिनमा भएको थियो, त्यसरी नै मानिसका पुत्रको आगमनमा पनि हुनेछ। किनकि जलप्रलय अघिका दिनहरूमा नूह जहाजभित्र पस्‍ने दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाह गर्दै र विवाह गराउँदैथिए। अनि जलप्रलय आएर तिनीहरू सबैलाई नबगाउन्जेल तिनीहरूलाई के हुनेछ भनी थाहा नै थिएन। मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ। दुईजना मानिसहरू खेतमा हुनेछन्; एकजना लगिनेछ, अनि अर्को छोडिनेछ। दुईजना स्त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्; एउटी लगिनेछे अनि अर्की छोडिनेछे। “यसकारण जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनेछन् भनी तिमीहरू जान्दैनौ। तर यो बुझिराख: यदि घरको मालिकले रातीको कुन समयमा चोर आउँछ भनी जानेका भए, तिनी होसियार रहने थिए, अनि तिनले आफ्नो घर फोरिन दिने थिएनन्। यसकारण तिमीहरू पनि तयार बस, किनकि मानिसका पुत्र तिमीहरूले नचिताएको बेला आउनेछन्।

शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्

मत्ती 24:36-44 पवित्र बाइबल (NERV)

“त्यो घट्ना कहिले घट्नेछ भनेर कुनै मानिसले पनि त्यो समय र दिन जान्दैन। पुत्र आफैं र स्वर्गदूतहरूले पनि जान्दैनन्। तर पिताले मात्र जान्नुहुन्छ। “मानिसको पुत्र आउँदा, त्यसबेला त्यस्तै स्थिति हुनेछ जस्तो स्थिति नूहको समयमा भएको थियो। त्यसबेला जल-प्रलय हुन अघि मानिसहरू खाइ पिइरहेका थिए। मानिसहरू विवाह गर्दै थिए र आफ्नो छोरा अनि छोरीहरूलाई विवाह गर्न दिइरहेका थिए। नूह जहाजभित्र नचढुन्जेलसम्म मानिसहरूले यसो गरिरहेका थिए। मानिसहरूले के भइरहेको छ भनी केही जानेका थिएनन्। तर त्यसैबेला जलप्रलय भयो अनि सबै नष्ट भयो। “मानिसको पुत्रको आगमनको समयमा पनि यस्तै हुनेछ। दुइजना मानिसहरू खेतमा काम गरिरहेका हुनेछन्। एकजनालाई उठाइने छ र अर्कोलाई छोडिइनेछ। दुइजना स्त्रीहरू जाँतोमा अन्न पिंधिरहेका हुनेछन्। एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ। “यसकारण सधैँ तयार बस। कतिबेला तिमीहरूका परमप्रभु आउनु हुनेछ भन्ने कुरा तिमीहरूलाई थाहा हुने छैन। याद गर यदी घरको मालिकले चोर कतिबेला आउँछ भनेर थाहा पाएको भए ऊ तयार भएर बस्ने थियो। ऊ सर्तक रहने थियो र चोरलाई धरभित्र पास्न दिदैन थियो। यसकारण तिमीहरू पनि तयार बस। मानिसको पुत्र यस्तो समयमा आउनेछ जसको तिमीहरूले आशा गरेका हुने छैनौ।

शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्

मत्ती 24:36-44 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“त्‍यो दिन र बेला कहिले आइपुग्‍ने हो, त्‍यो ठीकसँग कसैलाई पनि थाहा छैन। त्‍यो त स्‍वर्गदूतहरू र म पुत्रलाई समेत थाहा छैन। त्‍यो कुराचाहिँ खालि परमेश्‍वर पितालाई मात्र थाहा छ। म मानव पुत्र आउन लाग्‍ने दिनहरूमा नोआको पालामा भएजस्‍तै हुनेछ। त्‍यस बेला नोआ जहाजमा पसुञ्‍जेल मानिसहरू भोज-भतेर र बिहेबारी गर्नमा मस्‍त थिए। बाढी आएर सबैलाई सखाप पारेर नलैजाँदासम्‍म तिनीहरूलाई केही थाहै भएन। म मानव पुत्र आउँदा पनि त्‍यस्‍तै हुनेछ। त्‍यस बेला बारीमा काम गरिरहेका दुई जना मानिसहरूमध्‍ये एउटा लगिनेछ र अर्कोचाहिँ त्‍यहीँ छोडिनेछ। जाँतो पिंधिरहेका दुई जना स्‍त्रीमध्‍ये एउटी लगिनेछ अर्कीचाहिँ छोडिनेछ। “यसकारण तिमीहरू चनाखो भएर बस किनभने तिमीहरूका प्रभु कुन दिन आउने हो, त्‍यो तिमीहरूलाई थाहा नै हुँदैन। तर यो कुरा सम्‍झिराख, चोर आउने बेला थाहा पाएको भए त घर धनी जागा भएर बस्‍ने थिए र चोरलाई घरमा पस्‍न दिने थिएनन्। यसकारण तिमीहरू पनि चनाखो भएर बस! म मानव पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछु।

शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्