YouVersion लोगो
खोज आइकन

मत्ती 24:15-35

मत्ती 24:15-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“यसकारण जब तिमीहरूले दानिएल अगमवक्ताबाट बोलिएको विनाशकारी घृणित थोक पवित्रस्‍थानमा खड़ा भएको देखौला (पाठकले बुझोस्‌), तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्‌। कौसीमा हुनेहरू आफ्‍ना घरमा भएका सामान निकाल्‍नलाई तल नझरून्‌। खेतबारीमा हुने आफ्‍नो खास्‍टो लिन फर्की नआऊन्‌। हाय! गर्भवतीहरू र दूध खुवाउनेहरूलाई ती दिनमा। तर हिउँदमा वा शबाथमा तिमीहरू भाग्‍न नपरोस्‌ भनी प्रार्थना गर। किनकि त्‍यस बेला यस्‍तो महासङ्कष्‍ट हुनेछ, जो जगत्‌को सुरुदेखि अहिलेसम्‍म भएको छैन, न त फेरि कहिल्‍यै हुनेछ। ती दिन नघटाइएका भए कोही मानिस बाँच्‍न सक्‍नेथिएन, तर चुनिएकाहरूका निम्‍ति ती दिन घटाइनेछन्‌। तब तिमीहरूलाई कसैले ‘हेर, ख्रीष्‍ट यहाँ छन्, कि त्‍यहाँ छन्‌’ भन्‍यो भने विश्‍वास नगर। किनकि झूटा ख्रीष्‍टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्‌काउनलाई ठूला-ठूला चिन्‍हहरू र आश्‍चर्यका कामहरू देखाउनेछन्‌। याद राख, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु। “यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उनी उजाड-स्‍थानमा छन्’ भनी भन्‍छन्‌ भने बाहिर निस्‍केर नजाओ। अनि ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भने पनि विश्‍वास नगर। किनकि जसरी बिजुली पूर्वबाट चम्‍कँदा पश्‍चिमसम्‍मै उज्‍यालो हुन्‍छ, त्‍यसरी नै मानिसको पुत्रको आगमन हुनेछ। जहाँ सिनु हुन्‍छ, त्‍यहाँ गिद्धहरू पनि जम्‍मा हुन्‍छन्‌। “ती सङ्कष्‍टका दिनको तुरुन्‍तै पछि, सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्‍नेछन्, तथा आकाशका शक्तिहरू हल्‍लाइनेछन्‌। तब मानिसको पुत्रको चिन्‍ह आकाशमा देखा पर्नेछ, र पृथ्‍वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन्‌। उसले आफ्‍ना स्‍वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्‍म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्‌। “तर अञ्‍जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्‍यसका हाँगा कलिला हुन्‍छन्‌ र रूखले पालुवा फेर्छ, तब ग्रीष्‍म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ। त्‍यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्‍नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कि यी सबै पूरा नहोउञ्‍जेल यो पुस्‍ता बितिजानेछैन। स्‍वर्ग र पृथ्‍वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्‌।

शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्

मत्ती 24:15-35 नेपाली समकालीन संस्करण (NCV)

“यसरी जब तिमीहरूले दानिएल अगमवक्‍ताद्वारा भनिएको ‘विनाशकारी घृणित कुरा’ पवित्रस्थानमा खडा भएको देख्नेछौ—पढ्नेले बुझोस्— तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्। घरको कौसीमा हुनेहरू कोही पनि घरबाट केही थोक लिनलाई तल नझरोस्। खेतमा हुने कोही पनि आफ्नो लुगा लिन फर्केर नजाओस्। ती दिनहरूमा गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि कति डरलाग्दा हुनेछन्! तिमीहरूको भागा-भाग विश्रामदिनमा अथवा हिउँदमा नहोस् भनी प्रार्थना गर। किनकि त्यस बेला यस्तो महासङ्कष्‍ट हुनेछ कि, संसारको उत्पत्तिदेखि अहिलेसम्म न कहिल्यै भएको थियो न ता फेरि कहिल्यै हुनेछ। “यदि ती दिनहरू नघटाइएका भए कोही पनि बाँच्ने थिएन, तर चुनिएकाहरूको निम्ति ती दिनहरू घटाइनेछन्। त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन्’ अथवा, ‘तिनी त्यहाँ छन्’ भन्छ भने विश्‍वास नगर। किनकि झूटा ख्रीष्‍टहरू अनि झूटा अगमवक्‍ताहरू देखा पर्नेछन् र सम्भव भए चुनिएकाहरूलाई पनि बहकाउनलाई, ठूला-ठूला अलौकिक चिन्हहरू र आश्‍चर्यपूर्ण कामहरू गर्नेछन्। हेर, मैले तिमीहरूलाई पहिलेबाटै भनिदिएको छु। “यसकारण यदि कसैले तिमीहरूलाई ‘हेर, उहाँ बाहिर मरुभूमिमा हुनुहुन्छ’ भन्यो भने निस्केर नजाओ; अथवा, ‘उहाँ यहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भन्यो भने त्यो विश्‍वास नगर। किनकि जसरी पूर्वतिर चम्केको बिजुली पश्‍चिममा पनि देखापर्छ, त्यसरी नै मानिसका पुत्रको आगमन पनि हुनेछ। जहाँ सिनु हुन्छ, त्यहाँ गिद्धहरू भेला हुन्छन्। “ती दिनहरूका सङ्कष्‍टपछि तुरुन्तै “ ‘सूर्य अँध्यारो हुनेछ, अनि चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; आकाशबाट ताराहरू खस्‍नेछन्, अनि आकाशका शक्‍तिहरू डगमगाउनेछन्।’ “त्यस बेला मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, अनि पृथ्वीका सबै जातिहरूले विलाप गर्नेछन्। तिनीहरूले मानिसका पुत्रलाई शक्‍ति र महा महिमासहित आकाशका बादलहरूमा आइरहेका देख्नेछन्। अनि उसले आफ्ना दूतहरूलाई तुरहीको चर्को स्वरसित पठाउनेछ, अनि तिनीहरूले आकाशको एक कुनादेखि अर्को कुनासम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई बटुल्नेछन्। “अब अञ्जीरको रूखबाट यो पाठ सिक: जब यसका हाँगाहरूमा कलिला पातहरू पलाउन थाल्छन्, तिमीहरू ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी थाहा पाउँछौ। त्यसरी नै जब तिमीहरूले यी सब कुराहरू भइरहेका देख्छौ, तिमीहरूले यो नजिकै, ढोकैमा छ भनी जान। म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्‍चय नै नष्‍ट भएर जानेछैन। आकाश र पृथ्वी नष्‍ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्‍ट हुनेछैनन्।

शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्

मत्ती 24:15-35 पवित्र बाइबल (NERV)

“दानियल अगमवक्ताले ‘यस्तो खराब कुराहरूले विध्वंश ल्याउने छ’ भनी बताएका थिए। तिमीहरूले यस्तो डरलाग्दा कुराहरू पवित्र ठाउँ अनि मन्दिरमा उभिएको देख्नेछौ” यी कुरा पढ्ने मानिसले यसको अर्थ बुझ्नुपर्छ। “त्यसबेला यहूदियाका मानिसहरू पहाडतिर भाग्नु पर्नेछ। मानिसहरू कतै नरोकिई समय खेर नफाली, भाग्नेछन्। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही लिनलाई ऊ तल ओर्लिन हुँदैन। यदि कोही खेतमा छ भने उ पनि कोट लिनलाई फर्की जानु हुँदैन। “त्यसबेला, गर्भवती भएका स्त्रीहरू र अनि दूध पिउने शिशूलाई दु:ध चुसाउने आमाहरूका निम्ति खुबै दु:खपूर्ण हुनेछ। विश्राम र जाडोको समयमा यसरी भाग्नु नपरोस् भनी प्रार्थना गर। किनभने त्यसबेला अत्यन्त दुःख हुनेछ। सृष्टिको शुरू भएदेखि अहिलेसम्म संसारमा यस्तो दु:ख भएको थिएन। पछि कहील्यै पनि भविष्यमा यस्तो दु:ख आइपर्ने छैन। “परमेश्वरले त्यो महासंकटको समय छोट्याउनुभएको छ। यदि त्यो समय छोट्याइएन भने, कुनै मानिस पनि बाँच्ने छैन। तर आफूले चुनेका मानिसहरूलाई मद्दत गर्नलाई परमेश्वरले त्यो समयलाई छोटो पार्नु भएकोछ। “त्यसबेला कसै-कसैले तिमीहरूलाई यसो भन्नसक्छन्, ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ।’ अथवा अर्का कसैले भन्नसक्छ, ‘अहाँ त्यहाँ हुनुहुन्छ।’ तर तिनीहरूलाई विश्वास नगर। झूटो ख्रीष्ट र झूटो अगमवक्ताहरू देखा पर्नेछन् ठुला-ठुला कुराहरू र चमत्कारहरू गर्नेछन्। सम्भव भए परमेश्वरले चुन्नु भएका मानिसहरूलाई समेत धोका दिनका निम्ति तिनीहरूले यसो गर्नेछन्। हेर, मैले अधिबाटै यस बारेमा तिमीहरूलाई सर्तक गराएकोछु। “कसैले भन्नेछ, ‘ख्रीष्ट मरुभूमिमा हुनुहुन्छ।’ तर तिमीहरू ख्रीष्टलाई भेट्न मरुभूमि तिर नजाऊ। अरू कसैले भन्नसक्छ, ‘ख्रीष्ट त्यो कोठामा हुनुहुन्छ।’ तर त्यसलाई विश्वास नगर। जब मानिसको पुत्रको आगमन हुन्छ सबै मानिसहरूले देख्न पाउनेछन्। यसबेला आकाशमा बिजुली चम्केर चारैतिर उज्यालो भएजस्तो हुनेछ। र त्यो उज्यालो चारैतिर देखिनेछ। गिद्धहरू जम्मा भएको देखेर तिमीहरू त्यहाँ सीनो छ भनेर जान्न सक्छौ त्यसैगरी मेरो आगमन त्यस्तै प्रत्यक्ष हुनेछ। “ती दिनका संकटहरूपछि तुरन्तै, ‘घाम अँध्यारो हुनेछ, अनि जूनले पनि आफ्नो प्रकाश दिने छैन। ताराहरू आकाशबाट झर्नेछन्, अनि आकाशका सबै चीजहरू हेरफेर हुनेछन्।’ “त्यसबेला आकाशमा केही चिन्ह देखीने छन् र ती मानिसको पुत्रको चिन्ह हुनेछन्। संसारभरिका सबै मानिसहरू रूनेछन्। सबै मानिसहरूले मानिसको पुत्रलाई आकाशमा बादलसँग आँउदै गरेको देख्नेछन्। मानिसको पुत्र शक्ति र महान गौरव लिएर आउनेछन्। चारै दिशाबाट आकासको एक छेऊ देखि अर्को छेउसम्म परमेश्वरद्वारा चुनिएको मानिसहरूलाई भेला गर्न मानिसको पुत्रले तुरहीको आवाज सहित स्वर्गदूतहरूलाई पठाउनु हुनेछ। “नेभाराको रूखले तिमीहरूलाई शिक्षा दिनेछ जब नेभाराको रूखको हाँगाहरू हरियो देखिन्छन् पालुवा फेर्दै गरेको देखेर तिमीहरू जान्दछौ ग्रीष्म ऋतु नजिक छ। तिमीहरूसित पनि यस्तै हुनेछ। जब तिमीहरू यस्तो भएको देख्छौ, त्यसबेला तिमीहरूलाई समय नजिक छ र त्यो आउने लागेको छ भनी थाहा हुनेछ। म तिमीहरूलाई साँच्चो भन्दछु, यस पुस्ताका मानिसहरू जीवित रहदा नै यी कुराहरू हुनेछन्। आकाश र पृथ्वी ध्वंस गरिनेछ, तर मैले बोलेका शब्दहरू कहिल्यै नाश हुनेछैनन्।

शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्

मत्ती 24:15-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“अगमवक्ता दानिएलले ‘मन्‍दिरको पवित्र ठाउँमा घिनलाग्‍दो कुरा राखिएको हुनेछ’ भनेको तिमीहरूले देख्‍नेछौ। (यसको अर्थ पढ्‍नेहरूले बुझून्)। त्‍यस बेला यहूदियामा हुनेहरू पहाडतिर भागून्। घरका छतमा हुनेहरू सामान लिन भित्र जाँदैनजाऊन्। खेत-बारीमा हुनेहरू लाउने लुगासम्‍म पनि लिन फर्केर घरमा नजाऊन्। त्‍यस बेला कोखमा या काखमा बालक हुने आमाहरूलाई त झन् बिजोग हुनेछ। जाडो महिना र विश्रामको दिनमा भाग्‍नुनपरोस् भनेर तिमीहरूले परमेश्‍वरसँग प्रार्थना गर किनभने ती दिनहरूमा आइपर्नेजस्‍तो आपत् र हाहाकार त संसारको सुरुदेखि अहिलेसम्‍म भएकै छैन र पछि पनि हुनेछैन। परमेश्‍वरले ती आपत्‌का दिनहरू नघटाउनुभएको भए कोही पनि बाँच्‍न सक्‍ने थिएनन्। तर आफ्‍ना छानेका मानिसहरूको कारणले गर्दा उहाँले ती दिन घटाइदिनुहुनेछ। “ ‘हेर, मुक्ति दिनुहुने राजा ख्रीष्‍ट त यहाँ हुनुहुन्‍छ वा त्‍यहाँ हुनुहुन्‍छ’ भनेर तिमीहरूलाई कसैले भन्‍दैमा त्‍यो कुरा नपत्‍याओ किनभने यस्‍ता झूटा ख्रीष्‍ट र झूटा अगमवक्ताहरू देखापर्नेछन्। तिनीहरूले ठूला-ठूला चिन्‍ह र अचम्‍मका कामहरू देखाएर सकेसम्‍म परमेश्‍वरले छानेका मानिसहरूलाई पनि झुक्‍याउनेछन्। “हेर, मैले तिमीहरूलाई यो कुरा अघिबाटै भनिदिएको छु है। मानिसहरूले तिमीहरूलाई ‘उहाँ उजाड-स्थानमा हुनुहुन्‍छ’ भने पनि तिमीहरू त्‍यहाँ नजाओ। तिनीहरूले ‘हेर, उहाँ त भित्र कोठामा बस्‍नुभएको छ’ भने पनि तिमीहरू त्‍यो कुरा नपत्‍याओ किनभने आकाशमा पूर्वदेखि पश्‍चिमसम्‍म बिजुली चम्‍किएजस्‍तै म मानव पुत्र आउँदा हुनेछ। जहाँ सिनु छ, त्‍यहीँ नै गिद्धहरू धुरिन्‍छन्! “ती आपत्‌का दिनहरू बितेपछि घाम तुरुन्‍तै अँध्‍यारो हुनेछ, जूनले उज्‍यालो दिनेछैन, ताराहरू आकाशबाट खस्‍नेछन् अनि आकाश-मण्‍डलका सबै शक्तिहरू डग्मगाउनेछन्। त्‍यसपछि आकाशमा मानव पुत्र आउने चिन्‍ह देखापर्नेछ। मानव पुत्रलाई ठूलो शक्ति र महामहिमाको साथ आकाशको बादलमा आइरहेको देखेर संसारका सबै जातिहरू रुने-कराउने गर्नेछन्। तुरही फुकिनेछ अनि मानव पुत्रले स्‍वर्गदूतहरूलाई पृथ्‍वी र आकाशका चारै कुनामा पठाउनेछन् र परमेश्‍वरले चुनेकाहरूलाई जम्‍मा गरेर ल्‍याउनेछन्। “नेभाराको रूखबाट केही कुरा सिक। यसका हाँगाहरू टुसाएर पालुवा हालेपछि गर्मी चढेछ भनेर थाहा हुन्‍छ। त्‍यसरी नै मैले भनेका यी सबै कुराहरू हुँदैगरेको देख्‍दा मेरो आउने बेला आइपुग्‍नै आँटेको छ भनी तिमीहरूले जान्‍नेछौ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यी सबै कुरा पूरा नहुञ्‍जेल यो पुस्‍ता बित्‍नेछैन। आकाश र पृथ्‍वी नै बितेर जानेछन्, तर मैले भनेका कुराचाहिँ बित्‍नेछैनन्।

शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्