मत्ती 20:20-34
मत्ती 20:20-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब जब्दियाका छोराहरूकी आमाले आफ्ना छोराहरूलाई साथमा लिई उहाँको सामुन्ने घुँड़ा टेकी उहाँसँग बिन्ती गरिन्। उहाँले तिनलाई सोध्नुभयो, “तिमी के चाहन्छ्यौ?” तिनले उहाँलाई भनिन्, “आज्ञा गर्नुहोस् र तपाईंको राज्यमा, मेरा यी दुई छोराहरूमध्ये एउटा तपाईंको दाहिने हातपट्टि, र अर्को तपाईंको देब्रे हातपट्टि बस्न पाऊन्।” तर येशूले जवाफ दिनुभयो, “तिमीहरू के मागिरहेछौ सो जान्दैनौ। जुन कचौरा मैले पिउन लागेको छु, के त्यो तिमीहरू पिउन सक्छौ?” तिनीहरूले भने, “सक्छौं।” उहाँले भन्नुभयो, “मेरो कचौरा तिमीहरू पिउनेछौ, तर मेरो दाहिने र देब्रेपट्टि बस्न दिने कुरो मेरो हातमा छैन। यी स्थान तिनीहरूका हुन्, जसका निम्ति मेरा पिताले तयार गरिसक्नुभएको छ।” यो सुनेर दशै जना ती दुई भाइसँग रुष्ट भए। तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “तिमीहरूलाई थाहा नै छ, कि अन्यजातिका शासकहरूले तिनीहरूमाथि निरङ्कुश शासन गर्दछन्, र ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार जमाउँछन्। तिमीहरूका बीचमा यस्तो हुनेछैन, तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्छ। जो तिमीहरूमध्ये पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको कमारो हुनुपर्छ, जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो।” उहाँहरू यरीहोबाट जाँदैगर्नुहुँदा, एउटा ठूलो भीड उहाँको पछि लाग्यो। बाटोको छेउमा बसिरहेका दुई जना अन्धाहरूले येशू त्यो बाटो जाँदैहुनुहुन्छ भन्ने सुनेर यसो भनी चिच्च्याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।” भीड़ले तिनीहरूलाई चूप लाग भनी हप्कायो, तर तिनीहरू यसो भन्दै झन् साह्रो कराए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।” तब येशू अड़िनुभयो र तिनीहरूलाई बोलाएर भन्नुभयो, “तिमीहरू के चाहन्छौ? म तिमीहरूका निम्ति के गरिदिऊँ?” तिनीहरूले उहाँलाई भने, “हे प्रभु, हाम्रा आँखा खोलिदिनुहोस्।” येशूले टिठ्याएर तिनीहरूका आँखा छोइदिनुभयो र उत्तिखेरै तिनीहरूले दृष्टि पाए र तिनीहरू उहाँको पछि लागे।
मत्ती 20:20-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब जब्दीका छोराहरूकी आमा आफ्ना छोराहरूको साथमा येशूकहाँ आइन्, र घुँडा टेकेर उहाँसँग बिन्ती गर्न लागिन्। उहाँले सोध्नुभयो, “तिमी के चाहन्छ्यौ?” उनले उहाँलाई भनिन्, “तपाईंको राज्यमा मेरा यी दुई छोराहरूमध्ये एउटा तपाईंको दाहिनेतिर, र अर्कोचाहिँ देब्रेतिर बस्न पाउने मन्जुरी दिनुहोस्।” येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले के माग्दै छौ, त्यो जान्दैनौ। के मैले पिउन लागेको कष्टको कचौरा तिमीहरू पिउन सक्छौ?” अनि तिनीहरूले, “हामी सक्छौँ” भनी जवाफ दिए। येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले अवश्य मेरो कचौराबाट पिउनेछौ, तर मेरो दाहिने अथवा देब्रेतिर बस्नदिने अधिकारचाहिँ मेरो होइन। यी ठाउँहरू तिनीहरूका लागि हुन्, जसका निम्ति मेरा पिताले तयार गरिसक्नुभएको छ।” जब ती दश जनाले यस विषयमा सुने, तिनीहरू ती दुई भाइहरूसित रिसाए। येशूले तिनीहरूलाई एकसाथ बोलाएर भन्नुभयो, “गैरयहूदीहरूका शासकहरूले तिनीहरूमाथि शासन गर्दछन्, र तिनीहरूका उच्च अधिकारीहरूले तिनीहरूमाथि अधिकार चलाउँछन् भनी तिमीहरू जान्दछौ। तिमीहरूमा चाहिँ यस्तो हुनुहुँदैन। बरु तिमीहरूमध्ये जो ठूलो हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ। अनि तिमीहरूमध्ये जो श्रेष्ठ हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनैपर्छ। यसरी नै मानिसको पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिनको लागि आएको हो।” येशू र उहाँका चेलाहरूले जब यरीहो छोड्नुभयो, एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। दुई जना दृष्टिविहीन मानिसहरू बाटोको छेउमा बसिरहेका थिए; अनि जब येशू त्यहाँबाट जाँदैहुनुहुन्छ भन्ने तिनीहरूले सुने, तब तिनीहरू यसो भन्दै कराए, “हे प्रभु, दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!” भीडले तिनीहरूलाई चुप लागून् भनेर हकारे, तर तिनीहरू झन् चर्को सोरमा कराए, “हे प्रभु, दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!” येशू रोकिनुभयो र तिनीहरूलाई बोलाएर सोध्नुभयो, “म तिमीहरूका निम्ति के गरूँ भनी तिमीहरू चाहन्छौ?” तिनीहरूले जवाफ दिए, “हे प्रभु, हामीले आफ्नो दृष्टि पाऔँ।” येशू तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका आँखा छोइदिनुभयो। तुरुन्तै तिनीहरूले आफ्नो दृष्टि पाइहाले, र उहाँलाई पछ्याए।
मत्ती 20:20-34 पवित्र बाइबल (NERV)
तब जब्दीकी पत्नी येशूकहाँ आइन्। उनका छोराहरू पनि साथमा थिए। उनले शिर निहुराएर येशूलाई दण्डवत गरिन अनि येशूसित केही कुरो मागिन्। येशूले सोध्नुभयो, “तिमी के चाहन्छौ?” उनले भनिन्, “तपाईंको राज्यमा यी मेरा छोराहरूमध्ये एकजनालाई तपाईंको दाहिनेहातपट्टि र अर्कोलाई तपाईंको देब्रे हातपट्टि बस्न पाउने प्रतिज्ञा गर्नुहोस्।” अनि येशूले ती छोराहरूलाई भन्नुभयो, “तिमीहरू के मागिरहेका छौ त्यो तिमीहरूले बुझेका छैनौ। म जुन कष्ट भोग्न लागिरहेको छु के त्यस्तो तिमीहरू सहन गर्नसक्छौ?” तिनीहरूले जवाफ दिए, “हामी गर्नसक्छौ!” येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चयनै मैले जुन यातना भोग्ने छु त्यही तिमीहरूले पनि भोग्नुपर्छ। तर म कसैलाई मेरो दाहिने र देब्रेपट्टि बसाउन सक्दिन। मेरा पिताले ती मानिसहरू निश्चित गरिसक्नु भएको छ जसले ती स्थान पाउनेछन्। उहाँले नै ती स्थानहरू ती मानिसहरूकालागी तयार पार्नु भएको छ। ती ठाउँहरू तिनीहरूकै हुनेछन्।” अरू दशजना चेलाहरू यो सुनेर। तिनीहरू ती दुइ भाइसँग औधी रिसाए। येशूले सबै चेलाहरूलाई एकै ठाउँ भेला हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर यहूदीहरू अरू मानिसहरूमाथि अधिकार देखाउन खोज्छन्। अनि तिनीहरूभन्दा मुख्य मानिसहरू पनि अरू सबै माथि अधिकार छ भनेर देखाउन खोज्छन्। तर तिमीहरू चाहिँ त्यस्तो हुनु हुँदैन। यदि तिमीहरूमध्ये कोही ठूलो मानिस हुन चाहन्छौ भने, ऊ नोकर जस्तो भएर अरूको सेवा गर्नुपर्छ। यदि तिमीहरू मध्ये कोही पहिलो मानिस हुन चाहन्छौ भने, उसले दास जस्तो भएर अरूहरूको सेवा गर्नुपर्छ। मानिसको पुत्रसँग पनि यस्तै हुनेछ। मानिसको पुत्र अरू मानिसबाट सेवा पाउन आएको होइन। तर मानिसको पुत्र अरू मानिसहरूको सेवागर्न आएको हो। मानिसको पुत्र धेरै मानिसहरूको रक्षाको निम्ति जीवन समर्पण गर्न आएको हो।” जब येशू र उहाँका चेलाहरू जोरिकोबाट जाँदै थिए, धेरै मानिसहरूले उहाँलाई पछ्याए। बाटोको किनारमा दुइजना अन्धा मानिसहरू बसिरहेका थिए। ती अन्धाहरूले येशू त्यतैतिरबाट जाँदै गर्नु भएको कुरा सुने। अनि ती अन्धाहरू चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।” सबै मानिसहरूले ती अन्धाहरूलाई हप्काए। तिनीहरूले ती अन्धाहरूलाई हल्ला गरेर विन्ती गर्न दिएनन्। तर ती अन्धाहरू अझ जोडले चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।” येशू रोकिनु भयो र अन्धाहरूलाई बोलाएर उहाँले भन्नुभयो, “म तिनीहरूको निम्ति के गरिदिऊ भन्ने चाहन्छौ?” अन्धाहरूले जवाफ दिए, “परमप्रभु हामी देख्न चाहन्छौं।” येशूलाई अन्धाहरूप्रति दया जाग्यो। उहाँले ती अन्धाहरूका आँखा स्पर्श गर्नुभयो अनि तिनीहरू देख्ने सक्ने भए। त्यसपछि तिनीहरू येशूलाई पछ्याउन लागे।
मत्ती 20:20-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि जब्दियाका दुई छोरा आफ्नी आमासँग येशूकहाँ आए। तिनीहरूकी आमाले येशूको पाउमा परेर बिन्ती गरिन्, “मलाई दया गर्नुहोस्।” येशूले तिनलाई सोध्नुभयो, “भन त, के चाहन्छौ?” तिनले भनिन्, “बिन्ती छ, हजुर राजा हुनुहुँदा मेरा यी दुई छोरा हजुरको दाहिने र देब्रेपट्टि बस्न पाऊन्।” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले के माग्दै छौ, त्यो तिमीहरूलाई थाहै छैन। के मैले पिउनुपर्ने दु:खको घुट्को तिमीहरू पनि पिउन सक्छौ?” तिनीहरूले सक्छौं भनेर जवाफ दिए। तब येशूले भन्नुभयो, “हो, मैले पिउने घुट्को तिमीहरू पनि पिउनेछौ। तर मेरो दाहिने र देब्रेपट्टि बस्नचाहिँ मैले दिने कुरा होइन। यी ठाउँहरू त मेरा पिताले जसको लागि तयार पार्नुभएको छ, उसलाई नै दिनुहुनेछ।” यो कुरा सुनेर अरू दश जना चेलाहरूचाहिँ ती दुईसँग रिसाए अनि येशूले तिनीहरू सबैलाई एउटै ठाउँमा बोलाएर भन्नुभयो, “तिमीहरूलाई थाहै छ, संसारका राजाहरूले आफ्ना प्रजामाथि आफूखुसी गरेर हक चलाउँछन् अनि ठूला मानिसले अरूहरूमाथि अधिकार जमाउँछन्। तर तिमीहरूमा चाहिँ त्यस्तो हुनुहुँदैन। तिमीहरूमा त ठूलो हुन खोज्नेले सबैको सेवा गर्नुपर्छ। सबैभन्दा ठूलो हुन चाहनेचाहिँ सबैको नोकर हुनुपर्छ। त्यसरी नै म मानव पुत्र पनि अरूबाट सेवा पाउन होइन, तर अरूको सेवा गर्न र धेरैलाई छुटकारा दिन आफ्नै प्राण त्यागिदिन आएको हुँ।” उहाँहरू यरीहो सहरबाट जाँदा मानिसहरूको ठूलो धुइरो येशूको पछिपछि लाग्यो। बाटोको छेउमा दुई जना अन्धाहरू बसिरहेका थिए। येशू त्यही बाटो भएर गइरहनुभएको थाहा पाएर तिनीहरूले कराउँदै भने, “हे दाऊदका पुत्र, हे प्रभु, हामीमाथि दया गर्नुहोस्!” मानिसहरूले तिनीहरूलाई ‘चुप लाग’ भनेर हप्काए। तर तिनीहरूले झन् चिच्च्याएर भने, “हे दाऊदका पुत्र, हे प्रभु, हामीमाथि दया गर्नुहोस्!” हिँड्दाहिँड्दै येशू टक्क अडिनुभयो अनि तिनीहरूलाई बोलाएर सोध्नुभयो, “तिमीहरूको लागि मैले के गर्नुपर्यो?” “प्रभु, हामीले आँखा देख्न पाऔं!” तिनीहरूले बिन्ती चढाए। येशूको हृदय मायाले भरियो र उहाँले तिनीहरूका आँखा छोइदिनुभयो। उति नै खेर तिनीहरू आँखा देख्ने भए अनि येशूको पछि लागे।