मत्ती 20:1-16
मत्ती 20:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“स्वर्गको राज्य जमिनको एक जना मालिकजस्तो हो, जो बिहान सबेरै आफ्नो दाखबारीमा खेतालाहरूलाई ज्यालामा काम लाउन बाहिर निस्क्यो। खेतालाहरूसँग एक दिनमा पाउने ज्याला तोकेर उसले तिनीहरूलाई आफ्नो दाखबारीमा पठायो। “जब ऊ नौ बजेतिर बाहिर निस्क्यो, उसले अरूहरूलाई बजारमा बेकाम उभिरहेका देख्यो, र उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ म तिमीहरूलाई दिनेछु।’ अनि तिनीहरू गए। “फेरि उसले बाह्र बजेतिर र तीन बजेतिर बाहिर निस्केर त्यसै गर्यो। उसले पाँच बजेतिर बाहिर निस्केर अरूहरूलाई उभिरहेका भेट्टायो, र तिनीहरूलाई भन्यो, ‘तिमीहरू किन यहाँ दिनभरि बेकाम उभिरहेका छौ?’ “तिनीहरूले उसलाई भने, ‘कसैले हामीलाई ज्यालामा लगाएको छैन।’ “उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ।’ “जब साँझ पर्यो, तब दाखबारीको मालिकले आफ्नो कर्मचारीलाई भन्यो, ‘खेतालाहरूलाई बोलाएर आखिरी आउनेहरूदेखि लिएर पहिला आउनेहरूसम्मलाई तिनीहरूका ज्याला देऊ।’ “पाँच बजे काममा लागेकाहरू आए, र तिनीहरू हरेकले पूरा दिनको ज्याला पाए। जब पहिला ज्यालामा लागेकाहरू आए, तब तिनीहरूले बढ्ता नै पाउँला भन्ने विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनको ज्याला पाए। ज्याला पाएपछि जमिनका मालिकको विरुद्धमा तिनीहरू गनगनाउन लागे। तिनीहरू भन्न लागे, ‘यी पछिल्लाहरूले एक घण्टा मात्र काम गरे, तर तपाईंले तिनीहरूलाई हामी दिनभरिको भार बोक्नेहरू र चर्को गर्मी सहनेहरूसरह तुल्याउनुभएको छ।’ “तर उसले तिनीहरूमध्ये एक जनालाई जवाफ दियो, “मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैनँ। के तिमीले मसँग पूरा एक दिनको ज्यालामा काम गर्ने कबूल गरेका होइनौ? तिम्रो पाउने ज्याला लिएर जाऊ। यस पछिल्लालाई पनि तिमीलाई दिएजति म दिन चाहन्छु। मेरो जति छ, त्यो म आफूले चाहेजस्तो गर्न सक्दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्ने? “यसरी नै पछिल्ला पहिला हुनेछन् र पहिला पछिल्ला हुनेछन्।”
मत्ती 20:1-16 नेपाली समकालीन संस्करण (NCV)
“किनकि स्वर्गको राज्य एकजना जमिनको मालिकजस्तै हो, जो आफ्ना दाखबारीको लागि खेतालाहरू खोज्न बिहानै निस्के। तिनीहरूलाई दिनको एक दिनार ज्याला दिन राजी भए, अनि तिनीहरूलाई दाखबारीमा काम गर्न पठाइदिए। “करीब बिहान नौ बजेतिर तिनी बाहिर गए, अनि बजारमा कतिलाई केही नगरी उभिरहेका देखे। तिनले तिनीहरूलाई भने ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर, अनि जे उचित छ म तिमीहरूलाई दिनेछु।’ अनि तिनीहरू गए। “तिनी फेरि दिउँसो बाह्र बजेतिर अनि करीब दिउँसोको तीन बजेतिर बाहिर गए, अनि त्यसै गरे। अनि बेलुकाको पाँच बजेतिर तिनी बाहिर गए, र अझ अरूलाई त्यसै उभिरहेका देखे। तिनले तिनीहरूलाई सोधे, ‘तिमीहरू केही नगरी यहाँ दिनभरि किन उभिरहेका छौ?’ “तिनीहरूले जवाफ दिए, ‘हामीलाई कसैले काममा लगाएनन्।’ “तिनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर।’ “जब साँझ पर्यो, दाखबारीको मालिकले आफ्नो कर्मचारीलाई भने, ‘खेतालाहरूलाई बोलाऊ अनि अन्तिममा काममा खटाइएकाहरूदेखि लिएर सुरुमा आएकाहरूसम्मलाई तिनीहरूका ज्याला देऊ।’ “बेलुका पाँच बजेतिर काममा लगाइएका खेतालाहरू आए अनि हरेकले एक-एक दिनार पाए। तसर्थ जब ती पहिला काममा लगाइएकाहरू आए तिनीहरूले बढी पाउने आशा राखेका थिए; तर तिनीहरू हरेकले पनि एक दिनार पाए। तिनीहरूले त्यो पाएपछि तिनीहरू जमिनको मालिकसित गनगनाउन थाले। तिनीहरूले भने, ‘यी आखिरमा काममा लगाइएका मानिसहरूले एक घण्टा मात्र काम गरेका छन्, अनि तपाईंले तिनीहरूलाई हामी समान तुल्याउनुभयो, जसले कामको बोझ उठायौं अनि दिनको गर्मी सह्यौं।’ “तर तिनले तिनीहरूमध्ये एकजनालाई जवाफ दिए, ‘मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैनँ। के तिमी दिनको एक दिनारको हिसाबले काम गर्न राजी भएका थिएनौ? तिम्रो ज्याला लिएर जाऊ। म आखिरमा काममा खटाइएको मानिसलाई तिमीलाई दिएको जति नै दिन चाहन्छु। के मेरो आफ्नै पैसालाई म जे गर्न चाहन्छु, त्यो गर्ने अधिकार मलाई छैन? अथवा के म दयालु भएकोमा तिमी ईर्ष्या गर्छौ?’ “यसकारण पछिल्ला हुनेहरू पहिला हुनेछन् र पहिला हुनेहरू पछिल्ला हुनेछन्।”
मत्ती 20:1-16 पवित्र बाइबल (NERV)
“स्वर्गको राज्य एउटा जमीनको मालिक जस्तो हो जसको दाखबारी छ। एक बिहान सबेरै आफ्नो दाखबारीमा ज्यालामा काम गराउन खेतालाहरूको खोजी गर्यो। उसले एक दिनको ज्याला चाँदीको एक सिक्क दिने बन्दोबस्त गरी खेतालाहरूलाई दाखबरीमा काम गर्न पठायो। “प्राय नौ बजेतिर बजार गर्न भनी ऊ बाहिर गयो उसले केही मानिसहरू उभिरहेको देख्यो अनि तिनीहरूलाई सोध्यो ‘तिमीहरू मेरो बारीमा गएर काम गर्छौ भने म तिनीहरूलाई उचित ज्याला दिनेछु।’ त्यसपछि तिनीहरू काम गर्नलाई दाखबारीमा गए। “फेरि त्यो मानिस एकपल्ट प्राय बाह्र बजे तिर अर्कोपल्ट तीन बजेतिर बाहिर निस्कियो। दुवैपल्ट तिनले दाखबारीमा काम गर्नलाई ज्याला दिएका खेतालाहरूलाई ल्यायो। फेरि प्रायः पाँच बजे उ बजार गर्न निस्कियो। फेरि केही मानिसहरूलाई केही नगरी त्यसै उभिरहेको देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘केही काम नगरी तिमीहरू किन यहाँ बसिरहेका छौ?’ “मानिसहरूले भने, ‘कसैले हामीलाई काममा लाएनन्।’ “उसले भन्यो, ‘त्यसो भए तिमीहरू पनि मेरो दाखबारीमा गएर काम गर्न सक्छौ।’ “जब साँझ पर्यो त्यो खेतको मालिकले खेतालाहरूको निरीक्षकलाई भन्यो, ‘सबै खेतालाहरूलाई बोलाएर तिनीहरूको ज्याला बाँडि देऊ। सब भन्दा पछि आएका खेतालादेखि ज्याला बाँड्न थाले।’ “पाँच बजेतिर आएर काम थाल्ने खेतालाहरूले आफ्नै ज्यला पाए। तिनीहरू प्रत्येकले एउटा चाँदीको सिक्का पाए। त्यसपछि पहिले ल्याएका खेतालाहरूले आफ्ना खर्च पाए। तिनीहरूले पहिले पाएका खेतालाहरू भन्दा बढ़ता ज्याला पाउने आशा गरेका थिए। तर तिनीहरूले पनि अरूले जस्तै एक-एकवटा चाँदीको सिक्का मात्र पाए। जब तिनीहरूले एउटा मात्र चाँदीको सिक्का पाए तिनीहरूले मालिकसित गनगन गरे। खेतालाहरूले विरोध गरे, ‘पछि आएकाहरूले एक घण्टा मात्र काम गरेका छन्। तर तिनीहरूलाई पनि हामीलाई जस्तै एउटा चाँदीको सिक्का दिइयो। अनि हामीले भने दिन भरि प्रचण्ड घाममा काम गरेका छौं।’ “तर जमीनको मालिकले, खेतालाहरूमध्ये एकजनालाई भन्यो, ‘साथी, मैले तिमीलाई अन्याय गरेको छैन। एउटा चाँदीको सिक्कामा नै काम गर्न मसित तिमीहरू मानेको थियौ। होइन? यसैले आफ्नो ज्याला थाप र बाटो लाग ज्यालामा ल्याएको अन्तिम खेतालालाई पनि तिमीलाई जस्तै दिन चाहन्छु। के मेरो पैसा आफ्नो खुशीमा चलाउने अधिकार मसँग छैन? अथवा म उदार छु भनेर तिमीलाई ईर्ष्यँ लग्यो?’ “त्यसरी अहिले पछि हुने भविष्यमा अघि हुनेछ अनि जो अहिले पहिलो स्थानमा छ भविष्यमा अन्तिम स्थानमा हुनेछ।”
मत्ती 20:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले भन्दैजानुभयो, “परमेश्वरको राज्य दाख-बारीको धनीको दृष्टान्तको कथाजस्तै छ। एकाबिहानै ती धनी आफ्नो दाख-बारीमा काम गर्ने खेतालाहरूलाई खोज्न निस्के अनि ‘दिनको ज्याला चाँदीको एक सिक्का दिन्छु’ भनेर केही खेतालाहरूलाई काममा लगाए। नौ बजेतिर फेरि बजारमा जाँदा उनले केही मानिसहरूलाई काम नभएर त्यसै उभिरहेका देखे। उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि मेरो दाख-बारीमा काम गर्न जाओ, म तिमीहरूलाई पाउनुपर्ने ज्याला दिउँला।’ तिनीहरू काममा गए। त्यसपछि उनले बाह्र बजेतिर र फेरि तीन बजेतिर पनि त्यसै गरेर अरू मानिसहरूलाई पनि काममा लगाए। फेरि पाँच बजेतिर जाँदा पनि उनले केही मानिसलाई काम नभई त्यसै बजारमा उभिरहेका देखे। उनले तिनीहरूलाई सोधे, ‘तिमीहरू यहाँ किन दिनभरि बेकाममा उभिरहेका छौ?’ तिनीहरूले जवाफ दिए, ‘खै हामीलाई कसैले पनि काममा लगाएन।’ तब तिनले भने, ‘त्यसो भए तिमीहरू पनि मेरो दाख-बारीमा काम गर्न जाओ न त।’ “साँझ परेपछि दाख-बारीका धनीले आफ्ना काम गर्नेहरूको नाइकेलाई भने, ‘खेतालाहरूलाई बोलाएर तिनीहरूले काम गरेको ज्याला देऊ। ज्याला सबैभन्दा पछि आउनेहरूबाट सुरु गरेर आखिरमा सबैभन्दा पहिले आउनेहरूलाई दिनू।’ अनि नाइकेले पाँच बजे काम सुरु गर्नेहरूलाई पहिले बोलाएर प्रत्येकलाई चाँदीको एकएक सिक्का दियो। त्यस बेला सबभन्दा पहिले काममा लाग्नेहरूले चाहिँ धेरै पाइन्छ होला भनेर विचार गरे। तर तिनीहरूले पनि चाँदीको एकएक सिक्का मात्रै पाए। त्यसो हुँदा तिनीहरूले आ-आफ्ना ज्याला लिए र बारीको धनीकहाँ गएर गनगनाउन थाले। तिनीहरूले भने, ‘हेर्नुहोस्, यी पछि आउने मानिसहरूले त एक घण्टा मात्र काम गरे, हामीले त दिनभरि चर्को घाममा काम गर्यौं। तर तपाईंले त तिनीहरूलाई पनि हामीलाई जति नै ज्याला दिनुभयो!’ तर धनीले तिनीहरूमध्ये एक जनालाई जवाफ दिँदै भने, ‘हेर बुबा, मैले तिमीलाई अन्याय गरेको छैन। तिमी त चाँदीको एक सिक्कामा दिनभरि काम गर्न मन्जुर भएका होइनौ र? तिमी आफ्नो पाउनुपर्ने पैसा लिएर घर जाऊ। म यो ढीलो काममा आउनेलाई पनि तिमीलाई जति नै दिन चाहन्छु। के मलाई आफ्नो पैसा आफूले दिन मन लागेकाहरूलाई दिने अधिकार छैन र? म दानी भएकोमा तिमीलाई रिस उठ्यो कि क्या हो’?” कुरा टुङ्ग्याउँदै येशूले भन्नुभयो, “यही रीतले नै पछिल्लाहरू पहिला हुनेछन् अनि पहिलाहरूचाहिँ पछिल्ला हुनेछन्।”