मत्ती 2:1-16
मत्ती 2:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने, “यहूदीहरूका राजा भई जन्मने कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत् गर्न आएका छौं।” जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो। अनि तिनले सबै मुख्य पूजाहारीहरू र जनताका शास्त्रीहरूलाई भेला गरे, र “ख्रीष्टको जन्म कहाँ हुने हो?” भनी सोधपूछ गरे। तिनीहरूले तिनलाई भने, “यहूदियाको बेथलेहेममा। किनभने अगमवक्ताले लेखेका छन्: ‘ए बेथलेहेम, यहूदा मुलुकको गाउँ, तँ कुनै किसिमले यहूदाका शासकहरूका बीचमा कुनैभन्दा पनि तुच्छ छैनस्, किनकि तँबाट एक जना शासक निस्किआउनेछन्, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नेछन्’।” तब हेरोदले ती ज्योतिषीहरूलाई गुप्तमा बोलाएर तारा कुन समय देखा परेको हो, सो तिनीहरूबाट पत्ता लगाए। तिनले तिनीहरूलाई यसो भनेर बेथलेहेममा पठाए, “जाओ, र ठीकसँग त्यस बालकको खोजी गर। तिनलाई भेट्टाएपछि मलाई खबर गर, र म पनि तिनलाई दण्डवत् गर्नेछु।” तब राजाको कुरा सुनेर तिनीहरू आफ्ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्यो तारा तिनीहरूका अगि-अगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्यो तारा त्यहीँ अड़ियो। जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए। अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढ़ाए। अनि हेरोदकहाँ फर्की नजानू भन्ने सपनामा चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के। तिनीहरू गएपछि, परमप्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परे र तिनले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई साथ लिई मिश्रदेशमा भागिहाल, र तिमीलाई मैले नभनेसम्म त्यहीँ बस। किनकि, हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ।” अनि तिनी उठेर साना बालक र उहाँकी आमालाई साथमा लिई मिश्रदेशमा राती नै गइहाले, र हेरोदको मृत्यु नहोउञ्जेल त्यहीँ बसे। अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको वचन यसरी पूरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएँ।” तब ज्योतिषीहरूले तिनलाई छकाएको कुरा हेरोदले थाहा पाए, र तिनी रीसले चूर भए। अनि ज्योतिषीहरूबाट थाहा भएको समयअनुसार बेथलेहेम र त्यस इलाका भित्रका दुई वर्ष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाए।
मत्ती 2:1-16 नेपाली समकालीन संस्करण (NCV)
राजा हेरोदको समयमा यहूदियाको बेथलेहेममा येशूको जन्म भएपछि पूर्वबाट ज्योतिषीहरू यरूशलेममा आए र सोधे, “यहूदीहरूका राजा भएर जन्मनुभएको कहाँ हुनुहुन्छ? हामीले पूर्वमा उहाँको तारा देख्यौं र हामी उहाँलाई दण्डवत् गर्न आएका छौं।” त्यस बेला राजा हेरोदले जब यो सुने, तिनी र यरूशलेममा भएका सबै विचलित भए। अनि तिनले सबै मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरूलाई बोलाए र ख्रीष्टको जन्म कहाँ भएको हो भनी सोधे। तिनीहरूले जवाफ दिए, “यहूदियाको बेथलेहेममा, किनकि अगमवक्ताले यसरी लेखेका छन्: “ ‘तर यहूदा प्रदेशमा भएको बेथलेहेम, तिमी कुनै किसिमले पनि यहूदाका शासकहरूमध्ये सानो छैनौ; किनकि तिमीबाट एकजना शासक आउनुहुनेछ जो मेरा मानिस, इस्राएलका गोठाला हुनुहुनेछ।’ ” तब हेरोदले ज्योतिषीहरूलाई सुटुक्क बोलाएर तारा देखा परेको ठीक समय पत्ता लगाए। अनि तिनले तिनीहरूलाई बेथलेहेममा पठाएर यसो भने, “जाओ अनि होसियारीसाथ बालकलाई खोज। तिमीहरूले तिनलाई भेट्टाउने बित्तिकै मलाई भन र म पनि गएर तिनलाई दण्डवत् गर्नेछु।” राजाबाट यो कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे, अनि तिनीहरूले पूर्वमा देखेको त्यो तारा, तिनीहरू त्यस बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूका अघि लाग्यो। जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए। घरमा आइपुगेपछि तिनीहरूले बालकलाई आफ्नी आमा मरियमको साथमा देखे अनि तिनीहरूले घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब तिनीहरूले आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढाए। त्यस रात हेरोदकहाँ नजानू भन्ने सपनामा चेतावनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के। तिनीहरू गइसकेपछि प्रभुको एउटा दूत सपनामा योसेफकहाँ देखा परेर भने, “उठ, बालक र तिनकी आमालाई लिएर इजिप्ट देशमा भागिहाल। मैले फेरि केही नभनुन्जेल त्यहीं बस, किनकि हेरोदले बालकलाई खोजेर मार्न खोज्दैछ।” यसकारण तिनी उठे, बालक र तिनकी आमालाई लिएर राती नै इजिप्ट देशतिर प्रस्थान गरे, जहाँ तिनीहरू हेरोदको मृत्यु नभईन्जेल रहे। अनि यसरी परमेश्वरले आफ्ना अगमवक्ताद्वारा भन्नुभएको वचन पूरा भयो: “मैले आफ्नो पुत्रलाई इजिप्ट देशबाट बोलाएँ।” जब ज्योतिषीहरूद्वारा आफू ठगिएको हेरोदले थाहा पाए, तब तिनी औधी रिसाए अनि ज्योतिषीहरूद्वारा ठीक पत्तो लगाइएको समयअनुसार बेथलेहेम र त्यसका सिमानामा भएका दुई वर्ष र त्यस मुनिका बालकहरूलाई मार्ने आदेश दिए।
मत्ती 2:1-16 पवित्र बाइबल (NERV)
यहूदिया भन्ने ठाउँको बेतलेहेम शहरमा येशूको जन्म भएको थियो। हेरोद राजा भएकोबेलामा उहाँको जन्म भएको थियो। जब येशूको जन्म भयो केही ज्योतिषीहरू पूर्वबाट यरूशलेममा आए। ती ज्योतिषीहरूले मानिसहरूलाई यसोभनी सोधे, “यहूदीहरूका राजा भएर जन्मेका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौ जसले उहाँ जन्मेको सकेत दिएको छ। हामीले पुर्वी आकाशमा तारा उदय हुँदै गरेको देख्यौ। हामी उहाँको आराधना गर्न आएका छौ।” जब राजा हेरोदले यहूदीहरूका यी नयाँ राजाको बारेमा सुने। हेरोद यस घट्नाबाट चिन्तित भए। यसकारण यरूशलेमका सबै बासिन्दाहरूलाई पनि यो समाचारले चिन्तित तुल्यायो। हेरोदले सबै मुख्य यहूदी पूजाहारीहरू र जनताका शास्त्रीहरूको एउटा सभा बोलाए। उनले तिनीहरूलाई सोधे, “ख्रीष्टको जन्म कहाँ हुनेहो?” तिनीहरूले जवाफ दिए, “यहूदियाको बेतलेहेम शहरमा, अगमवक्तद्वारा यस विषयमा लेखिएको छ: ‘ए बेतलेहेम, यहूदाको मुलुक, तँ यहूदाका शासकहरूका माझ महान छस्। हो, तँबाट एकजना शासक आउनेछन्, जो मेरो मानिस, इस्राएलको रखवाल गर्नेछन्।’” त्यसपछि हेरेदले पूर्वका ती ज्योतिषीहरूलाई गुप्तमा बोलाए। हेरोदले तिनीहरूबाट पहिलो पल्ट तारा देखा परेको समय ठिकसँग पत्ता लगाए। त्यसपछि हेरोदले ती ज्योतिषीहरूलाई बेतलेहेममा पठाए। हेरोदले तिनीहरूलाई भने “जाऊ र बालकको बारेमा ठीकसँग पत्ता लगाओ। जब त्यो बालकलाई भेट्टाउनेछौ, तब मलाई खबर गर, र म पनि गएर तिनको आराधना गर्नेछु।” राजाका सबै कुरा सुने र ज्योतिषीहरू गए। जुन-तारा तिनीहरूले पुर्वमा देखेका थिए, फेरि त्यही तारा तिनीहरूले देखे। ज्योतिषीहरूले तारालाई पछ्याउन थाले। त्यो तारा सानो बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूको अघि-अघि गयो र त्यही अडियो। तारा देखेर ज्योतिषीहरू अत्यन्तै खुशी भए। तिनीहरू बालक भएको घरभित्र गए। त्यहाँ सानो बालकलाई आफ्नो आमा मरियमसँग देखे। तिनीहरूले शिर झुकाएर बालकलाई दण्डवत र आराधना गरे। बालकलाई ल्याइदिएका उपहारहरू तिनीहरूले खोले र उनलाई सुन, धूप र मूर्रका भेटी चढ़ाए। तर परमेश्वरले तिनीहरूलाई सपनामा चेताउनी दिनुभयो। परमेश्वरले तिनीहरूलाई “हेरोदकहाँ फर्केर नजाऊ” भनी चेताउनी दिनुभयो। त्यसपछि तिनीहरू अर्कै बाटो भएर आफ्ना निजदेशमा फर्किए। ज्योतिषीहरू गएपछि, परमप्रभुको एउटा दूत सपनामा यूसुफकहाँ देखा परे। दूतले भने, “उठ, साना बालक र उहाँकी आमालाई साथमा लिएर मिश्रदेशमा जाऊ। हेरोदले साना बालकहरूलाई खोज्न लागिरहेकोछ। उसले सानो बालकलाई मार्न चाहन्छ। मैले नभनेसम्म तिमी त्यही बस्नु।” अनि यूसुफ उठेर सानो बालक र उनकी आमालाई साथमा लिएर त्यसै बखत मिश्रदेश तर्फ लागे। तिनीहरूले रातीनै घर छोडे। हेरोदको मृत्यु नभएसम्म यूसुफ मिश्रदेशमा नै बसे अगमवक्ताद्वारा परमेश्वरले भन्नु भएको वचन यसरी पूरा भयो। परमेश्वरले भन्नुभयो, “मैले आफ्नो पुत्रलाई मिश्र देशबाट बोलाएँ।” ज्योतिषीहरूबाट हेरोदले धोका पाएको थाहा पाएपछि तिनी साह्रै रिसाए। अनि बेतलेहेम र त्यसका छेउछाउमा भेट्टाएका सबै स-साना बालकहरूलाई मार्ने आदेश दिए। ज्योतिषीहरूबाटै हेरोदले बालक जन्मेको समय पत्ता लगाएका थिए। त्यस बेलादेखि अहिलेसम्म दुइ वर्षको अवधि बितेको थियो। अनि हेरोदले दुइ वर्षर त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाएका थिए।
मत्ती 2:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू यहूदियाको बेथलेहेम भन्ने गाँउमा जन्मिनुभएको थियो। त्यस समयमा हेरोद त्यहाँका राजा भएका थिए। येशू जन्मिनुभएपछि पूर्वबाट ज्योतिषीहरू उहाँलाई खोज्दै यरूशलेममा आए। तिनीहरूले मानिसहरूलाई सोधे, “भर्खरै जन्मिनुभएका इस्राएलीहरूका राजा कहाँ हुनुहुन्छ? हामीले उहाँको जन्म भएको कुरा थाहा दिने तारालाई पूर्वमा देख्यौं र उहाँको दर्शन गर्न आएका हौं।” यो कुरा सुनेर हेरोद राजा आत्तिए र यरूशलेमका मानिसहरूमा ठूलो हलचल मच्चियो। अनि हेरोद राजाले मुख्य पूजाहारी र धर्म-गुरुहरूलाई बोलाएर सोधे, “मुक्ति दिने राजा ख्रीष्टको जन्म कहाँ हुनेछ?” तिनीहरूले भने, “यहूदियाको बेथलेहेम गाँउमा किनभने धर्मशास्त्रमा अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्– ‘ए यहूदियाको बेथलेहेम, तँ यहूदियाका सहरहरूका बीचमा कुनै किसिमले पनि सानो छैनस् किनभने तँबाट ठूला राजा निस्केर आउनेछन् र उनले नै गोठालाले जस्तै मेरो प्रजा इस्राएलको हेरचाह गर्नेछन्।” यो सुनेर हेरोदले ती पूर्वबाट आएका ज्योतिषीहरूलाई छुट्टै लगेर सोधपुछ गरे र तारा देखा परेको ठीक समय पत्ता लगाए। त्यसपछि उनले तिनीहरूलाई बेथलेहेमतिर पठाउँदै भने, “तपाईंहरूले गएर बालकको बारेमा सबै कुरा ठीकसँग पत्ता लगाएर मलाई खबर गर्नुहोस् र म पनि गएर उहाँको दर्शन गर्नेछु।” हेरोद राजाले भनेको मानेर ती ज्योतिषीहरू बेथलेहेमतिर लागे। बाटोमा जाँदा तिनीहरूले पूर्वमा देखेको त्यही तारालाई फेरि देखे। त्यो तारा तिनीहरूको अघि-अघि लाग्यो र बालक भएको ठाउँको सोझै माथि पुगेर टक्क अडियो। यो देखेर तिनीहरू खुसीले गदगद भए। त्यस घरमा पुगेपछि तिनीहरू भित्र पसे र बालकलाई आमा मरियमको साथमा देखे। अनि तिनीहरूले उहाँको पाउमा परी दर्शन गरे र आ-आफ्ना पोकाबाट सुन, धूप र धेरै दामी अत्तर निकालेर चढाए। पछिबाट तिनीहरूले सपनामा ‘हेरोदकहाँ फर्केर नजानू’ भन्ने परमेश्वरको आज्ञा पाए र तिनीहरू अर्कै बाटो भएर आफ्नो देश फर्के। ती ज्योतिषीहरू गइसकेपछि योसेफले सपनामा प्रभु परमेश्वरका स्वर्गदूतलाई देखे र स्वर्गदूतले उनलाई भने, “तुरुन्तै आमा-छोरालाई लिएर मिश्रदेशतिर गइहाल। अनि मैले फर्केर आउनू नभनुञ्जेल तिमीहरू त्यहीँ नै बस्नू किनभने हेरोदले बालकलाई मार्ने विचार गरिरहेको छ।” यस्तो सपना देखेपछि योसेफ आमा-छोरालाई लिएर राती नै मिश्रदेशतिर लागे। अनि हेरोद नमरुञ्जेल तिनीहरू त्यहीँ नै बसे। यसरी परमप्रभुले अगमवक्तालाई भन्न लाउनुभएको यो कुरा पूरा हुन आएको हो– “मैले मिश्रदेशबाट आफ्नो छोरालाई बोलाएँ।” ज्योतिषीहरूले आफूलाई छकाएछन् भन्ने कुरा थाहा पाएर हेरोद राजा रिसले चुर भए। उनले यसो गर्न लगाए। तारा उदाएको समय ज्योतिषीहरूबाट थाहा पाएअनुसार उनले बेथलेहेम र त्यस वरपरका गाउँहरूमा भएका दुई वर्षसम्मका सबै बालकहरूलाई मार्न लगाए।