मत्ती 16:15-20
मत्ती 16:15-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू के भन्छौ, म को हुँ?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।” येशूले तिनलाई भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्। म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ।” उहाँ ख्रीष्ट हुनुहुन्छ भनी कसैलाई नभन्नू भनी येशूले चेलाहरूलाई कड़ा आज्ञा दिनुभयो।
मत्ती 16:15-20 नेपाली समकालीन संस्करण (NCV)
उहाँले सोध्नुभयो, “तिमीहरूले नि? तिमीहरू मलाई म को हुँ भन्छौ?” सिमोन पत्रुसले उत्तर दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र।” येशूले जवाफ दिनुभयो, “योनाको छोरो सिमोन, तिमी धन्यका हौ, किनकि यो तिमीलाई मानिसद्वारा होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताद्वारा प्रकट गरिएको हो। अनि म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ, अनि म यस चट्टानमाथि मेरो मण्डली स्थापित गर्नेछु, अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्। म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु: तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ, अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ, त्यो स्वर्गमा फुकाइनेछ।” तब उहाँले आफ्ना चेलाहरूलाई, उहाँ ख्रीष्ट हुनुहुन्छ भनी कसैलाई नभन्नू भनी चेतावनी दिनुभयो।
मत्ती 16:15-20 पवित्र बाइबल (NERV)
तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू चाहिं मलाई को हो भन्छौ?” शिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।” येशूले भन्नुभयो, “तिमी धन्य हौ, हे योनाको छोरो शिमोन। कुनै पनि मानव जातिले तिमीलाई यो सिकाएको होइन। स्वर्गमा भएका मेरा पिताले तिमीलाई प्रकाश गरिदिनुभएको हो। यसैले म भन्दछु, तिमी पत्रुस हौ। अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउनेछु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू सामर्थ हुनेछैनन्। म स्वर्गका साँच्चोहरू (चाबी) तिमीहरूलाई दिनेछु। जब तिमी यो पृथ्वीमा न्यायका लागि बोल्नेछौ तब त्यो न्याय परमेश्वरको न्याय हुनेछ। जब तिमीले यो पृथ्वीमा कसैलाई क्षमा दिनेछौ तब त्यो क्षमा परमेश्वरको क्षमा हुनेछ।” त्यसपछि येशूले आफ्ना चेलाहरूलाई कसैलाई पनि उहाँ ख्रीष्ट हुनुहुन्छ भनि नभन्नु भनी चेताउनी दिनुभयो।
मत्ती 16:15-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले भन्नुभयो, “अनि तिमीहरूचाहिँ मलाई को हो भन्छौ त?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं जिउँदो परमेश्वरका पुत्र मुक्ति दिनुहुने राजा ख्रीष्ट हुनुहुन्छ।” येशूले भन्नुभयो, “ए योनाको छोरा सिमोन, तिमी कति धन्य हौ! यो कुरा तिमीले मानिसबाट सुनेर भनेका होइनौ, यो त स्वर्गमा हुनुहुने मेरा परमेश्वर पिताले नै तिमीलाई थाहा दिनुभएको हो। अब म तिमीलाई भन्छु, तिमी पत्रुस हौ (जसको अर्थ ‘पत्थर’ हो)। यही पत्थरको जगमा म आफ्नो मण्डली खडा गर्नेछु अनि मृत्युका सबै शक्तिहरूले पनि यसलाई जित्न सक्नेछैनन्। स्वर्गको राज्य खोल्ने साँचाहरू म तिम्रो हातमा दिनेछु। जे तिमीले यस पृथ्वीमा बाँध्नेछौ, त्यो स्वर्गमा पनि बाँधिनेछ अनि जे तिमीले यस पृथ्वीमा फुकाउँछौ, त्यो स्वर्गमा पनि फुकाइनेछ।” त्यसपछि उहाँले चेलाहरूलाई ‘म मुक्ति दिने ख्रीष्ट हुँ भन्ने कुरा कसैलाई पनि नभन्नू’ भनेर कडा आज्ञा दिनुभयो।