YouVersion लोगो
खोज आइकन

मत्ती 12:28-34

मत्ती 12:28-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर यदि परमेश्‍वरका आत्‍माद्वारा म भूतहरू धपाउँछु भने परमेश्‍वरको राज्‍य तिमीहरूमा आइसकेको छ। “पहिले बलियो मानिसलाई नबाँधिकन, त्‍यसको घरभित्र पसेर कसले त्‍यसको धनमाल लिएर जान सक्‍छ? त्‍यस बलियो मानिसलाई बाँधेपछि मात्र त्‍यसको घर लुट्‌न सक्‍छ। “जो मेरो साथ छैन, त्‍यो मेरो विरुद्धमा छ, र जसले मसँग बटुल्‍दैन, त्‍यसले छरपष्‍ट पार्छ। त्‍यसैकारण म तिमीहरूलाई भन्‍दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्‍वर-निन्‍दा क्षमा हुनेछ, तर पवित्र आत्‍माको विरुद्धमा गरिएको निन्‍दा क्षमा हुनेछैन। कसैले मानिसको पुत्रको विरुद्धमा केही भन्‍यो भने त्‍यसलाई क्षमा हुनेछ, तर कसैले पवित्र आत्‍माको विरुद्धमा बोल्‍यो भने त्‍यसलाई यस युगमा र आउने युगमा पनि क्षमा हुनेछैन। “कि रूखलाई असल बनाओ, र त्‍यसको फल असल हुनेछ। कि रूखलाई खराब बनाओ र त्‍यसको फल पनि खराब हुनेछ। किनभने फलबाट नै रूख चिनिन्‍छ। ए सर्पका बच्‍चा हो! तिमीहरू आफै दुष्‍ट छौ, असल कुरा कसरी बोल्‍न सक्‍छौ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्‍कन्‍छन्‌।

शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्

मत्ती 12:28-34 नेपाली समकालीन संस्करण (NCV)

तर यदि म परमेश्‍वरको आत्माले भूतहरू निकाल्छु भने परमेश्‍वरको राज्य तिमीहरूमा आइसकेको छ। “अथवा फेरि कसैले घरको बलियो मानिसलाई पहिला उसलाई नबाँधी कसरी उसको घरमा पसेर त्यसका सबै थोकहरू लैजान सक्ला र? तर त्यसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ। “जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ, अनि जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ। यसकारण म भन्दछु, हरेक किसिमको पाप र निन्दा मानिसलाई क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा भएको निन्दा क्षमा हुनेछैन। कसैले मानिसका पुत्रको विरुद्धमा केही बोल्यो भने त्यो क्षमा हुनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा बोल्छ, त्यसलाई न ता यस समयमा न ता आउने समयमा नै क्षमा गरिनेछ। “रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ, अथवा रूखलाई खराब बनाओ, अनि त्यसको फल खराब हुनेछ; किनकि फलबाटै रूख चिनिन्छ। हे सर्पका सन्तानहो, तिमीहरू दुष्‍ट भइकन कसरी केही कुरालाई असल भन्‍न सक्छौ? किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ।

शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्

मत्ती 12:28-34 पवित्र बाइबल (NERV)

तर म परमेश्वरका आत्माको शक्तिद्वारा भूतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ। यदि कुनै मानिसले कुनै एक बलवान मानिसको घरमा लुटपाट गर्न चाहन्छ भने, सर्वप्रथम उसले त्यो बलवान मानिसलाई साङ्लोले बाँधेर राख्नुपर्छ। त्यसपछि मात्र त्यो मानिसले घर लुट्न सक्दछ। जो मानिस मसित छैन, त्यो मेरो विरुद्धमा छ। मसित काम नर्गेनले मेरो विरूद्धमा काम गरिरहेको हुन्छ। “यसैले म तिमीहरूलाई भन्दछु, तिनीहरूले गरेका हरेक पापका निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। अनि तिनीहरूले भनेका सबै नराम्रा शब्दहरूको निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। तर यदि कसैले पवित्र आत्माको विरुद्धमा कुरा गर्छ भने उसलाई क्षमा गरिनेछैन। यदि कसैले मानिसका पुत्रका विरुद्धमा कुरा गरे उसलाई क्षमा हुनेछ। तर कसैले पवित्र आत्माको विरुद्धमा-कुरा गरे क्षमा हुनेछैन। त्यस मानिसलाई न ता अहिले क्षमा दिइन्छ न ता भविष्यमानै। “यदि तिमीहरू असल फल चाहन्छौ भने तिमीहरूले बृक्षलाईनै असल तुल्याउनु पर्छ। यदि तिमीहरूको बृक्षनै नराम्रो छ भने त्यसको फल पनि नराम्रो हुनेछ। किनकि त्यसको फलबाटनै बोटलाई चिन्न सकिन्छ। ए सर्पहरू, तिमीहरू दुष्ट मतिका छौ। तिमीहरूबाट कसरी असल कुराहरू आउनसक्छ। हृदयमा जे कुरा थुपरीएको छ त्यही कुराहरू नै मुखले बोल्दछ।

शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्

मत्ती 12:28-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

बालजिबुलको शक्तिले होइन, तर म परमेश्‍वरको आत्‍माले भूत निकाल्‍छु र यसैबाट परमेश्‍वरको राज्‍य तिमीहरूको बीचमा आइसकेको छ भन्‍ने कुरा तिमीहरूले थाहा पाउन सक्‍छौ। फेरि सुन, बलियो मानिसलाई पहिले नबाँधीकन कुनै मानिसले पनि उसको घरको चीज लैजान सक्‍दैन। उसलाई बाँधेपछि मात्र घर लुट्‍न सकिन्‍छ। “मसँग नलाग्‍ने मानिस मेरो विरोधी हो। मलाई बटुल्‍न नसघाउनेले मैले बटुलेको पनि छरपस्‍ट गरिदिन्‍छ। यसकारण म तिमीहरूलाई भन्‍छु, मानिसले गरेको सबै पाप र निन्‍दाहरू मेटिन सक्‍छ, तर पवित्र आत्‍माको निन्‍दा गर्ने पापचाहिँ मेटिनेछैन। म मानव पुत्रको विरोधमा बोलिएको पाप माफ गरिनेछ, तर पवित्र आत्‍मालाई निन्‍दा गर्ने पापचाहिँ न यस युगमा न त अर्को युगमा, कहिल्‍यै पनि माफ गरिनेछैन। “सप्रेको फल फल्‍न रूख पनि त सप्रेको हुनुपर्छ। रूख नै सप्रिएको छैन भने फल पनि सप्रिंदैन! रूख फलबाटै चिनिन्‍छ। हे विषालु सर्पका सन्‍तानहरू हो! दुष्‍ट भएर तिमीहरू कसरी असल कुरा गर्न सक्‍छौ? जे मनमा छ, त्‍यही नै मानिसले बोल्‍दछ।

शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्