मत्ती 1:18-25
मत्ती 1:18-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे। तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।” अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्: “हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्वर हामीहरूसँग।” योसेफ निद्राबाट ब्यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे। मरियमले पुत्र नजन्माउञ्जेल योसेफले तिनीसँग सहवास गरेनन्। योसेफले उहाँको नाउँ येशू राखे।
मत्ती 1:18-25 नेपाली समकालीन संस्करण (NCV)
येशू ख्रीष्टको जन्म यसरी भयो: उहाँकी आमा मरियमको विवाह योसेफसित हुने प्रतिज्ञा भएको थियो, तर तिनीहरूका विवाह हुन अघि नै यो थाहा भयो कि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थिइन्। तिनका पति योसेफ एक धार्मिक मानिस भएकाले र आफू समाजमा अपमान हुन नचाहेकाले, तिनलाई सुटुक्क त्यागिदिने विचार गरे। तर ती दिनहरूमा योसेफले यस्तो विचार गरेपछि प्रभुका एउटा दूतले सपनामा तिनीकहाँ देखा परेर भने, “दाविदको पुत्र योसेफ, मरियमलाई तिम्रो पत्नीको रूपमा घर लैजान नडराऊ, किनकि जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा छोरा जन्माउनेछिन् अनि तिमीले उहाँको नाउँ येशू राख्नू, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापदेखि बचाउनुहुनेछ।” यी कुराहरू त्यसरी नै पूरा भए, जसरी प्रभुले आफ्ना अगमवक्ताद्वारा भन्नुभएको थियो: “कन्या गर्भवती भएर एउटा पुत्र जन्माउनेछिन् अनि तिनीहरूले उहाँलाई इम्मानूएल भन्नेछन्,” जसको अर्थ हो, “परमेश्वर हामीसित।” योसेफ बिउँझेपछि प्रभुको दूतले आज्ञा दिएझैं गरे अनि मरियमलाई पत्नीको रूपमा घरमा लगे। तर तिनले पुत्र नजन्माउन्जेल तिनीसित सहवास गरेनन्। अनि तिनले पुत्रको नाउँ येशू राखे।
मत्ती 1:18-25 पवित्र बाइबल (NERV)
येशू ख्रीष्टकी आमा मरियमको मगनी यूसुफसँग भएको थियो। तर तिनीहरूको विवाह हुनु भन्दा अघिनै मरियम पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी थिइन्। मरियमका पति, यूसुफ एक धार्मिक मानिस थिए। उनीले मरियमलाई विवाह हुनु अघि मानिसहरूका माझमा लज्जित बनाउन चाँहदैन थिए। यसकारण उनी गोप्य प्रकारले मरियमलाई त्याग्ने पक्षमा थिए। तर जब यूसुफले यसो गर्ने विचार लिए, परमप्रभुका एउटा दूत सपनामा उनीकहाँ आए। दूतले भने, “यूसुफ, दाऊदको पुत्र, मरियमलाई आफ्नी पत्नीको रूपमा ग्रहण गर्न तिमी डराउनु पर्दैन। उनको गर्भमा भएको नानी पवित्र आत्माबाट भएको हो। उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्धार गर्नुहुनेछ।” अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा होस् भनेर यी सबै हुन आएकाहुन्। “कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउने छिन्, तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्नेछन्।” (इम्मानुएलको अर्थ हो “परमेश्वर हामीहरूसित हुनुहुन्छ।”) जब यूसुफ निद्राबाट ब्यूँझे; परमप्रभुका दूतले तिनलाई जे भनेका थिए त्यहि गरे। यूसुफले मरियमलाई विवाह गरे। तर मरियमले पुत्र नजन्माउन्जेलसम्म यूसूफले तिनीसित सहवास गरेनन् अनि यूसुफले पुत्रको नाउँ येशू राखिदिए।
मत्ती 1:18-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब येशू ख्रीष्टको जन्म यसरी भयो– उहाँकी आमा मरियमको योसेफसँग विवाह हुने कुरा छिनिसकेको थियो। उनीहरूको विवाह हुनुभन्दा पहिले नै मरियम पवित्र आत्माबाट गर्भवती भएकी थिइन्। योसेफ धर्मी मानिस थिए। त्यसो हुँदा उनले मानिसको सामुन्ने मरियमलाई नराम्रो नहोस् भनेर सुटुक्क त्याग्ने विचार गरे। यस्तो विचार गरिरहँदा परमप्रभुका स्वर्गदूत उनको सपनामा देखा परेर भने, “ए दाऊद वंशको योसेफ, तिमी मरियमलाई ल्याउन नडराऊ। उनको गर्भ त पवित्र आत्माबाट रहेको हो। उनले छोरो पाउनेछिन्। ती बालकको नाउँ तिमीले येशू राख्नू किनभने उहाँले आफ्ना मानिसहरूलाई पापबाट छुटकारा दिनुहुनेछ।” परमेश्वरले अगमवक्ताबाट बोल्नुभएका यी कुरा पूरा होऊन् भनेर यो भएको हो– “हेर, कन्येकेटीको गर्भ रहनेछ र तिनले छोरो पाउनेछिन्। अनि मानिसहरूले उहाँलाई इम्मानुएल भन्नेछन्।” इम्मानुएल भनेको चाहिँ परमेश्वर हामीसित हुनुहुन्छ। योसेफ निद्राबाट बिउँझे र स्वर्गदूतले सपनामा भनेका कुरा मानेर मरियमलाई विवाह गरी आफूकहाँ ल्याए। तर मरियमले छोरो नजन्माउञ्जेल उनले तिनीसित सहवासचाहिँ गरेनन्। मरियमले छोरा जन्माएपछि योसेफले ती बालकको नाउँ येशू राखे।