मलाकी 2:13-15
मलाकी 2:13-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फेरि तिमीहरू अर्को कुरा गर्दछौ: तिमीहरू परमप्रभुको वेदीलाई आँसुले भिजाउँदछौ। तिमीहरू रुँदछौ र विलाप गर्दछौ, किनभने उहाँले तिमीहरूका हातको भेटीलाई कहिल्यै ध्यान दिनुहुन्न, न त त्यो उहाँलाई ग्रहणयोग्य हुन्छ। तिमीहरू सोध्छौ, “किन?” किनभने परमप्रभु तिमीहरू र तिमीहरूको जवानीपनकी पत्नीको बीचमा साक्षीको काम गर्दैहुनुहुन्छ, किनकि तिमीहरूले त्यससँगको विश्वास भङ्ग गर्यौ, यद्यपि तिनी तिम्री जीवन-साथी र वैवाहिक करारमा बाँधिएकी पत्नी हो। के परमप्रभुले तिनीहरूलाई एउटै बनाउनुभएको होइन र? शरीर र आत्मामा तिनीहरू उहाँकै हुन्। अनि तिनीहरू किन एउटै हुन्? किनभने उहाँले ईश्वरीय सन्तान खोज्दैहुनुहुन्थ्यो। यसैले तिमीहरू आफ्नो आत्माको रक्षा गर, र आफ्नो जवानीपनकी पत्नीसँगको विश्वास भङ्ग नगर।
मलाकी 2:13-15 पवित्र बाइबल (NERV)
तिमीहरूले रोएर परमप्रभुको वेदी आँसुले भिजाउँन सक्छौ, तर परमप्रभुले तिमीहरूको भेटी ग्रहण गर्नुहुने छैन। परमप्रभु ती चिजहरूबाट प्रसन्न हुनुहुने छैन जे तिमीहरूले लिएर आउँछौ। तिमीहरू सोध्छौ, “हाम्रो भेटीहरू परमप्रभुले किन स्वीकार गर्नु भएन?” किनभने तिमीहरूले गरेका नराम्रा कामहरू परमप्रभुले देख्नु भएको छ, उहाँ तिमीहरूको बिरूद्ध साक्षी हुनुहुन्छ। उहाँले देख्नुभएको छ, तिमीहरूले आफ्नो पत्नीलाई ठगी रहेछौ। तिमीहरूले त्यस स्त्रीसित तिमी जवान हुँदा नै बिवाह गरेको थियौ, ऊ तिम्रो प्रियसी थिई। त्यस समय तिमीले बैवाहिक करार गर्यौ अनि ऊ तिम्री पत्नी भई। तर तिमीले उसलाई ठग्यौ। परमेश्वर चाहनु हुन्छ पति-पत्नीहरू एक शरीर अनि एक आत्मा हुन्। किनकी त्यसबाट उसको नानीहरू पवित्र होस्। यसकारण त्यो आत्मीय एकताको रक्षा गर। आफ्नी पत्नीलाई नठग। त्यो तिम्री पत्नी त्यही बेला देखि भई जति बेला तिमी जवान थियौ।
मलाकी 2:13-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अर्को कुरो तिमीहरू यसो पनि गर्छौ। तिमीहरूले चढाएका भेटीहरू उहाँले ग्रहण नगरेको हुनाले तिमीहरू रोई-कराई परमप्रभुको वेदी आँसुमा डुबाउँदछौ। उहाँले ती किन ग्रहण गर्नुहुन्न भनी तिमीहरू सोध्दछौ किनभने उहाँले जान्नुहुन्छ कि तैँले आफ्नो जवानीमा विवाह गरेको स्वास्नीलाई दिएको प्रतिज्ञा तोडेको छस्। ऊ तेरो जीवनसाथी हो तर तैँले ऊसित गरेको प्रतिज्ञा तोडेको छस्, यद्यपि तैँले परमेश्वरको अघि आफ्नो स्वास्नीसित विश्वासयोग्य रहने प्रतिज्ञा गरेको थिइस्। के परमेश्वरले आफ्नो स्वास्नीसित एउटै शरीर र आत्मा गरी बनाउनुभएको होइन? त्यसरी बनाउनुमा उहाँको के उद्देश्य थियो त? किनभने तिमीहरूका बालबच्चाहरू परमेश्वरका साँचो सन्तानहरू भएका उहाँले चाहनुहुन्थ्यो। यसकारण सचेत रहो कि तिमीहरूमध्ये कसैले आफ्नी स्वास्नीलाई दिएको प्रतिज्ञा नतोडोस्।