लूका 9:51-62
लूका 9:51-62 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँको स्वर्गारोहणको दिन नजिकै आइपुग्दा उहाँले यरूशलेमतिरै जाने अठोट गर्नुभयो। अनि उहाँले समाचार लाने मानिसहरूलाई पहिलेबाटै पठाउनुभयो। तिनीहरू गए, र उहाँको निम्ति सबै कुरा तयार पार्नलाई सामरीहरूको एउटा गाउँमा पसे। तर यरूशलेमतिर जाने उहाँको दृढ़ विचार थाहा पाएर तिनीहरूले उहाँलाई स्वागत गरेनन्। तब यो देखेर उहाँका चेलाहरू याकूब र यूहन्नाले भने, “प्रभुज्यू, के तपाईं चाहनुहुन्छ कि स्वर्गबाट आगो बर्साएर यिनीहरू भस्म होऊन् भनी हामी आज्ञा गरौं?” तर फर्केर उहाँले तिनीहरूलाई हप्काउनुभयो। अनि उहाँहरू अर्को गाउँतिर जानुभयो। उहाँहरू बाटोमा जाँदैगर्नुहुँदा, एक जना मानिसले उहाँलाई भन्यो, “हे प्रभु, तपाईं जता जानुहुन्छ म तपाईंको पछि लाग्नेछु।” तब येशूले त्यसलाई भन्नुभयो, “स्यालका दुला छन्, र आकाशका चराचुरुङ्गीहरूका गुँड़, तर मानिसको पुत्रको त शिर राख्ने ठाउँ पनि छैन।” उहाँले अर्कोलाई भन्नुभयो, “मेरो पछि लाग।” तर त्यसले भन्यो, “पहिले मेरा बाबुलाई गाड्न जान दिनुहोस्।” उहाँले त्यसलाई भन्नुभयो, “मुर्दाहरूलाई आफ्नै मुर्दा गाड्न देओ, तर तिमी गएर परमेश्वरका राज्यको सुसमाचार प्रचार गर।” अर्काले पनि भन्यो, “प्रभु, म तपाईंको पछि लाग्नेछु, तर पहिले आफ्नो घरमा हुनेहरूबाट मलाई बिदा लिन दिनुहोस्।” तर येशूले त्यसलाई भन्नुभयो, “आफ्नो हात हलोमा लगाएर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरका राज्यको योग्यको हुँदैन।”
लूका 9:51-62 नेपाली समकालीन संस्करण (NCV)
जब उहाँको स्वर्ग उठाइलगिने दिन नजिक आउँदैथियो, तब येशूले यरूशलेमतिर जाने निश्चय गर्नुभयो। अनि उहाँले समाचार लाने मानिसहरूलाई अघि-अघि पठाउनुभयो; जो उहाँको निम्ति सबै कुरा तयार पार्न सामरीहरूको एउटा गाउँमा गए, तर त्यहाँका मानिसहरूले उहाँ यरूशलेम जान लाग्नुभएको हुनाले उहाँलाई स्वागत गरेनन्। उहाँका चेलाहरू याकोब र यूहन्नाले यो देखेपछि उहाँलाई सोधे, “प्रभु, के यिनीहरूलाई भस्म गर्न एलियाझैं हामीले स्वर्गबाट आगो बर्सने आज्ञा गरौं भन्ने तपाईं चाहनुहुन्छ?” तर येशूले फर्केर तिनीहरूलाई हप्काउनुभयो, र उहाँहरू अर्कै गाउँतिर जानुभयो। उहाँहरू बाटोमा हिँडिरहनुभएको बेला, एकजना मानिसले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुभए तापनि म तपाईंलाई पछ्याउनेछु।” अनि येशूले भन्नुभयो, “फ्याउराहरूका ओडार छन्, र आकाशका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको त शिर राख्ने ठाउँ पनि छैन।” उहाँले अर्को मानिसलाई भन्नुभयो, “मेरो पछि लाग।” तर त्यसले भन्यो, “प्रभु, पहिले मलाई मेरा बुबाको अन्त्येष्टि गर्न जान दिनुहोस्।” येशूले त्यसलाई भन्नुभयो, “अनि मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्, तर तिमी जाऊ, र परमेश्वरको राज्यको घोषणा गर।” अझै अर्कोले भन्यो, “प्रभु, म तपाईंलाई पछ्याउनेछु, तर पहिले मलाई गएर मेरो परिवारबाट बिदा लिन दिनुहोस्।” येशूले जवाफ दिनुभयो, “आफ्नो हात हलोमा राखेर पछिल्तिर फर्केर हेर्ने कुनै पनि मानिस परमेश्वरको राज्यको सेवामा योग्य हुँदैन।”
लूका 9:51-62 पवित्र बाइबल (NERV)
येशूको स्वर्गारोहणको समय नजीक आउँदै थियो। उहाँले यरूशलेम जाने निश्चय गर्नुभयो। येशूले कोही मानिसहरूलाई आफू भन्दा अघि पठाउनु भयो। ती मानिसहरू येशूको निम्ति प्रत्येक कुरो तयार राख्नलाई सामरियाको एउटा शहरमा गए। तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गर्न मानेनन् किनभने उहाँ यरूशलेम तर्फ जानु हुँदै थियो। याकूब, यूहन्नाले र येशूका चेलाहरूले यी सबै देखे। तिनीहरूले भने, “हे प्रभु, के हामीले स्वर्गबाट आगो बोलाए मानिसहरूलाई भस्म पार्नु भन्ने तपाईं चाहनुहुन्छ?” तर येशूले पछि फर्केर तिनीहरूलाई हप्काउनु भयो। त्यसपछि येशू र उहाँका चेलाहरू अर्का शहरतिर लाग्नु भयो। उनीहरू सबै नै बाटोम जाँदैथिए। कुनै एकले उहाँलाई भने, “तपाईं जहाँ जानुहुन्छ म पनि तपाईंसँगै जान्छु।” येशूले भन्नुभयो, “स्यालहरूको बस्ने दूलोहरू छन्। चरा-चुरुङ्गीहरूको बस्ने गुँडहरू छन्। तर मानिसको पुत्रलाई कुनै ठाउँ छैन जहाँ उसले आफ्नो शिर अडाउन सकोस्।” येशू ले अर्को मानिसलाई भन्नु भयो, “मेरो पछि लाग।” तर त्यो मानिसले भन्यो, “हे प्रभु, पहिले मेरा बाबुलाई गाड्न जान दिनुहोस्।” तर येशूले तिनलाई भन्नुभयो, “मुर्दाहरूलाई आफ्नै मुर्दा मानिस गाड्न देऊ। तर तिमी जाऊ अनि परमेश्वरको राज्यको विषयमा प्रचार गर।” अर्को मानिसले भने, “प्रभु म तपाईंको पछि लाग्नेछु, तर पहिले मेरो आफन्तहरूबाट बिदा लिन दिनुहोस्।” येशूले भन्नुभयो, “यदि कुनै मानिसले हलोमा हात लगाएर पछिल्तिर हेर्छ भने, त्यो परमेश्वरको राज्यको लायक हुने छैन।”
लूका 9:51-62 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
स्वर्ग जाने समय हुन लागेकोले येशू अठोट लिएर यरूशलेमतिर लाग्नुभयो। येशूले ‘पहिले नै सबै कुरा तयार पार्दै गर’ भनेर केही मानिसहरूलाई सामरिया क्षेत्रको एउटा गाउँमा पठाउनुभयो। तर उहाँ यरूशलेम जाँदै हुनुहुन्छ भन्ने कुरा थाहा पाएर कसैले पनि उहाँको स्वागत-सत्कार गरेनन्। यो देखेर याकूब र यूहन्नाले येशूलाई भने, “प्रभु, स्वर्गबाट आगो झारेर हामी तिनीहरूलाई नाश गरौं भन्ने तपाईं चाहनुहुन्छ?” तर येशूले फनक्क फर्केर तिनीहरूलाई त्यसो भनेकोमा हप्काउनुभयो। [अनि यसरी भन्नुभयो, “तिमीहरूमा कस्तो खालको मन हुनुपर्छ, त्यो त तिमीहरूले बुझेकै रहेनछौ। म मानव पुत्र त मानिसहरूलाई नाश गर्न भनेर होइनँ, तर तिनीहरूलाई बचाउन पो आएको हुँ।”] त्यसपछि उहाँ तिनीहरूलाई लिएर अर्को गाउँमा जानुभयो। येशू र उहाँका चेलाहरू गइरहँदा एक जना मानिस आएर येशूलाई भने, “जहाँ गए पनि म तपाईंको पछि जानेछु।” येशूले तिनलाई जवाफ दिनुभयो, “हेर, स्यालहरूका लुक्ने ओडार छन्, चरा-चुरुङ्गीका गुँडहरू छन्, तर म मानव पुत्रको भने आराम गर्ने ठाउँसम्म पनि छैन।” अनि अर्का एक जना मानिसलाई येशूले भन्नुभयो, “मेरो पछि लाग!” तर तिनले भने, “गुरुज्यू, पहिले गएर मेरो बुबाको लाश गाड्न दिनुहोस्।” तिनलाई चाहिँ येशूले जवाफ दिनुभयो, “मुर्दाहरूलाई मुर्दाहरूले नै गाडून्। तर तिमीचाहिँ गएर परमेश्वरको राज्यको प्रचार गर।” फेरि अर्को एक जना मानिसले येशूलाई भन्यो, “हजुर, म तपाईंको चेला हुन चाहन्छु, तर म पहिले घरबाट बिदा हुन पाऊँ।” तिनलाई चाहिँ येशूले भन्नुभयो, “हलो जोत्दा पछिल्तिर फर्कंदै हेरिरहने मानिसचाहिँ परमेश्वरको राज्यको निम्ति काम लाग्दैन।”