लूका 8:46-50
लूका 8:46-50 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर येशूले भन्नुभयो, “कसैले मलाई छोएकै हो, किनभने शक्ति मबाट निस्केर गएको मैले थाहा पाएँ।” अब आफू लुकिरहन नसक्ने कुरा थाहा पाएर त्यो स्त्री काम्दै आई र उहाँको सामुन्ने घोप्टो परी, र किन त्यसले उहाँलाई छोई, अनि कसरी तुरुन्तै निको भई, सो सब मानिसहरूका सामु बताइदिई। उहाँले त्यसलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसँग जाऊ।” उहाँ बोल्दैहुनुहुन्थ्यो, सभाघरका शासकको घरबाट एक जना मानिस आइपुग्यो, र भन्यो, “तपाईंकी छोरी मरी। अब गुरुलाई कष्ट नदिनुहोस्।” तर येशूले यो सुनेर याइरसलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर, र त्यो निको हुनेछे।”
लूका 8:46-50 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर येशूले भन्नुभयो, “कसैले मलाई छोएकै हो। मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ।” तब त्यस स्त्रीले आफू उम्केर जान नसक्ने देखेर काम्दै आई, र येशूको पाउमा घोप्टो परी। उसले उहाँलाई किन छोएकी थिई र ऊ कसरी तुरुन्तै निको भई, त्यो कुरा सबै मानिसहरूका सामु बताइदिई। तब उहाँले उसलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ; शान्तिसँग जाऊ!” येशू बोलिरहनुभएकै बेला सभाघरका शासक याइरसको घरबाट एक जना मानिस आइपुग्यो र त्यसले भन्यो, “तपाईंकी छोरीको मृत्यु भइसकेको छ; अब गुरुज्यूलाई कष्ट नदिनुहोस्।” यो सुनेर येशूले याइरसलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर, र ऊ निको हुनेछे।”
लूका 8:46-50 पवित्र बाइबल (NERV)
तर येशूले भन्नुभुयो, “कसैले मलाई छोयो। मैले मबाट शक्ति निस्केर गएको चाल पाएँ।” जब त्यो आईमाईले यी कुराहरू सुनी, ऊ लुक्न सकिन, ऊ काम्दै आई अनि येशूको अघि निहुरिएर दण्डवत गरी। ती जम्मै मानिसहरूको अघि त्यस आइमाईले येशूलाई स्पर्श किन गरी अनि कसरी झट्टै आफ्नो रोगबाट मुक्त भएकी थिई बताई। येशूले त्यस आइमाईलाई भन्नु भयो, “मेरी छोरी, तिम्रो विश्वासले तिमी निको भयौ। शान्तिसँग जाऊ।” जब येशू बात गरिरहनु भएको थियो, एकजना सभा-घरका अगुवा घरबाट आए र भने, “तिम्री छोरी मरिसकेकी छे। अब गुरूलाई कष्ट नदेऊ।” जब येशूले यो कुरा सुन्नु भयो। उहाँले याइरसलाई भन्नु भयो, “नडराऊ केवल विश्वास गर अनि तिम्रो छोरी निको भई हाल्छे।”
लूका 8:46-50 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर येशूले भन्नुभयो, “होइन, कसैले मलाई छोएकै हो किनभने मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ।” अब लुकिरहनुनहुने रहेछ भन्ने थाहा पाएर ती स्त्री डरले काम्दै आइन् र उहाँको पाउमा परिन्। तिनले उहाँलाई छोएको र छुनेबित्तिकै निको भएको कुरा सबैको सामुन्ने भनिन्। येशूले तिनलाई भन्नुभयो, “ए छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, अब शान्तिसित जाऊ।” येशूले यसो भन्दाभन्दै याइरसका घरबाट एक जना मानिस आएर याइरसलाई भने, “हजुरकी छोरी त मरिसकी, अब गुरुलाई दु:ख नदिनुहोस्।” तर यो कुरा सुनेर येशूले याइरसलाई भन्नुभयो, “हरेस नखाऊ, विश्वास मात्र गर, तिम्री छोरी बाँच्नेछे।”