लूका 8:22-27
लूका 8:22-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एक दिन उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढ्नुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, “हामी तालको पारिपट्टि जाऔं।” र उहाँहरू डुङ्गामा चढ़ी जानुभयो। डुङ्गामा जाँदैगर्दा उहाँ निदाउनुभयो। तालमा आँधीबेहरी चल्न लाग्यो। डुङ्गा पानीले भरिन लाग्यो, र तिनीहरू आपत्मा परे। अनि तिनीहरूले नजिक आएर उहाँलाई यसो भन्दै ब्यूँझाए, “गुरुज्यू, गुरुज्यू, हामी डुब्न लाग्यौं।” उहाँले उठेर बतास र प्रचण्ड लहरलाई हकार्नुभयो, र ती थामिए अनि सबै शान्त भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ गयो?” तिनीहरू भयभीत भए, अनि आश्चर्यचकित भए र आपसमा भन्न लागे, “यिनी को हुन्? यिनले बतास र पानीलाई समेत आज्ञा दिन्छन्, अनि तिनीहरू यिनको आज्ञा मान्छन्।” उहाँहरू गेरासेनसको प्रदेशमा आइपुग्नुभयो, जो गालीलको पारिपट्टि छ। जब उहाँ पाखामा उत्रनुभयो तब उहाँले सहरको एक जना मानिस भेट्नुभयो, जसलाई भूत लागेको थियो। त्यसले धेरै समयदेखि लुगा लाउँदैनथियो, र घरमा नबसी त्यो चिहानहरू हुँदो बस्दथ्यो।
लूका 8:22-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक दिन येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हामी तालको पारिपट्टि जाऔँ।” अनि उहाँहरू डुङ्गामा चढेर जानुभयो। तिनीहरू डुङ्गामा जाँदै गर्दा येशू निदाउनुभयो। त्यस तालमा ठूलो आँधी चल्न लाग्यो जसले गर्दा डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू ठूलो खतरामा परे। तब उहाँकहाँ गएर चेलाहरूले यसो भन्दै उहाँलाई बिउँझाए, “गुरुज्यू, गुरुज्यू, हामी त डुब्नै लाग्यौँ!” तब उहाँ उठेर बतास र उर्लंदो पानीको छाललाई हप्काउनुभयो। आँधी थामियो र सबै शान्त भयो। उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास खोइ?” डर र आश्चर्यमा परी तिनीहरूले एक-आपसमा भने, “उहाँ को हुनुहुन्छ? उहाँले आँधी र पानीलाई समेत आज्ञा गर्नुहुन्छ, र तिनीहरूले उहाँको आज्ञा मान्दा रहेछन्।” उहाँहरू डुङ्गामा चढेर गालीलको तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा आइपुग्नुभयो। येशू जब किनारमा उत्रनुभयो, तब भूतआत्माले ग्रसित भएको त्यस सहरको एक जना मानिसले उहाँलाई भेट्यो। धेरै लामो समयदेखि त्यस मानिसले लुगा लगाउँदैनथियो। घरमा बस्दैनथियो; तर चिहानहरूका गुफामा बस्नेगर्थ्यो।
लूका 8:22-27 पवित्र बाइबल (NERV)
एक दिन येशू अनि चेलाहरू एउटा डुङ्गामा चढे। उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ मसित झीलको अर्को पट्टि जाऔं।” अनि तिनीहरू हिँड्न थाले। जब तिनीहरूले डुङ्गा खियाए, येशू निदाउनुभयो। झीलमा एउटा ठूलो आँधी चल्यो। डुङ्गामा पानी भरिन थाल्यो औ तिनीहरू खतरामा पर्न गए। चेलाहरू येशूकहाँ गए अनि उहाँलाई व्यूँझाए। तिनीहरूले भने, “गुरूज्यू! गुरुज्यू! हामी डुब्न लाग्यौं।” येशू उठ्नु भयो। उहाँले आँधी र छालहरूलाई हकार्नु भयो। आँधी थामियो, अनि झील शान्त बन्यो। उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ छ?” चेलाहरू डराए अनि चकित भए। तिनहरू आपसमा कुरा गर्न लागे, “उहाँ कस्ता मानिस हुनुहुन्छ? उहाँ आँधी र छाललाई आज्ञा दिनु हुन्छ अनि तिनीहरू पनि उनको आज्ञा पालन गर्छन्।” तिनीहरू झीलमा डुङ्गा खियाउँदै थिए। उनीहरू गालील पारीको इलाकामा पुगे जहाँ गेरासिन मानिसहरू बस्थे। जब येशू त्यो डुङ्गाबाट उत्रनु भयो, त्यसैबेला शहरबाट आएको एकजना मानिस उहाँलाई भेट्न आए। त्यस मानिसलाई भूत लागेको थियो। त्यस मानिसले धेरै समयदेखि लुगा लाउँदैन थियो। त्यो मानिस घरमा नबसेर चिहान घारीमा बस्थ्यो।
लूका 8:22-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक दिन येशू चेलाहरूसँग नाउमा चढ्नुभयो र उनीहरूलाई “हामी तालको पारिपट्टि जाऔं भन्नुभयो।” उहाँहरू गइहाल्नुभयो। जाँदाजाँदै येशू निदाउनुभयो। तालमा ठूलो आँधीबेहरी चल्न लाग्यो, नाउ पानीले भरिन लाग्यो र तिनीहरू ठूलो आपत्मा परे। त्यसो हुँदा चेलाहरूले आएर येशूलाई उठाउँदै भन्न लागे, “गुरुज्यू, हे गुरुज्यू, हामीहरू त मर्न आँटिसक्यौं।” यो सुनेर येशू उठ्नुभयो र आँधीबेहरीलाई हकार्नुभयो। त्यति नै खेर आँधीबेहरी थामियो र सबै शान्त भइहाल्यो। येशूले चेलाहरूलाई भन्नुभयो, “खै, तिमीहरूको विश्वास?” तिनीहरू छक्कै परे, उहाँको शक्ति देखेकोले डराउँदै यसरी आपसमा कुरा गर्न लागे, “उहाँ को हुनुहुन्छ? उहाँले हकारेपछि त छाल र आँधीबेहरीले समेत उहाँको आज्ञा मान्दा रहेछन्।” येशू र उहाँका चेलाहरू गालील तालको पारि गेरासेनसको मुलुकमा पुग्नुभयो। नाउबाट ओर्लंदा त्यहाँको सहरबाट भूत लागेको मानिस येशूलाई भेट्न आयो। त्यो मानिसले धेरै दिनदेखि लुगा लाउँदैनथ्यो अनि घरमा पनि नबसेर चिहानका गुफाहरूमा बस्ने गर्थ्यो।