लूका 6:27-49
लूका 6:27-49 पवित्र बाइबल (NERV)
“म तिमीहरूलाई भन्दछु जसले मलाई सुनिरहेकाछौ, आफ्ना शत्रुहरूलाई प्रेम गर। जसले तिमीहरूलाई घृणा गर्छन तिनीहरूलाई पनि राम्रै गर। तिमीहरूलाई सराप्नेहरूलाई पनि आशीर्वाद देऊ। तिमीहरूसित दुर्व्यवहार गर्नेहरूको लागि पनि प्रार्थना गर। यदि कसैले तिमीहरूको एउटा गालामा थप्ड लगाए उसलाई अर्को गाला पनि थापि देऊ। यदि कसैले तिम्रो कोट लगेको छ भने उसलाई कमीज लिनु नरोक। जसले माग्छ हरेकलाई देऊ। यदि कसैले तिम्रो केही लगेकोछ भने उसलाई त्यो चीज फर्काई नमाग। अरूबाट तिमी जे चाहन्छौ, अरूको निम्ति पनि त्यही गरी देऊ। “जसले तिमीहरूलाई प्रेम गर्छन् तिनीहरूलाई मात्र प्रेम गरे, तिमीहरू के कुनै प्रशंसाको योग्य हुन सक्छौ? अँहँ। पापीहरू पनि तिनहरूलाई प्रेम गर्नेहरूलाई प्रेम नै गर्दछन्। यदि तिमी ती मानिसहरूको निम्ति मात्र भलाई गर्छौ ज-जसले तिम्रो भलाई गर्छन्, भने के तिमी प्रशंसाको योग्य हुन सक्छौ? होईन, कारण यस्तो त पापीहरूले पनि गर्छन्। यदि फिर्ता पाउने आशामा तिमी कसैलाई ऋण दिन्छौ भने के तिमी प्रशंसाको योग्य हुन सक्छौ? होइन, पापीहरू पनि पापीहरूलाई त्यति नै फिर्ता पाउने आशामा ऋण दिन्छन्। “यसैले आफ्ना शत्रुहरूलाई प्रेम गर। तिनीहरूसँग राम्रो गर, अनि तिनीहरूबाट केही आशा नराखी ऋण देऊ। यदी तिमीहरूले यसो गर्यो भने तिमीहरूले ठूलो इनाम पाउनेछौ, तिमीहरू सर्वौच्च परमेश्वरका सन्तानहरू झैं हुनेछौ किनभने परमेश्वर बैगुनी तथा दुष्टहरू प्रति पनि कृपालु हुनुहुन्छ। जस्तो तिम्रा पिता प्रेमी र दयालु हुनु हुन्छ त्यस्तै प्रेमी र कृपालु बन। “अरूको न्याय नगर, अनि अरूले पनि तिम्रो न्याय गर्ने छैन। अरूलाई भर्त्सना नगर, अनि अरूले पनि तिम्रो भर्त्सना गर्दैन। अरूलाई क्षमा गर, अनि तिमीले पनि क्षमा पाउनेछौ। अरूलाई दिने गर अनि तिमीले पनि पाउनेछौ। तिमीहरूले राम्रो ओजनमा पाउनेछौं, तिमीहरूलाई खाँदी खाँदी हल्लाँउदै काखमा पोखिने गरी पाउनेछौ जुन नापले तिमी अरूलाई दिंदछौ परमेश्वरले पनि तिमीहरूलाई त्यही नापले दिनु हुनेछ।” येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नु भयोः “के एउटा अन्धाले अर्को अन्धालाई डोर्याउन सक्छ? अँहँ! दुवै नै खाडलमा पर्नेछन्। एउटा शिष्य आफ्नो गुरूभन्दा माथि हुन सक्तैन। तर प्रत्येक मानिस जसले पूर्णरूपले सिकिसक्छ तब मात्र उ गुरू झैं बन्नसक्छ। “जब तिमी आफ्नो आँखमा सानो छेस्का पसेको थाहा पाउदैनौ, भाइको आँखमा परेको धुलो किन देख्छौ? तिमीहरूले कसरी आफ्नो भाइलाई भन्न सक्छौ, ए भाइ मलाई तिम्रो आँखामा भएको धुलो निकाल्न देऊ। जब तिमीहरूले आफ्नो आँखामा परेको ठूलो छेस्कालाई पनि देख्न सक्तैनौ। तिमीहरू कपटी छौ। पहिले, तिमीहरू आफैंले आफ्नो आँखबाट ठूलो छेस्का निकाल। त्यसपछि तिमीहरूले स्पष्टसँग तिमीहरूको भाइको आँखामा परेको धुलो निकाल्न सक्नेछौ। “एउटा असल बोटले खराब फल कहिल्यै दिँदैन। त्यसरी नै एउटा नराम्रो बोटले राम्रो फल दिनु सक्तैन। हरेक बौट त्यसले दिएको फलबाट चिन्न सकिन्छ। मानिसहरूले काँडे पोथ्राबाट नेभारा बटुल्न सक्तैनन्। अनि तिनीहरूले काँडे पोथ्राबाट अंङ्गुर बटुल्न सक्तैनन्। एउटा असल मानिसले आफ्नो हृदयमा असल कुरा नै राख्छ। अनि उसले आफ्नो हृदयबाट असल कुरा बाहिर निकाल्दछ। तर एउटा दुष्ट मानिसले आफ्नो हृदयमा दुष्ट कुराहरू नै राखेको हुन्छ। अनि उसले नराम्रा कुराहरू नै बाहिर निकाल्दछ। जुन कुरो हृदयमा परिपूर्ण छ त्यही नै मुखबाट निस्कन्छ। “जब मैले भनेको मान्दैनौ भने किन मलाई प्रभु, भन्दछै? हरेक मानिस जब मकहाँ आउँदछ अनि मेरो वचनहरू सुन्दछ र पालन गर्छ, म तिमीहरूलाई ऊ कस्तो हो देखाउनेछु। ऊ एकजना घर बनाउने मानिस जस्तै नै हो। उसले गहिरो खनेर बलियो चट्टानमाथि जग बसाल्न सक्नेछ। जति बेला नदीमा बाढी आँउछ पानीले घरलाई धक्का दिन्छ तर त्यसले घरलाई हल्लाउन सक्तैन कारण त्यो घर राम्ररी बनिएको हुन्छ। “तर जो मानिस मेरो वचन सुन्छ तर पालन गर्दैन भने त्यो मानिस राम्ररी आधार नबसाई घर बनाउने मानिस जस्तै हो जसको घर नदीको बाढीको झोंक्का लाग्दा नै झट्टै पल्टिन्छ र सम्पूर्ण रूपले ध्वंश हुन्छ।”
लूका 6:27-49 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तर तिमी सुन्नेहरूलाई म भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर, सराप्नेहरूलाई आशीर्वाद देओ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। तिमीलाई एक गालामा चड्काउनेलाई अर्को पनि थापिदेओ, र तिम्रो खास्टो खोस्नेलाई तिम्रो दौरा पनि लान देओ। तिमीसित माग्ने हरेकलाई देओ, र तिम्रो चीजबीज लानेसँग फेरि नमाग। जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्यसै गर। “तिमीहरूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो? किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछन्। तिमीहरूको भलाइ गर्नेहरूलाई भलाइ गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि पापीहरूले पनि त्यसै गर्दछन्। यदि फिर्ता पाउने आशा राखेर कसैलाई ऋण दिन्छौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि फेरि उत्ति नै पाउने आशा राखेर पापीहरूले पापीहरूलाई ऋण दिन्छन्। तर आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाइ गर। फेरि पाउने आशा नराखी ऋण देओ, र तिमीहरूको इनाम ठूलो हुनेछ, अनि तिमी सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ। तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ। “अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ। देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त परिमाणमा खाँदीखाँदी बेसरी हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्। किनकि जुन नापले तिमीहरू दिन्छौ, त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।” अनि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो: “के अन्धाले अन्धालाई डोर्याउन सक्छ? के तिनीहरू दुवै खाड़लमा पर्दैनन् र? चेला आफ्ना गुरुभन्दा श्रेष्ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ आफ्ना गुरुजस्तै हुनेछ। “आफ्नो भाइको आँखामा भएको छेस्को तिमी किन देख्तछौ, तर आफ्नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ? तिमी आफ्नो आँखामा भएको मूढ़ा देख्दैनौ भने, आफ्नो भाइलाई ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को मलाई निकाल्न देऊ’ भनी तिमी कसरी भन्न सक्छौ? ए कपटी, पहिला आफ्नै आँखाबाट मूढ़ा निकाल, र तब तिमीले भाइको आँखामा भएको छेस्को निकाल्नलाई छर्लङ्गै देख्न सक्छौ। “कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ। हरेक रूख त्यसको फलैबाट चिनिन्छ। किनभने काँढ़ाका झाँगबाट कसैले अञ्जीर बटुल्दैन, न त पोथ्राबाट अंगूर बटुल्दछ। असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ, र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्ट थोक नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, मानिसको मुखबाट त्यही निस्कन्छ। “मैले भनेका कुरा गर्दैनौ भने किन मलाई ‘प्रभु, प्रभु,’ भन्दछौ? जो मकहाँ आउँछ, मेरा वचन सुन्छ र तीअनुसार गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई बताउनेछु। त्यो एक जना घर बनाउने मानिसजस्तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्यो। अनि जब भल चल्यो, र जलप्रवाह उर्लिआएर त्यस घरमा ठोकियो, तब त्यस घरलाई हल्लाउन सकेन, किनकि त्यो पक्का बनाइएको थियो। तर जसले सुन्छ र पनि त्यसअनुसार गर्दैन, त्यो एक जना यस्तो मानिस हो, जसले जमिनमाथि जगविनाको घर बनायो। जब त्यस घरमाथि भल आएर ठोकियो, तब त्यो घर तुरुन्तै ढल्यो, र त्यस घरको ठूलो सर्वनाश भयो।”
लूका 6:27-49 नेपाली समकालीन संस्करण (NCV)
“तर मेरा कुरा सुन्नेहरूलाई म भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीलाई घृणा गर्नेहरूलाई भलाइ गर। तिमीलाई सराप्नेहरूलाई आशीर्वाद देओ, र नराम्रो व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। यदि कसैले तिमीलाई एउटा गालामा हिर्कायो भने, अर्को गाला पनि थापिदेओ। यदि कसैले तिम्रो खास्टो खोस्छ भने, तिम्रो दौरा पनि लैजान देओ। तिमीहरूसँग माग्ने सबैलाई देओ; र तिम्रो कुनै चीज कसैले लैजान्छ भने, ऊसँग त्यो फेरि फिर्ता नमाग। अरूहरूप्रति त्यही व्यवहार गर, जस्तो तिमीहरू तिनीहरूबाट चाहन्छौ। “यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र तिमीहरू प्रेम गर्छौ भने तिमीलाई के लाभ भयो र? पापीहरूले पनि त तिनीहरूलाई प्रेम गर्नेलाई प्रेम गर्दछन्। अनि यदि तिमीलाई भलो गर्नेहरूलाई मात्र भलाइ गर्दछौ भने तिमीलाई के लाभ भयो र? पापीहरूले पनि त त्यस्तै गर्दछन्। यदि फिर्ता गर्न सक्ने मानिसहरूलाई मात्र ऋण दिन्छौ भने तिमीलाई के लाभ भयो र? पूरा फिर्ता पाउने आशाले पापीहरूले पनि त पापीहरूलाई ऋण दिँदछन्। तर आफ्ना शत्रुहरूलाई प्रेम गर, तिनीहरूलाई भलाइ गर, र केही पनि फिर्ता नलिने आशा गरी तिनीहरूलाई ऋण देओ; तब तिमीहरूको इनाम ठूलो हुनेछ, र तिमीहरू सर्वोच्चका सन्तान ठहरिनेछौ; किनकि परमेश्वर बैगुनी र दुष्टहरूप्रति पनि दयालु हुनुहुन्छ। तिमीहरू पनि कृपालु होओ, जसरी तिमीहरूका स्वर्गीय पिता कृपालु हुनुहुन्छ। “न्याय नगर, र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमी पनि दोषी ठहराइने छैनौ। क्षमा गर, तब तिमीलाई पनि क्षमा गरिनेछ। देऊ, अनि तिमीलाई पनि दिइनेछ। प्रशस्त मात्रामा, खाँदी-खाँदी, हल्लाई-हल्लाई, र भरिएर पोखिने गरी तिम्रा पोल्टामा खन्याइनेछ। किनकि जुन नापले तिमीहरू दिँदछौ, त्यही नापमा तिमीहरूलाई पनि दिइनेछ।” उहाँले तिनीहरूलाई यो दृष्टान्त पनि भन्नुभयो: “के कुनै दृष्टिविहीनले अर्को दृष्टिविहीनलाई डोर्याउन सक्छ र? के तिनीहरू दुवै नै खाडलमा पर्दैनन् र? चेला गुरुभन्दा श्रेष्ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ गुरुजस्तै हुनेछ। “तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखामा भएको मुढाका विषयमा भने विचार नै गर्दैनौ? तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्न सक्छौ, जब तिम्रो आफ्नै आँखामा भएको मुढाचाहिँ देख्दैनौ? ए कपटी, पहिले आफ्नै आँखाबाट मुढा निकाल, अनि पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्न सक्नेछौ। “कुनै असल रूखले खराब फल फलाउँदैन, न ता खराब रूखले असल फल फलाउँछ। हरेक त्यसको आफ्नो फलबाटै रूख चिनिन्छ। मानिसहरूले काँडाका झाँगबाट अञ्जीर टिप्दैनन्, न ता ऐँसेलुको झाँगबाट अङ्गुर बटुल्छन्। असल मानिसले आफ्नो हृदयमा थुपारेको असल भण्डारबाट असल कुराहरू बाहिर निकाल्छ र दुष्ट मानिसले आफ्नो हृदयमा थुपारेको दुष्ट भण्डारबाट दुष्ट कुराहरू नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ। “मैले भनेका कुरा गर्दैनौ भने मलाई किन ‘प्रभु, प्रभु’ भन्दछौ? जो मकहाँ आउँछ, मेरा वचन सुन्छ र तीअनुसार गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई भन्छु। त्यो एउटा घर बनाउने मानिसजस्तै हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्यो। जब बाढी आयो, र पानीको भल त्यस घरमा ठोक्कियो, त्यसले त्यो घरलाई हल्लाउन सकेन; किनकि त्यो राम्रोसँग बनाइएको थियो। तर मेरो वचन सुन्ने, र तीअनुसार काम नगर्नेचाहिँ जग नै नहालिकन जमिनमाथि मात्र घर बनाउने मानिसजस्तै हो। त्यस घरमा भल ठोक्किने बित्तिकै, त्यो भत्क्यो र पूर्ण रूपले नाश भयो।”
लूका 6:27-49 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“तर मेरा शिक्षा सुन्ने तिमीहरूलाई म भन्छु, शत्रुहरूलाई प्रेम गर अनि आफूलाई हेला गर्नेलाई भलाइ गर। तिमीहरूलाई सराप्नेहरूलाई आशीर्वाद देओ। तिमीहरूलाई कसैले नराम्रो गर्छ भने उसको भलाइको लागि प्रार्थना गर। कसैले तिमीलाई एउटा गालामा हिर्काउँछ भने अर्को गाला पनि थापिदेओ। तिम्रो कोट लान खोज्नेलाई कमिज पनि लान देओ। माग्नेहरूलाई देओ, लानेहरूसँग फिर्ता नमाग। अरूले तिमीहरूलाई जे गरिदिएको चाहन्छौ, त्यही नै तिमीहरूले पनि अरूहरूलाई गर। “माया गर्नेहरूलाई मात्र माया गर्छौ भने तिमीहरूलाई के स्याबासी छ? पापीहरूले पनि त आफूलाई माया गर्नेहरूलाई त्यसै गर्छन्। फेरि आफूलाई भलाइ गर्नेहरूलाई मात्र भलाइ गर्छौ भने तिमीहरूले के भलाइ गर्यौ र? पापीहरूले पनि त त्यसै गर्छन्! यदि तिर्न सक्नेलाई मात्र ऋण दिन्छौ भने तिमीहरूलाई के स्याबासी छ र? पापीहरूले पनि त तिर्न सक्ने पापीलाई ऋण दिन्छन्! त्यसो होइन, शत्रुहरूलाई माया गर, सबैको भलाइ गर र ऋण माग्नेहरूलाई फिर्ता लिने आशै नराखी ऋण देओ। त्यसो गर्यौ भने तिमीहरूले ठूलो इनाम पाउनेछौ र तिमीहरू महान् परमेश्वरका सन्तान कहलिनेछौ। परमेश्वरले त बैगुनी र दुष्टलाई पनि दया गर्नुहुन्छ। परमेश्वर पिता जस्तो दयालु हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै दयालु होओ। “अरूलाई दोष नलगाओ अनि परमेश्वरले पनि तिमीहरूलाई दोष लगाउनुहुनेछैन। अरूको गल्ती खोज्ने नगर अनि परमेश्वरले पनि तिमीहरूको गल्ती खोज्नुहुनेछैन। अरूलाई माफ देओ अनि परमेश्वरले पनि तिमीहरूलाई माफ दिनुहुनेछ। अरूलाई देओ अनि परमेश्वरले पनि तिमीहरूलाई दिनुहुनेछ। उहाँले त खाँदीखाँदी झुसी पारेर दिनुहुनेछ। जुन नापले तिमीहरू अरूहरूलाई दिन्छौ, त्यही नापले तिमीहरूले पनि पाउनेछौ।” येशूले तिनीहरूलाई उदाहरण दिँदै यसरी भन्नुभयो, “के अन्धाले अन्धालाई डोर्याउन सक्छ? यदि डोर्यायो भने ती दुवै खाडलमापर्नेछन्? कुनै पनि चेला आफ्नो गुरुभन्दा ठूलो हुँदैन, तर सिकिसकेपछि भने ऊ गुरुजस्तै हुन्छ। “अर्काको आँखाको सिन्का देख्नेले आफ्नो आँखाको मुढो किन देख्दैनौ? आफ्नो आँखाको मुढो पनि नदेख्नेले आफ्नो दाजुभाइलाई कसरी भन्न सक्छौ, ‘खै-खै, तिम्रो आँखाको सिन्का निकालिदिऊँ।’ ए कपटीहरू हो! पहिले आफ्नो आँखाको मुढो निकाल अनि पो अर्काको आँखाको सिन्का निकाल्न छर्लङ्गै देख्न सक्नेछौ। “असल रूखमा खराब फल फल्दैन नता खराब रूखमा असल फल फल्न सक्छ। कुनै पनि रूख त्यसको फलबाट चिनिन्छ। काँडाका झ्याङबाट नेभारा टिपिंदैन नता अङ्गुर नै बटुलिन्छ। असल मानिसले आफ्नो मनमा भएको असल कुराको ढुकुटीबाट असल कुरा नै निकाल्छ। खराब मानिसले आफ्नो मनमा भएको खराब कुराको ढुकुटीबाट खराब कुरा नै निकाल्छ किनभने जे मनमा छ, त्यही कुरा मानिसले बोल्दछ। “मैले भनेका कुरा मान्दैनौ भने तिमीहरू किन मलाई प्रभु भन्छौ? मकहाँ आएर मेरा कुरा सुन्ने र मैले भनेको मान्ने मानिसचाहिँ कस्तो हुन्छ, म तिमीहरूलाई भन्छु। ऊ एउटा घर बनाउने मानिसजस्तै हुन्छ, जसले गहिरो गरी खनेर आफ्नो घरको जग चट्टानमाथि बनायो। पानी उर्लेर बाढी आउँदा पनि त्यो घर पक्का गरी बनाइएको हुनाले बाढीले त्यसलाई भत्काउन सकेन। तर मेरो कुरा सुनेर नमान्नेचाहिँ जग नहाली घर बनाउने मानिसजस्तै हुन्छ। बाढी आउँदा त्यसको घर ढलेर भताभुङ्गै भयो।”