लूका 6:17-23
लूका 6:17-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ तिनीहरूसँग तल ओर्लेर एउटा समतल जग्गामा खड़ा हुनुभयो। उहाँका शिष्यहरूको एउटा ठूलो भीड, र समस्त यहूदिया र यरूशलेम, र समुद्र तटवर्ती टुरोस र सीदोनका इलाकाबाट ठूलो भीड उहाँका वचन सुन्नलाई र आ-आफ्ना रोगबाट निको हुनलाई आएका थिए। अशुद्ध आत्माहरूबाट पीडितहरू पनि निको भए। सारा भीड़ले उहाँलाई छुन खोज्दथियो, किनकि शक्ति उहाँबाट निस्किरहेको थियो, र तिनीहरू सबैलाई निको पार्दथियो। तब उहाँले आफ्ना चेलाहरूमाथि नजर उचालेर भन्नुभयो: “धन्य तिमी, दीन हुनेहरू, किनभने परमेश्वरको राज्य तिमीहरूकै हो। धन्य तिमी, अहिले भोकाउनेहरू, किनभने तिमीहरू तृप्त हुनेछौ। धन्य तिमी, अहिले रुनेहरू, किनभने तिमीहरू हाँस्नेछौ। धन्य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन्, र बहिष्कार गर्नेछन्, र गिल्ला गर्नेछन्, र दुष्ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्नेछन्। “त्यस दिन रमाओ, र खुसीले उफ्र, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे।
लूका 6:17-23 नेपाली समकालीन संस्करण (NCV)
अनि येशू तिनीहरूसँगै तल ओर्लनुभयो र समतल ठाउँमा उभिनुभयो। उहाँका चेलाहरूको एउटा ठूलो भीडका साथै समस्त यहूदिया प्रदेश, यरूशलेम, सीदोन र टायरका समुद्र तटवर्ती इलाकाबाट आएका धेरै मानिसहरू त्यहाँ थिए, जो उहाँका वचन सुन्न र आ-आफ्ना रोगहरूबाट निको हुन त्यहाँ आएका थिए। अशुद्ध आत्माले सताइएकाहरू निको भए। अनि सबै मानिसहरूले उहाँलाई छुने प्रयास गर्न लागे, किनकि उहाँबाट शक्ति निस्किरहेको र तिनीहरू सबैलाई निको पार्दैथियो। आफ्ना चेलाहरूलाई हेरेर उहाँले भन्नुभयो: “धन्य तिमी दीन हुनेहरू, किनकि परमेश्वरको राज्य तिमीहरूकै हो। धन्य तिमी अहिले भोकाउनेहरू, किनकि तिमीहरू तृप्त हुनेछौ। धन्य तिमी अहिले रुनेहरू, किनकि तिमीहरू हाँस्नेछौ। तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूलाई मानिसका पुत्रलाई पछ्याएको कारण घृणा गर्छन्, बहिष्कार र अपमान गर्छन्, र दुष्ट ठानी तिमीहरूका नाउँलाई इन्कार गर्छन्। “तब त्यस दिनमा रमाओ र आनन्दले उफ्र; किनकि स्वर्गमा तिमीहरूको लागि ठूलो प्रतिफल छ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई पनि यस्तै नै व्यवहार गरेका थिए।
लूका 6:17-23 पवित्र बाइबल (NERV)
येशू र प्रेरितहरू डाँडाबाट ओर्लेर आए। उहाँ त्यहीं एउटा सम्म जग्गामा उभिनु भयो। उहाँका चेलाहरूको एउटा ठूलो भीड त्यहाँ थियो। अनि टायर र सायडन सागर तटका शहरहरूबाट र यहूदियाका सबै ठाउँबाट, यरूशलेमबाट आएका धेरै मानिसहरू पनि त्यहाँ थिए। तिनीहरू सबै त्यहाँ उहाँबाट सुन्न र आफूलाई निरोगी पार्न आएका थिए। उहाँले शैतान दुष्टात्माले पीडित मानिसहरूलाई निको पारिदिनु भयो। सबैले येशूलाई छुने चेष्टा गरिरहेका थिए किनभने ती सबैलाई निको पार्दै उहाँबाट शक्ति बाहिर निस्किरहेथ्यो। उहाँले आफ्ना चेलाहरूलाई हेर्नु भयो अनि भन्नु भयो, “हे दीन मानिसहरू, तिमीहरू धन्यका हौ, किनभने परमेश्वरको राज्य तिमीहरूकै हो। तिमीहरू, जो अहिले भोकाएका छौ, तिमीबरू धन्यका हौ, किनभने तिमीहरू तृप्त हुनेछौ। तिमीहरू, जो अहीले रोइरहेका छौ तिमीहरू धन्यका हौ, किनभने तिमीहरू खुशीसँग हाँस्नेछौ। “मानिसको पुत्रको कारण यदि तिमीहरूलाई मानिसहरूले घृणा गरे, आफ्नो समूहबाट निकाली दिए, तीनीहरूले निन्दा गरे, तिनीहरूले तिमीहरूलाई अस्वीकारे तिमीहरू धन्य हौ। त्यसबेला रमाऊ अनि खुशीले उफ्र, किनभने स्वर्गमा तिमीहरूले ठूलो इनाम पाउनेछौ। तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे, त्यसरीनै ती मानिसहरूले तिमीहरूलाई पनि त्यही व्यवहार गर्नेछन्।
लूका 6:17-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू चेलाहरूसँगै डाँडाबाट ओर्लनुहुँदा उहाँहरू एउटा चउरमा आइपुग्नुभयो। त्यहाँ धेरै चेला र अरू मानिसहरूको समेत ठूलो घुइँचो लागेको थियो। यहूदिया क्षेत्रका सबैतिरबाट, यरूशलेम सहरबाट अनि समुद्रको किनारमा परेका टुरोस र सीदोन सहरबाट अनगिन्ती मानिसहरू आएर त्यहाँ जम्मा भएका थिए। तिनीहरू उहाँको शिक्षा सुन्न र रोगहरूबाट निको हुन आएका थिए। भूत लागेर दु:ख पाएका मानिसहरू पनि निको भए। सबै मानिसहरूले उहाँलाई छुन खोजे किनभने उहाँबाट निक्लेको शक्तिले सबै जना निको भए। त्यसपछि येशूले आफ्ना चेलाहरूलाई हेरेर भन्नुभयो, “हे गरीब हो! तिमीहरू कति धन्य हौ किनभने परमेश्वरको राज्य तिमीहरूकै हो। हे भोकाउनेहरू हो! तिमीहरू कति धन्य हौ किनभने तिमीहरू अघाउनेछौ। हे रुनेहरू हो! तिमीहरू कति धन्य हौ किनभने तिमीहरू रमाउनेछौ। “म मानव पुत्रमाथि विश्वास गरेकोले मानिसहरूले तिमीहरूलाई हेला गरे, समाजबाट निकाले, निन्दा गरे र तिमीहरूको बदनाम गरे भने तिमीहरू धन्य हौ। त्यति बेला खुसीले नाच्दै रमाओ किनभने हेर, तिमीहरूका लागि स्वर्गमा ठूलो इनाम राखिएको छ। उहिलेका अगमवक्ताहरूलाई पनि तिमीहरूलाई सताउनेका पिता-पुर्खाहरूले ठीक त्यस्तै गरी सताएका थिए।”