लूका 4:9-13
लूका 4:9-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब त्यसले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राख्यो, र उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हामफाल्नुहोस्। किनभने लेखिएको छ, ‘उहाँले तिम्रो रक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’ र ‘तिनीहरूले तिमीलाई हात-हातै थाम्नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।” येशूले त्यसलाई जवाफ दिनुभयो, “यसो भनिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू’।” दियाबलसले उहाँलाई सबै परीक्षा गरिसकेपछि अनुकूल समय नभएसम्म उहाँलाई छोड़ेर गयो।
लूका 4:9-13 नेपाली समकालीन संस्करण (NCV)
तब शैतानले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राख्यो र भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट हाम फाल्नुहोस्। किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘उहाँले तपाईंको सम्बन्धमा होसियारीसाथ सुरक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ, अनि तिनीहरूले तपाईंलाई तिनीहरूका हातमा उचाल्नेछन्, ताकि तपाईंको खुट्टा कुनै ढुङ्गामाथि नबजारियोस्।’ ” येशूले जवाफ दिनुभयो, “यसो लेखिएको छ: ‘तैंले प्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू।’ ” शैतानले उहाँको परीक्षा गर्ने यी सबै काम सकेपछि, अनुकूल समय नभएसम्म उहाँलाई छोडेर गयो।
लूका 4:9-13 पवित्र बाइबल (NERV)
तब त्यो शैतानले येशूलाई यरूशलेममा पुर्यायो अनि उहाँलाई मन्दिरको टुप्पामा उभ्यायो। त्यसले येशूलाई भन्यो, “यदि तपाईं परमेश्वरको पुत्र हुनुहुनछ भने यहाँबाट फालहान्नु होस्! किनभने धर्मशास्त्रमा यो लेखिएको छ, ‘उहाँले तिम्रो रक्षाको लगि आफ्नो स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ।’ यो पनि लेखिएको छ, ‘तिनीहरूले तिमीलाई हात-हातै थाम्नेछन्, जसद्वारा तिम्रो पाउ ढुङ्गामा बजारिने छैन।’” येशूले उत्तर दिनु भयो, “यो पनि धर्मशास्त्रमा भनिएको छ, ‘तिमीले परमप्रभु तिम्रो परमेश्वरको परीक्षा लिनु हुँदैन।’” शैतानले येशूलाई प्रत्येक पक्षबाट सताई सके पछि उसको अनुकूल समय नआउन्जेल सम्मका निम्ति छोडेर गयो।
लूका 4:9-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब शैतानले येशूलाई यरूशलेममा लग्यो र मन्दिरको टुप्पामा पुर्याएर भन्यो, “यदि साँच्चै तपाईं परमेश्वरकै पुत्र हुनुहुन्छ भने लौ तपाईं यहाँबाट तल हामफाल्नुहोस् किनभने धर्मशास्त्रमा यसरी लेखिएको छ– तिम्रो हेरचाहा गर्न परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई खटाउनुहुनेछ र तिम्रो खुट्टामा ढुङ्गाले चोट नलागोस् भनेर तिनीहरूले तिमीलाई हात-हातमै थाम्नेछन्।” येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो पनि भनिएको छ– तैँले परमप्रभु आफ्ना परमेश्वरको जाँच नगर्।” शैतानले येशूलाई अनेक किसिमले परीक्षामा पारेर पापमा फसाउन खोजिसकेपछि फेरि मौका नपरूञ्जेलसम्मको लागि छोडेर गयो।