लूका 4:3-13
लूका 4:3-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब दियाबलसले उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई आज्ञा गर्नुहोस्, र त्यो रोटी बनोस्।” येशूले त्यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र जीवित रहँदैन’।” त्यसले उहाँलाई एउटा उच्च स्थानमा लगेर एकै क्षणमा जगत्का सबै राज्यहरू देखायो। दियाबलसले उहाँलाई भन्यो, “म यो सारा अधिकार र यिनको गौरव तपाईंलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु। तपाईंले मलाई दण्डवत् गर्नुभयो भने यी सबै तपाईंका हुनेछन्।” येशूले त्यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू’।” तब त्यसले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राख्यो, र उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हामफाल्नुहोस्। किनभने लेखिएको छ, ‘उहाँले तिम्रो रक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’ र ‘तिनीहरूले तिमीलाई हात-हातै थाम्नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।” येशूले त्यसलाई जवाफ दिनुभयो, “यसो भनिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू’।” दियाबलसले उहाँलाई सबै परीक्षा गरिसकेपछि अनुकूल समय नभएसम्म उहाँलाई छोड़ेर गयो।
लूका 4:3-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब शैतानले उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई रोटी भइजा भनी आज्ञा दिनुहोस्।” येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन।’” शैतानले उहाँलाई एउटा उच्च स्थानमा लग्यो र एकै क्षणमा संसारका सबै राज्यहरू देखायो। अनि त्यसले उहाँलाई भन्यो, “यी राज्यका सबै अधिकार र गौरव म तपाईंलाई दिनेछु; किनकि यी सबै थोक मलाई दिइएका छन्, र म जसलाई चाहन्छु, त्यसलाई यो दिन सक्छु। यदि तपाईंले मलाई दण्डवत् गर्नुभयो भने यी सबै तपाईंका हुनेछन्।” येशूले जवाफ दिनुभयो, “लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्वरलाई दण्डवत् गर्नू र उहाँको मात्र सेवा गर्नू।’” तब शैतानले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राखेर भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्। किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘उहाँले तिम्रो सम्बन्धमा होसियारीसाथ सुरक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ, अनि तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्, ताकि तिम्रो खुट्टा ढुङ्गामाथि नबजारियोस्।’” येशूले जवाफ दिनुभयो, “यसो लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू।’” शैतानले उहाँको परीक्षा गर्न यी सबै काम सकेपछि अनुकूल समय नहोउन्जेलसम्म उहाँलाई छोडेर गयो।
लूका 4:3-13 पवित्र बाइबल (NERV)
शैतानले उहाँलाई भन्यो, “यदि तिमी परमेश्वरको पुत्र हौ भने, यो ढुङ्गालाई रोटी बनिने आज्ञा देऊ।” उहाँले उत्तर दिनुभयो, “धर्माशास्त्रमा यो लेखिएको छः ‘रोटी खाएर मात्र मानिसहरू जीउँदो रहँदैन।’” तब शैतानले येशूलाई एउटा अग्लो ठाँउमा लग्यो अनि एकै क्षण्मा पृथ्वीभरी रहेका सवै राज्यहरू देखायो। तब शैतानले येशूलाई भन्यो, “म तपाँईलाई यी सबै राज्यहरूको अधिकार, शक्तिहरू र तिनीहरूमा भएको गौरवसँगै दिनेछु। यी सबै मलाई दिइएको छ। म यी सब कसैलाई पनि दिनसक्छु। यदि तपाँईले मलाई उपासना गरे म यी सब तपाईंलाई दिनेछु।” उहाँले उत्तर दिनुभयो, “धर्मशास्त्रमा यो लेखिएको छ, ‘तिमीले परमप्रभु तिम्रो परमेश्वरको उपासना गर्नु पर्छ। अनि उहाँको मात्र सेवा गर्नुपर्छ!’” तब त्यो शैतानले येशूलाई यरूशलेममा पुर्यायो अनि उहाँलाई मन्दिरको टुप्पामा उभ्यायो। त्यसले येशूलाई भन्यो, “यदि तपाईं परमेश्वरको पुत्र हुनुहुनछ भने यहाँबाट फालहान्नु होस्! किनभने धर्मशास्त्रमा यो लेखिएको छ, ‘उहाँले तिम्रो रक्षाको लगि आफ्नो स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ।’ यो पनि लेखिएको छ, ‘तिनीहरूले तिमीलाई हात-हातै थाम्नेछन्, जसद्वारा तिम्रो पाउ ढुङ्गामा बजारिने छैन।’” येशूले उत्तर दिनु भयो, “यो पनि धर्मशास्त्रमा भनिएको छ, ‘तिमीले परमप्रभु तिम्रो परमेश्वरको परीक्षा लिनु हुँदैन।’” शैतानले येशूलाई प्रत्येक पक्षबाट सताई सके पछि उसको अनुकूल समय नआउन्जेल सम्मका निम्ति छोडेर गयो।
लूका 4:3-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यति बेला नै शैतानले येशूलाई भन्यो, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई रोटी होइजा भन्नुहोस् अनि रोटी हुनेछ।” येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ– खानेकुराले मात्र मानिस बाँच्दैन।” त्यसपछि शैतानले येशूलाई अग्लो पहाडमा लगेर एकै छिनमा संसारका सबै राज्यहरू देखाउँदै उहाँलाई भन्यो, “म तपाईंलाई यी सबै राज्यको राजा र यी सबै धन-दौलतको मालिक बनाउन सक्छु किनभने यी जम्मै मेरा हातमा छन् र मैले चाहेकालाई दिन सक्छु। मलाई ढोग्नुहोस् र यी सबै थोक तपाईंकै हुनेछन्।” येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा के लेखिएको छ, सुन्– तैँले परमप्रभु आफ्ना परमेश्वरलाई मात्र ढोग् र उहाँकै आदर गर्।” अब शैतानले येशूलाई यरूशलेममा लग्यो र मन्दिरको टुप्पामा पुर्याएर भन्यो, “यदि साँच्चै तपाईं परमेश्वरकै पुत्र हुनुहुन्छ भने लौ तपाईं यहाँबाट तल हामफाल्नुहोस् किनभने धर्मशास्त्रमा यसरी लेखिएको छ– तिम्रो हेरचाहा गर्न परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई खटाउनुहुनेछ र तिम्रो खुट्टामा ढुङ्गाले चोट नलागोस् भनेर तिनीहरूले तिमीलाई हात-हातमै थाम्नेछन्।” येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो पनि भनिएको छ– तैँले परमप्रभु आफ्ना परमेश्वरको जाँच नगर्।” शैतानले येशूलाई अनेक किसिमले परीक्षामा पारेर पापमा फसाउन खोजिसकेपछि फेरि मौका नपरूञ्जेलसम्मको लागि छोडेर गयो।