YouVersion लोगो
खोज आइकन

लूका 3:1-9

लूका 3:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

कैसर तिबेरिअसका शासनकालको पन्‍ध्रौँ वर्षमा पन्‍तियस पिलातस यहूदियाका हाकिम थिए। त्‍यस बेला हेरोद गालीलका शासक थिए, र तिनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए, अनि लुसानियास अबिलेनेका शासक थिए। हन्‍नास र कैयाफाका प्रधान पूजाहारीगिरीको समयमा परमेश्‍वरको वचन उजाड-स्‍थानमा जकरियाका छोरा यूहन्‍नाकहाँ आयो। तिनी पाप-क्षमाको निम्‍ति पश्‍चात्तापको बप्‍तिस्‍मा प्रचार गर्दै यर्दन नदीका आसपासका सबै इलाका हुँदो आए। यशैया अगमवक्ताका वचनको पुस्‍तकमा यसो लेखिएको छ, “उजाड-स्‍थानमा एक जना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ। हरेक घाटी पुरिनेछ, र हरेक पहाड र हरेक डाँड़ा समतल बनाइनेछ। र बाङ्गा-टेढ़ा सोझा हुनेछन्, र अप्‍ठेरा बाटाहरू सम्‍म हुनेछन्, र सबै प्राणीले परमेश्‍वरको मुक्ति देख्‍नेछन्‌।” यसकारण तिनीसँग बप्‍तिस्‍मा लिन आउने भीड़हरूलाई तिनले भने, “ए सर्पका बच्‍चा हो, आइलाग्‍ने क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेताउनी दियो? यसकारण पश्‍चात्ताप सुहाउँदो फल फलाओ, र तिमीहरू आफै ‘हाम्रा पिता अब्राहाम हुन्’ भन्‍नपछि नलाग, किनभने म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट अब्राहामको निम्‍ति सन्‍तान उत्‍पन्‍न गर्न सक्‍नुहुन्‍छ। अहिले बन्‍चरो रूखहरूको जरामा परिसकेको छ, यसकारण असल फल नदिने हरेक रूख ढालिनेछ, र आगोमा फालिनेछ।”

शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्

लूका 3:1-9 नेपाली समकालीन संस्करण (NCV)

रोमी सम्राट सिजर तिबेरिअसको शासनकालको पन्ध्रौं वर्षमा, जब पन्तियस पिलातस यहूदिया प्रदेशका राज्यपाल, हेरोद गालील प्रदेशका शासक, उनका भाइ फिलिप इतुरिया र त्राखोनितिस प्रदेशका शासक, अनि लुसानियास अबिलेने प्रदेशका शासक थिए, तब हन्‍नास र कैयाफा प्रधान पूजाहारी भएका समयमा परमेश्‍वरको वचन उजाडस्थानमा जकरियाका छोरा यूहन्‍नाकहाँ आयो। तिनी पाप क्षमाको लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै, यर्दन नदीका वरपर सबै इलाकातर्फ गए। जसरी यशैया अगमवक्‍ताका वचनको पुस्तकमा लेखिएको छ: “उजाडस्थानमा कराउने एकजनाको आवाज, ‘प्रभुको निम्ति मार्ग तयार पार, उहाँको निम्ति बाटो सीधा बनाओ। सबै खाल्टाखुल्टीहरू पुरिनेछन्, हरेक पहाड र डाँडा समथर बनाइनेछन्; बाङ्गाटिङ्गा बाटाहरू सीधा बन्‍नेछन्, अप्ठेरो बाटाहरू समतल हुनेछन्। अनि सबै मानव जातिले परमेश्‍वरको मुक्‍ति देख्नेछन्।’ ” यूहन्‍नाले तिनीबाट बप्‍तिस्मा लिन आउने भीडहरूलाई भने, “हे सर्पका सन्तानहो! तिमीहरूलाई आउन लागेको क्रोधबाट भाग्न कसले चेतावनी दियो? पश्‍चात्तापअनुसारको फल फलाओ, अनि आफै, ‘हामी अब्राहामका वंशज हौं’ भन्‍ने नठान, किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका निम्ति सन्तान उत्पन्‍न गर्न सक्नुहुन्छ। रूखहरूका जरामा बन्चरो परिसकेको छ; अनि असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ।”

शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्

लूका 3:1-9 पवित्र बाइबल (NERV)

सिजर तिबेरियसको पन्ध्रौं वर्षमा: पन्तियस पिलातस यहूदियाका राज्यपाल थिए; अनि हेरोद गालीलका शासक थिए; तिनको भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए अनि लुसानियास, अबलेनका शासक थिए। जब अन्नास र कैयाफा प्रधान पूजाहारीहरू भएका थिए उजाड़ स्थानमा जकरियाको छोरो यूहन्नाले परमेश्वरको वचन पाए। तिनी यर्दन नदीको वरिपरिको जम्मै स्थानहरूमा गए। तिनीहरूको पाप मोचनको लागि बप्तिस्मा लिएर हृदय र जीवन परिवर्तन गर्ने बारेमा तिनले मानिसहरूलाई प्रचार गर्दै थिए। यी सबै कुराहरू अगमवक्ता यशैयाले लेखेको पुस्तकको वर्णन अनुसार भयोः “उजाड स्थानमा कराइरहेको आवाजः ‘परमप्रभुका निम्ति मार्ग तयार पार। उहाँको पथहरू सोझो पार। प्रत्येक खाल्डा पुरिनेछ, अनि हरेक डाँडा र ढिस्का सम्म पारिनेछ, अप्ठेरा बाटोहरू समतल पारिनेछन, अनि दुर्गम् बाटोहरू सहज बनाइन्छन्! सबै मानिसहरूले परमेश्वरको मुक्तिको दर्शन गर्नेछन्!’” यूहन्नाद्वारा बप्तिस्मा लिनलाई मानिसहरू आए। यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरू विषालू सर्पहरू जस्तै छौ! तिमीहरूलाई परमेश्वरको क्रोध जो आँउदैछ त्यबाट भाग्न कसले भन्यो? तिमीहरूले आफ्नो हृदय परिवर्तन गरसकेकाछौ भन्ने देखाउनलाई उचित कामहरू गर्नुपर्छ। घमण्ड नगर अनि अब्राहामनै हाम्रा पिता हुन् नभन। म तिमीहरूलाई भन्छु कि परमेश्वरले अब्राहामका लागि यी चट्टानहरूबाट पनि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। रूखहरू काट्नलाई बन्चरो पनि तयार छ। प्रत्येक रुख जसले असल फल फलाउँदैन त्यो काटिनेछ अनि आगोमा फालिनेछ।”

शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्

लूका 3:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

रोमी महाराजा तिबेरिअसले राज्‍य गरेको पन्‍ध्र वर्ष भएको थियो। त्‍यस बेला पन्‍तियस पिलातस यहूदिया क्षेत्रका रोमी बडा-हाकिम थिए। रोमी महाराजाका अधीनमा हेरोदले गालील क्षेत्रमा राज्‍य गर्थे र तिनका भाइ फिलिपले इतुरिया र त्राखोनितिस क्षेत्रमा राज्‍य गर्थे। अबिलेने क्षेत्रमा लुसानियास भन्‍ने व्‍यक्तिले राज्‍य गर्थे। त्‍यस बेलाका प्रधान पूजाहारीहरूचाहिँ हन्‍नास र कैयाफा थिए। त्‍यति नै खेर उजाड-स्थानमा परमेश्‍वरले जकरियाका छोरा यूहन्‍नालाई प्रचार गर्ने आदेश दिनुभयो। यूहन्‍नाले यर्दन नदीका चारैतिरका क्षेत्रतर्फ गएर मानिसहरूलाई यसरी प्रचार गर्न थाले, “आ-आफ्‍ना पाप मानेर छोड र बप्‍तिस्‍मा लेओ अनि परमेश्‍वरले तिमीहरूले गरेका पाप क्षमा गर्नुहुनेछ।” यसरी यशैया अगमवक्ताले धर्मशास्‍त्रमा लेखेका यी कुराहरू पूरा हुन आए– सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोर निकालेर यस्‍तो भन्‍दै छन्, “प्रभु आउनुहुने बाटो तयार पार, उहाँ हिँड्‍नुहुने गोरेटाहरू सोझ्‍याओ! सबै खोल्‍सा-खोल्‍सी पुर्नुपर्छ, डाँडा-काँडा र पहाडहरू सम्‍याउनुपर्छ, घुमाउरो बाटो सोझो र अप्‍ठ्यारो बाटो सजिलो बनाउनुपर्छ अनि सबै मानिसहरूले मुक्ति देख्‍नेछन्।” धेरै मानिसहरू यूहन्‍नाकहाँ बप्‍तिस्‍मा लिन आए। तर यूहन्‍नाले तिनीहरूलाई भने, “ए विषालु सर्पका सन्‍तान हो! ‘परमेश्‍वरले गर्नुहुने न्‍यायबाट हामी उम्‍कन सकौंला’ भनेर तिमीहरूलाई कसले सिकायो? तिमीहरूले साँच्‍चै आ-आफ्‍ना पापलाई मानिलिएर आफ्‍नो मन परमेश्‍वरतिर फर्काएका हौ भने त्‍यहीअनुसार चल्‍ने गर। तर ‘हामी अब्राहामका सन्‍तान हौं’ भन्‍दैमा तिमीहरू उम्‍कन्‍छौ भन्‍ने नसम्‍झ। म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरले अब्राहामका सन्‍तानलाई यी ढुङ्गाहरूबाट पनि जन्‍माउन सक्‍नुहुन्‍छ। रूखको फेदमा बन्‍चरो परिसकेको छ। असल फल नफलाउने सबै रूखलाई ढालेर आगोमा फालिनेछ।”

शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्