लूका 24:36-40
लूका 24:36-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले यी कुरा गर्दागर्दै येशू तिनीहरूका बीचमा खड़ा हुनुभयो, र भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।” तिनीहरू तर्से, र डरले आत्तिए, र “हामीले त प्रेत देखिरहेछौं” भन्ने सम्झे। तर उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन विचलित हुन्छौ, र तिमीहरूका हृदयमा किन शङ्का उत्पन्न हुन्छ? मेरा हात र मेरा पाउ हेर, म नै हुँ, मलाई छोएर हेर। किनकि प्रेतको मासु र हाड हुँदैन, तर तिमीहरू देख्छौ, मेरा त छन्।” यसो भन्नुभएपछि उहाँले तिनीहरूलाई आफ्ना हात र पाउ देखाउनुभयो।
लूका 24:36-40 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले यसैको बारेमा कुरा गर्दागर्दै येशू स्वयम् तिनीहरूका बीचमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!” तिनीहरूले एउटा भूत देखेको झैँ भनी ठानेर तिनीहरू विचलित भए, र डराए। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन विचलित हुन्छौ? तिमीहरूका मनमा किन शङ्का उब्जन्छ? मेरा हातहरू र खुट्टाहरू हेर; म नै हुँ! मलाई छोएर हेर, तिमीहरूले अहिले ममा देखेजस्तै मासु र हाड त कुनै भूतको हुँदैन।” यसरी भनिसकेपछि उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टाहरू देखाउनुभयो।
लूका 24:36-40 पवित्र बाइबल (NERV)
जब ती दुइजना मानिसले यी कुराहरू गर्दै थिए, येशू आफैं चेलाहरूको माझमा उभिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।” तर चेलाहरू अचम्मित भए अनि डराए। तिनीहरूले प्रेत देखिरहेछन् भन्ने पनि सोचे। तर उहाँले भन्नुभयो, “तिमीहरू विचलित हुन्छौ? तिमीहरूले देखेकै कुरामा किन शङ्काका गर्छो? मेरा हात र खुट्टाहरू हेर। म सत्य हुँ। मलाई स्पर्श गर। हेर, मेरो मासु र हड्डी छ। एक भूतको शरीर र हड्डी हुँदैनन्।” तब येशूले आफ्ना हात-खुट्टाहरू देखाउनु भयो।
लूका 24:36-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यी कुराहरूको चर्चा भइरहेको बेलामा येशू अचानक तिनीहरूको बीचमा उभिन्नुभयो र भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।” भूत देखेको हो भनी ठानेर तिनीहरू आत्तिए अनि डराए। तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यसरी किन डराउँछौ? किन मनमा यस्तो शङ्का गर्छौं? मेरो हात-खुट्टा हेर अनि तिमीहरूले मलाई राम्ररी चिन्नेछौ। आफ्नै हातले मलाई छामेर हेर, तिमीहरूले देखेका यो मेरो हाड र मासुको शरीर हो। तर भूतको त हाड र मासुको शरीर हुँदैन!” यसो भनेर उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टा देखाउनुभयो।