लूका 23:26-49
लूका 23:26-49 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले उहाँलाई त्यहाँबाट लैजाँदा, गाउँबाट आइरहेको सिमोन नाउँको कुरेनी निवासीलाई समाते, र क्रूस बोकेर उहाँको पछिपछि जान लगाए। मानिसहरूको ठूलो धुइरो उहाँको पछि लाग्यो। त्यसमा स्त्रीहरू पनि थिए, जो विलाप गर्दै र रुँदैथिए। तर तिनीहरूतिर फर्केर येशूले भन्नुभयो, “यरूशलेमका छोरी हो, मेरो निम्ति नरोओ, तर तिमीहरू आफ्नै निम्ति र आफ्ना छोराछोरीका निम्ति रोओ। किनभने ती दिन आइरहेका छन्, जब मानिसहरूले भन्नेछन्, ‘धन्य बाँझीहरू र गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्त्रीहरू।’ तब तिनीहरूले पहाड़हरूलाई ‘हामीमाथि खस्’ र डाँड़ाहरूलाई ‘हामीलाई छोप’ भन्न लाग्नेछन्। किनकि तिनीहरूले रूख हरियो हुँदा यी काम गर्छन् भने, सुक्खा हुँदा के गर्लान्?” अब तिनीहरूले दुई अपराधीहरूलाई उहाँसँगै मृत्युदण्ड दिनलाई लगे। जब तिनीहरू खप्परे भन्ने ठाउँमा आए, तब त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र ती अपराधीहरूमध्ये एक जनालाई दाहिनेपट्टि र अर्कालाई देब्रेपट्टि क्रूसमा टाँगे। अनि येशूले भन्नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्।” अनि तिनीहरूले उहाँको वस्त्र भाग गरेर चिट्ठा हाले। मानिसहरू उभिएर हेरिरहेका थिए। शासकहरूले उहाँको ठट्टा गर्दै भने, “यसले अरूलाई बचायो, यो परमेश्वरका ख्रीष्ट तथा उहाँका चुनिएका जन हो भने यसले आफैलाई बचाओस्।” सिपाहीहरूले पनि आएर उहाँलाई सिर्का दिँदै यसो भनेर गिल्ला गरे, “तँ यहूदीहरूका राजा होस् भने आफूलाई बचा।” “यो यहूदीहरूको राजा हो” भन्ने दोष-पत्र पनि उहाँको मास्तिर थियो। क्रूसमा टाँगिएका अपराधीहरूमध्ये एक जना अपराधीले उहाँको अपमान गर्दै भन्यो, “के तिमी ख्रीष्ट होइनौ? तिमी आफैलाई र हामीलाई बचाऊ।” तर त्यसलाई हकारेर अर्कोले जवाफ दियो, “तँ पनि त्यही दण्डमा परेको छस्, तापनि परमेश्वरको डर मान्दैनस्? हाम्रो दण्ड त न्यायोचित छ, किनकि हामीले त आफ्नो कामको उचित फल भोगिरहेका छौं, तर यी मानिसले त केही अनुचित काम गरेका छैनन्।” तब त्यसले भन्यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्।” उहाँले त्यसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।” प्राय: दिउँसोको बाह्र बजेको थियो, र तीन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो। सूर्यको तेजै कम भयो, र मन्दिरको पर्दा माझमा च्यातिएर दुई भाग भयो। उच्च सोरले कराएर येशूले भन्नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु।” यति भनेर उहाँले आफ्नो प्राण त्यागिदिनुभयो। यो सब घटना देखेर कप्तानले यसो भन्दै परमेश्वरको महिमा गरे, “निश्चय नै यिनी धार्मिक मानिस थिए।” यो दृश्य हेर्न जम्मा भएका सबै मानिसहरूले यी सब देखे, र आ-आफ्ना छाती पिट्दै घर फर्के। तर उहाँका चिनाजानीहरू र गालीलबाट उहाँको पछिपछि आउने स्त्रीहरू टाढ़ा उभिएर यी घटनाहरू हेरिरहे।
लूका 23:26-49 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सिपाहीहरूले उहाँलाई लैजाँदै गर्दा साइरिनीवासी सिमोनलाई समाते, जो गाउँबाट आउँदैथिए। अनि तिनलाई क्रूस बोकाएर येशूको पछि-पछि हिँड्न लगाए। धेरै मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। त्यहाँ उहाँका लागि रुँदै र विलाप गर्दै गरेका केही स्त्रीहरू पनि थिए। येशूले फर्केर तिनीहरूलाई भन्नुभयो, “ए यरूशलेमका छोरीहरू हो, मेरो निम्ति नरोओ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीका निम्ति रोओ। किनकि समय आउनेछ, जब तिमीहरूले भन्नेछौ, ‘बाँझी स्त्रीहरू, गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्त्रीहरू धन्यका हुन्!’ त्यसपछि, “ ‘तिनीहरूले पर्वतहरूलाई भन्नेछन्, “हामीलाई छोप!” र पहाडहरूलाई भन्नेछन्, “हामीमाथि खस!” भन्नेछन्।’ किनकि रूख हरियो छँदै मानिसहरूले यसो भन्छन् भने त्यो सुकेपछि झन् के गर्लान्?” अरू दुई जना मानिसहरू, जो अपराधी थिए, तिनीहरू पनि उहाँसँगै मृत्युदण्ड दिन लगिए। तिनीहरू खप्परे भनिने ठाउँमा आएपछि त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। ती अपराधीहरू पनि टाँगिए—एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ उहाँको देब्रेपट्टि। येशूले भन्नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस्; किनकि यिनीहरूले के गर्दैछन्, सो जान्दैनन्।” अनि तिनीहरूले उहाँको वस्त्र चिट्ठा हालेर आपसमा बाँडे। भीडले यो दृश्य हेर्दै त्यहाँ उभिए, र शासकहरूले उहाँको ठट्टा पनि गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो; यदि यो परमेश्वरको ख्रीष्ट, चुनिएको जन हो भने आफैँलाई बचाओस्।” सिपाहीहरू पनि आए, र उहाँको गिल्ला गरे। तिनीहरूले उहाँलाई सिर्का दिए, र भने, “यदि तँ यहूदीहरूको राजा होस् भने आफूलाई बचा।” उहाँको माथिपट्टि एउटा लिखित दोषपत्र थियो, जसमा यसो लेखिएको थियो: “यो यहूदीहरूको राजा हो।” त्यहाँ झुण्डिएका अपराधीहरूमध्ये एउटाले उहाँको अपमान गर्दै भन्यो: “के तिमी ख्रीष्ट होइनौ? तिमी आफैँलाई र हामीलाई पनि बचाऊ!” तर अर्को अपराधीले त्यसलाई हप्कायो। त्यसले भन्यो, “तँ पनि त्यही दण्डमा छस्, र पनि परमेश्वरको डर मान्दैनस्? हामीले त न्यायोचित रूपले दण्ड पाइरहेका छौँ; किनकि हामीले हाम्रो कामको उचित दण्ड पाइरहेका छौँ। तर यी मानिसले त कुनै अनुचित काम गरेका छैनन्।” त्यसपछि त्यसले भन्यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्!” येशूले त्यसलाई जवाफ दिनुभयो, “म तिमीलाई साँचो भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।” लगभग दिउँसोको बाह्र बजेको थियो, तब तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो। किनकि सूर्यले तेज दिन छोड्यो, र मन्दिरको पर्दा दुई भाग भएर च्यात्तियो। येशूले चर्को सोरमा कराएर भन्नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु।” यसो भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो। यी सबै भएको घटना देखेर सेनापतिले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय नै यिनी धर्मी मानिस थिए।” जब यो दृश्य हेर्न त्यहाँ जम्मा भएका सबै मानिसहरूले त्यहाँ भएको घटना देखे, तब विलाप गर्दै तिनीहरू आ-आफ्ना छाती पिट्दै फर्के। तर उहाँलाई चिन्नेहरू र स्त्रीहरू, जो गालील प्रदेशबाट उहाँलाई पछ्याउँदै आएका थिए, टाढै उभिएर सबै जना यी घटनाहरू हेरिरहेका थिए।
लूका 23:26-49 पवित्र बाइबल (NERV)
सिपाहीहरूले येशूलाई मार्न टाढा लगेर गए। त्यसैबेला एउटा मानिस खेतबाट आफ्नो शहरतिर फर्किरहेको थियो। त्यसको नाम शिमोन थियो। शिमोन साइरेनीवासी थिए। सिपाहीहरूले शिमोनलाई येशूको पछि पछि क्रूस बोकेर हिँड्न बाध्य गराए। धेरै मानिसहरू येशूको पछि लागे। कोही स्त्रीहरू दुःखी भएर विलाप गरिरहेका थिए। तर येशूले फर्केर ती स्त्रीहरूलाई भन्नुभयो, “ए यरूशलेमका स्त्रीहरू हो, मेरो निम्ति नरोओ। तिमीहरू आफ्नै निम्ति र आफ्नो छोरा-छोरीको निम्ति विलाप गर! समय त्यस्तो आइरहेकोछ कि मानिसहरूले भन्नेछन्, ‘धन्य हुन ती स्त्रीहरू जसले कहिल्यै पनि बालकहरूलाई दूध चुसाएन।’ त्यसपछि मानिसहरूले पर्वतहरूलाई भन्नेछन्, ‘हामीमाथि खस्!’ अनि पहाडलाई भन्नेछन्, ‘हामीलाई छोप!’ जब जीवन सुखी हुँदा यदि मानिसहरूले यस्तो कर्म गर्छन् भने, जब नराम्रो समय आएको बेला के हुने होला?” दुइजना अरू अपराधीहरूलाई पनि उहाँसँग मार्न अघि लगाइएको थियो। येशू र ती दुइ अपराधीहरूलाई “खप्परे” भन्ने ठाँउमा लगियो। सिपाहीहरूले येशूलाई काँटी ठोकेर क्रूसको दुइ छेउमा तिनीहरूले ती दुइ अपराधीहरूलाई पनि टाँगे। तिनीहरूले एकजनालाई येशूको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि राखे। येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरेहछन्, जान्दैन्।” सिपाहीहरूले चिट्ठा उढाएर उनको लुगाहरू बाँडे। मानिसहरू येशूलाई हेरेर उभिए। यहूदी प्रमुखहरू येशूलाई यसो भन्दै निन्दा गरे, “यदि ऊ नै परमेश्वरले छान्नु भएको, ख्रीष्ट हो भने, जसरी उसले अरूलाई बचायो उसले आफैंलाई बचाउने काम गरोस्?” सिपाहीहरूले पनि येशूको खिल्ली उडाए। तिनीहरू येशूको नजीक गए अनि उहाँलाई दाखरसको सिर्का-दिए। ती सिपाहीहरूले भने, “यदि तिमी यहूदीहरूको राजा हौ भने आफैंले आफैंलाई बचाउ।” क्रूसको माथिल्लो भागमा यी शब्दहरू लेखिएको थिए “यो यहूदीहरूको राजा हो।” एकजना अपराधीले येशूलाई अपमान गर्दै भन्यो, “के तपाईं ख्रीष्ट हुनुहुन्न? त्यसो हो भने आफूलाई बँचाउनु होस् अनि हामीलाई पनि बचाउनुहोस्।” तर अर्को अपराधीले गाली गर्यो अनि भन्यो, “के तिमी परमेश्वससँग डराउँछौ? हामी चाँडै मर्नेछौं। तिमी र म अपराधी हौं हामीले मर्नै पर्छ किनभने हामीले अपराध गरेका छौं। तर यस मानिसले केही भूल गरेको छैन!” त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू! जब तपाईं राजा भएर शासन गर्नुहुन्छ त्यसबेला मलाई सम्झनु होस्।” तब येशूले त्यसलाई भन्नुभयो, “सुन! जे भन्दछु त्यो साँच्चो होः आज नै तिमी पनि मसँग स्वर्ग-लोकमा हुनेछौ!” अत प्राथः मध्यदिन समय भएको थियो, र सारा देश-भरि नै तीन बजे सम्म अन्धकार छायो। सूर्यको उज्यालो थिएन! मन्दिरको पर्दा दुइटुक्रा भएर वारपार च्यातियो। येशू चिच्याउनुभयो, “हे पिता, म तपाईंलाई मेरो आत्मा दिँदैछु।” यति भनेर उहाँले आफ्नो प्राण त्यागनुभयो। सैनिक अधिकारीले के भएको थियो देखे। तिनले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय यी मानिस धार्मिक मानिस हुन्।” धेरै मानिसहरू यो दृश्य हेर्न त्यहाँ भेला भएका थिए। जब तिनीहरूले के भयो, देखे तिनीहरूले आफ्नो हृदय गहौं गराए अनि गए। येशूका घनिष्ट सबै साथीहरू त्यहीं थिए। गालीलदेखि येशूलाई पछ्याएर आउने केही स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू क्रूसदेखि धेरै टाढा़ थिए अनि हेरिरहेका थिए।
लूका 23:26-49 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूलाई लिएर गइरहँदा तिनीहरूले कुरेनी देशको सिमोनलाई भेटे। उनी गाउँबाट सहरतिर आइरहेका थिए। तिनीहरूले उनलाई पक्रे र येशूको क्रूस बोक्न लगाए। मानिसहरूको ठूलो भीड येशूको पछि-पछि लागेको थियो। स्वास्नी मानिसहरू पनि येशूको लागि रुँदै र विलाप गर्दै पछि लागिरहेका थिए। तिनीहरूतिर फर्केर येशूले भन्नुभयो, “ए यरूशलेमका छोरीहरू हो, मेरो निम्ति होइन, बरु आफ्नै र आफ्ना बालबच्चाहरूको निम्ति रोओ! हेर, त्यस्तो दिन आउनेछ, जब मानिसहरूले ‘जन्म नदिने कोखहरू र दूध खुवाउनुनपर्ने स्वास्नी मानिसहरू धन्यका हुन्’ भन्नेछन्। त्यस बेला मानिसहरूले पहाडहरूलाई पनि ‘हामीमाथि खस्’ र डाँडाहरूलाई ‘हामीलाई पुर्’ भन्छन्। रूख हरियो हुँदा त यिनीहरूले यसो गर्छन् भने झन् रूख सुक्दा के गर्लान्?” तिनीहरूले दुई जना अपराधीहरूलाई पनि येशूसँगै मार्न लैजाँदै थिए। तिनीहरू खप्परे भन्ने ठाउँमा आइपुगे। त्यहाँ तिनीहरूले येशूलाई क्रूसमा टाँगेर झुण्ड्याए र ती दुई अपराधीहरूलाई पनि एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ देब्रेपट्टि क्रूसमा टाँगेर झुण्ड्याए। त्यस बेला येशूले भन्नुभयो, “हे पिता! यिनीहरूलाई क्षमा गर्नुहोस् किनभने यिनीहरूले जे गरिरहेका छन्, त्यो यिनीहरूलाई थाहा छैन।” सिपाहीहरूले चिट्ठा हालेर उहाँको लुगा एक-आपसमा बाँडे। मानिसहरूले उभिएर हेरिरहेका थिए र अगुवाहरूले चाहिँ उहाँलाई खिसी गर्दै भने, “हेर, यसले अरूलाई त बचायो। यदि यो परमेश्वरले छानेको मुक्ति दिने राजा ख्रीष्ट नै हो भने आफैंलाई पनि बचाओस्।” सिपाहीहरूले उहाँलाई सिर्का दिएर गिल्ला गर्दै भने, “यदि तँ यहूदीहरूका राजा होस् भने आफैंलाई बचा।” क्रूसमा उहाँको शिरमाथि ‘यो यहूदीहरूका राजा हो’ भनेर लेखिएको फलेक झुण्ड्याइएको थियो। येशूसँगै झुण्ड्याइएका दुई अपराधीहरूमध्ये एउटाले येशूलाई खिसी गर्दै भन्यो, “के तँ नै मुक्ति दिने राजा ख्रीष्ट होइनस्? त्यसो भए तँ आफैंलाई बचा र हामीलाई पनि बचा!” तर अर्को अपराधीले त्यसलाई हप्काउँदै भन्यो, “तिमीलाई परमेश्वरको डर लाग्दैन? तिमीले पनि त उहाँकै जस्तो दण्ड भोगिरहेका छौ। हामीले त नराम्रो काम गरेकोले उचित दण्ड पायौं, तर हेर, उहाँले त कुनै नराम्रो काम गर्नुभएको थिएन।” त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू, तपाईं राजा भएर आउनुहुँदा मलाई पनि सम्झिनुहोस्!” येशूले उनलाई भन्नुभयो, “म तिमीलाई भन्छु, आज नै तिमी मसँग स्वर्गमा हुनेछौ।” मध्यदिन भएको थियो। त्यही समयदेखि तीन बजेसम्म देशभरि अँध्यारो भयो। घामले पनि उज्यालो दिएन। तीन बजेतिर मन्दिरभित्र टाँगिएको पर्दा दुई भाग भएर च्यातियो। अनि ठूलो सोरले येशू कराउनुभयो, “हे पिता, म मेरो आत्मालाई तपाईंकै हातमा सुम्पँदै छु।” यति भनेर उहाँले प्राण त्याग्नुभयो। यस्तो भएको देखेर रोमी सिपाहीहरूका कप्तानले परमेश्वरको प्रशंसा गर्दै भने, “साँच्चै यी मानिस धर्मी रहेछन्।” यी सबै भएको हेर्न आउने मानिसहरू रुँदै र विलाप गर्दै घरतिर फर्के। उहाँलाई चिन्नेहरू अनि गालील क्षेत्रबाट आएका उहाँको भक्ति गर्ने स्त्रीहरूले टाढैबाट उभिएर यी सबै घटना हेरिरहेका थिए।