लूका 22:66-71
लूका 22:66-71 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उज्यालो हुने बित्तिकै भेला भएका जनताका धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरू दुवैले उहाँलाई आफ्नो महासभामा लगे, र भने, “तँ ख्रीष्ट होस् भने हामीलाई भन्।” उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले बताएँ भने पनि तपाईंहरू पत्याउनुहुन्न। मैले प्रश्न गरे भने पनि तपाईंहरू जवाफ दिनुहुन्न। तर अब मानिसको पुत्र परमेश्वरका शक्तिको दाहिनेपट्टि बस्नेछ।” तब तिनीहरू सबैले भने, “त्यसो भए, के तँ परमेश्वरको पुत्र होस्?” उहाँले तिनीहरूलाई उत्तर दिनुभयो, “तपाईंहरू नै भन्नुहुन्छ, म उही हुँ।” तिनीहरूले भने, “हामीलाई अब अरू के साक्षीको आवश्यकता छ र? किनकि हामीले त्यसकै मुखबाट सुनिहाल्यौं।”
लूका 22:66-71 नेपाली समकालीन संस्करण (NCV)
उज्यालो हुने बित्तिकै जनताका प्रधानहरू, मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरूको सभा एकसाथ भेला भए, र येशूलाई तिनीहरूका अघि लगियो। तिनीहरूले सोधे, “यदि तँ ख्रीष्ट होस् भने हामीलाई भन्।” येशूले जवाफ दिनुभयो, “मैले भनें भने पनि तपाईंहरूले मलाई विश्वास गर्नुहुन्न, अनि यदि मैले प्रश्न गरें भने पनि तपाईंहरूले जवाफ दिनुहुन्न। तर अबदेखि उसो, मानिसका पुत्र सर्वशक्तिमान परमेश्वरको दाहिने हातपट्टि बस्नेछन्।” तिनीहरू सबैले सोधे, “त्यसो भए, के तँ परमेश्वरको पुत्र होस्?” अनि उहाँले उत्तर दिनुभयो, “म उही हुँ भनी तपाईंहरूले ठीक भन्नुभयो।” त्यसपछि तिनीहरूले भने, “अब हामीलाई अरू साक्षीको किन आवश्यकता पर्यो र? हामीले त्यसको आफ्नै मुखबाट सुनेका छौं।”
लूका 22:66-71 पवित्र बाइबल (NERV)
अर्को विहान, मानिसहरूका बूढा प्रधानहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाको शास्त्रीहरू एक साथ आए। तिनीहरूले येशूलाई आफ्नो महासभामा लगे। तिनीहरूले भने, “यदि तपाईं नै ख्रीष्ट हुनुहुन्छ भने, हामीलाई सत्य बताउनु होस्!” येशूले तिनीहरूलाई भन्नुभयो, “यदि मैले म नै ख्रीष्ट हुँ भने, तपाईंहरूले मलाई विश्वास गर्नुहुने छैन। अनि यदि मैले तपाईंहरूलाई सोधें भने त्यसको जवाफ पनि दिनुहुन्न। तर अब उसो, मानिसको पुत्र परमेश्वरको सिंहासनको दाहिनेपट्टी बस्नेछ।” तिनीहरू सबैले भने, “त्यसो भए के तपाईं परमेश्वरको पुत्र हुनुन्छ?” येशूले तिनीहरूलाई भन्नुभयो, “हो, तपाईंहरूले जे भन्नुहुन्छ, त्यो सही हो।” तिनीहरूले भने, “हामीलाई अरू साक्षी किन खाँचो पर्यो? हामी आफैंले उसले यसो भनेका सुनेका छौ!”
लूका 22:66-71 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अगुवा, मुख्य पूजाहारीहरू र धर्म-गुरुहरू बिहानै जम्मा भए। तिनीहरूले येशूलाई महासभामा ल्याए र भने, “तँ मुक्ति दिने राजा ख्रीष्ट होस् भने हामीलाई भनिहाल्।” येशूले जवाफ दिनुभयो, “मैले भनें पनि तपाईंहरूले विश्वास गर्नुहुन्न, मैले केही सोधें भने पनि तपाईंहरूले जवाफ दिनुहुन्न। तर अबदेखि उसो म मानव पुत्र सर्वशक्तिमान् परमेश्वरको दाहिनेपट्टि सिंहासनमा बस्नेछु।” तिनीहरू सबैले भने, “उसो भए के तँ परमेश्वरको पुत्र होस् त?” उहाँले जवाफ दिनुभयो, “तपाईंहरूले भन्नुभएजस्तै म उही हुँ।” उहाँको कुरा सुनेर तिनीहरूले भने, “अब यसको विरुद्धमा हामीलाई अरू कुनै प्रमाण चाहिएन। यसकै मुखबाट हामीले सुनिहाल्यौं!”