YouVersion लोगो
खोज आइकन

लूका 2:25-38

लूका 2:25-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यरूशलेममा शिमियोन नाउँ भएका एक जना मानिस थिए। उनी इस्राएलका सान्‍त्‍वनाको आशा गर्ने धर्मी र भक्तजन थिए, र पवित्र आत्‍मा उनीमाथि हुनुहुन्‍थ्‍यो। “परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्‍म तिमी मर्नेछैनौ” भन्‍ने प्रकाश उनले पवित्र आत्‍माबाट पाएका थिए। उनी पवित्र आत्‍माको प्रेरणामा मन्‍दिरभित्र आए। जब आमा-बुबाले बालक येशूलाई उहाँको निम्‍ति व्‍यवस्‍थाअनुसारको विधि गर्नलाई मन्‍दिरभित्र ल्‍याए, तब उनले उहाँलाई आफ्‍नो काखमा लिए, र परमेश्‍वरलाई धन्‍यवाद दिएर भने, “अब हे परमप्रभु, आफ्‍नो वचनअनुसार तपाईंले आफ्‍नो दासलाई शान्‍तिसँग बिदा दिनुहोस्‌। किनकि मेरा आँखाले तपाईंको उद्धार देखेका छन्, जो तपाईंले सबै मानिसहरूका सामुन्‍ने तयार पार्नुभएको छ, अन्‍यजातिहरूलाई प्रकाशको निम्‍ति ज्‍योति र तपाईंको जाति इस्राएललाई महिमाको निम्‍ति ज्‍योति।” अनि उहाँका बुबा र आमा उहाँको बारेमा बोलिएका कुरामा छक्‍क परे। शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र उहाँकी आमा मरियमलाई भने, “हेर, यो बालक इस्राएलमा धेरैको पतन र उत्‍थानको निम्‍ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्‍हको निम्‍ति नियुक्त गरिएको छ, ताकि धेरै हृदयका विचारहरू प्रकट होऊन्‌। अनि तरवारले तिम्रो आफ्‍नै हृदय पनि छेड्‌नेछ।” आशेरको कुलमा फनुएलकी छोरी हन्‍ना नाउँकी एउटी वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्‍थामा विवाह गरेर सातै वर्ष मात्र श्रीमान्‌सँग बसेकी थिइन्‌। अनि विधवा रहेर तिनी चौरासी वर्ष पुगेकी थिइन्‌। तिनले मन्‍दिर छोड्‌दैनथिइन्, तर उपवास र प्रार्थनासाथ रातदिन उपासना गर्दथिइन्‌। त्‍यही बेला तिनले आएर परमेश्‍वरलाई धन्‍यवाद दिइन्, र यरूशलेमका उद्धारको प्रतीक्षा गर्ने सबैलाई बालकको विषयमा भनिन्‌।

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्

लूका 2:25-38 नेपाली समकालीन संस्करण (NCV)

त्यस समय यरूशलेममा शिमियोन नाउँ गरेका एकजना धर्मी र भक्‍त मानिस थिए। पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्यो; अनि तिनले इस्राएलका सान्त्वना दिनुहुनेलाई पर्खिरहेका थिए। प्रभुका ख्रीष्‍टलाई देख्नुभन्दा अघि तिनी मर्नेछैनन् भनी पवित्र आत्माद्वारा उनलाई प्रकट गरिएको थियो। त्यस दिन आत्माद्वारा डोर्‍याइएर तिनी मन्दिरको चोकमा गए। जब बुबाआमाले बालक येशूलाई उहाँको निम्ति व्यवस्थाले मागेअनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए, तब शिमियोनले उहाँलाई आफ्नो पाखुरामा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने: “हे सार्वभौम प्रभु, तपाईंले प्रतिज्ञा गर्नुभएबमोजिम, अब आफ्नो सेवकलाई शान्तिसित बिदा दिनुहोस्, किनकि मेरा आँखाले तपाईंको ‘उद्धार’ देखेका छन्, जो तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार पार्नुभएको छ, सबै जातिहरूलाई प्रकाशको निम्ति र तपाईंका जाति इस्राएललाई महिमाको निम्ति ज्योति।” अनि बालकका बुबा र आमा उहाँका विषयमा बोलिएका कुरामा छक्‍क परे। त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र येशूकी आमा मरियमलाई भने: “यी बालक इस्राएलमा धेरै जनाको पतन र उत्थानको कारण ठहरिनुहुनेछ र उहाँ परमेश्‍वरबाट पठाइएको चिन्ह हुनुहुन्छ, तर धेरैले उहाँको विरोध गर्नेछन्। जसबाट धेरै हृदयका विचारहरू प्रकट हुनेछन्। अनि एउटा तरवारले तिम्रो आफ्नै प्राण पनि छेड्नेछ।” त्यहाँ आशेरका कुलका फनुएलकी छोरी हन्‍ना नाउँ गरेकी एउटी भविष्‍यवक्‍तिनी थिइन्। तिनी धेरै वृद्धा थिइन्; र तिनी विवाहपछि सात वर्ष मात्र पतिसँग बसेकी थिइन्, अनि तिनी लगभग चौरासी वर्षकी विधवा थिइन्। तिनले कहिल्यै मन्दिर छोड्दिनथिइन्, तर दिनरात उपवास र प्रार्थनासाथ आराधनामा बिताउँथिन्। त्यही बेला तिनीहरूकहाँ आएर तिनले परमेश्‍वरलाई धन्यवाद दिइन्, र यरूशलेमको उद्धारको प्रतीक्षा गर्दै बस्‍नेहरू सबैलाई बालकको बारेमा बताइन्।

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्

लूका 2:25-38 पवित्र बाइबल (NERV)

शिमियोन नाउँ गरेको एकजना मानिस यरूशलेममा बस्थे। उनी भक्त र खुबै धार्मिकमानिस थिए। उनी इस्राएलको मुक्ति हेर्न प्रतीक्षा गरिरहेगा थिए अनि उनीमा पवित्र आत्मा हुनु हुन्थयो। परमप्रभु ख्रीष्टलाई नदेखे सम्म तिमी मर्नेछैनौ भनेर उनलाई पवित्र आत्माले भन्नु भएको थियो। आत्माले तिनलाई डोर्याउँदै मन्दिरमा आए। यहूदी नियम अनुसार जे गर्नु पर्ने थियो त्यही गर्नलाई येशूकी आमा र बाबुले बालकलाई मन्दिरमा ल्याए। शिमियोनले आफ्नो काखमा बालक लिए अनि परमेश्वरलाई प्रशंसा गरे अनि भनेः “अब हे परमप्रभु, आफ्नो वचन अनुसार, तपाईंको दासलाई शान्तिसँग विदा दिनुहोस्। किनभने मेरा आँखले तपाईंको उद्धार देखेकाछन्। जो तपाईंले नै समस्त राष्ट्रहरूको अघि तयार पार्नुभएको हो। तपाईंको पथ प्रदर्शनमा गैर-यहूदीहरूको लागी उनी नै प्रकाश हुन। उनले नै तपाईंका मानिसहरूलाई इस्राएलमा ल्याउनेछन्।” उनको विषयमा शिमियोनले यस्तो कुरा गरेको देखेर येशूको आमा बाबु छक्क परे। त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए अनि मरियमलाई भने, “यो बालक इस्राएलमा धेरैजनको उत्थान र पतनको कारण हुनेछ। उनी चिन्ह हुनेछन् र जसलाई कतिपयद्वारा अस्वीकार गरिनेछ। यसकारण धेरै मानिसहरूको विचारहरू प्रकाशमा आउनेछन्। अनि अउटा तरवाले तिम्रो मुटु पनि छेडेर जानेछ।” हन्ना, एकजना अगमवादिनी स्त्री पनि त्यहीं मन्दिरमा थिईन्। तिनी आशेर कुलको फनुएलकी छोरी थिईन। हन्ना धेरै बुढी भइसकेकी थिइन्। विवाह गरेर तिनले दाम्पत्य जीवन खालि सात वर्ष मात्र बिताइन। त्यसपछि तिनको लोग्ने मरेको थियो अनि तिनी विधवा भएकी थिइन् औ अहिले तिनी चौरासी वर्ष पुगेकी थिइन्। हन्ना सधैँ मन्दिरमा रहन्थिन्। उनी कहीं जाँदैन थिइन्। रात दिन उपावास र प्रार्थना गर्दै मन्दिरमा परमेश्वरको आराधाना गर्थिन्। ठीक समयमा तिनी त्यो बालकको आमा बाबुकहाँ आई पुगिन् औ परमेश्वरलाई धन्यवाद दिन थालिन्। ती जम्मै ज-जसले यरूशलेमको उद्धारको निम्ति अपेक्षा गरिरहेका थिए तिनीहरूसँग उनको विषयमा बात गरिन्।

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्

लूका 2:25-38 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यस बेला शिमियोन भन्‍ने मानिस यरूशलेममा बस्‍थे। उनी धार्मिक मानिस थिए र परमेश्‍वरको भक्ति गर्थे। उनले इस्राएलीहरूलाई बचाउने मानिसको बाटो हेरिरहेका थिए र पवित्र आत्‍मा उनीसँग हुनुहुन्‍थ्‍यो। ‘प्रभु परमेश्‍वरले पठाउनुहुने मुक्तिदाता ख्रीष्‍टलाई नदेखी तिमी मर्दैनौ’ भनेर पवित्र आत्‍माले उनलाई अघिबाटै थाहा दिनुभएको थियो। पवित्र आत्‍माबाट अगुवाइ पाएर शिमियोन मन्‍दिरमा गए। त्‍यतिखेर नै व्यवस्था पूरा गर्न मरियम र योसेफ पनि येशूलाई लिएर मन्‍दिरमा आइपुगे। शिमियोनले बालकलाई अँगालोमा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने, “हे प्रभु, तपाईंले आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ, अब आफ्‍नो दासलाई शान्‍तिसँग बिदा दिनुहोस् किनभने तपाईंले पठाउनुभएको मुक्तिदातालाई मैले आफ्‍नै आँखाले देख्‍न पाएँ। तपाईंले उहाँलाई सबै जातिका मानिसहरूले देखून् भनेर पठाउनुभएको हो, उहाँ नै अरू जातिका मानिसहरूलाई तपाईंको बाटो देखाउने ज्‍योति हुनुहुन्‍छ र उहाँ नै तपाईंका इस्राएलीहरूको महिमा गराउनुहुने हुनुहुन्‍छ।” बालकको बारेमा शिमियोनले भनेका कुरा सुनेर उहाँका आमा र बुबा छक्‍क परे। शिमियोनले उहाँहरूलाई आशीर्वाद दिएर बालककी आमा मरियमलाई भने, “सुन, इस्राएलमा धेरैको उद्धार वा नाश होस् भनेर परमेश्‍वरले तिम्रा बालकलाई नै छान्‍नुभएको छ। उहाँ परमेश्‍वरले देखाउनुहुने चिन्‍ह हुनुहुन्‍छ, जसलाई धेरैले विरोध गरेर आफ्‍ना हृदयका विचारहरू प्रकट गर्नेछन् अनि तिम्रो हृदय भने तिखो तरवारले घोचेजस्‍तै दु:खले भरिएर छियाछिया हुनेछ।” मन्‍दिरमा हन्‍ना भन्‍ने एक जना बुढी अगमवादिनी थिइन्। उनी आशेर कुलका फनुएलकी छोरी थिइन्। विवाह भएको सात वर्षपछि नै उनी विधवा भएकी थिइन् र अब उनी चौरासी वर्ष जति भएकी थिइन्। तिनले मन्दिर छोड्दैनथिइनन, उपवास र प्रार्थनासाथ रातदिन तिनी परमेश्‍वरलाई पुज्थिन्‌। उनले पनि मरियम र योसेफको छेउमा आएर परमेश्‍वरलाई धन्‍यवाद चढाइन् र यरूशलेमको छुट्‍काराको बाटो हेर्नेहरूलाई येशूको बारेमा बताइन्।

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्