YouVersion लोगो
खोज आइकन

लूका 2:2-14

लूका 2:2-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्‍टको जनगणना थियो। सबै जना नाउँ दर्ता गराउन आफ्‍नो-आफ्‍नो सहर गए। योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्‍ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदका कुटुम्‍ब र वंशका थिए। नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्‌। तिनीहरू त्‍यहाँ भएकै बेला मरियमको बालक जन्‍माउने बेला आयो। तिनले आफ्‍नो जेठो छोरो जन्‍माइन्‌ र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्‍ति पौवामा ठाउँ थिएन। त्‍यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्‍नो बगालको रखवाली गर्थे। प्रभुका एक जना स्‍वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्‍क्‍यो, अनि तिनीहरू साह्रै डराए। तब स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्‍दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्‍ति हुनेछ। आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ। तिमीहरूलाई चिन्‍हचाहिँ यो हुन्‍छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।” तब एक्‍कासि ती स्‍वर्गदूतसँग स्‍वर्गीय सेनाको एउटा दल देखा पर्‍यो। परमेश्‍वरको स्‍तुति गर्दै, तिनीहरूले भने, “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्‍वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्‍छ, तिनीहरूलाई शान्‍ति!”

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्

लूका 2:2-14 नेपाली समकालीन संस्करण (NCV)

(कुरेनियस सिरिया राज्यका राज्यपाल हुँदा, यो पहिलो जनगणना भएको थियो।) अनि नाउँ दर्ता गर्न सबै आ-आफ्ना शहरमा गए। यसरी योसेफ पनि गालील प्रदेशको नासरत शहरबाट यहूदिया प्रदेशमा, दाविदको शहर बेथलेहेम गए, किनकि उनी दाविदकै घराना र वंशका थिए। उनी आफ्नो नाउँ दर्ता गर्न मरियमसँगै गए, जसको मगनी उनीसँग भएको थियो, र तिनी गर्भवती थिइन्। तिनीहरू त्यहाँ रहेकै बेला, बालक जन्मने बेला भयो, र तिनले आफ्नो जेठो छोरो जन्माइन्। तिनले बालकलाई लुगाले बेह्रेर एउटा डुँडमा राखिन्, किनकि तिनीहरूका निम्ति त्यहाँ पौवामा ठाउँ थिएन। अनि त्यहाँ नजिकैको चउरमा राती आफ्नो बगालको रखवाली गर्दै बस्‍ने केही गोठालाहरू थिए। त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ देखा परे, अनि प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए। तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूको निम्ति हुनेछ। आज दाविदको शहर बेथलेहेममा तिमीहरूका निम्ति एकजना मुक्‍तिदाताको जन्म भएको छ, उहाँ नै ख्रीष्‍ट प्रभु हुनुहुन्छ। अनि तिमीहरूका निम्ति यो एउटा चिन्ह हुनेछ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेर डुँडमा सुतिरहेको भेट्टाउनेछौ।” तब एक्‍कासि ती स्वर्गदूतको साथमा स्वर्गीय सेनाको एउटा ठूलो भीड परमेश्‍वरको प्रशंसा गर्दै, यसो भन्दै देखा पर्‍यो, “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्वीमा उहाँको प्रसन्‍नता पाएका मानिसहरूलाई शान्ति।”

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्

लूका 2:2-14 पवित्र बाइबल (NERV)

यो नै पहिलो पल्टको यस्तो जनगणना थियो। कुरेनियस सिरयाको राज्यपाल हुँदा यो भएको हो। जम्मै मानिसहरू आफ्नो शहरहरूमा नाउँ पञ्जीकरण गराउन गए। यूसुफ पनि गालीलको नासरत शहरबाट यहूदियाको बेतलेहेम नामक शहरमा गए। बेतलेहेम शहरलाई दाऊदको शहर भनिन्थ्यो। यूसुफ पञ्जीकरणको लागि मरियमसँगै गए किनभने मरियमसँग उसको विवाह निश्चित भइसकेको थियो। मरियम त्यसबेला गर्भवती थिईन्। यूसुफ र मरियम बेतलेहेममा हुँदा नै बालक जन्मने समय भएको थियो। अनि तिनले जेठो पुत्र जन्माइन्। त्यसबेला धर्मशालाभित्र ठाउँ थिएन। त्यसैले तिनले आफ्नो बालकलाई लुगाहरूले बेरिन् अनि एउटा डूँडमा सुताइन। त्यो राती त्यस क्षेत्रमा बाहिर खेतमा केही गोठालाहरू आफ्नो भेंडा़हरू हेरचाह गरिरहेका थिए। परमप्रभुको एउटा दूत यसैबेला तिनीहरूको अघि उभिए। परमप्रभुको महिमा तिनीहरूको चारैतिर चम्किरहेको थियो। ती गोठालाहरू खुबै डराए। तर त्यो स्वर्गदूतले तिनीहरूलाई भने, “डराउनु पर्दैन, किनभने म तिमीहरूलाई शुभ-समाचारहरू भन्न लागेकोछु। यसले सबै मानिसहरूलाई अत्यन्त हर्षित तुल्याउनेछ। किनभने आज नै दाऊदको शहरमा तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ। उहाँ ख्रीष्ट, प्रभु हुनुन्छ। उहाँलाई तिमीहरूले यसरी चिन्नेछौः तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डुँडमा सुतिरहेको भेट्टाउनेछौ।” त्यसपछि अचानक अनगन्ति स्वर्गिय दूतहरू पहिलो दूतसँग भेला भए। सबै दूतहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहेका थिए, “स्वर्गमा परमेश्वरलाई महिमा, अनि जति मानिसहरूसँग परमेश्वर खुशी हुनुहुन्छ, तिनीहरूमा शान्ति रहोस्।”

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्

लूका 2:2-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसरी दर्ता गर्नुपर्छ भनेर हुकुम आएको योचाहिँ पहिलोपल्‍ट थियो। त्‍यति बेला कुरेनियस् सिरिया इलाकाका बडा-हाकिम थिए। महाराजाको हुकुमअनुसार सबै आ-आफ्‍ना गाउँ वा सहरमा नाउँ दर्ता गराउन गएँ। त्‍यति बेला योसेफचाहिँ गालील क्षेत्रको नासरत भन्‍ने सहरमा बस्‍थे। तर उनको सहर भने आफ्‍ना पुर्खा राजा दाऊदको सहर बेथलेहेम थियो किनभने उनी दाऊद कुलका सन्‍तान थिए। यसैकारण उनी आफ्‍नो नाउँ लेखाउन बेथलेहेम गए। योसेफसँग मरियमको विवाह गर्ने कुरा पक्‍का भइसकेकोले उनले तिनलाई पनि सँगै लगे। त्‍यतिखेर मरियम गर्भवती थिइन्। तिनीहरू बेथलेहेममा हुँदा नै मरियमको सुत्‍केरी हुने बेला भयो र तिनले आफ्‍नो जेठो छोरा जन्‍माइन् र थाङ्नाले बेरेर गोठमा रहेको डुँडमा सुताइन् किनभने उनीहरूले पाटी-पौवामा बस्‍न कहीँ पनि ठाउँ पाएनन्। बेथलेहेम सहरको नजिकै चउरमा गोठालाहरूले भेडा कुर्दै रात बिताइरहेका थिए। प्रभुका स्‍वर्गदूत तिनीहरूको सामुन्‍ने देखा परे र प्रभु परमेश्‍वरको उज्‍यालो तिनीहरूको चारैतिर चम्‍कियो। यो देखेर गोठालाहरू डरले थरथर काम्‍न लागे। तर स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ! किनभने म सबै मानिसहरूलाई आनन्‍द दिने सुसमाचार लिएर तिमीहरूको सामुन्‍ने आएको छु। सुन, दाऊद जन्‍मिएको सहरमा आज मुक्ति दिनुहुने राजा ख्रीष्‍ट जन्‍मिनुभएको छ। उहाँ नै प्रभु हुनुहुन्‍छ। तिमीहरूले बालकलाई थाङ्नाले बेरेर डुँडमा सुताइराखेको भेट्टाउनेछौ र यसैबाट तिमीहरूले उहाँलाई चिन्‍नेछौ।” त्‍यति नै खेर अरू धेरै स्‍वर्गदूतहरू त्‍यहाँ देखा परे अनि परमेश्‍वरको प्रशंसा गर्दै यस्‍तो गीत गाउन लागे, “सबैभन्दा माथि स्‍वर्गमा बास गर्नुहुने परमेश्‍वरको जयजयकार होस्, अनि पृथ्‍वीमा जुन मानिसहरूसँग उहाँ खुसी हुनुहुन्‍छ, तिनीहरूलाई शान्‍ति भइरहोस्।”

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्