लूका 18:2-8
लूका 18:2-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“कुनै एउटा सहरमा परमेश्वरको भय नमान्ने र मानिसको वास्ता नगर्ने एक जना न्यायाधीश थिए। त्यसै सहरमा एउटी विधवा थिई। त्यो तिनीकहाँ आइरहन्थी, र भन्थी, ‘मेरो वादीको अगि मेरो न्याय गरिदिनुहोस्।’ “तिनले केही समयसम्म त मानेनन्, तर पछिबाट तिनले आफ्नो मनमा भने, ‘म परमेश्वरको डर मान्दिनँ। मानिसको वास्ता पनि गर्दिनँ। तर यस विधवाले मलाई हैरान पारेकी हुनाले म त्यसको न्याय गरिदिनेछु, नत्रता तिनी एकोहोरो आएर मलाई वाक्क बनाउनेछे’।” प्रभुले भन्नुभयो, “सुन, ती अधर्मी न्यायाधीशले के भन्दछन्। के परमेश्वरले उहाँलाई रातदिन पुकार्ने आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्न र? के उहाँले तिनीहरूका निम्ति बियाँलो गर्नुहुन्छ र? म तिमीहरूलाई भन्दछु, उहाँले चाँड़ै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?”
लूका 18:2-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले भन्नुभयो: “कुनै एउटा सहरमा एक जना न्यायाधीश थिए। तिनले परमेश्वरको भय मान्दैनथे, र मानिसको वास्ता पनि गर्दैनथे। त्यसै सहरमा एउटी विधवा थिई; जो तिनीकहाँ यस्तो बिन्ती लिएर आइरहन्थी, ‘मेरो विरोधीको विरुद्ध मलाई न्याय दिनुहोस्।’ “केही समयसम्म त तिनले इन्कार गरे; तर पछि तिनले आफ्नो मनमा भन्न लागे, ‘म परमेश्वरको डर मान्दिनँ, र मानिसहरूको वास्ता पनि गर्दिनँ; तापनि यस विधवाले मलाई हैरान पारिरहेकी हुनाले म त्यसलाई न्याय दिलाउनेछु, ताकि त्यसले घरी-घरी आएर मलाई हैरान नबनाओस्!’ ” अनि प्रभुले भन्नुभयो, “ती अधर्मी न्यायाधीशले के भन्दैछन्, सुन! तब के परमेश्वरले दिनरात उहाँलाई पुकार्ने उहाँका चुनिएकाहरूको न्याय गर्नुहुनेछैन र? के उहाँ तिनीहरूलाई ढिलो गरी पन्छाइरहनुहुन्छ र? म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूको झट्टै न्याय गर्नुहुन्छ। तापनि जब मानिसको पुत्र आउनेछ, तब के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?”
लूका 18:2-8 पवित्र बाइबल (NERV)
“कुनै एउटा शहरमा एकजना न्यायधीश बस्थे। उसले परमेश्वर बारे वास्तै गर्दैन थिए। उसले यो पनि वास्ता गर्दैन थिए कि मानिसहरूले उसको बारेमा के-के सोच्छन्। त्यही शहरमा एकजना नारी थिई। त्यसको लोग्ने मरिसकेको थियो। त्यो विधवाले धेरै पल्ट त्यो न्यायाधीशलाई भनी, ‘यहाँ एउटा मानिस छ जसले मलाई अन्याय गर्दैछ। मेरो अधिकार बचाई दिनुहोस्।’ तर न्यायाधीशले त्यस विधवालाई कुनै प्रकारको सहायता गर्न चाहेनन्। लामो समय पछि न्यायाधीशले बिचार गर्यो, ‘परमेश्वरको बारेमा म वास्तै राख्तिनँ। अनि मानिसहरूले मेरो विषयमा के सोच्छन् त्यसको पनि म वास्ता गर्दिन। तर यो विधवाले भने मलाई हैरान पारी। यदि त्यसले चाहेको न्याय गरिदिएँ भने उसले मलाई छोडिदिने छे। नत्र भने घरी-घरी आउँछे अनि त्यसले मलाई हैरान बनाउँछे।’” तब प्रभुले भन्नुभयो, “सुन! त्यो अन्यायी न्यायाधिशले जे भन्यो, त्यसमा केही अर्थ छ। परमेश्वरले छानेका मानिसहरूलाई न्याय दिनुहुँदैन? तिनीहरू रात-दिन उहाँसँग कराउँछन्। परमेश्वरले आफ्नो मानिसहरूलाई ठिक न्याय दिनु हुनेछ। उहाँ उनीहरूलाई उत्तर दिनु ढिलाई गर्नु हुन्न। म तिमीलाई भन्दछु, उहाँले आफ्ना मानिसहरूलाई तुरन्तै सहाएता गर्नु हुन्छ। तर जब मानिसको पुत्र फेरि आउनु हुन्छ, के उहाँले पृथ्वीमा उहाँलाई विश्वास गर्ने मानिसहरू पाउनहुन्छ?”
लूका 18:2-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“कुनै सहरमा एक जना न्यायाधीश थिए। तिनले परमेश्वरको डर मान्दैनथे र मान्छेको पनि वास्ता गर्दैनथे। त्यसै सहरमा एउटी विधवा पनि थिइन्। तिनी घरीघरी न्यायाधीशकहाँ गएर भन्थिन्, ‘मेरो झगडिया र मेरो बीचमा न्याय गरिदिनुहोस्।’ केही दिनसम्म त उनले विधवाको कुरै सुनेनन्। तर पछि तिनले मनमनै भने, ‘हुन त मलाई परमेश्वरको डर पनि छैन र मानिसको वास्ता पनि छैन! तर यस विधवाले साह्रै दु:ख दिएकीले यसको कुरा विचार गरिदिनुपर्ला। नत्र यसले एकोहोरो आएर मलाई कचकच गरिरहन्छे र वाक्कै पार्छे’।” अनि प्रभुले भन्नुभयो, “त्यो कठोर अन्यायी न्यायाधीशको कुरा याद राख। त्यसरी नै दिन-रात परमेश्वरलाई पुकार्ने आफ्ना जनहरूलाई उहाँले अन्यायबाट जोगाउनुहुन्न र? के उहाँले आफ्नाहरूलाई सहायता गर्न ढीलो गर्नुहोला र? म तिमीहरूलाई भन्छु, उहाँले आफ्नाहरूलाई चाँडै अन्यायबाट बचाउनुहुनेछ। तर मानव पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउला?”