लूका 15:25-31
लूका 15:25-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“त्यस बेला तिनको जेठो छोरो खेतमा थियो, र त्यो घरको नजिक आइपुग्दा त्यसले नाचगानको आवाज सुन्यो। त्यसले चाकरहरूमध्ये एउटालाई आफूकहाँ बोलाएर ‘यो के भइरहेछ?’ भनेर सोध्यो। उसले त्यसलाई भन्यो, ‘तपाईंका भाइ आइपुगे, र तपाईंका पिताले पालिराखेको मोटो पशु मार्नुभयो। किनकि उहाँले तिनलाई सकुशल र स्वस्थ फर्किआएका भेट्टाउनुभयो।’ “तर त्यो रिसायो, र भित्र जान मानेन, र त्यसको बाबुले बाहिर गएर त्यसलाई मनाउन लागे। तर त्यसले बाबुलाई भन्यो, ‘हेर्नुहोस्, यतिका वर्ष मैले तपाईंको सेवा गरिरहेछु, अनि तपाईंको आज्ञा कहिल्यै उल्लङ्घन गरिनँ, तापनि मैले आफ्ना साथीहरूसँग आनन्द मनाउन तपाईंले मलाई एउटा पाठो पनि कहिल्यै दिनुभएन। तर तपाईंको सम्पत्ति वेश्याहरूसँग उड़ाउने यो तपाईंको छोरो आउँदाचाहिँ तपाईंले पालिराखेको मोटो पशु त्यसको निम्ति मार्नुभयो।’ “तब तिनले त्यसलाई भने, ‘छोरा, तँ त मसँग सधैँभरि छँदैछस्, अनि मेरो सबै सम्पत्ति तेरै हो।
लूका 15:25-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“त्यति बेला जेठो छोराचाहिँ खेतमा थियो। फर्केर घरनेर आइपुग्दा उसले बाजा बजाएर धुमधामसँग नाच-गान भइरहेको सुन्यो अनि एक जना नोकरलाई बोलाएर, ‘यो सब बाजा-गाजा, नाच-गान केको लागि हो?’ भनेर सोध्यो। नोकरले भन्यो, ‘तपाईंको भाइ फर्केर आउनुभएको छ। उहाँ आरामै आउनुभएकोले तपाईंका बुबाले ठूलो भोज लगाएर खुसीयाली मनाउनुभएको हो।’ यो सुनेर दाजुचाहिँ साह्रै रिसायो र घरभित्र जान पनि मानेन। बुबाले आएर उसलाई बिन्ती गर्दै फकाउन लागे। तर उसले बुबालाई यसरी जवाफ दियो, ‘यति वर्षदेखि मैले तपाईंको नोकरजस्तै भएर काम गरें। तपाईंले दिनुभएको सबै आज्ञा मैले मानेको छु। तर मलाई चाहिँ कहिले पनि साथीहरूसँग मिलेर खान एउटा पाठोसम्म पनि दिनुभएन। तर तपाईंको धन-सम्पत्ति वेश्याहरूसँग उडाउने छोरा आउँदाचाहिँ तपाईंले यत्रो ठूलो भोज लाउनुभयो।’ बुबाले उसलाई भने, ‘हेर् छोरा, तँ त सधैँभरि मसँगै छस्। मेरो भएभरको सम्पत्ति तेरै हो!
लूका 15:25-31 नेपाली समकालीन संस्करण (NCV)
“त्यस बेला जेठो छोरो खेतबारीमा थियो। त्यो घरको नजिकै आइपुग्दा त्यसले बाजा र नाचगानको आवाज सुन्यो। त्यसकारण त्यसले एउटा सेवकलाई बोलाएर के हुँदैछ भनी सोध्यो। त्यसले जवाफ दियो, ‘तपाईंको भाइ आउनुभएको छ, अनि तपाईंका बुबाले पालिराखेको मोटो पशु मार्नुभएको छ, किनकि उहाँले तिनलाई सुरक्षित र स्वस्थ नै पाउनुभएको छ।’ “तब जेठो दाजु रिसायो र भित्र जान मानेन। त्यसकारण त्यसका बुबा बाहिर गएर त्यसलाई फकाउन थाले। तर त्यसले आफ्नो बुबालाई जवाफ दियो, ‘हेर्नुहोस्! यतिका वर्षसम्म मैले तपाईंको सेवा गरिरहेको छु, र तपाईंका आज्ञा कहिल्यै उलङ्घन गरिनँ; तापनि मैले मेरा मित्रहरूसँग आनन्द मनाउन सकूँ भनेर तपाईंले मलाई एउटा पाठो पनि कहिल्यै दिनुभएन। तर जब तपाईंको सम्पत्ति वेश्याहरूसँग उडाउने तपाईंको यो छोरो घर आयो, तब तपाईंले त्यसका निम्ति पोसाइराखेको मोटो पशुसमेत मार्नुभयो।’ “बुबाले भने, ‘मेरो छोरा, तिमी ता सधैं मैसँग छौ, र मसँग भएका सबै थोक तिम्रा हुन्।
लूका 15:25-31 पवित्र बाइबल (NERV)
“उसको जेठो छोरो खेतमा थियो। ऊ बिस्तारै घरमा आयो। उसले त्यहाँ नाच गान भइहेको सुन्यो। यसर्थ जेठो छोराले एकजना नोकरलाई बोलाएर सोध्यो, ‘यी सब के भइरहेको छ?’ नोकरले उत्तर दियो, तिम्रो भाइ फर्केरे आएको छ। तिम्र बाबुले भाइ सकुशल फर्केर आएकोमा तिनी अत्यन्तै खुशी छन्। “त्यो जेठो छोरो रिसायो अनि भोजमा जान मन गरेन। यसर्थ उसको बाबु आफैं गएर तिनलाई उत्सवमा सम्मिलित हुन आग्रह गरे। त्यो छोरोले बाबुलाई भन्यो, ‘मैले यतिका वर्षसम्म नोकर झैं तपाईंको सेवा गरें। मैले सधैँ तपाईंको आज्ञा पालन गरें। तर मेरो निम्ति तपाईंले एउटा सानो पाठो सम्म दिनु भएन ताकि म मेरा मित्रहरूसँग भोज मनाउँन सक्थें। तर तपाईंको यो छोराले आफ्नो पुरै सम्मपत्ति वेश्याहरूको सँगतमा उडाएको हो। अनि ऊ घर आउँदा चाँहि मोटो बाछो समेत मार्नु लाउनु भयो।’ “अनि बाबुले छोरालाई भने, ‘ए छोरो! तिमी त मसँग सधैँ छौ। मेरोमा भएको सारा सम्पत्ति तिम्रै हो।