लूका 15:11-19
लूका 15:11-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले भन्नुभयो, “कुनै मानिसका दुई छोरा थिए। कान्छोचाहिँले बाबुलाई भन्यो, ‘पिताज्यू, मेरो भागमा पर्ने धन-सम्पत्तिको हिस्सा मलाई दिनुहोस्।’ तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँड़िदिए। “धेरै दिन बित्दा नबित्दै सबै धन-सम्पत्ति बटुलेर कान्छो छोरो टाढ़ा देशमा गयो, र त्यहाँ भोग-विलासमा आफ्नो सम्पत्ति उड़ायो। त्यसले सबै रुपियाँपैसा खर्च गरिसकेको थियो। त्यसै बेला त्यस देशमा ठूलो अनिकाल पर्यो, र त्यसलाई अभाव हुन थाल्यो। त्यो गयो, र त्यस देशको एक जना नागरिककहाँ त्यसले काम माग्यो। उसले त्यसलाई आफ्नो खेतमा सुँगुरहरू चराउन पठायो। सुँगुरले खाने चारोले त्यसले आफ्नो पेट भर्न चाहन्थ्यो, अनि कसैले त्यसलाई केही दिँदैनथियो। “जब त्यसको चेत खुल्यो, त्यसले भन्यो, ‘मेरा बाबुका धेरै ज्यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन्, तर मचाहिँ भोकले मरिरहेछु। म उठेर आफ्ना बाबुकहाँ जानेछु, र उहाँलाई भन्नेछु, “बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु। अब उप्रान्त म तपाईंको छोरो भनिने योग्यको छैनँ। मलाई तपाईंका ज्यालादारी चाकरहरूमध्ये एउटासरह तुल्याउनुहोस्’।”
लूका 15:11-19 नेपाली समकालीन संस्करण (NCV)
येशूले भन्ने क्रम जारी राख्नुभयो: “कुनै मानिसका दुई छोराहरू थिए। कान्छोले आफ्ना बुबालाई भन्यो, ‘पिता, मेरो भागमा पर्ने अंश मलाई दिनुहोस्।’ तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँडिदिए। “अनि धेरै दिन नबित्दै कान्छो छोरो आफूसँग भएको सबै धनसम्पत्ति बटुलेर टाढा देशमा गयो, र त्यहाँ त्यसले आफ्नो सम्पत्ति भोग-विलासमा उडायो। त्यसले सबै खर्च गरिसकेपछि त्यो सारा देशभरि ठूलो अनिकाल पर्यो, र त्यसलाई अभाव हुनथाल्यो। यसकारण त्यो गएर त्यस देशका एकजना नागरिककहाँ काम माग्यो, जसले त्यसलाई सुँगुरहरू चराउन आफ्नो खेतमा पठायो। अनि त्यसले सुँगुरहरूले खाने ती चारोहरूले आफ्नो पेट भर्न चाहन्थ्यो, तर कसैले पनि त्यसलाई केही दिँदैनथ्यो। “त्यसको आफ्नो चेत खुलेपछि त्यसले भन्यो, ‘मेरा बुबाका कति धेरै ज्यालादार सेवकहरूसँग अघाएर उबार्नेसमेत भोजन हुन्छ, तर म यहाँ भोकले मर्दैछु! म उठेर मेरा बुबाकहाँ फर्केर जानेछु, र उहाँलाई भन्नेछु: पिता, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरो भनिने योग्यको छैनँ; मलाई तपाईंका ज्यालादार सेवकहरूमध्ये एउटासरह बनाउनुहोस्।’
लूका 15:11-19 पवित्र बाइबल (NERV)
त्यसपछि येशूले भन्नुभयो, “एकजना मानिसको दुइ पुत्रहरू थिए। कान्छो छोरोले आफ्नो बाबुलाई भन्यो, ‘पिता हाम्रो सम्पत्तिमा मेरो भागमा जे जति अंश पर्छ मलाई दिनुहोस्।’ “केही दिन पछि कान्छो छोरोले आफ्नो सबै सम्पत्ति बटुल्यो अनि त्यो टाडो देशमा गयो। त्यहाँ त्यसले मूर्खले झैं आफ्नो रूपियाँ-पैसा सब खर्च गर्यो। आफूसित जे जति थियो सबै त्यसले स्वाहा पार्यो। तब, त्यो ठाउँमा खडेरी पर्यो, अनि पानी पटक्कै परेन। देशभरी मानिसहरूले खानेकुरा पाउन छाडे। त्यो खुबै भोकायो अनि उसलाई पैसाको पनि आवश्यकता पर्यो। अनि त्यस ठाँउको कुनै एकजना मानिसकहाँ गयो अनि आफ्नो जीविकाको लागि त्यसले त्यहाँ काम लियो। अनि उसले त्यसलाई खेतमा सुँगुरहरू हेर्न पठायो। त्यो मानिस त्यत्ति भोकाएको थियो कि उसले जुन चारो सुँगुरहरूले खाँदैथ्यो खान खोज्यो। तर कसैले त्यसलाई केही दिएन। “तब उसले आफूलाई मूर्ख भएको अनुभव गर्यो। उसले भन्यो, ‘मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा वेशी खाना छ। तर म यहाँ भोकले मर्न लागेको छु। म उठ्छु अनि यहाँबाट बाबुकहाँ जान्छु अनि म उनलाई भन्नेछु हे पिता! मैले परमेश्वर अनि तपाईंको अघि पनि पाप गरें म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन। मलाई तपाईंकै एकजना नोकर झैं राख्नु होस्।’
लूका 15:11-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले फेरि भन्नुभयो, “कुनै मानिसका दुई छोरा थिए। कान्छा छोराले बुबालाई भन्यो, ‘बुबा, मैले पाउनुपर्ने धन-सम्पत्तिको अंश मलाई दिनुहोस्।’ बुबाले पनि आफ्नो सम्पत्ति दुवै भाइलाई बाँडिदिए। “केही दिनपछि कान्छो छोरा आफ्नो भएभरको सम्पत्ति लिएर अर्कै देशमा गयो। त्यहाँ उसले मोज-मज्जामा सबै धन उडायो। सबै धन-सम्पत्ति सकेकै बेलामा त्यस देशमा ठूलो अनिकाल पर्यो र उसले धेरै दु:ख पायो अनि ऊ त्यस देशको एक जना मानिसकहाँ काम गर्न भनेर गयो। त्यस मानिसले उसलाई सुँगुर चराउने काममा लगाए। उसले सुँगुरको चारो खाएर भए पनि पेट भर्न चाहन्थ्यो। तर कसैले पनि उसलाई खानेकुरा दिएन। “त्यतिखेर पो बल्ल उसको चेत खुल्यो र उसले भन्यो, ‘मेरा बुबाकहाँ नोकरहरूले पेटभरि खाएर उबार्छन् पनि। मचाहिँ यहाँ भोक-भोकै मर्न लागिरहेको छु। अब म बुबाकहाँ गएर भन्छु– बुबा, मैले परमेश्वर र तपाईंको विरोधमा पाप गरें। अब त मलाई तपाईंको छोरा भन्न पनि सुहाउँदैन। तर मलाई दया गरी एक जना नोकरजस्तै सम्झेर राख्नुहोस्।’