लूका 14:26-33
लूका 14:26-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यदि कोही मकहाँ आउँछ, र आफ्ना बुबा, आमा, पत्नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन। जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन। “तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने, त्यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्यसले पहिले नै बसेर हिसाब लाउँदैन र? नत्र भने त्यसले जग बसालेपछि सिद्धयाउन सकेन भने, देख्नेहरू सबैले यसो भनेर त्यसको गिल्ला गर्न लाग्नेछन्, ‘यस मानिसले बनाउन त थाल्यो तर सिद्ध्याउन सकेन।’ “कुन राजा होला जसले अर्को राजासँग लड़ाइँ गर्न जाँदा आफ्नो साथ भएका दश हजारले त्यसको विरुद्ध आउने बीस हजारसँग लड़ाइँ गर्न सक्छु कि सक्दिनँ भनी पहिले बसेर सल्लाह गर्दैन? तिनले नसक्ने हो भने, त्यो अर्को राजा टाढ़ै हुँदा मिलापको शर्त सोध्न राजदूत पठाउनेछ। यसकारण तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन।
लूका 14:26-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यदि कोही मकहाँ आउँछ, र मलाई भन्दा बढी उसले आफ्नो बुबा, आमा, पत्नी, छोराछोरी, दाजुभाइ, दिदीबहिनी र आफ्नो प्राणलाई महत्व दिन्छ भने त्यो मेरो चेला हुन सक्दैन। अनि जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन। “मानौँ तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्यो भने त्यो सिद्ध्याउन पर्याप्त खर्च आफूसित छ कि छैन भनी के पहिले नै बसेर अनुमानित हिसाब गर्दैन र? यदि उसले जग बसाल्यो, तर त्यो पूरा गर्न सकेन भने त्यो देख्ने हरेकले त्यसको गिल्ला गर्नेछन्; अनि भन्नेछन्, ‘यस मानिसले बनाउन त सुरु गर्यो, तर पूरा गर्न सकेन।’ “अथवा मानौँ कुनै एउटा राजा अर्को राजाको विरुद्ध लडाइँ गर्न जाँदैछ भने के उसले पहिले नै बसेर आफूसँग भएका दश हजारले उसको विरुद्धमा बीस हजार लिएर आउँदैगरेको राजासँग लडाइँ गर्न सक्छु कि सक्दिनँ भनी विचार गर्दैन र? ऊ असमर्थ छ भने उसले त्यो अर्को राजा टाढा छँदा नै मिलापको प्रस्तावको लागि प्रतिनिधिहरू पठाउनेछ। त्यसै गरी तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन।
लूका 14:26-33 पवित्र बाइबल (NERV)
“यदि कोही मानिस मकहाँ आँउछ भने, अनि मलाई भन्दा अधिक उसको बाबु, आमा, पत्नी, छोरा-छोरी, दाज्यू-भाइ तथा दिदी बहिनीहरूलाई प्रेम गर्छ भने त्यो मानिस मेरो चेला हुन सक्तैन। कुनै पनि मानिसले आफ्नो जीवनलाई भन्दा वेशी मलाई धेरै प्रेम गर्नु पर्छ। यदि कसैले आफ्नो क्रूस (समस्या) नउठाई मलाई पछ्याउँछ भने त्यो मानिस मेरो चेला हुन सक्तैन। “यदि तिमी एउटा भवन बनाउन चाहन्छौ भने, तिमीले पहिले बसेर त्यो बनाउनलाई कति खर्च लाग्ने हो त्यसको छलफल गर्नु पर्छ। भवनको काम पूरा सिध्याउनलाई त्यत्ति तिम्रोमा भएको पैसाले पुग्छ पुग्दैन त्यो हेर्नु पर्छ। यदी तिमीले यसो नगरे, काम त शुरू गर्न सक्छौ तर त्यसलाई पूरा गर्न सक्तैनौ। अनि यदि पूरा गर्न नसके सबै मानिसहरूले तिमालाई खिसी गर्नेछन्। तिनीहरूले भन्ने छन्, ‘यो मानिसले घर बनाउन त शुरू गर्यो तर पूरा गर्न भने सकेन।’ “यदि कुनै राज अर्को राजासँग युद्ध गर्न जाँदैछ भने, पहिले ऊ बस्नु पर्छ, योजना बनाउनु पर्छ। यदी त्यसको दश हजार मनिसहरू छन् अनि उसको विपक्षी बीसहजार मानिसहरू लिएर आउँदैछ भने, त्यसले निर्णय गर्नु पर्छ कि ऊ विजयी हुन सक्छ कि सक्तैन। यदि उसले त्यो राजालाई जित्न सक्तैन भने उसले आफ्नो मानिसहरू अर्को राजाकोमा शान्ति प्रस्ताव राख्नको निम्ति पठाउनु पर्छ। “त्यसरी नै, तिमीहरूले पहिले योजना बनाउनु पर्छ। मलाई पछ्याउने हो भने तिमीहरूले प्रत्येक कुरालाई छाडनु पर्छ। नत्र तिमीहरू मेरो चेला बन्न सक्तैनौ।
लूका 14:26-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“मेरो पछि लाग्न चाहनेले आफ्ना आमा-बुबा, जहान, छोरा-छोरी, दाजुभाइ, दिदी-बहिनी र आफैंलाई भन्दा बढी मलाई प्रेम गर्नुपर्छ नत्र ऊ मेरो चेला हुन सक्दैन। आफ्नो क्रूस बोकेर मेरो पछि नलाग्नेचाहिँ मेरो चेला हुन सक्दैन। “यदि कसैले धरहरा बनाउन चाहन्छ भने पैसाले पुग्छ कि पुग्दैन, कति खर्च लाग्छ, सबै हिसाब पहिले नै गर्नुपर्छ, होइन र? यदि उसले धरहराको जग बसालेर पूरा गर्न सकेन भने मानिसहरूले उसलाई गिल्ला गर्दै भन्नेछन्, ‘यो मान्छेले बनाउन त थाल्यो, तर पूरा गर्नै सकेन!’ फेरि, कुनै राजाले अर्को राजासँग लडाइँ गर्न जाँदा ‘दश हजार सेना लिएर म बीस हजार सेना हुनेसँग लड्न सक्छु कि सक्दिनँ’ भनेर पहिले नै बसेर सोच्छन्! लड्न नसक्ने भए पहिले नै तिनले आफ्ना दूतहरूलाई के गरी मेलमिलाप हुन सक्छ भनी बुझ्न पठाउनेछन्। त्यसरी नै तिमीहरूमध्ये जसले मेरो लागि सबै कुरा त्याग्दैन, ऊ मेरो चेला हुन सक्दैन।