लूका 13:1-17

लूका 13:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यसै बेला त्‍यहाँ कति जना उपस्‍थित थिए, जसले ती गालीलीहरूका विषयमा उहाँलाई भने, जसलाई पिलातसले हत्‍या गरी तिनीहरूको रगत बलि भइरहेका पशुको रगतसँग मिसाइदिएका थिए। तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिनीहरूले यसरी कष्‍ट भोगे भन्‍दैमा, के तिमीहरू ठान्‍छौ, यी गालीलीहरू अरू सबै गालीलीहरूभन्‍दा बढ़ी पापी थिए? म तिमीहरूलाई भन्‍दछु, त्‍यसो होइन, तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू सबै त्‍यसरी नै नाश हुनेछौ। अथवा के तिमीहरू ठान्‍छौ, ती अठार जना, जो सिलोआममा धरहरा ढलेर मरेका थिए, कि तिनीहरू सबै यरूशलेमवासीहरूमध्‍ये बढ़ी अपराधी थिए? त्‍यसो होइन, तर म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरू सबै त्‍यसरी नै नाश हुनेछौ।” त्‍यसपछि उहाँले यो दृष्‍टान्‍त भन्‍नुभयो: “कुनै मानिसले आफ्‍नो दाखबारीमा एउटा अञ्‍जीरको बोट रोपेको थियो। त्‍यस बोटमा फल फल्‍यो कि भनेर त्‍यो आयो, तब त्‍यसले मालीलाई भन्‍यो, ‘तीन वर्ष भयो, म यस अञ्‍जीरको रूखमा फल खोज्‍दैछु, तर पाउँदिनँ। यसलाई काटेर ढालिदे, यसले जमिन किन ओगट्‌ने?’ “तर मालीले भन्‍यो, ‘हजूर, यसलाई अझै एक वर्ष रहन दिनुहोस्‌। म यसको वरिपरि खनेर मल हाल्‍छु, र त्‍यसपछि फल फल्‍यो भने बेसै भयो, फलेन भने तपाईंले त्‍यसलाई ढालिदिनोस्‌’।” एक शबाथ-दिन कुनै एउटा सभाघरमा उहाँले शिक्षा दिइरहनुभएको थियो। त्‍यहाँ एउटी स्‍त्री थिई, जसलाई अठार वर्षदेखि दुर्बल पार्ने दुष्‍टात्‍मा लागेको थियो। त्‍यो कुप्री परेकी थिई, र आफै पूर्ण रूपले सीधा हुन सक्‍दिनथिई। येशूले त्‍यसलाई देख्‍नुभयो, र बोलाएर भन्‍नुभयो “ए नारी, तिमी आफ्‍नो दुर्बलताबाट मुक्त भयौ।” तब उहाँले त्‍यसमाथि आफ्‍ना हात राख्‍नुभयो, र त्‍यो तुरुन्‍तै सीधा भई र परमेश्‍वरको प्रशंसा गर्न लागी। सभाघरका शासक क्रोधित भए, किनकि येशूले शबाथमा निको पार्नुभएको थियो, र तिनले मानिसहरूलाई भने, “काम गर्ने छ दिन छन्‌। यसकारण यी छ दिनभित्र आएर निको होओ, शबाथ-दिनमा होइन।” तर प्रभुले जवाफ दिनुभयो, “कपटी हो! तिमीहरूमध्‍ये कसले शबाथ-दिनमा गोठ र तबेलाबाट आफ्‍नो गोरु कि गधा फुकाएर पानी खुवाउन लैजाँदैन? अब्राहामकी यो छोरी जो अठार वर्षसम्‍म शैतानको बन्‍धनमा थिई, शबाथ-दिनमा यस बन्‍धनबाट त्‍यो मुक्त हुनुपर्ने होइन र?” उहाँले यी कुरा भन्‍नुभएपछि उहाँका विरोधीहरू सबै शर्ममा परे, तर उहाँले गर्नुभएका सबै महिमामय कामहरूमा मानिसहरू आनन्‍दित भए।

शेयर गर्नुहोस्
लूका 13 पढ्नुहोस्

लूका 13:1-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसै बेला त्यहाँ केही मानिसहरू उपस्थित थिए, जसले येशूलाई ती गालीलीहरूका विषयमा बताए, जसलाई पिलातसले हत्या गरेर तिनीहरूको रगत बलि पशुका रगतसँग नै मिसाइदिएका थिए। येशूले जवाफ दिनुभयो, “यस प्रकारले यातना पाएका कारण के ती गालीलीहरू अरू सबै गालीलीहरूभन्दा बढी पापी थिए भनी तिमीहरू सम्झन्छौ? म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू पनि सबै नाश हुनेछौ। अथवा ती अठार जना, जसमाथि सिलोआमको धरहरा ढल्दा मरेका थिए; के तिनीहरू यरूशलेममा बस्‍ने अरू सबै मानिसहरूभन्दा बढी दोषी थिए भनी तिमीहरू सम्झन्छौ? म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू पनि सबै नाश हुनेछौ।” त्यसपछि उहाँले यो दृष्‍टान्त भन्‍नुभयो: “कुनै एक जना मानिसको, आफ्नै दाखबारीमा रोपिएको एउटा अञ्जीरको रूख थियो। त्यस बोटमा फल छ कि भनी त्यो हेर्न आयो। तर त्यसमा एउटै फल पनि भेट्टाएन। यसकारण त्यसले दाखबारीको हेरचाह गर्ने मालीलाई भन्यो, ‘अब तीन वर्ष भइसक्यो, म यो अञ्जीरको रूखमा फल खोज्न आइरहेको छु, तर एउटै पनि फल पाएको छैन। यसलाई काटेर ढालिदेऊ! किन यसले जमिन मात्रै ओगट्ने?’ “तब मालीले जवाफ दियो, ‘मालिक, यसलाई अझै एक वर्ष रहन दिनुहोस्। म यसको वरिपरि खन्‍नेछु र मल हाल्नेछु। यसले अर्को वर्ष फल फलायो भने राम्रै भयो! नत्रता, यसलाई काटेर ढालिदिनुहोस्।’ ” एक शब्बाथमा येशूले एउटा सभाघरमा शिक्षा दिइरहनुभएको थियो। त्यहाँ अठार वर्षदेखि कुँजो पार्ने दुष्‍ट आत्मा लागेकी एउटी स्त्री थिइन्। ती स्त्री कुप्री परेकी थिइन्, र आफैँलाई कति पनि सीधा पार्न सक्दिन थिईन्। येशूले तिनलाई देख्नुभएपछि तिनलाई अगि बोलाएर भन्‍नुभयो, “ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भएकी छौ।” त्यसपछि उहाँले तिनीमाथि आफ्नो हात राख्नुभयो, र तिनी तुरुन्तै सीधा भईन्, र परमेश्‍वरको प्रशंसा गरिन्। येशूले शब्बाथमा निको पार्नुभएको हुनाले रिसाएका सभाघरका शासकले मानिसहरूलाई भने, “काम गर्नका निम्ति छ दिनहरू छँदैछन्। त्यसकारण यी छ दिनभित्र आओ र निको होओ; शब्बाथमा होइन।” तब प्रभुले तिनलाई जवाफ दिनुभयो, “ए कपटीहरू! के तिमीहरूमध्ये हरेकले शब्बाथमा गोठ र तबेलाबाट आफ्नो गोरु वा गधा फुकाएर त्यसलाई पानी खुवाउन बाहिर लैजाउँदैनौ र? त्यसो भए शैतानले अठार वर्षसम्म बन्धनमा राखेको अब्राहामकी यो छोरी शब्बाथमा यस बन्धनबाट मुक्त हुनुपर्ने होइन र?” उहाँले यो कुरा भन्‍नुभएपछि उहाँका सबै विरोधीहरू शर्ममा परे; तर अरू मानिसहरू उहाँले गरिरहनुभएका सबै उदेकका कामहरूमा आनन्दित भए।

शेयर गर्नुहोस्
लूका 13 पढ्नुहोस्

लूका 13:1-17 पवित्र बाइबल (NERV)

त्यसबेला कोही मानिसहरू येशूसँग थिए। ती मानिसहरूले गालिलका मानिसहरूको विषयमा एउटा कथा येशूलाई सुनाए। पिलातसले कतिपय मानिसहरूलाई उपासना गरिरहेको बेला मारेका थिए। पिलातसले ती मानिसहरूको रगत परमेश्वरलाई बलिदान चढाएको पशुहरूको रगतसित मिसाए। येशूले उत्तर दिनुभयो, “तिनीहरूमाथि यस्तो घट्ना घट्यो भनी के तिमीहरू गालीलका अन्य मानिसहरू भन्दा तिनीहरू अझ पापी थिए भन्ने सौच्छौ? होइन, तिनीहरू त्यस्ता थिएनन्। तर तिमीहरूले पनि आफ्नो हृदय र जीवन परिवर्त्तन गरेनौ भने तिमीहरू पनि सर्वनाश हुनेछौ। सिलोआमको धरहरा तिनीहरूमाथि झरेर अठाह्र जना मर्ने मानिसहरूको विषयमा तिमीहरू के सोच्छौ? के तिमीहरू तिनीहरूलाई यरूशलेमका अन्य सबै मानिसहरू भन्दा धेरै पापी सम्झन्छौ? तिनीहरू त्यस्ता थिएनन्। तर म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गरेनौ भने तिमीहरू पनि त्यसरी नै नाश हुनेछौ?” येशूले यो दृष्टान्त भन्नुभयो, “एकजना मानिसको एउटा नेभारोको रुख थियो। त्यसले त्यो रुखलाई आफ्नै दाखको बारीमा रोपेको थियो। त्यो मानिस रूखमा फल लाग्यो कि भनेर हेर्न आयो, तर केही पाएन। त्यस दाखबारी हेरचाहको लागि त्यसले एकजना नोकर पनि राखेको थियो। त्यसर्थ त्यो मानिसले आफ्नो नोकरलाई भन्यो, मैले तीन वर्ष अघिदेखि यो रूखमा फल खोजिरहेछु, तर केही पाइँन। यसलाई काटी देऊ! किन त्यसै जमीन खेर फाल्ने? तर नोकरले उत्तर दियो, ‘मालिक फलको लागि अझ एक वर्ष यस रुखलाई राखौं। मलाई यसको वरिपरि खनेर मल हाल्न दिनुहोस्। हुनसक्छ, आउँदो वर्ष यो रूखले अवश्यै फल देला। यदि त्यसबेला सम्म पनि रुखले फल दिएन भने त्यलाई काटी दिऊँला।’” विश्रामको दिन येशूले सभाघरहरूमा शिक्षा दिनुभयो। सभाघरमा एउटी स्त्री थिई। ऊ भित्र दुष्टात्मा पसेको थियो जसद्वारा ऊ अठाह वर्षबाट कुप्रेकी थिई। त्यसको ढाड कुप्रो थियो अनि सिधा उभिन सक्तिनथी। जब येशूले उसलाई देख्नुभयो र उहाँले भन्नुभयो, “ए नारी, तिमी आफ्नो रोगबाट मुक्त भयौ।” येशूले ऊमाथि हात राख्नुभयो। त्यपछि ऊ उठ्न सकी अनि परमेश्वरको प्रशंसा गरी। विश्रामको दिन यसरी येशूले जाती पारेकोमा सभा घरका प्रमुख येशूसँग रिसाएका थिए। यसकारण उहाँले त्यहाँ उपस्थित मानिसहरूलाई भन्नुभयो, “छ दिन काम गरिन्छ। अनि कुनै दिन निको पार्नको लागी कोही आउन सक्छ। तर विश्राम को दिन निको हुनको निम्ति नआउनु।” प्रभूले उनलाई भन्नुभयो, “तिमीहरू कपटी हौ। तिमीहरू सबैले तिमीहरूको गोठ अथवा गधा खोलेर गोरू अथवा तवेलाबाट तिनीहरूलाई पानी पियाउन लैजान्छौ। तिमीहरू यो विश्रामको दिन पनि गर्छौ? यो स्त्री जसलाई मैले निको पारें ऊ हाम्रै यहूदीकी छोरी हुन्। तर शैतानले उसलाई अठाह्र वर्षसम्म बाँधेर राख्यो। के विश्रामको दिन उसको बन्धनबाट छुटाउने काम ठीक थिएन?” जब येशूले यसो भन्नुभयो, सबै मानिसहरू जसले उहाँको निन्दा गरे तिनीहरू लज्जित भए। अनि भिडका सबै मानिसहरू येशूले गरेको त्यस्तो अचम्मित कार्यका निम्ति खुशी भए।

शेयर गर्नुहोस्
लूका 13 पढ्नुहोस्

लूका 13:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

केही मानिसहरूले येशूलाई भने, “बलि चढाइरहेको बेला पिलातसले कति जना गालीलीहरूलाई मारे र उनीहरूको रगत बलिको रगतसँगै मिसियो!” येशूले तिनीहरूलाई भन्‍नुभयो, “यसरी मारिने ती गालीलीहरू के अरूभन्दा पापी थिए भन्‍ने तिमीहरू सम्‍झन्‍छौ? त्‍यसो होइन, म तिमीहरूलाई भन्‍छु, आ-आफ्‍ना पापलाई मानिलिएर छोडेनौ भने तिमीहरू पनि त्‍यसरी नै नष्‍ट हुनेछौ। फेरि सिलोआमको धरहरा पल्‍टेर मारिने ती अठार जना मानिसहरू यरूशलेमका अरू मानिसहरूभन्दा पापी थिए भनी सम्‍झन्‍छौ? त्‍यसो होइन, तर म तिमीहरूलाई भन्‍छु, तिमीहरूले आ-आफ्‍ना पापलाई मानेर छोडेनौ भने तिमीहरू पनि नष्‍ट हुनेछौ।” त्‍यसपछि येशूले तिनीहरूलाई एउटा दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो, “एक जना मानिसको अङ्‌गुर बारीमा नेभाराको रूख थियो। ऊ समय-समयमा नेभारा फल्‍यो कि भनेर हेर्न आउँदा फल पाएन। आखिरमा उसले बारीमा काम गर्ने नोकरलाई भन्‍यो, ‘हेर, तीन वर्षदेखि यसमा फल फल्‍छ कि भनेर मैले बाटो हेरें, तर फल्‍दै फलेन। अब व्‍यर्थैमा यसलाई किन ठाउँ ओगट्‍न दिने? यसलाई काटिदेओ।’ तर नोकरले भन्‍यो, ‘हजुर, अझै एक वर्ष बाटो हेरौं। म यसको वरिपरि खनेर मल हालिदिनेछु। कतै फलि पो हाल्‍छ कि? फलेछ भने ठीक छ, फलेन भने काटिदिउँला’।” एकपल्‍ट पवित्र विश्रामको दिन येशू सभाघरमा शिक्षा दिँदै हुनुहुन्‍थ्‍यो। त्‍यहाँ एक जना अठार वर्षदेखि भूत लागेर रोगाएकी स्‍वास्‍नी मानिस थिइन्। तिनी कुप्रिएर सोझो हुन नसक्‍ने भएकी थिइन्। येशूले ती स्‍वास्‍नी मानिसलाई देखेर अगाडि डाकेर भन्‍नुभयो, “हे स्‍त्री, अब तिमीले रोगबाट छुट्‍कारा पायौ।” उहाँले तिनीमाथि आफ्‍नो हात राख्‍नुभयो अनि तिनी तुरुन्‍तै सोझो भएर परमेश्‍वरको प्रशंसा गर्न लागिन्। ती स्‍त्रीलाई विश्रामको दिनमा निको पारेको देखेर सभाघरको शासक रिसाए। तिनले मानिसहरूलाई भने, “काम गर्न साताका छ दिन छँदैछ! विश्रामको दिनमा निको हुन किन आउँछौ? के यो दिनबाहेक अरू दिन छैन र?” प्रभुले तिनलाई यसरी जवाफ दिनुभयो, “ए कपटीहरू हो, के विश्रामको दिनमा तिमीहरूले गाई, गोरु या गधालाई फुकाएर पानी खुवाउन लाँदैनौ र? यो अब्राहामकी छोरीलाई शैतानले अठार वर्षदेखि पासोमा पारेको थियो, के पवित्र विश्रामको दिन हो भनेर तिनलाई छुट्‍कारा दिनुहुँदैन र?” उहाँको यस्‍तो जवाफ सुनेर विरोधीहरू लाजमा परे। मानिसहरू भने उहाँले गर्नुभएको अचम्‍मको काम देखेर खुसी भए।

शेयर गर्नुहोस्
लूका 13 पढ्नुहोस्