लूका 1:67-80
लूका 1:67-80 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसका बुबा जकरिया आत्माले भरिएर अगमवाणी बोल्न लागे, “इस्राएलका परमप्रभु, परमेश्वरको प्रशंसा होस्, किनभने उहाँ आउनुभएको छ, र आफ्ना मानिसहरूलाई उद्धार दिनुभएको छ! उहाँले हाम्रा निम्ति आफ्ना दास दाऊदको वंशमा एक शक्तिशाली मुक्तिदाता खड़ा गर्नुभएको छ, जसरी उहाँले प्राचीन कालदेखि नै आफ्ना पवित्र अगमवक्ताहरूका मुखद्वारा बोल्नुभयो, कि हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट हामी उद्धार पाऔं— उहाँले हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई, र आफ्नो पवित्र करार स्मरण गर्नलाई, जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग खानुभएको थियो, कि हामी हाम्रा शत्रुहरूका हातबाट मुक्त होऔं, र निर्भयतासाथ हाम्रा समस्त जीवनभरि पवित्रता र धार्मिकतामा उहाँको सामुन्ने उहाँको सेवा गर्न पाऔं। हे बालक, तिमी सर्वोच्चका अगमवक्ता कहलाइनेछौ, किनकि तिमी प्रभुको अगिअगि उहाँको मार्ग तयार पार्न जानेछौ, उहाँको जातिलाई पाप-क्षमाद्वारा मुक्तिको ज्ञान प्रदान गर्नलाई, हाम्रा परमेश्वरका कोमल कृपाको कारणले, स्वर्गबाट बिहानको ज्योति हामीमाथि पर्नेछ, र अन्धकार र मृत्युको छायामा बस्नेहरूलाई ज्योति मिल्नेछ, र हाम्रा पाउ शान्तिको बाटोतिर डोर्याइनेछन्।” अनि बालक यूहन्ना बढ्दै र आत्मामा बलिया हुँदैगए, र इस्राएलीहरूकहाँ खुला रूपमा देखा नपरुञ्जेल तिनी उजाड-स्थानमा नै बसे।
लूका 1:67-80 नेपाली समकालीन संस्करण (NCV)
बालकका बुबा जकरिया पवित्र आत्माले भरिए, र यसरी अगमवाणी बोल्न लागे: “इस्राएलका परमेश्वर, प्रभुलाई प्रशंसा होस्; किनकि उहाँ आएर आफ्ना मानिसहरूलाई उद्धार गर्नुभएको छ। उहाँले आफ्नो सेवक दाविदको वंशमा हाम्रा निम्ति एउटा शक्तिशाली राजा, हाम्रो उद्धारको निम्ति पठाउनुभएको छ। जसरी आफ्ना पवित्र अगमवक्ताहरूद्वारा उहाँले परापूर्व कालदेखि नै बोल्नुभएको थियो। हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट हामीलाई उद्धार गर्न, हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई र उहाँको पवित्र करार स्मरण गर्नलाई, जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको थियो, हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटाउनलाई र निर्भयतासाथ पवित्रता र धार्मिकतामा, हाम्रो जीवनभरि नै उहाँको सामुन्ने उहाँको सेवा गर्ने तुल्याउनलाई। “अनि तिमी मेरा बालक, सर्वोच्चका अगमवक्ता भनिनेछौ, किनकि उहाँका निम्ति बाटो तयार पार्न तिमी प्रभुको अघि-अघि जानेछौ। उहाँका मानिसहरूलाई तिनीहरूका पाप क्षमाद्वारा मुक्तिको ज्ञान दिनलाई, हाम्रा परमेश्वरको कोमल कृपाको कारणले, जसद्वारा हाम्रा निम्ति स्वर्गबाट उदाउँदो सूर्य आउनेछ। अन्धकार र मृत्युको छायामा बस्नेहरूमाथि ज्योति चम्कनलाई, हाम्रा पाउहरूलाई शान्तिको बाटोमा डोर्याउनलाई।” अनि बालक बढ्दै र आत्मामा बलियो हुँदैजानुभयो; र इस्राएलमा सार्वजनिक रूपमा देखा परेर सेवा सुरु नगरून्जेल, उहाँ उजाडस्थानमा नै बस्नुभयो।
लूका 1:67-80 पवित्र बाइबल (NERV)
त्यसपछि यूहन्नाको बाबु जकरियामा पवित्र आत्मा आउनु भयो। अनि तिनले यस्तो अगमवाणी दिन थालेः “इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गर। कारण उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्नु भयो, अनि तिनीहरूलाई स्वतन्त्रता दिनुभयो। परमेश्वरकै सेवक दाऊदका बंशबाट उहाँले हामीलाई शक्तिशाली मुक्तिदाता दिनु भएको छ। उहाँले भन्नु भएको थियो कि उहाँले यी सब गर्नु हुनेछ। धेरै अघिनै उहाँका पवित्र अगमवक्ताहरूबाट उहाँले यी सब कुराहरू भन्नु भएको हो। उहाले हामीलाई शत्रुहरूदेखि, अनि हामीलाई घृणागर्ने शक्तिहरूदेखि जोगाउनु भएको छ। उहाँले हाम्रा पुर्खाहरूलाई दया गर्नेछु भन्नु भएकोछ। उहाँले पवित्र करार पनि स्मरण गर्नु भएकोछ। उहाँले हाम्रा पुर्खा अब्राहामको अघि शपथ खानु भएको थियो की उहाँले हामीलाई हाम्रो शत्रुहरूको पन्जाबाट स्वतन्त्र राख्ने शपथ लिनु भएकोछ, औ हामीलाई निर्भयपूर्वक उहाँको सेवामा राख्नु हुनेछ। जब सम्म हामी जीवित रहन्छौ हामी पवित्र अनि परमेश्वर अघि सही मार्गमा रहनेछौं। “ए बालक, अब तिमी, महा-महिमाको अगमवक्ता कहलाइनेछौ। उहाँको आगमनको मार्ग तयारी पार्न तिमी सर्वप्रथम परमेश्वरको अघि जानेछौ। तिमीले उहाँका मानिसहरूलाई तिनीहरूको पापहरूबाट क्षमा पाएर कसरी बाँच्ने त्यो बुझाउनेछौ। “परमेश्वरको प्रेमपूर्ण करूणा पाएर, हामीमा स्वर्गबाट एउटा नयाँ उज्यालो ज्योति चम्कनेछ। उहाँले अन्धकारमा बसेका, मृत्युको डरमा परेकाहरूलाई मद्दत गर्नु हुनेछ। उहाँले हामीलाई शान्तिको मार्गतिर पथ-प्रदर्शन गर्नु हुनेछ।” यसरी नै ती बालक बढ्दै गए र आत्मामा शक्तिमान हुँदै गए। जबसम्म इस्राएलमा मानिसहरूलाई शिक्षा दिन तिनी आएनन् त्यत्तिबेला सम्म यूहन्ना मानिसहरूदेखि टाडा भएर बसे।
लूका 1:67-80 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जकरिया पवित्र आत्माले भरिए र आत्माले भन्न लगाएझैँ भने, “इस्राएलीहरूका प्रभु परमेश्वरको प्रशंसा होस्। उहाँले आफ्ना जनहरूलाई सहायता गरेर छुट्कारा दिनुभयो। उहाँले आफ्नो दास दाऊदको एउटा सन्तान खडा गरेर मुक्ति दिनुहुने हाम्रा शक्तिशाली राजा बनाउनुभयो। उहाँले हामीलाई हाम्रो शत्रुको हातबाट र हामीलाई घृणा गर्नेहरूको शक्तिबाट बचाउनुहुनेछ भन्ने कुरा आफ्ना पवित्र अगमवक्ताहरूद्वारा अघि नै उहाँले प्रतिज्ञा गरिसक्नुभएको थियो। अब उहाँले हाम्रा पिता-पुर्खाहरूसँग बाँध्नुभएको पवित्र वाचालाई सम्झेर हामीलाई दया गर्नुभएको छ। उहाँले हाम्रा पुर्खा अब्राहामसँग म साँच्चै प्रतिज्ञा पूरा गर्नेछु भनी वाचा गर्नुभयो। र हामीलाई शत्रुको हातबाट छुट्कारा दिनुहुनेछ अनि हामी नडराई उहाँको सामु ठीक र पवित्रतासँग जीवनभरि उहाँको सेवा गर्न सक्छौं। अब हे मेरो छोरा, तिमी त महान् परमेश्वरको वक्ता कहलाइनेछौ। तिमी प्रभुको बाटो तयार पार्नलाई उहाँको अघि-अघि जानेछौ। ‘पापबाट क्षमा पाएर मुक्ति पाउनेछौ’ भन्ने कुरा तिमीले प्रभुका जनहरूलाई सिकाउनेछौ। किनभने हाम्रा परमेश्वर दयालु र मायालु हुनुहुन्छ। त्यसैले उहाँले मुक्तिको उज्यालो स्वर्गबाट हामीकहाँ पठाउनुहुनेछ अनि अँध्यारोमा बस्ने र कालको मुखमा पर्न लागेकाहरूलाई उज्यालो दिनुहुनेछ। अनि त्यस उज्यालोले नै हामीलाई शान्तिको बाटोमा डोर्याउनेछ।” बालक शरीर र आत्मामा बढ्दै गए। तर इस्राएलीहरूका बीचमा प्रचार सुरु नगरुञ्जेल उनी उजाड-स्थानमा नै बसे।