लूका 1:57-66
लूका 1:57-66 नेपाली समकालीन संस्करण (NCV)
जब एलीशिबाको सुत्केरी हुने बेला आयो, तब तिनले एउटा छोरा जन्माइन्। तिनका छिमेकी र नातेदारहरूले प्रभुले तिनीमाथि उहाँको ठूलो कृपा देखाउनुभएको छ भन्ने सुने, अनि तिनको आनन्दमा सँगै रमाए। आठौं दिनमा तिनीहरू बालकलाई खतना गर्न आए, र तिनीहरूले बालकको नाउँ उसको बुबाझैं जकरिया राख्न लागेका थिए, तर बालककी आमा बोलिन् र भनिन्, “होइन! त्यसको नाउँ यूहन्ना राखिनुपर्छ।” तिनीहरूले तिनलाई भने, “त्यो नाउँ भएको व्यक्ति त तिम्रा नातेदारमा कोही पनि छैन।” त्यसपछि तिनीहरूले त्यसका बुबाले बालकलाई के नाउँ दिन चाहन्छन् भनी जान्न उनलाई इशारा गरी सोधे। उनले एउटा लेख्ने पाटी मगाएर “उसको नाउँ यूहन्ना हो” भनी लेखिदिए। यो देखेर सबै छक्क परे तुरुन्तै तिनको मुख र जिब्रो खुल्यो अनि बोली फुट्यो; अनि उनी परमेश्वरको प्रशंसा गर्दै बोल्न थाले। यो देखेर छिमेकीहरू सबैमा डर छायो; र यहूदिया प्रदेशका सम्पूर्ण पहाडी मुलुकभरि मानिसहरूले यी सबै कुराका बारेमा चर्चा गरे। यी कुरा सुन्नेहरू सबैले “यो बालक अब कस्तो होला?” भन्दै विचार गर्न लागे। किनकि प्रभुको बाहुली तिनीमाथि थियो।
लूका 1:57-66 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब एलीशिबाको सुत्केरी हुने बेला आयो, र तिनले एउटा छोरो जन्माइन्। परमप्रभुले तिनीमाथि उहाँको ठूलो अनुग्रह देखाउनुभएको छ भन्ने सुनेर तिनका छिमेकीहरू र नातेदारहरू तिनीसँग रमाए। आठौँ दिनमा तिनीहरू बालकलाई खतना गर्न आए, र त्यसको नाउँ त्यसका बाबुको नाउँजस्तै जकरिया राख्न लागेका थिए, तर त्यसकी आमाले भनिन्, “होइन, त्यसको नाउँ यूहन्ना राखिनेछ।” तिनीहरूले तिनलाई भने, “तिम्रा नातेदारमा यस्तो नाउँ भएको कोही छैन।” तब तिनीहरूले त्यसका बाबुलाई इशारा गरी सोधे “तिमी यसको नाउँ के राख्न चाहन्छौ?” तिनले एउटा लेख्ने पाटी मगाएर “त्यसको नाउँ यूहन्ना हो” भनेर लेखिदिए। तिनीहरू सबै छक्क परे। तुरुन्तै तिनको मुख खुल्यो र तिनको वाक्य फुट्यो र तिनी परमेश्वरको प्रशंसा गर्न लागे। तिनीहरूका सबै छिमेकीमा डर छायो। यहूदियाको जम्मै पहाडी मुलुकभरि यस घटनाको चर्चा फैलियो। यी कुरा सुन्नेहरू सबैले यो बालक पछि कस्तो हुन्छ होला भनी आफ्ना मनमा गुने। किनकि परमप्रभुको बाहुली त्यसमाथि थियो।
लूका 1:57-66 पवित्र बाइबल (NERV)
इलीशिबाको सुत्केरी हुने समय भयो अनि तिनले एउटा छोरो जन्माइन्। तिनका छिमेकीहरू र आफन्तहरूले तिनीप्रति परमप्रभु परमेश्वरले अति नै अनुग्रह देखाएको सुनेका थिए। तिनीहरू मरियमसँग खुशी थिए। बालक आठ दिनको भएपछि तिनीहरू उसको खतना गर्न आए। तिनीहरूले उसको नाउँ जकरिया राख्न चाहान्थे किनभने यो उसकै बाबुको नाउँ थियो। तर उसकी आमाले भनिन्, “होइन, उसको नाउँ यूहन्ना हुनेछ।” मानसहरूले इलीशिबालाई भने, “तर तिमीहरूको परिवारमा यस्तो नाउँ भएको कोही छैन।” त्यसपछि तिनीहरूले तिनका बाबुलाई संकेत गरे, “तिमीले यसको नाउँ के राख्ने इच्छा गरेका छौ?” भनिसोधे। जकरियाले केही लेख्न पाटी माँगे। तब उसले लेखिदिए, “उसको नाउँ यहून्ना हो।” तिनीहरू छक्क परे। त्यही बेला जकरियाको मुख खोलियो। उसको जिब्रो फुट्यो अनि उनी बोल्न थाले। उनले परमेश्वरको प्रशंसा गरे। अनि उनको सबै छिमेकीहरू डराए। यहूदियाको पहाडी क्षेत्रका बासिन्दाहरू यस विषयमा कुराहरू गर्न थाले। जम्मै मानिसहरू ज-जसले यी कुराहरू सुने तिनीहरू निकै प्रभावित भए “यो केटो पछि के बनिन्छ होला भनेर सोच्न थाले?” परमप्रभु त्यस बालकसित हुनाले त्यस्तो सोचिएको थियो।
लूका 1:57-66 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एलीशिबाको सुत्केरी हुने समय आयो र तिनले छोरा पाइन्। प्रभु परमेश्वरले तिनलाई यति ठूलो दया गर्नुभएको देखेर तिनका आफन्त र छरछिमेकीहरू पनि रमाए। बालक आठ दिन पुगेपछि उनको शरीरको खतना गर्न तिनीहरू जम्मा भए। तिनीहरूले बुबाको जस्तै छोराको नाउँ पनि जकरिया राख्न लागेका थिए। तर उनकी आमाले भनिन्, “होइन, यसको नाउँ त यूहन्ना राख्नुपर्छ।” तिनीहरूले एलीशिबालाई भने, “तिम्रा आफन्तहरूमा त यस्तो नाउँ भएको कोही पनि छैनन्!” त्यसो हुँदा तिनीहरूले बुबालाई छोराको नाउँ के राख्ने हो भनी इशारा गरे। जकरियाले लेख्ने पाटी मागे र “यसको नाउँ यूहन्ना नै हुनुपर्छ,” भनेर लेखिदिए। यो देखेर तिनीहरू सबै छक्क परे। त्यति नै खेर जकरियाको जिब्रो खुल्यो र उनी बोल्न सक्ने भए अनि उनले परमेश्वरको प्रशंसा गर्न लागे। यी सबै कुरा देखेर छरछिमेकीहरूले छक्क पर्दै परमेश्वरको डर माने। त्यसपछि यी कुराहरूको चर्चा यहूदियाका पहाडी भागतिर फैलियो। यस्तो चर्चा सुन्ने जति सबैले मनमनै भने, “यो बालक पछि कस्तो हुने होला?” किनभने प्रभु परमेश्वरको शक्ति उनीमाथि परेको थियो।