लूका 1:41-45
लूका 1:41-45 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब एलीशिबाले मरियमको अभिवादन सुनिन् तब तिनको गर्भमा बालक उफ्र्यो, र एलीशिबा पवित्र आत्माले भरिपूर्ण भइन्, र एलीशिबाले चर्को सोरले भनिन्, “स्त्रीहरूमा तिमी धन्यकी हौ, र तिम्रो गर्भको फल धन्यको हो। ममाथि कसरी यस्तो कृपा भयो कि मेरा प्रभुकी आमा मकहाँ आइन्। किनभने हेर, तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्दले उफ्र्यो। तिनी धन्यकी हुन्, जसले परमप्रभुले तिनलाई भन्नुभएको कुरा पूरा हुनेछ भनी विश्वास गरिन्।”
लूका 1:41-45 नेपाली समकालीन संस्करण (NCV)
एलीशिबाले मरियमको अभिवादन सुन्ने बित्तिकै तिनको गर्भमा रहेको बालक उफ्रियो; र एलीशिबा पवित्र आत्माले भरिइन्। तिनले चर्को सोरमा भनिन्: “स्त्रीहरूमा तिमी धन्य हौ, र तिमीले जन्माउने बालक पनि धन्यका हुन् तर मेरा प्रभुकी आमा मकहाँ आउनुजस्तो कृपा मलाई किन भयो? तिम्रो अभिवादनको स्वर मेरो कानमा पर्ने बित्तिकै मेरो गर्भको बालक आनन्दले उफ्रियो। जसले तिनलाई प्रभुले भन्नुभएका कुरा पूरा हुनेछन् भनी विश्वास गरिन्, तिनी धन्यकी हुन्।”
लूका 1:41-45 पवित्र बाइबल (NERV)
जब इलीशिबाले मरियमको शुभकामना सुनिन्, तब तिनको गर्भको नानी उफ्रियो। अनि इलीशिबा पवित्र आत्माद्वारा भरिपूर्ण भइन्। तिनले जोरले चिच्याएर भनीन्, “अरू स्त्रीहरूलाई भन्दा परमेश्वरले तिमीलाई धेरै आशीर्वाद दिनुभएकोछ। अनि गर्भमा रहेको नानी पनि त्यस्तै अनुग्रहित छ। यस्तो कसरी हुन सक्यो कि मेरा परमप्रभुकि आमा मेरोमा आउनु पर्यो? जब मैले तिम्रो अभिवादन सुने, मेरो गर्भमा भएको बालक हर्षले उफ्रियो। तिमीलाई आशीर्वाद छ किनभने परमप्रभुले तिमीलाई भन्नु भएको कुरा पूरा हुनेछ भन्ने तिमीमा विश्वास थियो।”
लूका 1:41-45 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मरियमले अभिवादन भनेको सुन्नेबित्तिकै एलीशिबाको कोखमा भएको बालक चल्मलायो। त्यसै बेला एलीशिबा पवित्र आत्माले भरिइन्। अनि तिनले सोर उचालेर भनिन्, “स्त्रीजातिमा तिमी कति धन्य रहिछौ। धन्य हुन्, तिमीबाट जन्मिनुहुने बालक! म को हुँ र तिमी मेरा प्रभुकी आमा भएर पनि मकहाँ आयौ? तिमीले अभिवादन भनेको सुन्दा मेरो कोखमा भएको बालक खुसीले चल्मलायो। प्रभु परमेश्वरले तिमीलाई भन्नुभएको कुरा पूरा हुन्छ भनेर विश्वास गर्ने तिमी कति धन्यकी हौ!”