लूका 1:26-33
लूका 1:26-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
छैटौँ महिनामा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो। तिनी एउटी कन्ये-केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्ने एक जना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो। स्वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा-पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्छ।” तर तिनी त्यस कुराले साह्रै विचलित भइन्, र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्। स्वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छ्यौ। अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ। उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन।”
लूका 1:26-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एलीशिबा गर्भवती भएको छैटौँ महिनामा, परमेश्वरले गालील प्रदेशको नासरत सहरमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो। तिनी एउटी कन्ये केटीकहाँ पठाइए, जसको मगनी दावीदको घरानाका योसेफ भनिने एक जना मानिससँग भएको थियो। ती कन्याको नाम मरियम थियो। स्वर्गदूत तिनीकहाँ गएर भने, “हे उच्च कृपाकी पात्र, अभिवादन! प्रभु तिमीसित हुनुहुन्छ।” तिनको वचन सुनेर मरियम विचलित हुँदै यो कस्तो प्रकारको अभिवादन होला भनी मनमनै विचार गर्न थालिन्। तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ मरियम, तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। सुन, तिमी गर्भवती हुनेछौ र एउटा पुत्र जन्माउनेछौ। तिमीले उहाँको नाम येशू राख्नू। उहाँ महान् हुनुहुनेछ र परमप्रधानका पुत्र कहलाइनुहुनेछ। प्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दावीदको सिंहासन दिनुहुनेछ। अनि उहाँले याकोबको घरानामाथि सदासर्वदा राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन।”
लूका 1:26-33 पवित्र बाइबल (NERV)
इलीशिबाको छैटौं महीनामा, गालीको एउटा शहर नासरतमा बस्ने एउटी कन्याकहाँ परमेश्वरले एउटा गाब्रिएल नाउँ गरेको दूतलाई पठाउनु भयो। तिनी दाऊदको परिवारको यूसुफ नाउँ गरेको एक मानिससँग मगनी भएकी थिइन्। ती कन्याको नाउँ मरियम थियो। ती स्वर्गदूत मरियमकहाँ गए अनि भने, “शुभकामना छ। परमप्रभु तिमीसितै हुनुहुन्छ। तिमी उहाँको खुवै प्रिय छौ।” तर त्यो स्वर्गदूतले भनेका यी कुराहरूमा मरियम खुबै विचलित भइन्। मरियम छक्क परिन् र भनिन् “यो अभिवादन को अर्थ के हो?” ती दूतले उनलाई भने, “डराउनु पर्दैन मरियम, किनभने परमेश्वर तिमीसित अत्यन्त खुशी हुनुहुन्छ। सुन! तिमी गर्भवती हुनेछौ अनि तिमीले एउटा छोरो जन्माउनेछौ। अनि उहाँको नाउँ तिमीले येशू राख्नु। उहाँ महान् हुनुहुनेछ र सर्वोच्च परमेश्वरका पुत्र कहलाईनु हुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबका घरानामाथि सधैँका लागि शासन गर्नुहुनेछ। येशूको राज्यको अन्त्य कहिल्यै हुनेछैन।”
लूका 1:26-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एलीशिबा गर्भवती भएका छ महिना हुँदा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालील क्षेत्रको नासरत सहरमा बस्ने एउटी कन्या केटीकहाँ पठाउनुभयो। दाऊद राजाको कुलमा जन्मिएका योसेफ नाउँ गरेका मानिससँग मरियमको विवाह हुने कुरा छिनिसकेको थियो। स्वर्गदूतले त्यस केटीकहाँ आएर भने, “तिमीलाई परमेश्वरको शान्ति होस्! प्रभु परमेश्वरले तिमीलाई ज्यादै अनुग्रह गर्नुभएको छ। उहाँ तिमीसँग हुनुहुन्छ।” स्वर्गदूतले भनेका कुराले मरियम आतिइन् र बुझ्न नसकेर अलमल्ल परिरहिन् अनि स्वर्गदूतले भने, “मरियम, नडराऊ, परमेश्वरले तिमीलाई ठूलो दया गर्नुभएको छ। अब सुन, तिमी गर्भवती हुनेछौ र एउटा छोरा पाउनेछौ। त्यो छोराको नाउँ तिमीले येशू राख्नू। उहाँ महान् हुनुहुनेछ र उहाँलाई महान् परमेश्वरका पुत्र भन्नेछन्। प्रभु परमेश्वरले उहाँलाई उहाँकै पुर्खा दाऊदजस्तै राजा बनाउनुहुनेछ। उहाँले याकूबको वंशमाथि राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”