लेवीहरू 9:1-6
लेवीहरू 9:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आठौँ दिनमा मोशाले हारून, उनका छोराहरू र इस्राएलका धर्म-गुरुहरूलाई बोलाए। अनि तिनले हारूनलाई भने, “आफ्नो निम्ति पापबलिको लागि एउटा निष्खोट बाछा र होमबलिको लागि एउटा निष्खोट भेड़ा लिएर परमप्रभुको सामु बलि चढ़ाऊ। अनि इस्राएलीहरूलाई यसो भन, ‘तिमीहरूले पापबलिको लागि एउटा बोका र होमबलिको लागि एक वर्षे एउटा निष्खोट बाछो र निष्खोट थुमा ल्याओ। परमप्रभुको सामु बलिदान गर्नलाई मेलबलिको लागि एउटा साँढ़े र एउटा भेड़ा, र तेलमा मुछेको एउटा अन्नबलि पनि ल्याओ। किनकि परमप्रभुले आज तिमीहरूलाई दर्शन दिनुहुनेछ’।” मोशाले आज्ञा गरेबमोजिम तिनीहरूले सबै कुरा भेट हुने पालको सामुन्ने ल्याए, अनि सारा समुदाय परमप्रभुको नजिक आएर उभियो। अनि मोशाले भने, “परमप्रभुले आज्ञा गर्नुभएको तिमीहरूले गर्नुपर्ने काम यही हो, र यसरी परमप्रभुको महिमा तिमीहरूकहाँ देखा पर्नेछ।”
लेवीहरू 9:1-6 पवित्र बाइबल (NERV)
आठौं दिनमा मोशाले हारून, तिनका छोराहरू र इस्राएलका बूढा प्रधानहरूलाई बोलाए। हारूनलाई उनले भने, “बगालबाट निष्खोट एउटा बाछा पापबलिको निम्ति अनि होमबलिको निम्ति एउटा निष्खोट भेंडा ल्याएर परमप्रभु सम्मुख बलि चढाऊ। इस्राएलका मानिसहरूलाई भने, ‘परमप्रभुको अघि पापबलिको निम्ति एउटा बोका, निष्खोट एक बर्ष पुगेको एउटा बाछा अनि होमबलिको निम्ति निष्खोट एउटा एक बर्षको पाठा ल्याऊ। अनि एउटा थुमा, एउटा साँढे र एउटा भेंडा मेलबलिको निम्ति अनि अन्नबलि तेलसित मिसाएका उपहारहरू परमप्रभु कहाँ लिएर आऊ किनभने आज परमप्रभु तिमीहरूको अघि प्रकट हुनुहुनेछ।’” यसर्थ मोशाले आज्ञा दिए अनुसार भेट हुने पालअघि तिनीहरूले चीजहरू ल्याए। सम्पूर्ण मानिसहरू परमप्रभुअघि आएर उभिए। त्यसपछि मोशाले भने, “परमप्रभुले तिमीहरूलाई यस्तो कार्य गर्नु भनी आज्ञा दिनु भएको थियो जसले गर्दा परमप्रभुको महिमा तिमीहरू प्रति झल्कियोस्।”
लेवीहरू 9:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अभिषेक विधि पूरा भएको भोलिपल्ट मोशाले हारून र तिनका छोराहरू अनि इस्राएलका अगुवाहरूलाई बोलाए। तिनले हारूनलाई भने, “एक-एक वटा निष्खोट साँढे र साँढ-भेडालाई ल्याऊ र साँढेलाई पापबलि र साँढ-भेडालाई होमबलि गरी परमप्रभुलाई चढाऊ। तब पापबलिको लागि एउटा बोको, होमबलिको लागि एक-एक वटा निष्खोट एकवर्षे बाछो र साँढ-भेडाको पाठो र मेलबलिको लागि एक-एक वटा साँढे र भेडा लिनू भनी इस्राएलका मानिसहरूलाई भन। ती तिनीहरूले परमप्रभुलाई तेल मिसाएको अन्नबलिसित बलि चढाउनुपर्नेछ। तिनीहरूले यो गर्नैपर्छ किनभने आज परमप्रभुले इस्राएलीहरूलाई दर्शन दिनुहुनेछ।” तिनीहरूले सबै थोक मोशाले भनेअनुसार पवित्र पालको सामुन्ने ल्याए र सारा इस्राएली समूह परमप्रभुलाई पुज्न त्यहाँ भेला भए। मोशाले भने, “यी सबै गर्न परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको छ र उहाँको महिमाको ज्योति तिनीहरूकहाँ देखापर्नेछ।”