लेवीहरू 25:24-55
लेवीहरू 25:24-55 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूको अधिकारमा आएको जग्गाजमिन फेरि निखन्न दिनू। “‘यदि गरीबीले गर्दा छिमेकीहरूमध्ये कसैले आफ्नो जग्गाजमिनको कुनै हिस्सा बेच्नुपर्यो भने, त्यसको नजिकको आफन्त आएर त्यो निखनोस्। तर कसैको यसरी निखनिदिने कोही छैन र त्यो आफै पछि धनी भएर निखन्न सक्छ भने, त्यसले त्यो बेचेको वर्षहरू गनोस्, र जसलाई बेचेको हो त्यस बाँकी वर्षका उब्जनीको दाम फर्काइदेओस्। अनि त्यो आफ्नो जमिनमा फर्कोस्। तर आफैले उकास्ने त्यसको औकात पुगेन भने पुनर्स्थापनको वर्षसम्म किन्नेकै हातमा त्यो जमिन रहनेछ। अनि पुनर्स्थापनको वर्षमा त्यो फिर्ता गरिओस्। त्यसपछि त्यो मानिसचाहिँ आफ्नो जग्गाजमिनमा जान सक्छ। कसैले पर्खाल लगाएको सहरभित्र भएको आफ्नो घर बेच्यो भने, बेचेको एक वर्षभित्र त्यो निखन्न पाउनेछ। त्यसलाई यो अधिकार एक वर्षसम्म हुन्छ। तर एक वर्षभित्रमा त्यो निखन्न सकेन भने किन्ने र त्यसका भावी सन्तानका निम्ति त्यो घर स्थायी सम्पत्ति बनोस्। पुनर्स्थापनको वर्षमा पनि त्यो फिर्ता हुनेछैन। तर पर्खालले नघेरिएका गाउँका घरहरूचाहिँ देशका अन्य जग्गाजमिनजस्तै ठान्नू। तीचाहिँ निखन्न सकिन्छ, अनि पुनर्स्थापनको वर्षमा फिर्ता गर्न सकिन्छ। “‘लेवी कुलको अधिकारका आफ्नै सहरहरूमा भएका घरहरूचाहिँ तिनीहरूले जुनै बेला पनि निखन्न सक्छन्। लेवी कुलको अधिकारमा भएका सहरहरूमा कुनै लेवीले आफैले बेचेको घर फिर्ता लिन सकेन भने पुनर्स्थापनको वर्षमा त्यो त्यसलाई फिर्ता गरिओस्, किनभने लेवीका सहरमा भएका घरहरूचाहिँ इस्राएलमा तिनीहरूको पैतृक-सम्पत्ति हुन्। तर तिनीहरूका सहरबाहिरका चरनहरू बेच्न पाइँदैन, किनभने ती तिनीहरूका स्थायी सम्पत्ति हुन्। “‘यदि तिमीहरूका इस्राएली दाजुभाइमध्ये कोही अति गरीब भएर आफ्नो देखभाल गर्न सकेन भने, तिमीहरूले नै परदेशी पाहुनालाई जस्तै गरी त्यसलाई सहायता दिनू, कि त्यो तिमीहरूसित बसिरहन सकोस्। त्यसलाई ऋण दिँदा ब्याज वा नाफा नलिनू। तिमीहरूले आफ्ना परमेश्वरको भय मान्नू, र तिमीहरूको दाजुभाइ तिमीहरूसितै बसिरहोस्। त्यसलाई तिमीहरूले ब्याजमा रुपियाँ नदिनू। खानेकुरो पनि त्यसलाई नाफा नगरी दिनू। तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्वर हुनलाई मिश्रबाट तिमीहरूलाई निकालेर ल्याउने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “‘यदि तिमीहरूको कोही इस्राएली दाजुभाइले अति गरीब भएको कारण आफैलाई तिमीहरूको हातमा बेच्यो भने कमारालाई जस्तो त्यसलाई काममा नलगाउनू। त्यो तिमीहरूसँग नोकर कि परदेशी पाहुनाजस्तै भएर बसोस्, र पुनर्स्थापनको वर्षसम्म तिमीहरूसँग बसी त्यसले तिमीहरूको चाकरी गरोस्। त्यसपछि त्यो र त्यसका बालबच्चा तिमीहरूबाट छुटेर आफ्नो परिवार र जायजेथामा फर्कोस्। किनकि मैले मिश्रबाट निकालेर ल्याएका ती मेरै दास-दासीहरू हुन्। तिनीहरू कमारा-कमारीहरूजस्तै नबेचिऊन्। तिमीहरूले तिनीहरूमाथि कठोर व्यवहारले शासन नगर्नू, तर तिमीहरूका परमेश्वरको भय मान्नू। “‘तिमीहरूका कमारा-कमारीचाहिँ वरिपरिका जातिहरूबाटै किनेर ल्याउनू। तिमीहरूसँग बस्ने परदेशी र तिमीहरूको देशमा जन्मेका तिनीहरूका सन्तानहरूलाई पनि तिमीहरूले किनेर आफ्नो बनाउन सक्छौ। आफ्ना भावी सन्तानको अधिकार र निज धन तुल्याउनलाई पनि तिनीहरूबाटै कमारा-कमारीहरू ल्याए हुन्छ, तर इस्राएली दाजुभाइहरूमाथि कठोर व्यवहारले शासन नगर्नू। “तिमीहरूकै कोही गरीब दाजुभाइले तिमीहरूका बीचमा वास गर्ने धनी भएको परदेशी वा प्रवासीको वा त्यसको परिवारको हातमा आफैलाई बेच्यो भने, त्यो बेचिएपछि निखन्न सकिन्छ। त्यसकै दाजुभाइमध्येको कसैले त्यसलाई निखन्न सक्छ। त्यसकै काका, दाजुभाइ, अर्थात् कोही नजिकको साइनो पर्ने कसैले त्यसलाई निखनोस्। अथवा पछि त्यसको औकात पुग्यो भने त्यसले आफैलाई निखनोस्। त्यस मानिस मालिककहाँ बेचिएको वर्षदेखि पुनर्स्थापनको वर्षसम्म जोड़ेर त्यति सालसम्मको ज्यालादारको मोलअनुसार त्यसले तिरोस् र आफ्नो मालिकसँग आफैलाई निखनोस्। पुनर्स्थापनको वर्ष आउनलाई धेरै वर्ष बाँकी छ भने, आफू किनिएको जम्मा मोलबाट हिसाब गरेर त्यसले छुटकाराको निम्ति बढ्ता दाम फर्काइदेओस्। यदि पुनर्स्थापनको वर्ष आउनलाई थोरै मात्र बाँकी छ भने, त्यसले त्यसअनुसार हिसाब गरेर आफ्नो छुटकाराको दाम फिर्ता देओस्। ज्यालादारी नोकरजस्तै भएर प्रवासी मालिकसँग त्यो बसोस्, र उसले त्यसमाथि कठोर व्यवहारले शासन नगरोस् भनी तिमीहरूले ख्याल राख्नू। “‘यी उपायहरूबाट पनि त्यसको छुटकारा भएन भने, त्यो त्यसका छोराछोरीहरूसँगै पुनर्स्थापनको वर्षमा निस्केर जाऊन्। किनभने इस्राएलीहरू मेरै दास-दासीहरू हुन्। मैले नै मिश्रबाट तिनीहरूलाई निकालेर ल्याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
लेवीहरू 25:24-55 पवित्र बाइबल (NERV)
मानिसहरूले जमीन बेच्न सक्छन् तर फेरि तिनीहरूको परिवारको सदस्यले त्यो भूमि फिर्ता गर्न सक्छ। तिमीहरूको देशमा कुनै मानिस एकदमै गरीब हुँदा जमीन बेच्नु सक्छ तर उसको अति नजिकको आफन्त आएर आफ्नो मानिसको निम्ति त्यो भूमि किन्न सक्छ। कुनै गरीब मानिसलाई उसको जमीन किनी दिने आफन्त नहोला, तर उसको प्रशस्त धन भएको समयमा आफैंले यो जमीन किन्न सक्छ। त्यो जमीन किन्न उचित मूल्य तिर्न उसले बेचेको बर्षबाट किन्ने समयसम्म कति बर्ष उसले त्यस जमीनमा खेती गर्यो, त्यो गनोस्, र बाँकी रहेको बर्षहरूमा त्यस जमीनबाट कति उब्जनी हुन्छ त्यसको मूल्य तिरेर आफ्नो जमीन किनोस् तब त्यो जमीन फेरि उसको हुन्छ। तर यदि त्यस मानिसको जमीन किन्न प्रशस्त धन कमाउन नसके अनि जमीनको मूल्य तिर्न नसके महोत्सव बर्षसम्म त्यो जमीन किन्ने मानिस कै भइरहनेछ। तब विशेष महोत्सवको समयमा त्यो जमीन फेरि पुरानो त्यसको मालिकलाई फर्काइनेछ र त्यो जमीन त्यसको सही मालिक कै हुनेछ। “यदि कुनै मानिसले पर्खाल लगाएको शहरभित्रको घर बेच्छ भने उसले एक बर्षभित्र घर उक्साउने अधिकार पाउनेछ। तर यदि त्यो बेच्ने मालिकले बेचेको दिनबाट एक बर्ष भित्रमा फर्काउन नसके त्यो पर्खालको घेराभित्रको घर किन्ने मानिस तथा उसको सन्तानहरूको स्थायी सम्पति हुनेछ। महोत्सवको समयमा त्यो घर पुरानो मालिकलाई फर्काइने छैन। तर पर्खालले नघेरिएको जग्गा खुल्ला मैदान सरह रहन्छ र त्यस्तो ठाउँको घर बेचिएको खण्डमा महोत्सवको बेला पहिलेको मालिकले नै त्यो घर पाउँनेछ। “तर लेवीहरूको शहरको विषयमाः लेवीहरूसित तिनीहरूको घर फिर्ता पाउने अधिकार छ जो तिनीहरूको शहरहरू भित्र छ। लेवी शहर भित्रको लेवीहरूको घर यदि कुनै मानिसले किनेको भए पनि महोत्सवको समयमा त्यो घर फेरि पुरानो मालिककोमा फर्केर जान्छ। किनभने लेवी शहर भित्रका घरहरू लेवी परिवारहरू कै हुन्। इस्राएलीहरूले लेवीहरूलाई ती घरहरू दिएका हुन्। लेवी शहरहरूको वरिपरि रहेका खेतहरू तथा चउरहरू बेच्न सक्दैन किनभने ती सब सदाको निम्ति लेवीहरू कै हुन्। “तिमीहरूको शहर भित्रैको कोही मानिस यति गरीब हुन सक्छ कि उसले आफैंलाई पनि गुजारा गर्न नसक्ला। यस्तो खण्डमा तिमीहरूले उसलाई परदेशी पाहुनालाई जस्तै तिमीहरूसितै बस्न दिनुपर्छ। तिमीहरूले उसलाई ऋण दिए सूद-ब्याज वा नाफा नलिन र आफ्नो परमेश्वरको सम्मानमा उसलाई तिमीहरूसित बस्न देऊ। उसलाई ऋण दिए सूद नलगाऊ अनि उसलाई खान बेचेको खाद्यमा नाफा नराख। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूका परमेश्वर हुनुलाई र कनान देश तिमीहरूलाई दिनु मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ। “तिमीहरूको आफ्नै देशको कुनै मानिस यति गरीब हुनु सक्छ कि उसले आफैंलाई तिमीहरू कसै कहाँ कमारा सरह बेच्न सक्छ तर तिमीहरूले उसलाई कमारालाई झै नखटाऊ। महोत्सवको समयसम्मलाई उसलाई कुनै परदेशी अथवा मजदूरी गर्न खटाइएको मानिसलाई झैं व्यवहार गर। तब ऊ अनि उसका छोरा-छोरीहरू तिमीहरूदेखि मुक्त हुनेछन्। ऊ आफ्नो पूर्खौंली सम्पत्तिमा फर्केर आउनु सक्छ। किनभने त्यस्ता मानिसहरू मेरा सेवकहरू हुन। मैले तिनीहरूलाई मिश्रबाट ल्याएँ। तिनीहरूलाई कमाराको रूपमा बोच्नु हुँदैन। तिमीहरू तिनीहरूको निम्ति निष्ठुर मालिक हुनुहुँदैन। तिमीहरूले आफ्नो परमेश्वरको डर अनि आदर गर्नुपर्छ। “तिमीहरूको स्री तथा पुरूष कमारी-कमाराहरूका विषयमा; आफ्नो वरिपरिका देशहरूबाट तिमीहरूले कमारा-कमारीहरू पाउन सक्छौ। तिमीहरूकै देशमा बसो-बास गर्ने विदेशीहरूबाट पनि बालक-बालिका कमारा-कमारीहरू पाउँन सक्छौ। ती बालक कमारा-कमारीहरू तिमीहरूका हुनेछन्। तिमीहरूको मृत्युपछि ती विदेशी कमारा-कमारीहरू तिम्रा नानीहरू का हुनेछन् अनि तिनीहरू सधैँको निम्ति तिमीहरूकै हुनेछन्। तिमीहरूले विदेशीहरूलाई कमारा-कमारीहरू बनाउन सक्छौ तर इस्राएली मानिसहरू तिमीहरूको आफन्तहरूप्रति तिमीहरू निष्ठूर मालिक बनिनु हुँदैन। “तिमीहरूकहाँ आउने विदेशी अथवा परदेशीहरू धनी पनि हुन सक्छन् अनि तिमीहरूको आफ्नै देशका दाज्यू-भाइहरू अत्यन्तै गरीब भई तिनीहरूको कमारा बनी बिक्री हुन सक्छन्। यदि यस्तो भएको खण्डमा त्यस मानिससित फिर्ता किन्ने अधिकार छ। उसलाई उसको दाज्यू-भाइहरू मध्ये कसैले किन्नु सक्छ। अथवा उसको काका-मामा तथा उसको काका-मामाका छोराहरूले अथवा उसको आफ्नै आफन्तका कुनै मानिसले उसलाई किन्न सक्छ। अथवा ऊ आफैंले पनि आफ्नो प्रशस्त धन जोगाड गरे आफैंलाई फेरि किन्न सक्छ। “तिमी कसरी दाम तोक्न सक्छौ? अर्को जयन्ती बर्षसम्म विदेशीलाई उसले बेचेको दिनदेखि बर्षहरू गन। तोक्नको निम्ति त्यस संख्यालाई प्रयोग गर। किनभने उसले सही रूपमा केही बर्षको निम्ति मात्र किनेको थियो। यदि अर्को जयन्ती बर्षको समय आउन अझै निकै बर्ष छ, त्यस मानिसले निकै बेशी दाम तिर्नु पर्छ। तर दाम बर्षको संख्यामा भर पर्छ। अनि फेरि यदि अर्को महोत्सव बर्ष आउँन केही बर्ष मात्र रहे उसले आफ्नो पुरानो दाम भन्दा धेरै कम्ती रकम तिर्नुपर्छ। त्यो मानिस त्यसको मालिकसँग एक दैनिक हाजिरमा काम गर्ने मजदूर झैं रहनसक्छ अनि त्यस विदेशी मालिकले ऊसँग दुष्ट व्यवहार नगरोस्। “यदि त्यस मानिसलाई कसैले उक्साएको खण्डमा, त्यो मानिस अर्को महोत्सव बर्षमा स्वतन्त्र उक्सनु सक्छ महोत्सवको बर्षमा उसका नानीहरू पनि स्वतन्त्र बनिनु सक्छन्। किनभने, इस्राएलीहरूलाई मिश्र देशमा तिनीहरूको दासत्वबाट उकासेर मेरो आफ्नो दास-दासीहरू बनाउन ल्याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
लेवीहरू 25:24-55 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जब जमिन बिक्री हुन्छ, पहिलेको मालिकले त्यो निखन्ने अधिकार पाउनेछ। कुनै इस्राएली गरीब भयो र आफ्नो जमिन बेच्न त्यसलाई कर लाग्यो भने त्यसको सबैभन्दा नजिकको साइनो पर्ने मानिसले त्यो जमिन जसलाई बेचेको छ, त्यसबाट किनोस्। कसैको जमिन किन्नलाई नजिकको साइनो पर्ने मानिस छैन भने त्यो आफैंले पछिबाट प्रशस्त धन कमाएर सो जमिन आफैं किन्न सक्छ। त्यसो हो भने त्यसले आफूबाट जमिन किन्ने मानिसलाई आउँदो पुनर्स्थापनको वर्षसम्म बाँकी रहेका वर्षका निम्ति पाइने फसलको दाम बराबर धन दिनुपर्नेछ; आखिरी त्यस वर्ष त्यसले जमिन फिर्ता पाउने नै हो। तर त्योसँग जमिन फेरि किन्नलाई चाहिँदो धन छैन भने त्यस जमिनमाथि अर्को पुनर्स्थापनको वर्षसम्म किन्ने मानिसको अधिकार रहनेछ। त्यस वर्ष पहिलेको मालिकलाई जमिन फर्काइनेछ। कुनै मानिसले पर्खाल लाएको सहरभित्रको घर बेच्यो भने बेचेको एक वर्षभित्र सो घर निखन्ने हक त्यसको रहनेछ। तर एक वर्षभित्र त्यसले घर किनेर फिर्ता लिएछ भने त्यसले घर फेरि किन्ने हक गुमाउनेछ– घर सधैँको लागि किन्नेको र त्यसका सन्तानको सम्पत्ति हुनेछ। त्यो त्यसलाई पुनर्स्थापनको वर्षमा पनि फर्काइनेछैन। तर पर्खाल नलाएका गाउँ-बस्तीमा भएका घरहरूचाहिँ जमिन बराबर मानिनेछन्। पहिलेको मालिकको ती निखन्ने हक रहनेछ अनि पुनर्स्थापनको वर्षमा ती त्यसले फिर्ता पाउनेछ। तथापि लेवीहरूसित भने, आफू बस्नलाई खटाइएका सहरभित्र आफ्ना सम्पत्ति कुनै पनि समयमा निखन्ने हक रहनेछ। कुनै लेवीले त्यस्ता सहरभित्र भएको कुनै घर बेचेको छ र त्यो किनेर फिर्ता लिएको छैन भने, त्यो घर पुनर्स्थापनको वर्षमा उसलाई फर्काइदिनुपर्नेछ किनभने इस्राएलीहरूको बीचमा लेवीहरूका सहरभित्र भएका आफ्ना घरहरू तिनीहरूका स्थायी सम्पत्ति हुन्। तर लेवीहरूका सहरका चारैपट्टिका गाई-वस्तु चर्ने खर्क कहिल्यै पनि नबेचिओस्, त्यो सदाकालको लागि तिनीहरूकै सम्पत्ति हो। तिम्रो छेउमा बस्ने इस्राएली छिमेकी गरीब भएर आफ्नो पोषण भार थाम्न नसक्ने भयो भने जसरी ज्यामीलाई ज्याला दिन्छौ, त्यसरी त्यसको पनि तिमीहरूले देखभाल गर्नुपर्नेछ र त्यो मानिस तिम्रा छेउमा बसोबास गरिरहन सकोस्। त्योसित व्याज नलिनू तर परमेश्वरको डर मान र तिम्रा इस्राएली छिमेकी तिम्रा छेउमा बसोबास गरिरहन सकोस्। तिमीले त्यसलाई कर्जा दिएको धनमा व्याज नलिनू र त्यसलाई बेचेको खानेकुरामा नाफा नलिनू। यो परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा हो। उहाँले कनान देश तिमीहरूलाई दिनू अनि तिमीहरूका परमेश्वर बन्न भनी तिमीहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो। यदि तिम्रा छेउमा बस्ने इस्राएली छिमेकी औधी गरीब भएर आफूलाई तिम्रा कमारा हुनलाई विक्री गर्यो भने त्यसलाई कमाराको काम गर्न नलाउनू। त्यो तिमीसित ज्यामीजस्तो भएर बसोस् र अर्को पुनर्स्थापनको वर्षसम्म तिम्रो सेवा गरेर बसोस्। त्यस वर्ष त्यो र त्यसका छोरा-छोरीले तिमीलाई छोडेर आफ्नै परिवार र पुर्ख्यौली सम्पत्ति भएका ठाउँमा फर्कनेछन्। इस्राएलका मानिसहरू परमप्रभुका कमारा-कमारी हुन् र उहाँले तिनीहरूलाई मिश्रदेखि निकाली ल्याउनुभयो। तिनीहरू कमारा-कमारी बन्नलाई बेचिनुहुँदैन। तिनीहरूसित निष्ठुर व्यवहार नगर्नू तर आफ्ना परमेश्वरको डर मान्नू। तिमीहरूलाई कमारा-कमारी चाहिन्छ भने तिनीहरूलाई तिम्रा चारैपट्टि भएका जातिहरूबाट किन्नू। तिमीहरूका माझमा बास गर्ने विदेशीहरूका छोरा-छोरी पनि तिमीहरूले किन्न सक्छौ। तिम्रा देशमा जन्मेका यस्ता बाल-बालिकाहरू तिम्रा सम्पत्ति हुन सक्छन्। अनि तिनीहरूलाई तिम्रा छोराहरूका हातमा पैतृक सम्पत्तिका रूपमा छोडिराख्न सक्नेछौ। तिनीहरूले आफ्ना जीवनभरि तिम्रा छोराहरूको सेवा गर्नुपर्नेछ। तर तिमीहरूले आफ्ना इस्राएलीहरू छिमेकीहरूसित निष्ठुर व्यवहार नगर्नू। तिम्रा बीचमा बास गर्ने एउटा विदेशी धनी भयो अनि एउटा इस्राएली दाजु वा भाइचाहिँ गरीब भएर आफैंलाई कमारा बनाई त्यस धनी विदेशी वा त्यसका परिवारका कुनै सदस्यकहाँ बिक्री भयो भने बिक्री भइसकेपछि पनि कसैले त्यसलाई किनेर छुटाउन सक्छ। कुनै त्यसका दाजु वा भाइ, मामा वा काका वा साइनोका दाजु वा भाइ वा अरू कुनै नजिकका आफन्तले त्यसलाई किनी फर्काउन सक्छ। अथवा ऊ आफैंले धन कमाएर आफ्नो स्वतन्त्रता किन्न सक्छ। त्यसले आफूलाई किन्ने मानिससित सल्लाह गरेर त्यो बेचिएको समयदेखि आउँदो पुनर्स्थापन वर्षसम्म गन्नुपर्छ र ज्यामीको ज्यालाअनुसार त्यसको छुटकाराको दाम तोकिनुपर्छ। बाँकी रहेको वर्षको लागि त्यसलाई हरेक वर्ष ज्याला दिएर काम गर्न राखेजस्तो गरेर हिसाब गरी त्यसलाई किनेको दामबाट बाँकी अंश त्यसले फिर्ता दिनुपर्नेछ। त्यसका मालिकले त्योसित निष्ठुर व्यवहार नगरोस्। यी उपायहरूद्वारा त्यो स्वतन्त्र हुन सकेन भने अर्को पुनर्स्थापनको वर्षमा त्यो र त्यसका छोरा-छोरीहरूले छुटकारा पाउनुपर्छ। कुनै इस्राएली सदाकालको निम्ति कमारा रहन सक्दैन किनभने इस्राएलका मानिस परमप्रभुका कमारा-कमारी हुन्। उहाँले तिनीहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो। उहाँ परमप्रभु तिनीहरूका परमेश्वर हुनुहुन्छ।