लेवीहरू 20:22-27
लेवीहरू 20:22-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘तिमीहरूले मेरा सबै विधिविधानहरू पालन गर्नू। नत्रता जुन देशमा म तिमीहरूलाई लैजानेछु त्यसले तिमीहरूलाई उकेलेर फ्याँकिदिनेछ। तिमीहरूका सामुन्ने मैले निकाल्न लागेका जातिहरूका चालचलनमा तिमीहरू नहिँड्नू। तिनीहरूले यी सबै काम गरेका थिए, त्यसैकारण मैले तिनीहरूलाई घृणा गरें। तर मैले तिमीहरूलाई भनेको छु, “तिमीहरूले तिनीहरूको देश अधिकार गर्न पाउनेछौ, अनि दूध र मह बग्ने एक देश म तिमीहरूलाई दिनेछु।” तिमीहरूलाई अरू जातिहरूबाट अलग गर्ने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “‘यसैकारण तिमीहरूले शुद्ध र अशुद्ध पशु-पक्षीहरूको भेद राख्नू। मैले अशुद्ध ठहराएका पशु-पक्षी वा भूइँमा घस्रने प्राणीबाट तिमीहरूले आफैलाई अशुद्ध नबनाओ। तिमीहरू मेरो निम्ति पवित्र होओ, किनभने म, परमप्रभु, पवित्र छु, र तिमीहरू मेरै हुनलाई मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेर छुट्ट्याएको हुँ। “‘तिमीहरूमध्ये कुनै पुरुष वा स्त्रीले झाँक्री, बोक्सी वा जादू-मन्त्रको काम गर्यो भने त्यो मारिनैपर्छ। तिनीहरूलाई ढुङ्गाले हानेर मार्नू। तिनीहरूको अपराध तिनीहरूकै शिरमा परोस्’।”
लेवीहरू 20:22-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘मेरा सबै उर्दीहरू र नियमहरू पालन गरेर त्यसको अनुसरण गर्नू, ताकि मैले तिमीहरूलाई बसोबास गर्न जुन ठाउँमा लैजाँदैछु, त्यसले तिमीहरूलाई नत्यागोस्। मैले तिमीहरूको सामुबाट धपाइदिन लागेको जातिहरूका रीतिअनुसार नचल्नू। यसैकारण मैले तिनीहरूलाई घृणा गरेँ। तर मैले तिमीहरूलाई भनेको छु, “तिमीहरूले तिनीहरूको देश अधिकार गर्न पाउनेछौ। म त्यसलाई अर्थात् दूध र मह बग्ने देशलाई अधिकारस्वरूप तिमीहरूलाई दिनेछु।” म याहवेह नै तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेको छु। “ ‘यसकारण तिमीहरूले शुद्ध र अशुद्ध पशुहरूको बीचमा अनि शुद्ध र अशुद्ध पक्षीहरूको बीचमा भिन्नता राख्नुपर्छ। जमिनमा हिँड्ने र मैले तिमीहरूका निम्ति अशुद्ध भनी अलग गरेको जुनसुकै पशु अथवा पक्षी—केही कुराद्वारा तिमीहरूले आफूलाई अशुद्ध नतुल्याउनू। तिमीहरू पवित्र हुनैपर्छ। किनकि म याहवेह पवित्र छु। मैले तिमीहरूलाई मेरा आफ्नै बनाउनलाई अरू जातिहरूबाट अलग पारेको छु। “ ‘तिमीहरूका बीचमा भएको कुनै पुरुष अथवा स्त्रीले तन्त्रमन्त्र गर्नेझैँ मध्यस्थको अथवा तन्त्रमन्त्रको काम गर्यो भने त्यो मारिनैपर्छ। तिमीहरूले तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्नू। तिनीहरूको रगत तिनीहरूका आफ्नै शिरमाथि परोस्।’ ”
लेवीहरू 20:22-27 पवित्र बाइबल (NERV)
“म तिमीहरूलाई जुन देशमा लाँदैछु त्यहाँ तिमीहरू बस्नेछौ। मेरो विधि-विधानहरू सम्झना गर अनि पालन गर। यदि तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्छौ भने तिमीहरू त्यस देशबाट निकालिने छैनौ। म त्यस देशका अरू मानिसहरूलाई बलपूर्वक बाहिर निकाल्दैछु। किनभने तिनीहरूले त्यस्ता पापहरू गरे। म ती कर्महरू घृणा गर्छु, यसर्थ तिमीहरूले तिनीहरूको जीवन शैली नपछ्याऊ। मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु म तिमीहरूलाई तिनीहरूको भूमि दिनेछु, अनि यो तिमीहरूको हुनेछ। यो भूमि दूध र महले भरिएको हुनेछ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याएँ। “मैले तिमीहरूसित भिन्दै प्रकारले व्यवहार गरेको छु कारण तिमिहरूलाई मैले मेरो विशेष मानिसहरू बनाएको छु। यसर्थ, तिमीहरूले शुद्ध अनि अशुद्ध पशु-पंक्षीहरूलाई भिन्नै प्रकारले व्यवहार गर्नुपर्छ। अशुद्ध पशु चराहरू अनि घस्रिने प्राणीहरू खाएर तिमीहरू आफैंलाई अशुद्ध नबनाऊ मैले तिनीहरूलाई तिमीहरूका निम्ति अशुद्ध झैं छुट्याएको छु। मैले तिमीहरूलाई मेरा विशेष मानिस बनाउनलाई तिमीहरूलाई पवित्र पारेको छु। यसर्थ तिमीहरू मेरो निम्ति पवित्र रहनुपर्छ। किनभने म परमप्रभु हुँ अनि पवित्र छु। “एकजना मानिस जो झाँक्री अथवा जादूगर छ उसलाई मार्नु पर्छ। मानिसहरूले तिनीहरूलाई ढुङ्गले हिर्काएर मार्नु पर्छ। तिनीहरूलाई मृत्यु चाहिन्छ।”
लेवीहरू 20:22-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले भन्नुभयो, “मेरा नियम र आज्ञाहरू सबै पालन गर। त्यसो भए कनान देशमा, जहाँ म तिमीहरूलाई लिई आउँदै छु, तिमीहरूलाई फ्याँकिदिनेछैनँ। त्यस देशमा बास गर्ने मानिसहरूका रीतिविधि तिमीहरूले नसिक्नू। म ती मूर्ति, देवदेवता पुज्नेहरूलाई धपाउँदछु र तिमीहरू त्यस देशमा पस्न सक्नेछौ। तिनीहरूले गरेका दुष्ट चलनले मलाई विरक्त पारिसक्यो। तर मैले यो धनी र मलिलो देश तिमीहरूको सम्पत्तिको निम्ति प्रतिज्ञा गरेको छु, म यो तिमीहरूलाई दिनेछु। म तिमीहरूका परमेश्वर हुँ र मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेको छु। त्यसकारण तिमीहरूले विधिअनुसार शुद्ध वा अशुद्ध पशु वा पंक्षीहरूलाई ठीक-ठीक गरी छुट्ट्याउनुपर्नेछ। अशुद्ध पशु वा पंक्षी नखानू। मैले तिनीहरूलाई अशुद्ध ठहर्याएको छु र ती खानाले तिमीहरू अशुद्ध हुनेछौ। तिमीहरू पवित्र रहेर मेरा निज जाति हुनेछौ किनभने म परमप्रभु हुँ अनि पवित्र छु। तिमीहरू मेरा निजी प्रजा होओ भनेर मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेको छु। “जुन पुरुष वा स्त्रीले मृत-आत्माहरूसित सल्लाह लिने काम गर्छ, त्यसलाई ढुङ्गाले हिर्काएर मार्नू, आफ्नो मृत्युको लागि त्यो आफैं जिम्मेवार हुन्छ।”