विलाप 3:13-27
विलाप 3:13-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो ठोक्रोका काँड़हरूले उहाँले मेरो मुटु छेड़िदिनुभयो। मेरा सबै मानिसहरूका हाँसोको पात्र म बनेको छु, र दिनभरि नै तिनीहरूका ठट्टाको गीत बनेको छु। उहाँले मलाई तीतो जड़ीबूटी भरिदिनुभयो, र पित्त खुवाइदिनुभयो। उहाँले रोड़ा खुवाएर मेरा दाँत भाँचिदिनुभयो, र मलाई धूलोमा कुल्चीमिल्ची गर्नुभयो। शान्ति मेरो जीवनबाट दूर भएको छ। कल्याण के हो, सो मैले बिर्सेको छु। यसैले म भन्छु, “मेरो शान नष्ट भयो, परमप्रभुबाट गरेको आशा पनि टुट्यो।” तीतोपन र पित्त, मेरो दु:ख र फिरन्तेपनलाई सम्झन्छु। म निरन्तर तिनलाई सम्झिरहन्छु, र मेरो प्राण मभित्र हताश भएको छ। तर म यो स्मरण गर्दछु, यसैले मलाई आशा दिन्छ: परमप्रभुको महान् प्रेमले गर्दा हामी भस्म भएका छैनौं, उहाँका कृपाको अन्त कहिल्यै हुँदैन। हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ। तपाईंको विश्वस्तता महान् छ। मेरो प्राणले भन्छ, “परमप्रभु नै मेरो सर्वस्व हुनुहुन्छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्छु।” परमप्रभुको बाटो हेर्ने, उहाँलाई खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ। चूपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्छ। आफ्नो युवावस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ।
विलाप 3:13-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले आफ्नो ठोक्रोको काँडले मेरो मुटु छेडिदिनुभयो। म सबै मानिसहरूको हाँसोको पात्र भएको छु; दिनभरि नै म तिनीहरूको गिल्लाको गीत भएको छु। उहाँले मलाई तितो जडीबुटीले भरिदिनुभयो र पित्त पिउन दिनुभयो। उहाँले रोडा चपाउन लगाएर मेरा दाँतहरू भाँचिदिनुभयो; उहाँले मलाई धुलोमा कुल्चीमिल्ची गर्नुभयो। मेरो आत्माबाट शान्ति खोसिएको छ; सुख के हो, त्यो मैले बिर्सिसकेको छु। यसकारण म भन्दछु, “मेरो गौरव र मैले याहवेहबाट गरेको आशा टुटिसकेको छ।” म मेरो कष्ट र मेरो घरविहीनको अवस्था, तितोपन र पित्तको स्मरण गर्दछु। म तिनीहरूलाई राम्ररी स्मरण गर्दछु, र मेरो आत्मा मभित्र हताश हुन्छ। तर पनि जब म यो कुरा स्मरण गर्दछु, तब यसैले मलाई आशा दिन्छ: याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ; किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन। हरेक बिहान ती नयाँ भएर आउँछन्; तपाईंको विश्वसनीयता महान् छ। म आफूलाई भन्दछु, “याहवेह मेरो सर्वस्व हुनुहुन्छ; यसैकारण म उहाँको प्रतीक्षा गर्नेछु।” याहवेहमा आशा राख्नेहरू र उहाँको खोजी गर्नेहरूसँग उहाँ भलो हुनुहुन्छ; याहवेहको उद्धारका निम्ति चुपचाप प्रतीक्षा गर्नु असल कुरा हो। आफ्नो जवान अवस्थामा नै जुवा बोक्नु मानिसका निम्ति असल हुन्छ।
विलाप 3:13-27 पवित्र बाइबल (NERV)
उहाँले मलाई भुँडीमा हिर्काउनु भयो। उहाँले मलाई काँडले हिर्काउनु भयो। म सारा मानिसहरूको समक्ष हाँसोको पात्र बनेको छु। सारा दिन तिनीहरूले मेरो खिल्ली उडाउँदै गीतहरू गाइरहे। परमप्रभुले मलाई दण्ड-स्वरूप विष पिउन दिनुभयो। उहाँले कपको वीटसम्म भर्नु भयो, र तितो चिराईतो मिलाएर त्यो सबै पिउन लगाउनुभयो। परमप्रभुले मेरो दाँतहरू ढुङ्गामा ठेलेर भाँचिदिनु भयो, उहाँले मलाई दलदलमा धकेली दिनुभयो। मैले सोचें अब फेरि मैले कहिल्यै शान्ति पाउने छैन्। मसँग भएका सबै राम्रा कुराहरू मैले भूलें। मैले आफैंलाई भनें, “परमप्रभुबाट सहयोग पाउने, आशा अब म गर्दिनँ।” परमप्रभु मलाई सम्झनु होस् म अति उदास छु। अनि मेरो घर छैन। त्यो तीतो विष सम्झनु होस् जुन तपाईंले मलाई दिनु भएको थियो। म राम्रो प्रकारले मेरा कष्टहरू सम्झन्छु र अति उदास छु। तर त्यसपछि अन्य केही कुरा सोचें। तब ममा आशा जाग्यो। परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन। उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन। हरेक बिहान उहाँले यसलाई नयाँ रूपमा देखाउनु हुन्छ। परमप्रभु, तपाईं अत्यन्त सत्य र विश्वासयोग्य हुनुहुन्छ। म आफैलाई भन्छु, “परमप्रभु नै मेरो परमेश्वर हुनुहुन्छ अनि म उहाँमाथि विश्वास गर्दछु।” परमप्रभु ती मानिसहरूका लागि, असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ। परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ, जसले उहाँलाई खोज्दछ। ती मानिसहरूको लागि राम्रो हो। परमप्रभुले चुपचाप रक्षागर्न प्रतिक्षा गर्नु हुन्छ! मानव जातिको लागि बाल्य अवस्था देखि परमप्रभुको जुवा बोक्नु असल कुरा हो।
विलाप 3:13-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरो शरीरमा गहिरो गाड्ने गरी उहाँले काँड हान्नुभयो। दिनभरि मेरा मानिसहरूले मेरो हाँसो उडाउँछन्; म तिनीहरूका निम्ति ठट्टाको एउटा विषय भएको छु। उहाँले मलाई चिराइतो खुवाउनुभयो; पित्तले मेरो पेट भरिदिनुभयो। उहाँले मलाई धुलोमा कुल्चनुभयो; रोडा चपाउन लाएर मेरा दाँतहरू भाँचिदिनुभयो। स्वस्थ, शान्ति र सुख के कुरा हुन्, मैले भुलिसकेको छु। अब मेरो बाँच्ने दिन धेरै छैन, परमप्रभुबाट पाएको मेरो आशा हराइसक्यो। मेरो कष्टको चिन्ता, घररहितको चिन्ता तीतो विषझैँ भएको छ। ति कुरा म एकोहोरो सम्झिरहन्छु र आत्मामा हताश हुँदैजान्छु। जब म यो एउटा कुरा सम्झन्छु; यसैले मलाई आशा दिन्छ– परमप्रभुको अनन्त प्रेम र कृपा सदा रहिरहन्छ; प्रत्येक बिहानी ती ताजा रहन्छन्; तपाईंको विश्वस्तता महान् छ। परमप्रभु नै मेरो सर्वश्व हुनुहुन्छ, यसैकारण म उहाँमा आशा राख्दछु। परमप्रभुमाथि भरोसा गर्नेहरू सबैप्रति उहाँ भलो हुनुहुन्छ। धैर्यसाथ परमप्रभुको उद्धारको बाटो हेर्नु नै सर्वोत्तम कुरा हो। युवावस्थामा नै यस्तै धैर्य राख्न सिक्नु उत्तम कुरा हो।