YouVersion लोगो
खोज आइकन

यहोशू 7:1-26

यहोशू 7:1-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर नाशको निम्‍ति अर्पण गरिएका कुरामा इस्राएलीहरूले अपराध गरे, किनकि आकानले, जो यहूदा कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मीको छोरो थियो, नाशको निम्‍ति अर्पण गरिएका मालबाट केही कुरा लियो। त्यसकारण परमप्रभुको क्रोध इस्राएलीहरूमाथि दन्‍कियो। तब यहोशूले यरीहोबाट बेथेलको पूर्वपट्टि बेथ-आवनको नजिक ऐ सहरमा मानिसहरूलाई यसो भनेर पठाए, “तिमीहरू गएर त्‍यस देशको चेवा गर।” ती मानिसहरू गएर ऐको भेद लिए। अनि तिनीहरूले यहोशूकहाँ फर्केर आई भने, “सबै जना नगए पनि हुन्‍छ, करीब दुई-तीन हजार मानिसहरू गएर ऐलाई आक्रमण गरून्‌। सबै जनालाई त्‍यहाँ जाने दु:ख नदिनुहोस्, किनकि त्‍यहाँकाहरू थोरै मात्र छन्‌।” यसैले तिनीहरूमध्‍ये करीब तीन हजार मानिसहरू गए, तर तिनीहरूलाई ऐका मानिसहरूले परास्‍त गरे। करीब छत्तीस जना जतिलाई ऐका मानिसहरूले मारे, र उनीहरूले सहरको मूल ढोकादेखि शबारीमसम्‍म खेदेर ओह्रालोमा तिनीहरूलाई मारे। अनि इस्राएलीहरूको हृदय डरले गलेर पानीजस्‍तै भयो। तब यहोशू र इस्राएलका धर्म-गुरुहरूले आफ्‍ना लुगा च्‍यातेर शिरमा धूलो हाली परमप्रभुका सन्‍दूकको अगाड़ि भूइँमा घोप्‍टो परेर साँझसम्‍मै बसिरहे। अनि यहोशूले भने, “हाय! परमप्रभु परमेश्‍वर, तपाईंले यस जातिलाई यर्दन तारेर एमोरीहरूका पन्‍जामा हाली हामीलाई नाश गर्न किन ल्‍याउनुभयो? बरु हामी सन्‍तोष गरेर यर्दन पारि नै रहनेथियौं। हे परमप्रभु, इस्राएलीहरूले आफ्‍ना शत्रुको सामु पीठ फर्काएपछि अब म के भनूँ? किनकि कनानीहरू र देशका सबै बासिन्‍दाहरूले यो सुनेर हामीलाई घेर्नेछन्, र पृथ्‍वीबाट हाम्रो नाउँ मेटिदिनेछन्‌। त्‍यसपछि तपाईंको महान्‌ नाउँको खातिरमा तपाईं के गर्नुहुन्‍छ?” परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उठ्, तँ किन यसरी घोप्‍टो पर्छस्‌? इस्राएलले पाप गरेको छ। जुन करार मैले तिनीहरूसँग बाँधेको थिएँ, सो तिनीहरूले भङ्ग गरेका छन्‌। नाशको निम्‍ति अर्पण गरिएका मालबाट तिनीहरूले लिएका छन्‌। तिनीहरूले चोरी गरेका छन्‌ र झूठो काम गरेर तिनीहरूले ती तिनका आफ्‍नै मालतालसँग राखेका छन्‌। यसैकारण इस्राएलीहरू आफ्‍ना शत्रुको सामु अब खड़ा हुन सक्‍दैनन्‌। तिनीहरू श्रापित भएका हुनाले तिनीहरूले आफ्‍ना शत्रुहरूका सामुन्‍ने पीठ फर्काउनेछन्‌। तिमीहरूले आफ्‍ना बीचबाट सो नाशको निम्‍ति अलग गरिएका माललाई नष्‍ट नपारुञ्‍जेल म अब उप्रान्‍त तिमीहरूसँग रहनेछैन। “उठ्, मानिसहरूलाई शुद्ध पार्, र तिनीहरूले भोलिको निम्‍ति आफैलाई शुद्ध राख्‍नू भन्, किनकि परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: ‘हे इस्राएल, तिमीहरूका बीचमा कुनै अर्पित माल छ। तिमीहरूका बीचबाट तिमीहरूले त्‍यो अर्पित माल नफ्‍याँकुञ्‍जेल तिमीहरूका शत्रुहरूका सामुन्‍ने तिमीहरू खड़ा हुन सक्‍दैनौ। “‘यसकारण बिहान तिमीहरू आ-आफ्‍नो कुलअनुसार नजिकै आउनू र जुन कुललाई परमप्रभुले पक्रनुहुन्‍छ, त्‍यो सन्‍तान-सन्‍तान गरी नजिक आओस्, र जुन सन्‍तानलाई परमप्रभु पक्रनुहुन्‍छ, सो परिवार-परिवार गरी नजिक आओस्, र जुन परिवारलाई परमप्रभुले पक्रनुहुन्‍छ, त्‍यसबाट एक-एक मानिस गरी नजिक आओस्‌। अनि जो मानिस अर्पित मालसमेत पक्राउ पर्छ, त्‍यो र त्‍यसको साथमा भएका जम्मै आगोमा जलाइनेछन्, किनभने त्‍यसले परमप्रभुको करार भङ्ग गरेको छ, र त्‍यसले इस्राएलमा घृणास्‍पद काम गरेको छ’।” यहोशूले बिहान सबेरै उठेर इस्राएलीहरूलाई कुल-कुल गरेर नजिक ल्‍याए, र यहूदाको कुल पक्राउ पर्‍यो। अनि तिनले यहूदाका सन्‍तान-सन्‍तान गरेर नजिक ल्‍याए, र जेरहको सन्‍तानलाई तिनले पक्रे। अनि तिनले जेरहका सन्‍तानका परिवार-परिवार गरी नजिक ल्‍याए, र जब्‍दीको परिवार पक्राउ पर्‍यो। अनि तिनले त्‍यसको घरका मानिस-मानिस गरी नजिक ल्‍याए, र आकान, जो यहूदाका कुलका जेरहको छोरो जब्‍दी, त्‍यसको छोरो कर्मीको छोरो थियो, पक्राउ पर्‍यो। तब यहोशूले आकानलाई भने, “हे मेरो छोरो, परमप्रभु इस्राएलका परमेश्‍वरलाई नै महिमा दे, र उहाँको सामु साबिती गरी तैंले के गरेको छस्‌ सो मलाई भन्‌। मबाट त्‍यो कुरो नलुका।” आकानले यहोशूलाई भन्‍यो, “साँचो हो, मैले परमप्रभु इस्राएलका परमेश्‍वरको विरुद्धमा पाप गरेको छु, र मेरो अपराध यो हो। जब मैले लूटेको धनमा बेबिलोनिया देशको एक बढ़िया ओढ्‌ने, दुई सय शेकेल ओजनको चाँदी, र पचास शेकेल ओजनका सुनको एक डण्‍डा देखें, तब मलाई लोभ लाग्‍यो, र ती लिएँ। ती मेरो पालको बीचमा जमिनभित्र गाड़िएका छन्, र सबैभन्‍दा मुनि चाँदी छ।” तब यहोशूले दूतहरू पठाए, र तिनीहरू दगुरेर त्‍यस पालमा गए, र ती त्‍यसको पालमा गाड़िराखेका रहेछन्‌ र चाँदीचाहिँ सबैभन्‍दा मुनि रहेछ। अनि तिनीहरूले ती मालहरू पालको बीचबाट निकालेर यहोशू र सबै इस्राएलीहरूकहाँ ल्‍याए, र परमप्रभुको सामु राखिदिए। तब सबै इस्राएलीहरूका साथमा यहोशूले जेरहवंशी आकानलाई र सो चाँदी, ओढ्‌ने, र सुनको डण्‍डा, अनि त्‍यसका छोराछोरीहरू, र त्‍यसका गोरुहरू, गधाहरू, र भेड़ाहरू र त्‍यसको पाल, र त्‍यससँग जो-जति थिए, ती सबैलाई आकोरको बेँसीमा लगे। यहोशूले भने, “तैंले हामीमाथि किन यस्‍तो सङ्कष्‍ट ल्‍याइस्‌? आज तँमाथि परमप्रभुले सङ्कष्‍ट ल्‍याउनुहुनेछ।” तब सारा इस्राएलीहरूले त्‍यसलाई ढुङ्गाले हाने, अनि बाँकीलाई ढुङ्गाले हानिसकेपछि जलाइदिए। तिनीहरूले आकानमाथि ढुङ्गाको ठूलो थुप्रो लगाए, जो आजको दिनसम्‍म छँदैछ। तब परमप्रभु आफ्‍ना जल्‍दो क्रोधदेखि शान्‍त हुनुभयो। यसकारण त्‍यस ठाउँको नाउँ आजको दिनसम्‍म आकोरको बेँसी रहेको छ।

शेयर गर्नुहोस्
यहोशू 7 पढ्नुहोस्

यहोशू 7:1-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तर अर्पण गरिएका चीजहरूको, विषयमा इस्राएलीहरू विश्‍वासयोग्य भएनन्। यहूदा कुलको जेरहको छोरा जब्दी जब्दीको छोरा कर्मी, कर्मीको छोरा आकानले ती अर्पण गरिएका चीजहरूबाट केही कुरा लियो। यसकारण याहवेहको क्रोध इस्राएलीहरूमाथि दन्कियो। यहोशूले बेथेलको पूर्वपट्टिको बेथ-आवेनको नजिक भएको ऐ सहरमा यरीहोबाट मानिसहरू पठाएर तिनीहरूलाई भने, “तिमीहरू माथि गएर त्यस इलाकाको भेद लेओ।” यसकारण ती मानिसहरू गए, र ऐ सहरको भेद लिए। जब तिनीहरू यहोशूकहाँ फर्केर आए, तब तिनीहरूले भने, “ऐ सहरको विरुद्धमा सबै मानिसहरू नजाऊन्। त्यसलाई कब्जा गर्न दुई वा तीन हजार मानिसहरू पठाउनुहोस्। सबै मानिसहरू जाने कष्‍ट नदिनुहोस्; किनकि त्यहाँ थोरै मात्र मानिसहरू बस्दछन्।” यसकारण करिब तीन हजार मानिसहरू मात्र माथि गए; तर तिनीहरू ऐ सहरका मानिसहरूद्वारा पराजित भए। तिनीहरूले लगभग छत्तीस जना इस्राएलीहरूलाई मारे। तिनीहरूले इस्राएलीहरूलाई सहरको मूलढोकादेखि शबारीमसम्म लखेटे, र ओरालोमा तिनीहरूलाई हराए। यो देखेर मानिसहरूको हृदय डरले गलेर पानीजस्तै भयो। तब यहोशूले आफ्नो वस्त्र च्याते। अनि याहवेहको सन्दुकको सामु भुइँमा घोप्टो परेर लडे। अनि साँझसम्म त्यहीँ रहिरहे। इस्राएलका प्रधानहरूले पनि त्यसै गरेर तिनीहरूका शिरहरूमा धुलो छर्के। अनि यहोशूले भने, “हाय, प्रभु याहवेह! तपाईंले यी मानिसहरूलाई एमोरीहरूको हातमा सुम्पिदिएर नष्‍ट पार्नलाई किन यर्दन पार गराएर ल्याउनुभयो? बरु हामी यर्दनको पारिपट्टि नै सन्तोष गरेर बसेको भए वेश हुनेथियो! हे प्रभु, अब म के भनूँ, अहिले इस्राएल आफ्ना शत्रुहरूद्वारा पराजित भएको छ? कनानी र यस देशका अरू मानिसहरूले यसबारे सुन्‍नेछन्, र तिनीहरूले हामीलाई चारैतिरबाट घेरेर पृथ्वीबाट हाम्रो नामनिशानै मेटिदिनेछन्। अनि त्यस बेला आफ्नो महान् नामको खातिर तपाईंले के गर्नुहुनेछ?” याहवेहले यहोशूलाई भन्‍नुभयो, “उठ्! तँ किन यसरी घोप्टो परेर भुइँमा लडिरहेको छस्?” इस्राएलले पाप गरेको छ। मैले तिनीहरूलाई पालन गर्न दिएको करार भङ्ग गरेका छन्। तिनीहरूले अर्पण गरिएका चीजहरूबाट केही लिएका छन्। तिनीहरूले चोरेका छन्। तिनीहरूले झूट बोलेका छन्। तिनीहरूले ती चीजहरू आफ्नै मालसामानसँग राखेका छन्। त्यसैकारण इस्राएलीहरू आफ्ना शत्रुहरूको विरुद्धमा खडा रहन सक्दैनन्। तिनीहरू पिठिउँ फर्काएर भाग्छन्; किनकि तिनीहरूले आफूलाई सर्वनाशको योग्य बनाएका छन्। तिमीहरूले आफ्ना बीचबाट नष्‍ट हुनका निम्ति अर्पण गरिएका चीजहरूलाई नष्‍ट नगरेसम्म म अब उसो तिमीहरूसँग रहनेछैन। “उठ्, गएर मानिसहरूलाई शुद्ध पार्! तिनीहरूलाई भन्, ‘भोलिको दिनको तयारीका निम्ति आफूलाई शुद्ध बनाओ’; किनकि याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: हे इस्राएल, तिमीहरूको बीचमा अर्पण गरिएको चीज छ। तिमीहरूले त्यसलाई नहटाएसम्म तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा खडा रहन सक्दैनौ। “ ‘यसकारण बिहानै तिमीहरूले कुल-कुलअनुसार आफूलाई प्रस्तुत गर। याहवेहले छान्‍नुभएको कुल वंश-वंश गरी अगाडि आओस्। याहवेहले छान्‍नुभएको वंश परिवार-परिवार गरी अगाडि आओस्; अनि याहवेहले छान्‍नुभएको परिवार एक-एक जना गरी अगाडि आओस्। अर्पण गरिएका चीजहरूसँग पक्राउ पर्ने व्यक्ति, त्यससँग भएका सबै थोकसँगै आगोद्वारा नष्‍ट पारियोस्। त्यसले याहवेहको करार भङ्ग गरेको छ; र इस्राएलमा घृणित काम गरेको छ!’ ” भोलिपल्ट बिहानै यहोशूले इस्राएललाई कुलअनुसार अगाडि आउन लगाए; अनि यहूदा छानिए। तब यहूदाका सबै कुलहरू अगाडि आए, र जेरहको वंशहरू छानिए। तिनले जेरहका वंशहरूलाई परिवार-परिवार गरी अगि आउन लगाए, र जब्दी छानिए। यहोशूले त्यसको परिवारलाई एक-एक गरी अगि आउन लगाए। अनि यहूदाको कुलको जेरहका छोरा जब्दी, त्यसका छोरा कर्मी र कर्मीका छोरा आकान पक्राउ पर्‍यो। तब यहोशूले आकानलाई भने, “हे मेरो छोरा, याहवेह इस्राएलका परमेश्‍वरलाई महिमा दे, र उहाँको कदर गर्। तैँले जे गरिस्, त्यो मलाई भन्; मदेखि त्यो कुरा नलुका।” आकानले जवाफ दियो, “यो कुरा सत्य हो! मैले याहवेह इस्राएलका परमेश्‍वरको विरुद्धमा पाप गरेको छु। मैले गरेको अपराध यही हो: लुटको मालमा जब मैले बेबिलोनबाटको एउटा सुन्दर लवेदा, दुई सय सेकेलको चाँदी र पचास सेकेलको सुनको टुक्रा देखेँ, तब मलाई लोभ लाग्यो र मैले ती लिएँ। ती मेरो पालभित्र जमिनमुनि गाडिएका छन्। अनि चाँदीचाहिँ सबैभन्दा मुनि छ।” यसकारण यहोशूले दूतहरू पठाए। अनि तिनीहरू दगुरेर पालमा गए। अनि त्यस पालभित्र ती लुकाइराखिएका थिए। चाँदीचाहिँ सबैभन्दा मुनि भेट्टाए। तिनीहरूले पालबाट ती चीजहरू लिएर यहोशू र सारा इस्राएलीहरूकहाँ ल्याए। अनि ती याहवेहको अगि राखिदिए। तब यहोशू र सारा इस्राएलीहरू मिलेर जेरहको छोरा आकान, त्यससँग भएको चाँदी, लवेदा, सुनको टुक्रा, त्यसका छोराछोरीहरू, त्यसका गाईबस्तु, गधाहरू र भेडाहरू, त्यसका पाल र त्यसका सबै चीजहरूलाई आकोरको बेँसीमा ल्याए। अनि यहोशूले भने, “तैँले यो विपत्ति हामीमाथि किन ल्याइस्? याहवेहले आज तँमाथि विपत्ति ल्याउनुहुनेछ।” त्यसपछि सारा इस्राएलीहरूले त्यसलाई ढुङ्गाले हाने। अनि तिनीहरूले अरू बाँकी रहेकाहरूलाई पनि ढुङ्गाले हानेर तिनीहरूलाई जलाइदिए। तिनीहरूले आकानमाथि पत्थरहरूको थुप्रो लगाए, जुन आजको दिनसम्मै छँदैछ। त्यसपछि याहवेहको भयानक क्रोध शान्त भयो। यसकारण त्यस दिनदेखि त्यस ठाउँलाई आकोरको बेँसी भनिन्छ।

शेयर गर्नुहोस्
यहोशू 7 पढ्नुहोस्

यहोशू 7:1-26 पवित्र बाइबल (NERV)

तर इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरेनन्। यहूदाका कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मी, कर्मीको छोरो आकान थिए। आकानले ती केही वस्तुहरू राखे जसलाई नष्ट गरिनु पर्ने थियो। यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनुभयो। यरीहोलाई परास्त गरे पछि यहोशूले केही मानिसहरूलाई ऐ शहरमा पठाए। ऐ शहर बेतेलको पूर्वतर्फ बेत-आवनको नजिकमा थियो। यहोशूले तिनीहरूलाई भने, “ऐ शहरमा जाऊ अनि त्यो क्षेत्रमा भएका कमजोरीहरूको पत्तालगाऊ।” यसकारण ती मानिसहरू त्यस स्थानमा जासूस गर्न गए। पछि, ती मानिसहरू यहोशू कहाँ फर्केर आए। तिनीहरूले भने, “ऐ शहर एक कमजोर क्षेत्र हो। त्यो स्थानलाई परास्त गर्न हामीलाई हाम्रा सबै मानिसहरूको खाँचो पर्ने छैन। त्यहाँ लड्नका निम्ति 2,000 अथवा 3,000 मानिसहरू पठाए हुन्छ। सम्पूर्ण सेना प्रयोग गर्नु त्यहाँ खाँचो छैन। त्यहाँ हामीसित लड्नका निम्ति थोरै मानिसहरू मात्र छन्।” यसर्थ प्रायः 3,000 मानिसहरू ऐ शहरमा गए। तर ऐ शहरका मानिसहरूले इस्राएलका छत्तीस जना मानिसहरू मारे। अनि इस्राएलका मानिसहरू भागे। मानिसहरूले शहर-द्वारदेखि ढुङ्गाका खानी सम्म तिनीहरूलाई खेदे। ऐ शहरका मानिसहरूले तिनीहरूलाई नराम्रो प्रकारले परास्त गरे। जब इस्राएलका मानिसहरूले यो देखे, तिनीहरू अत्यन्त भयभीत भए, अनि आफ्ना साहस गुमाए। जब यहोशूले यस विषयमा सुने, तिनले दुःख प्रगट गर्न आफ्ना वस्त्रहरू च्याते। तिनले पवित्र सन्दूकको सामुन्ने भूइँतिर शिर झुकाए। यहोशू त्यहाँ साँझसम्म बसिरहे। इस्राएलका अगुवाहरूले पनि त्यसै गरे। तिनीहरूले पनि आफ्नो दुःख प्रगट गर्न आफ्ना शिरमा धुलो हाले। यहोशूले भने, “परमप्रभु मेरो मालिक! तपाईंले हामीलाई यर्दन नदी पारी ल्याउनु भयो। तपाईंले किन हामीलाई यति टाढा ल्याउनु भयो अनि एमोरी मानिसहरूद्वारा हामीलाई नष्ट पार्न छोड्नु हुन्छ? हामी इच्छा गर्छौ कि त्यही हामी यर्दन वारिनै रहेको भए सन्तुष्ट हुने थियौं। परमप्रभु म मेरो प्राणद्वारा शपथ गर्छु। अब मैले भन्न सक्ने केही छैन। इस्राएलले शत्रुहरूको समक्ष समर्पण गरेको छ। कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?” परमप्रभुले यहोशूलाई भन्नुभयो, “उठ तँ घोप्टो परेर भूइँ तिर किन झुकि बस्छस्! इस्राएलका मानिसहरूले मेरो विरूद्ध पाप गरेका छन्। तिनीहरूले करार भङ्ग गरे जो मैले तिनीहरूलाई पालन गर्नु भनी आज्ञा गरेको थिएँ। तिनीहरूले ती केही वस्तुहरू लगे जसलाई मैले नष्ट गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले मबाट चोरी गरेका छन्, तिनीहरूले झूटो काम गरेका छन्। तिनीहरूले ती वस्तुहरू आफ्नै निम्ति लगे। यसकारण इस्राएलका सेनाहरू युद्ध भूमि देखि भागे। तिनीहरूले त्यसो गरे किनभने तिनीहरूले नराम्रो काम गरेका थिए। तिनीहरूलाई नष्ट गरिदिनु पर्छ। जबसम्म मैले आज्ञा दिएका ती चीजहरू तिमीहरूले ध्वंश पार्देनौ म तिमीहरूको सहायताको लागि साथमा रहँदिन। “अब मानिसहरूलाई शुद्ध तुल्याउनका निम्ति जा। मानिसहरूलाई भन्, ‘स्वयंमलाई शुद्ध तुल्याऊ। भोलिको निम्ति तैयार हौ।’ परमप्रभु इस्राएलका परमेश्वरले भन्नुहुन्छ, ‘केही मानिसहरूले ती वस्तुहरू राखिछोडेका छन् जसलाई उहाँले नष्ट गर्नु भनी आदेश गर्नु भएको थियो।’ तँ त्यस बेलासम्म तेरो शत्रुहरूलाई परास्त गर्न समर्थ हुने छैनस् जबसम्म तैंले ती वस्तुहरूलाई फ्याँक्दैनस्। “‘भोलि बिहान तिमीहरू सबै परमप्रभुको समक्ष उभिनु पर्छ। सबै कुल समूहहरू परमप्रभुको सामुन्ने खडा हुनुपर्छ। परमप्रभुले कुनै एक कुल समूहलाई चुन्नुहुनेछ। तब त्यो कुल समूह मात्र परमप्रभुको समक्ष उभिने छन्। तब परमप्रभुले त्यस कुल समूहबाट एक सन्तानलाई छान्नु हुनेछ। तब त्यो सन्तानमात्र परमप्रभुको समक्ष उभिनु पर्छ। त्यसपछि परमप्रभुले त्यो सन्तानका प्रत्येक परिवारलाई हेर्नु हुनेछन्। र परमप्रभुले एक मानिसलाई छान्नु हुनेछन्। त्यो मानिसले जो हामीले नष्ट गर्नु पर्ने थियो, ती वस्तुहरू राखेकोछ, उसलाई आगोले नष्ट गरिनेछ। अनि त्यस मानिससित भएका हरेक वस्तुहरू त्यो सँगै नष्ट गरिनेछ। त्यो मानिसले परमप्रभुसित भएको करार भङ्ग गर्यो। त्यसले इस्राएलका मानिसहरूका निम्ति अत्यन्त नराम्रो काम गरेको छ।’” भोलि पल्ट बिहानै यहोशूले इस्राएलका सबै मानिसहरूलाई परमप्रभुको समक्ष लगे। सबै कुल समूह परमप्रभुको सामुन्ने उभिए। परमप्रभुले यहूदाका कुल समूहलाई चुन्नु भयो। यसर्थ यहूदाका सबै कुल समूहहरू परमप्रभु-समक्ष उभिए। परमप्रभुले जेरह कुल समूहलाई छान्नु भयो। त्यसपछि जेरहको सबै कुल समूहहरू परमप्रभुका सामुन्ने उभिए। जिम्रीका परिवार चुनिए। तब यहोशूले त्यो परिवारका सबै मानिसहरूलाई परमप्रभुको समक्ष आउनु भन्नु भने। परमप्रभुले कर्मीका छोरा आकानलाई छान्नु भयो। (कर्मी जिम्रीका छोरा थिए। अनि जिम्री जेरहका छोरा थिए।) तब यहोशूले आकानलाई भने, “छोरो, तैंले परमप्रभु इस्राएलका परमेश्वरलाई सम्मान गर् अनि उहाँको अघि तेरो पाप स्वीकार गर्। मलाई भन तैंले के गरिस् अनि मबाट कुनै कुरा पनि लुकाउने चेष्टा नगर्।” आकानले उत्तर दियो, “यो सत्य हो, मैले परमप्रभु इस्राएलका परमेश्वरको विरूद्ध पाप गरे। मैले जे गरें त्यो यो होः हामीले यरीहो शहर अनि त्यहाँ भएका सबै वस्तुहरू कब्जा गर्यौं। मैले बाबेलका एउटा सुन्दर कोट, दुइ सय शेकेल ओजनको चाँदी अनि लगभग पचास शेकेल ओजनको सुन देखें। ती वस्तुहरू मैले आफ्नै निम्ति राख्न चाहें। यसकारण मैले ती वस्तुहरू लिएँ। तपाईंले ती वस्तुहरू मेरो पाल मुनि भूइँमा गाढिएको पाउनु हुनेछ। चाँदी, कोटको मुनि छ।” यसर्थ यहोशूले केही मानिसहरूलाई त्यस पालमा पठाए। तिनीहरू पालतिर दगुरे अनि ती वस्तुहरूलाई त्यही पालमा लुकाइएको पाए। चाँदी कोट मुनि थियो। मानिसहरूले ती वस्तुहरू पाल बाहिर ल्याए र यहोशू अनि इस्राएलका समस्त मानिसहरू कहाँ लगे। तिनीहरूले ती परमप्रभुको समक्ष भूइँमा राखिदिए। त्यसपछि यहोशू र सबै मानिसहरूले आकान जेरहका छोरालाई तिनीहरूका चाँदी, कोट, सुन, त्यसका छोरा-छोरीहरू, त्यसका गाई-वस्तु, अनि गधाहरू, भेंडाहरू, पाल अनि त्यसका जम्मै वस्तु आकोर बेंसीमा लगे। तब यहोशूले भने, “तैंले हामीमाथि धेरै कष्ट दिइस्, तर अब परमप्रभुले तँमाथि कष्ट ल्याउनु हुनेछ।” त्यसपछि सबै मानिसहरूले आकान अनि त्यसका परिवारमाथि तिनीहरू नमरून्जेल उनीहरूले ढुङ्गा बर्षाए तब मानिसहरूले तिनीहरूलाई जलाइ दिए। आकानलाई जलाइसके पछि तिनीहरूले धेरै ढुङ्गाहरू त्यसको शरीर माथि राखिदिए। ती ढुङ्गाहरू आज सम्म पनि त्यहाँ छन्। परमेश्वरले आकानमाथि यसरी कष्ट ल्याइदिनु भयो। त्यसै कारणले गर्दा त्यस स्थानलाई आकोरको बेंसी भनिन्छ। त्यसपछि मानिसहरूसित परमप्रभु क्रोधित हुनु भएन।

शेयर गर्नुहोस्
यहोशू 7 पढ्नुहोस्

यहोशू 7:1-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुलाई चढाउनुपर्ने कुनै थोक यरीहोबाट नलिनू भन्‍ने परमप्रभुले इस्राएललाई दिनुभएको आज्ञापालन भएन। एक जना आकान नाम गरेको मानिसले त्‍यो आज्ञा मानेन। परमप्रभु इस्राएलीहरूमाथि औधी क्रोधित हुनुभयो। (आकान कर्मीको छोरो अनि जब्‍दीको नाति थियो। त्‍यो यहूदा कुलको जेरह गोत्रको थियो।) यहोशूले केही मानिसहरूलाई बेथ-आवनको नजिकै बेथेलको पूर्वमा भएको ऐ सहरमा त्‍यसको भेद लिने आज्ञा दिएर पठाए। त्‍यो काम गरिसकेपछि तिनीहरू फर्केर आई यहोशूलाई भने, “सबैले ऐमाथि हमला गर्न आवश्‍यक छैन। दुई वा तीन हजार मानिसहरू मात्र पठाऊ। त्‍यहाँ लड्‍नलाई सारा सेना नपठाऊ। त्‍यो सहर ठूलो छैन।” यसकारण तीन हजार जति इस्राएलीहरूले हमला गरे तर तिनीहरू हारेर पछि हट्‍न पर्‍यो। ऐका बासिन्‍दाहरूले तिनीहरूलाई सहरको ढोकादेखि ढुङ्गाका केही खानीहरू भएको ठाउँसम्‍म खेदे र डाँडाबाट ओह्रालो झर्दा छत्तीस जना जति इस्राएलीहरूलाई मारे। त्‍यसो हुँदा इस्राएलीहरूले साहस गुमाए र तिनीहरू डरले थरथर भए। यहोशू र इस्राएलका अगुवाहरूले शोकमा आ-आफ्‍ना वस्‍त्र च्‍याते, परमप्रभुको करारको सन्‍दुकको सामुन्‍ने जमिनमा लडे र मनको पीर जनाउँदै टाउकोमा धूलो हालेर साँझसम्‍म त्‍यहीँ माटोमा लडिरहे। अनि यहोशूले भने, “सार्वभौम परमप्रभु! किन हामीलाई वारि नै ल्‍याउनुभयो? एमोरीहरूका हातमा पारिदिनलाई? हाम्रो नाश गराउनलाई? किन हामी यर्दनपारि नै रहन खुसी थिएनौं र? यसरी इस्राएलीहरू शत्रुसित हारेर फर्की आएपछि म के भनूँ, प्रभु? कनानीहरू र यस देशमा भएका अरू सबैले यो कुरा सुन्‍नेछन्। तिनीहरूले हामीलाई घेरेर मार्नेछन्। त्‍यसपछि आफ्‍नो इज्‍जत बचाउनलाई तपाईं के गर्नुहुनेछ?” परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उठ्! किन यसरी भूइँमा लडिरहेको छस्? इस्राएलले पाप गरेको छ। मसँग गरेको वाचा जुन तिनीहरूले मान्‍न भनी मैले आज्ञा दिएको थिएँ, त्‍यो तिनीहरूले तोडेका छन्। मलाई चढाउन आज्ञा दिइएका थोकहरू केही तिनीहरूले लिएर राखेका छन्। तिनीहरूले ती थोक चोरे, तीबारे ढाँटे र आफ्‍ना चीजबीजसित एकसाथ राखे। त्‍यसैकारण इस्राएलीहरू आफ्‍ना शत्रुका विरुद्धमा खडा रहन सक्‍दैनन्। शत्रुका अघिबाट तिनीहरू भाग्‍छन् किनभने तिनीहरू आफैं नाश हुने दण्‍डमा परेका छन्। नलिनू भनी आज्ञा गरिएका तर तिमीहरूले चाहिँ लिएका चीजबीज तैँले नाश गरिनस् भने म तँसित रहनेछैनँ। “उठ्! मानिसहरूलाई चोख्‍या र मेरो अघि आउन तयार पार्‌। तिनीहरूलाई भोलि तयार रहनू भन् किनभने म परमप्रभु इस्राएलका परमेश्‍वरको भन्‍नुपर्ने कुरा यस्‍तो छ, ‘हे इस्राएल, तँसित यस्‍ता कति चीज छन् जुन नाश पार्नुपर्ने थियो। ती चीजहरू नहटाउन्‍जेलसम्‍म तैँले तेरा शत्रुको सामना गर्न सक्‍नेछैनस्।’ यसर्थ तिनीहरूलाई भन् कि भोलि बिहान तिनीहरू कुल-कुल भएर अघि आउनेछन्। मैले चुनेको कुल, गोत्र-गोत्रका हिसाबले अघि आउनेछ। त्‍यहाँबाट मैले चुनेको गोत्र, परिवार-परिवारका हिसाबले अघि आउनेछ। मैले फेरि चुनेका परिवारका मानिसहरू एक-एक जना गरी सामुन्‍ने आउनेछन्। त्‍यसपछि जुन मानिस छुट्ट्याइन्‍छ र जोसित ती श्रापित चीजबीज पाइनेछ, त्‍यो आफ्‍ना परिवार र सारा सम्‍पत्तिसमेत आगोमा भस्‍म गरिनेछ किनभने त्‍यसले इस्राएलमा एउटा ठूलो लाजको कुरो ल्‍याएको छ र मसितको करार भङ्ग गरेको छ।” भोलिपल्‍ट बिहानै यहोशूले कुल-कुल गरेर इस्राएलीहरूलाई अघि ल्‍याए र तीबाट यहूदा कुल छुट्याइयो। यहूदा कुललाई गोत्र-गोत्र गरी अघि ल्‍याए र तीबाट जेरहको गोत्र छुट्ट्याइयो। तब जेरह गोत्रलाई परिवार-परिवार गरी अघि ल्‍याए र तीबाट जब्‍दीको परिवार अलग गरियो। तब जब्‍दी परिवारका पुरुषहरू एक-एक जना गरेर अघि ल्‍याइए र तीमध्‍ये जब्‍दीको नाति अनि कर्मीको छोरो आकान अलग छुट्याइयो। यहोशूले त्‍यसलाई भने, “छोरो, परमप्रभु इस्राएलका परमेश्‍वरको सामुन्‍ने यहाँ मलाई साँचो भन् र दोष साबित गर्‌। तैँले के गरिस्, सो अब मलाई भन्। त्‍यो मदेखि लुकाउने चेष्‍टा नगर्‌।” आकानले उत्तर दियो, “साँचो हो, मैले इस्राएलका परमेश्‍वर परमप्रभुको विरुद्धमा पाप गरेको छु। मैले यसो गरें, हामीले जफत गरेका थोकहरूमध्‍ये मैले एउटा सुन्‍दर, बेबिलोनियामा बनेको खास्‍टो अनि दुई किलोग्राम जति चाँदी र आधा किलोग्रामभन्दा केही बढ्ता ओजन भएको सुनको डन्‍डा भेटाएँ। मलाई यति लोभ लाग्‍यो कि मैले ती कुरा लिएँ। ती मेरो पालमा सबैभन्दा मुनि चाँदी गाडिराखेको तपाईंले भेट्टाउनुहुनेछ।” यसकारण यहोशूले केही मानिसहरूलाई पठाए। तिनीहरू पालमा गए र त्‍यहाँ ती चीजहरू चाँदीचाहिँ सबैभन्दा मुनि राखेर साँच्‍चै गाडिराखेको भेट्टाए। ती तिनीहरूले पालदेखि निकाली ल्‍याए र यहोशू र सबै इस्राएलीहरूकहाँ पुर्‍याए र परमप्रभुको सामुन्‍ने राखे। यहोशू र सारा इस्राएलका मानिसहरूले मिलेर आकान, त्‍यो चाँदी, खास्‍टो, सुनको डन्‍डा, आकानका छोरा-छोरी, गाई-वस्‍तु, गधा र भेडाहरू, त्‍यसका तम्‍बू र अरू सबै सम्‍पत्तिसमेत समाते र ती सबैलाई विपत्तिको बेसीमा लगे। अनि यहोशूले भने, “तैँले किन हामीमाथि यस्‍तो विपत् ल्‍याइस्? परमप्रभुले अब तँमाथि विपत् ल्‍याउनुहुनेछ।” तब सबै मानिसहरूले आकानलाई ढुङ्गाले हानेर मारे। तिनीहरूले त्‍यसका परिवार र सम्‍पत्तिहरूमाथि पनि ढुङ्गाले हाने र जलाइदिए। तिनीहरूले त्‍यसको लाशमा ढुङ्गाको ठूलो राश थुपारे, जुन आजसम्‍म त्‍यहाँ छँदैछ। त्‍यही कारण त्‍यस ठाउँलाई विपत्तिको बेसी भनिन्‍छ। त्‍यसपछि परमप्रभुको क्रोध शान्‍त भयो।

शेयर गर्नुहोस्
यहोशू 7 पढ्नुहोस्