यहोशू 4:1-24
यहोशू 4:1-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सारा जातिले यर्दन पार गरिसकेपछि परमप्रभुले यहोशूलाई भन्नुभयो, “हरेक कुलबाट एक-एक जना गरी बाह्र जना पुरुषहरू छान्। यर्दनका बीच जहाँ पूजाहारीहरू उभिएका छन्, त्यस ठाउँबाट बाह्र वटा ढुङ्गाहरू लिन तिनीहरूलाई आज्ञा गर्। ती ढुङ्गाहरू बोकेर लगी आज राती बास बस्ने पालमा राखिदिन तिनीहरूलाई भन्।” तब यहोशूले आफूले चुनेका बाह्र जना पुरुषहरूलाई बोलाएर भने, “परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दुक अघि यर्दनमा जाओ र प्रत्येक इस्राएली कुलको निम्ति एक-एक वटा ढुङ्गा आ-आफ्ना काँधमा बोकेर ल्याओ। परमप्रभुले के गर्नुभएको थियो, सो कुरा यी ढुङ्गाहरूले मानिसहरूलाई सम्झना गराउनेछन्। आउँदा दिनमा जब तिम्रा छोरा-छोरीहरूले यी ढुङ्गाको अर्थ के हो भनी सोध्नेछन्, तब तिमीहरूले भन्नेछौ कि परमप्रभुको करारको सन्दुकले यर्दन पार गर्दा नदी बग्न बन्द भएको थियो। यी ढुङ्गाहरूले इस्राएलका मानिसहरूलाई यहाँ के घटना भएको थियो, सधैँ त्यसको सम्झना गराउनेछन्।” ती पुरुषहरूले यहोशूको आज्ञा माने। परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले हरेक इस्राएल कुलैपिच्छे एउटा-एउटा गरेर यर्दनका बीचबाट बाह्र वटा ढुङ्गाहरू लिए र पाल हाल्ने ठाउँमा बोकेर लगी त्यहाँ राखे। यर्दनका बीचमा करारको सन्दुक लिएर पूजाहारीहरू खडा भएका ठाउँमा पनि यहोशूले बाह्र वटा ढुङ्गाहरू खडा गरे। (ती ढुङ्गाहरू अझसम्म त्यहाँ छन्।) मानिसहरूलाई जे-जे गर्न लाउनु भनी परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएको थियो, ती सबै पूरा नहुञ्जेलसम्म पूजाहारीहरू यर्दनको बीचमा उभिरहे। मोशाले यहोशूलाई त्यस्तै आज्ञा गरेका थिए। मानिसहरूले हतार-हतार नदी पार गरे। सबै जना पारिपट्टि पुगेपछि परमप्रभुको करारको सन्दुक लिएर हिँड्ने पूजाहारीहरू मानिसहरूका अघि-अघि लागे। मोशाले भनेअनुसार बाँकी मानिसहरूका अघि-अघि रूबेन र गादका कुल र मनश्शेका आधा कुलका मानिसहरू युद्ध गर्नलाई तयार भई नदी तरे। परमप्रभुको सामुन्ने प्राय: चालीस हजार पुरुषहरू लडाइँको निम्ति तयार भई नदी पार गरी यरीहोको छेउको मैदानमा पुगे। त्यस दिन परमप्रभुले जे गर्नुभयो, त्यसका कारण इस्राएलीहरूका बीचमा यहोशू एउटा ठूला मानिस मानिन लागे। उनको जीवनकालभरि मोशालाई झैँ तिनीहरूले उनलाई आदर गरे। त्यसपछि परमप्रभुले यहोशूलाई करारको सन्दुक बोक्ने पूजाहारीहरूलाई यर्दनबाट निस्किआउने आज्ञा गर्न अह्राउनुभयो। यहोशूले त्यस्तै गरे। पूजाहारीहरू नदीको पल्लो किनारमा पुग्दा नदी फेरि बग्न थाल्यो र पानीले फेरि किनार ढाक्यो। पहिलो महिनाको दशौँ दिन मानिसहरूले यर्दन पार गरे र यरीहोको पूर्वपट्टि गिलगालमा पाल टाँगे। यहोशूले त्यहाँ यर्दनबाट ल्याएका बाह्र वटा ढुङ्गाहरू खडा गरे। उनले इस्राएलका मानिसहरूलाई भने, “आउँदा दिनमा यी ढुङ्गाको अर्थ के हो भनी जब तिम्रा छोरा-छोरीहरूले सोध्नेछन् तब इस्राएलीहरूले ओबानो भूमिमाथि यर्दन पार गरेका कुरा तिनीहरूलाई भन्नू। हाम्रा लागि लाल-समुद्र सुकाइदिनुभएझैँ यर्दन नदीको पानी पनि त्यो हामीले पार नगरेसम्म परमप्रभु हाम्रा परमेश्वरले सुकाइदिनुभएको थियो भनी तिनीहरूलाई भन्नू। यसले गर्दा परमप्रभुको शक्ति कति महान् छ भनी पृथ्वीका हरेक मानिसले जान्नेछ र सदासर्वदा तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आदर गर्नेछौ।”
यहोशू 4:1-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब सबै मानिसहरू पार तरिसके, तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “मानिसहरूबाट बाह्र जना पुरुष, कुलैपिच्छे एक-एक पुरुष गरी लिएर तिनीहरूलाई यसो भन्ने आज्ञा दे, ‘यर्दन नदीको बीचमा पूजाहारीहरूका खुट्टाले टेकेको ठाउँबाट बाह्र वटा ढुङ्गा लिई तिमीहरूका साथमा बोकेर ल्याओ, र आज राती तिमीहरू जहाँ डेरा हालेर बस्छौ त्यहीँ राखिदेओ’।” यसकारण इस्राएलीहरूबाट यहोशूले कुलैपिच्छेको एक-एक गरी चुनेका बाह्र जनालाई बोलाए। यहोशूले तिनीहरूलाई भने, “तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका सन्दूकको सामु यर्दन नदीको बीचमा जाओ, र इस्राएलीहरूका कुलको गन्तीअनुसार हरेकले एक-एक वटा ढुङ्गा आफ्नो काँधमा राखेर ल्याओ। तिमीहरूका बीचमा यो एक चिनो रहोस्, र पछि भविष्यमा तिमीहरूका छोराछोरीहरूले, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनेर सोध्दा तिमीहरूले तिनीहरूलाई यसो भन्नू, ‘परमप्रभुका करारका सन्दूकको सामु यर्दनको पानी रोकिएको थियो। यर्दन पार गर्दा यर्दनको पानी रोकिएको थियो। यी ढुङ्गाहरू इस्राएलीहरूका निम्ति सदाका स्मारकको रूपमा रहनेछन्।” परमप्रभुले यहोशूलाई भन्नुभएअनुसार यहोशूको आदेश पालन गरेर इस्राएलका कुलको संख्याअनुसार इस्राएलीहरूले यर्दनको बीचबाट ढुङ्गाहरू ल्याए र तिनीहरू बसेका ठाउँमा राखे। करारको सन्दूक बोक्ने पूजाहारीहरूका खुट्टाले टेकेको ठाउँ, अर्थात् यर्दनको बीचबाट ल्याइएका बाह्र वटा ढुङ्गा यहोशूले उभ्याए। ती आजको दिनसम्म त्यहीँ छन्। मोशाले यहोशूलाई अह्राएअनुसार, मानिसहरूलाई सुनाउनलाई परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञाका सबै काम पूरा नहोउञ्जेल सन्दूक बोक्ने पूजाहारीहरू यर्दनको बीचमै उभिरहे, र मानिसहरू चाँड़ो-चाँड़ो गरेर पार तरे। अनि जब सबै मानिसहरू पार तरिसके, तब परमप्रभुको सन्दूक र पूजाहारीहरू पनि मानिसहरूका सामुन्ने पार तरे। मोशाले तिनीहरूलाई भनेबमोजिम रूबेनका सन्तान, गादका सन्तान र मनश्शेको आधा कुल पनि इस्राएलीहरूका सामुन्ने हातहतियार भिरेर तरे। करीब चालीस हजार जति लड़ाइँको लागि हातहतियार भिरेका पुरुषहरू लड़ाइँ गर्नलाई परमप्रभुको सामु पार तरेर यरीहोको मैदानतिर लागे। त्यस दिन सबै इस्राएलीहरूका नजरमा परमप्रभुले यहोशूलाई उचाल्नुभयो र तिनीहरूले तिनको जीवनभरि मोशालाई झैँ यहोशूलाई आदर गरे। तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “गवाहीको सन्दूक बोक्ने पूजाहारीहरूलाई यर्दनबाट उक्लिआउनू भनी हुकुम गर्।” यसकारण यहोशूले पूजाहारीहरूलाई, “तिमीहरू यर्दनबाट उक्लेर आओ,” भन्ने हुकुम गरे। परमप्रभुका करारको सन्दूक बोक्ने पूजाहारीहरू यर्दनको बीचबाट उक्लिसकेपछि तिनीहरूका पैतालाले ओबानो भूइँमा टेक्ने बित्तिकै यर्दनको पानी आफ्नो बाटोमा फर्केर आयो र अघिझैँ किनार ढाकेर बग्न थाल्यो। पहिलो महिनाको दशौँ दिनमा मानिसहरूले यर्दनबाट उक्लेर आई यरीहोको पूर्व सिमानामा गिलगाल भन्ने ठाउँमा आफ्नो छाउनी बनाए। तिनीहरूले यर्दन नदीबाट निकालेर ल्याएका ती बाह्र वटा ढुङ्गाहरू यहोशूले गिलगालमा खड़ा गरे। अनि तिनले इस्राएलीहरूलाई यसो भने, “पछि तिमीहरूका बालबच्चाले आफ्ना बुबाहरूसँग ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनेर सोधे भने, तिमीहरूले आफ्ना बालबच्चालाई यसो भनेर बताइदिनू, ‘इस्राएलीहरूले यर्दन नदी सुक्खा जमिनमा टेकेर तरेका थिए’। जसरी परमप्रभु तिमीहरूका परमेश्वरले लाल समुद्रलाई हामीले पार नगरुञ्जेल हाम्रा सामुन्ने सुकाउनुभएको थियो, त्यसरी नै तिमीहरूका सामुन्ने तिमीहरू पार नगरुञ्जेल यर्दन नदीको पानी पनि सुकाउनुभएको थियो। पृथ्वीका सारा मानिसहरूले परमप्रभुका बाहुलीको सामर्थ्य थाहा पाऊन्, र तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको भय मान भन्ने ध्येयले यो सब भएको हो।”
यहोशू 4:1-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब सम्पूर्ण मानिसहरूले यर्दन नदी पार गरिसके, तब याहवेहले यहोशूलाई भन्नुभयो, “प्रत्येक कुलबाट एक-एक जना गरी बाह्र जना मानिसहरू छान्। अनि तिनीहरूलाई यर्दनको बीचबाट ती पुजारीहरू उभिएकै ठाउँबाट बाह्र वटा ढुङ्गाहरू ल्याउन लगाउनू। अनि ती ढुङ्गाहरूलाई तैँले लगेर आज राति तिमीहरू बस्ने ठाउँमा राख्नू।” यसकारण यहोशूले इस्राएली कुलबाट एक-एक जना गरी तिनले नियुक्त गरेका बाह्र जना मानिसहरूलाई बोलाए। अनि तिनीहरूलाई भने, “याहवेह तिमीहरूका परमेश्वरको सन्दुकको अगाडि यर्दन नदीको बीचमा जाओ। तिमीहरू हरेकले इस्राएलका कुलहरूको संख्याअनुसार एक-एक वटा ढुङ्गा काँधमा बोकेर ल्याओ। यो तिमीहरूका बीचमा एउटा सम्झनाको रूपमा रहोस्।” भविष्यमा जब तिमीहरूका छोराछोरीहरूले “यी ढुङ्गाहरूको अर्थ के हो?” भनेर सोध्लान्, तब तिनीहरूलाई यसो भन्नू, “याहवेहको करारको सन्दुकको सामु बग्दै गरेको यर्दनको पानी रोकिएको थियो। याहवेहको करारको सन्दुक बोकेर पुजारीहरूले यर्दन पार गर्दा पानी रोकिएको थियो। यी ढुङ्गाहरू इस्राएलका मानिसहरूका निम्ति सधैँको लागि स्मारकको रूपमा रहनेछन्।” यसकारण यहोशूले इस्राएलीहरूलाई आज्ञा गरेझैँ तिनीहरूले गरे। याहवेहले यहोशूलाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले इस्राएलका कुलहरूको संख्याअनुसार यर्दनको बीचबाट बाह्र वटा ढुङ्गाहरू बोकेर ल्याए। अनि तिनीहरूले ती ढुङ्गाहरू आफ्ना छाउनीसम्म आफूसँग बोकेर लगे; र त्यहाँ छाउनीमा राखे। करारको सन्दुक बोक्ने पुजारीहरू उभिएको जमिन यर्दनको बीचबाट ल्याइएका ढुङ्गाहरूलाई यहोशूले खडा गरे। अनि ती ढुङ्गाहरू आजको दिनसम्म त्यहीँ छँदैछन्। याहवेहले यहोशूलाई आज्ञा दिनुभएझैँ मानिसहरूले नगरुन्जेल, सन्दुक बोक्ने पुजारीहरू यर्दनको बीचमा उभिरहे। मोशाले पनि यहोशूलाई त्यस्तै निर्देशन दिएका थिए। अनि मानिसहरूले हतार-हतार गरेर नदी पार गरे। अनि तिनीहरू सबै जना नदी पार गरिसकेपछि मानिसहरूले हेरिरहेकै बेला याहवेहको सन्दुक र पुजारीहरू नदीको अर्कोपट्टि आए। मोशाले तिनीहरूलाई निर्देशन दिएझैँ रूबेन, गादका र मनश्शेको आधा कुलका मानिसहरू, लडाइँका निम्ति हतियार लिएर अरू इस्राएलीहरूको अगि नदी तरेर गए। युद्धका निम्ति हतियार भिरेका लगभग चालीस हजार मानिसहरू पार भएर याहवेहको सामु यरीहोको मैदानतिर लडाइँका निम्ति गए। त्यस दिन याहवेहले यहोशूलाई इस्राएलको नजरमा उच्च पार्नुभयो। अनि तिनीहरूले मोशाको आदर गरेझैँ, तिनको जीवनकालभरि तिनको पनि आदर गरे। तब याहवेहले यहोशूलाई भन्नुभयो, “साक्षी पाटीको सन्दुक बोक्ने पुजारीहरूलाई यर्दनबाट निस्केर माथि आउनू भनी आज्ञा गर्।” यसकारण यहोशूले पुजारीहरूलाई, “यर्दनबाट निक्लेर माथि आओ” भनी आज्ञा गरे। अनि पुजारीहरू याहवेहको करारको सन्दुक बोकेर नदीबाट बाहिर निक्लेर आए। तिनीहरूका पाइलाले सुक्खा भूमिमा टेक्ने बित्तिकै यर्दनको पानी आफ्नो ठाउँमा फर्केर आयो र पहिलेझैँ भरिएर बग्न थाल्यो। पहिलो महिनाको दशौँ दिनमा मानिसहरू यर्दनबाट उक्लेर गए, र यरीहोको पूर्वीय सिमाना गिलगालमा छाउनी हाले। अनि यहोशूले यर्दनबाट तिनीहरूले ल्याएका बाह्र वटा ढुङ्गाहरूलाई गिलगालमा खडा गरे। तिनले इस्राएलीहरूलाई भने, “भविष्यमा तिमीहरूका बालबच्चाहरूले आफ्ना आमाबुबालाई, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनेर जब सोध्लान्, तब तिनीहरूलाई यसो भन्नू, ‘इस्राएलीहरूले सुक्खा जमिनबाट यर्दन नदी तरेका थिए।’ किनकि याहवेह तिमीहरूका परमेश्वरले यर्दन नदीलाई हामीहरूले पार नगरुन्जेल सुकाउनुभयो। हामीले लाल समुद्रपार नगरेसम्म याहवेह तिमीहरूका परमेश्वरले जसरी लाल समुद्रलाई सुकाउनुभयो, त्यसरी नै उहाँले यर्दनलाई पनि सुकाउनुभयो। उहाँले यसो गर्नुभयो; ताकि सारा पृथ्वीका मानिसहरूले याहवेहका हात शक्तिशाली छन् भनी जानून्। त्यसरी नै तिमीहरूले पनि याहवेह तिमीहरूका परमेश्वरको भय सधैँ मान।”
यहोशू 4:1-24 पवित्र बाइबल (NERV)
सबै मानिसहरूले यर्दन नदीपार गरिसके पछि परमप्रभुले यहोशूलाई भन्नुभयो, “प्रत्येक कुल समूहबाट एक-एकजना गरी बाह्र जना मानिसहरू छान। त्यहाँ तिनीहरूलाई नदीमा जहाँ पूजाहारीहरू उभिरहेका छन् हेर भन्। त्यस स्थानमा बाह्रवटा ढुङ्गा खोज भनी तिनीहरूलाई भन। ती बाह्रवटा ढुङ्गाहरू तिमीहरूले बोक। आज राती तिमीहरू जहाँ बस्छौ त्यस स्थानमा ती बाह्रवटा ढुङ्गाहरूलाई राख।” यसकारण यहोशूले प्रत्येक कुल समूहबाट एक एकजना मानिसलाई चुनें। तब तिनले ती बाह्र-मानिसहरूलाई साथमा बोलाए। यहोशूले ती मानिसहरूलाई भने, “नदीको त्यस ठाउँमा जाऊ जहाँ परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दूक छ। तिमीहरू प्रत्येकले एक-एकवटा ढुङ्गा लिनै पर्छ। इस्राएलका बाह्र कुल समूह प्रत्येक समूहको लागि तिमीहरूले एक-एकवटा ढुङ्गा लेऊ। यी ढुङ्गा तिमीहरूले आफ्नो काँधमा बोक। यी ढुङ्गाहरू तिमीहरूका निम्ति यादको चिन्ह हुनेछन। भविष्यमा, तिमीहरूका छोरा-छोरीहरूले तिमीहरूलाई ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनी सोध्नेछन् तिमीहरूले छोरा-छोरीहरूलाई भन्ने छौ कि परमप्रभुले यर्दन नदीको पानी बग्न बन्द गरिदिनु भयो। जब परमप्रभुको करारको पवित्र सन्दूक नदीपार भयो। ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूलाई यो कुरा सदा याद गर्नमा सहायता गर्नेछ।” यसकारण इस्राएलका मानिसहरूले यहोशूको आज्ञा पालन गरे। तिनीहरूले यर्दन नदीको माझबाट बाह्रवटा ढुङ्गाहरू बोके। इस्राएलका बाह्र कुल समूहका प्रत्येकले एक-एकवटा ढुङ्गा लिए। तिनीहरूले यो काम परमप्रभुले यहोशूलाई आज्ञा गर्नु भए अनुसार गरे। मानिसहरूले ती ढुङ्गाहरू आफूसित बोके। त्यसपछि तिनीहरूले ती ढुङ्गाहरू त्यस स्थानमा राखे जहाँ तिनीहरूले आफ्ना छाउनी खडा गरेका थिए। यहोशूले बाह्रवटा ढुङ्गाहरू यर्दन नदीका माझमा राखे। उसले ती ढुङ्गाहरू त्यस स्थानमा राखे जहाँ परमप्रभुको पवित्र सन्दूक बोक्दा पूजाहारीहरू उभिएका थिए। त्यस स्थानमा ती ढुङ्गाहरू आजसम्म पनि छन्। परमप्रभुले यहोशूलाई आज्ञा दिनु भएको थियो कि मानिसहरूलाई भन कि तिनीहरूले के गर्नु पर्छ। ती यी कुराहरू थिए जो मोशा र यहोशूले गर्नैपर्छ भनेका थिए। जबसम्म पवित्र सन्दूक बोकेर पूजाहारीहरू नदीको माझमा उभिरहे तबसम्म ती कुराहरू पूरा भएनन्। मानिसहरू हत्तारिएर नदीपारि गए। मानिसहरूले नदी तर्ने काम सके त्यसपछि, पूजाहारीहरूले परमप्रभुको सन्दूक मानिसहरूको समक्ष बोकेर ल्याए। रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहका लडाकु मानिसहरूले मोशाका आदेशहरू अनुशरण गरे र नदी पार गरी अरू मानिसहरूको अगाडि गए। झण्डै चालिस हजार सैनिकहरू युद्धका निम्ति तयार भए, तिनीहरू यरीहोको मैदानतिर गएर परमप्रभुको अगाडि नदी पार गरे। त्यस दिन परमप्रभुले इस्राएलका सबै मानिसहरूको नजरमा यहोशूलाई एक महान मानिस बनाउनु भयो। त्यस समय देखि मानिसहरूले यहोशूलाई सम्मान गर्न थाले। तिनीहरूले यहोशूलाई तिनको जीवनकाल भरि त्यही प्रकारले सम्मान गरे जसरी तिनीहरूले मोशालाई सम्मान गर्थे। सन्दूक बोकेर पूजाहारीहरू नदीमा उभिरहेका बेला परमप्रभुले यहोशूलाई भन्नु भयो, “पूजाहारीहरूलाई यर्दन नदीबाट बाहिर निस्कनु भनी आदेश देऊ।” यसकारण यहोशूले पूजाहारीहरूलाई आदेश दिए। तिनले भने, “यर्दन नदीको बाहिर आऊ।” पूजाहारीहरूले यहोशूको आज्ञा पालन गरे। तिनीहरूले आफूसित सन्दूक बोके अनि नदी बाहिर आए। जब पूजाहारीहरूले नदीको पल्लो छेउको भूमिलाई छोडे, नदीको पानी फेरि बग्न शुरूभयो। पानीले यसको किनारहरू त्यस्तै गरि ढाक्यो जसरी मानिसहरू नदी पार गर्नु अघि ढाकेको थियो। मानिसहरूले पहिलो महीनाको दशौं दिनमा यर्दन नदीपार गरे। मानिसहरूले यरीहोको पूर्व गिलगालमा छाउनी बसाए। मानिसहरूले तिनीहरूसित ती बाह्रवटा ढुङ्गाहरू बोके जो यर्दन नदीबाट ल्याएका थिए। अनि यहोशूले ती ढुङ्गाहरूलाई गिलगालमा स्थापना गरे। तब यहोशूले मानिसहरूलाई भने, “भविष्यमा तिमीहरूका छोरा-छोरीहरूले आफ्ना माता-पितालाई सोध्नेछन्, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ तिमीहरूले छोरा छोरीहरूलाई भन्नेछौ, ‘ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूले सूख्खा भूमि भएर कसरी यर्दन नदी पार गरे सो सम्झना दिलाउन हामीलाई सहायता गर्नेछ। परमप्रभु तिमीहरूका परमेश्वरले यर्दन नदीको पानीलाई बग्न बन्द गरिदिनु भयो यसकारण तिमीहरूले सूख्खा भूमि भएर यर्दन पार गर्न सक्यौ-ठीक त्यही बेलामा जस्तै जब परमप्रभुले लाल समुद्रको पानीलाई रोकि दिनु भयो अनि हामीले यसलाई सूख्खा भूमि भएर पार गर्न सक्यौ।’ परमप्रभुले यस भूमिमा भएका मानिसहरूलाई उहाँ अति शक्तिशाली हुनुहुन्छ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रत्येक दिन स्मारण गरून् भनी यसो गर्नु भयो।”